
सुवास शर्मा
नेपालका सडक अनि सामाजिक सञ्जाल, जताततै अहिले ‘जेन–जी’ आन्दोलनका नारा गुञ्जिरहेका छन्।
युवा पुस्ताले परिवर्तनको नारा लगाएको देखिन्छ, तर त्यो वास्तवमा कस्तो परिवर्तन हो, स्वदेशी वा विदेशी शक्तिको खेलको हिस्सा?
तथ्यहरूले यो स्पष्ट देखाउँछन्, आजका युवा केवल स्वतन्त्र चेतनाका वाहक होइनन्, बरु त्यसकै आडमा बाह्य शक्तिको रणनीतिक मोहरा पनि बनिरहेका छन्।
नेपालमा अमेरिकाले ‘युवा नीति’ भनेर आधा अर्ब रुपैयाँको लगानी गरेकाे हालैमात्र द सन्डे गार्जियनले एउटा रिपोर्ट प्रकाशित गरेको छ। यो इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटको प्रतिवेदन पनि हो।
उक्त रिपोर्टका अनुसार नेपालमा सन् २०२१ जुलाईदेखि २०२२ जूनसम्म अमेरिकाले करिब ३५ लाख अमेरिकी डलर (लगभग आधा अर्ब रुपैयाँ) लगानी गरेको छ। ‘युवा नेतृत्व, पारदर्शी नीति’ नारा दिइएको यो परियोजनाले नेपाली युवालाई भारत र चीनको प्रभाव कम गर्ने र अमेरिकी प्राथमिकतासँग मेल खाने नीति प्रवर्द्धन गर्ने तालिम दिएको समाचार रिपोर्टमा उल्लेख गरिएको छ।
सम्झौतामा चीनको टेलिकम प्रयोग नगर्ने र भारत चीनको नीति विरोध गर्ने प्रावधान समेत राखिएको बताइएको छ। यसरी बुझ्दा यो केवल नेतृत्व विकास कार्यक्रम थिएन, यो स्पष्ट विदेशी रणनीतिक हस्तक्षेप थियो नेपालका युवालाई अमेरिकी दृष्टिकोण अनुरूप राजनीतिक चेतना दिन तयार पारिएको।
डिजिटल युद्ध: सामाजिक सञ्जाल र फेक अकाउन्टः इजरायली कम्पनीको अनुसन्धान अनुसार ‘जेन–जी’ आन्दोलनसँग सम्बन्धित करिब ३४ प्रतिशत अकाउन्ट फेक रहेको बताएको छ। यस अनुसन्धानले पनि प्रष्ट पार्दछ कि हामीले फेसबुक, ट्विटर र अन्य प्लेटफर्ममा देखेको “युवा आक्रोश” पूर्ण रूपमा स्वतःस्फूर्त थिएन– यसमा विदेशी नियन्त्रित डिजिटल अभियानको संकेत छ।
सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा फैलिएको उक्साउने र उत्तेजित गर्ने खालको सामग्रीले आन्दोलनलाई ठूलो देखाउने, तर वास्तविक ऊर्जा र उद्देश्यलाई परिभाषित गर्न परेका बाह्य शक्तिहरूको प्रभाव प्रष्ट देखाउँछ।
आन्तरिक राजनीतिः अवसर र असक्षमता: नेपालको आन्तरिक राजनीतिक अस्थिरताले बाह्य हस्तक्षेपलाई अझ सहज बनाएको छ। ‘जेन–जी’ आन्दोलनको मुख्य नारा भ्रस्टाचार नियन्त्रण सँगै ओलीविरोधी थियो। यस आन्दोलनले अन्ततः ओली सरकार ढाल्न ठूलो भूमिका खेले। सरकारको यो हद सम्मको पतनमा विदेशीको के–कति हात छ त्यो खुल्न बाँकी छ।
त्यस्तै जेनजी आन्दोलनसँगै राजतन्त्र पुनःस्थापनाको आवाज एकाएक उठ्यो। दुर्गा प्रसाईंको सक्रियता, सेनापति सँगको भेटले ठूलो शंका उत्पन्न गरिदिएको थियो। त्यहाँ पनि बाह्य हस्तक्षेपको छायाँ देखिन्छ। राजनीतिक दल र नेताहरूको असक्षमता र स्वार्थपरताले युवाको ऊर्जा दुरुपयोगमा थप भूमिका खेलेको छ।
विदेशी लगानी र आन्तरिक राजनीतिक विग्रहको मिश्रणले अब युवा आन्दोलनलाई केवल राष्ट्रिय हितको आवाज भन्दा बढी अन्तर्राष्ट्रिय शक्ति संघर्षको खेल मैदान बनाइदिएको छ।
दीर्घकालीन खतराः
भविष्यको चेतावनी २०२३–२५ का लागि अमेरिकाले नेपालमा कस्तो र कति लगानी गर्यो भन्ने तथ्य अझै सार्वजनिक भएको छैन।
यसले पनि संकेत गर्छ कि, खेल अझै जारी छ। भविष्यमा युवा आन्दोलनहरू केवल स्वतन्त्र चेतनाको प्रदर्शन होइन, बाह्य निर्देशन अनुरूपको विद्रोह बन्ने सम्भावना बढेको छ। यदि यो क्रम जारी रह्यो भने युवा शक्ति राष्ट्रिय हितभन्दा बाह्य एजेन्टको हातमा पर्नेछ। वास्तविक राजनीतिक परिवर्तनको प्रयास कम हुनेछ। डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले मात्र युवाको आन्दोलनलाई तातो देखाउने, तर वास्तविक परिवर्तन रोक्ने काम गर्नेछन्।
नेपाली युवामा परिवर्तन ल्याउने क्षमता छ, तर यो क्षमता स्वतन्त्र, सूचित र देशमुखी हुनुपर्छ। विदेशी लगानी, आन्तरिक अस्थिरता र डिजिटल फेक अभियानबीचको जटिल सम्बन्ध बुझेर मात्र युवालाई साँचो अर्थमा परिवर्तनका एजेण्ट बनाउन सकिन्छ।
अबकाे मुख्य प्रश्न हामी सबै नेपालीमाथि छ, के हामी आफ्ना युवालाई विदेशी खेलौनामा परिणत हुन दिनेछौं, कि उनीहरूको विद्रोहलाई स्वदेशी, स्वतन्त्र र दीर्घकालीन परिवर्तनमा रूपान्तरण गर्नेछौं?
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया