नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन्।
अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताएका हुन्।
'भगत सिंहको फिल्म तपाईंहरूले हेर्नुभएको होला, चन्द्रशेखर आजाद छन्। लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेको छ। अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको,'प्रचण्डले भने,'एउटा रूखमुनि बसेका हुन्छन्, पेस्तोल हुन्छ उनीसँग। अब मार्ने नै भए प्रतिक्रियावादीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्- धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आत्महत्या गर्छन्।'
उनले सुसाइड सबै गलत नहुने बताएका छन्।
उनले भने 'म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ। तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ जाने,मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन।’