अरूण (सरकार)
नेपालमा २०६२/६३को आन्दोलनले गणतन्त्र आयो जसको सिधा परिभाषा थियो ‘गणतन्त्र- भन्नाले त्यस्तो शासन व्यवस्था हो जहाँ प्रमुख सत्ता जनतामा निहित हुन्छ। यहाँ राजा वा निरंकुश शासक हुँदैन, जनताबाट निर्वाचित जनप्रतिनिधिहरू शासन चलाउँछन्। जनतामाथि जनताको प्रत्यक्ष भुमिका रहने छ, सबै समान हुन भन्ने भावनाले चलाइने छ र यस्तो तन्त्र नै गणतन्त्र हुनेछ।’
तर नेपाल देशका जनताको अनुहार नै हराएको छ यो गणतन्त्रमा त। यहाँ हरेक नेपालीले एक अर्काको अनुहारमा गणतन्त्र खोजी रहेका छन्।
गणतन्त्र आएपछि बाँडिएका सपनाहरु तथा उदाएका नेताहरुको नयाँ वाचाहरु खोज गर्न जनताले अहिले खोजकार्य चलाईरहेका छन् र चलिरहेको छ। गणतन्त्र ल्याउन ०६२/६३ को आन्दोलन गरेको नभई आफूले नपाएको सत्ताको बागडोर आफूमा निहित गर्न नेपाली जनताको अगाडी तेर्स्याइएको ‘ललिपप’ थियो कि भन्ने भान अहिले जनताले गर्दैछन्।
देशमा जति जननेता आएका छन सत्तामा पुग्नेवित्तिकै त्यो जननेता परिवर्तन भएर खेताला बनेका छन्। जसले गर्दा नेपाली जनताको अनुहार अहिले गणतन्त्रबाट नै हराएको जस्तो भान हुन थालेको छ।
गणतन्त्रमा जनताको हराएको अनुहार हुनुको कारण भनेको नेताहरुले निर्वाचनपछि मत दिने जनता नै बिर्सनु प्रमुख कारण हो। पहिले निर्वाचनमा भाग लिनु अगाडी घर-घर पुग्ने नेता निर्वाचित भएको भोलिपल्टबाट ४/५ जना परिवारका सदस्यलाई स्वकीय सचिव नियुक्त गरी जनताको आवाज सुन्न राख्छन्।
निर्वाचित अगाडी दुई कानले सुन्ने र दुई आँखाले जनताको दुःख कष्ट देख्ने नेता निर्वाचित भएपछि चार/पाँच जनाको ८/१० वटा आँखा र कानले पनि त्यो दुःख कष्ट सुन्न र देख्न छोड्छ। यही प्रमुख कारण हो गणतन्त्रमा जनता हराउनुको।
अर्को कारक तत्व छ गणतन्त्रमा नीति निर्माण- जहाँ पहिले भनिने गरिन्थ्यो। गणतन्त्रमा जनताको आवाज अनुसारको नीति निर्माण हुन्छ! त्यसैले हामीलाई जनताबाट निर्वाचन गराउनुहोस् हामी तपाईंको आवाज सदनमा उठाउछौं र जनताको सहभागिताबाट नीति निर्माण गर्छौं।
यहाँ नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता शून्य छ। गणतन्त्रभित्र नै जनताले गणतन्त्र नै खोजी रहेका छन्। विकास निर्माण र सेवामा नेताले जन सहभागिता गराउने भ्रष्टाचारीलाई निर्मूल पार्ने भन्ने कुराले अहिले गणतन्त्रमा जनताले यो पनि कार्यन्वयन भएको देखेका छैनन्।
जसको परिणाम जनताले गणतन्त्रभित्र गणतन्त्र खोज्न बाध्य भएका छन्। जनता अहिले आफ्नो हक, अधिकार, सम्मान, सुशासन यही गणतन्त्रभित्र खोज्दै छन्। तर विडम्बना यो गणतन्त्रमा वाचा गरिएका सबै कुराहरु नेताहरु सत्तामा प्रवेश गरेपछि नेताबाट खेतालामा परिणत भएका प्रमुख नेताहरुले जनतालाई आफ्नै अनुहार गणतन्त्रभित्र नै खोज्न बाध्य बनाएका छन्।
हामीले ठूलो उत्साह र उमंगका साथ गणतन्त्र स्थापना गर्यौं। हामीले राजा फाल्यौं, संविधान लेख्यौं। हामीले भनेका सुनेका थियौं नेताहरूको मुखारविन्दबाट, ‘अब जनताको शासन जनताबाट हुनेछ, अब जनता निर्धकसँग बोल्ने छन्, अब जनताले आफ्ना हरेक कुराहरु लेख्ने छन्, र अब जनताले सबै कुरा सुन्ने छन्।’
तर आज १६-१७ वर्ष बितिसक्दा पनि जनता अझै शासनको ढोका बाहिरै छन्। गरिब जनता सधैं झैं स्वास्थ्य सेवा खोज्दै अस्पतालका ढोका ढोकामा ढक्ढक्याइरहेका छन्। गणतन्त्र आएपछि पनि शिक्षाको हकका लागि गरिब बाबु आमाले छोराछोरी पढाउन संघर्ष गरिरहेका छन्।
हरेक युवाहरु रोजगारी स्वदेशमा नपाएर विदेशिईरहेका छन् , र नेताहरु मात्र कुर्सीको खेलमा मगनमस्त छन्। यो सबै कारक तत्वहरु नै हो अहिले गणतन्त्र भित्र जनताको खोज।
संविधानको पानामा जनता लेखिएका छन् तर जनता त गणतन्त्र भित्रको नीति र व्यवहारमा नै हराइसकेका छन्। जनताले मतदान गर्ने अधिकार पाएको छ तर निर्णय लिने शक्ति सधैं माथिल्लो तहका नेतामा सीमित छ। त्यसैले गणतन्त्रमा भित्र जनता हराएको छ।
अब राजनीतिमा सफाई गर्ने बेला आएको छ र गणतन्त्रभित्र हराएका जनता खोजेर निकाल्नु छ। त्यो कार्य अरुले हैन हामी नेपाली जनताले नै गर्नुपर्छ र त्यो हामी गर्छौं नै, गणतन्त्रभित्र जनता खोज्ने दिनको अन्त्य हामी गर्छौं।