शनिबार, १४ मार्च २०२६

‘हामी बदलियौं भने देश बदलिन्छ’

संगीता अर्याल

संगीता अर्याल

काठमाडाैं
News Image
• • •

नेपालमा प्रायः हामीले देशको परिवर्तनको जिम्मेवारी नेताहरूको काँधमा मात्र राख्ने गरेका छौँ। चुनावका बेला नेताहरूले गरेका वाचा, विकासका योजनाहरू र भाषणहरू सुनेर हामी आशावादी हुन्छौँ।

तर केही समय बितेपछि ती वाचा पूरा नभएको भन्दै निराशा पनि व्यक्त गर्छौँ। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ, के देश बनाउने जिम्मेवारी केवल नेताहरूको मात्रै हो, कि हामी नागरिकको पनि समान भूमिका हुन्छ?

वास्तवमा, कुनै पनि देशको विकास केवल सरकार वा नेताहरूको प्रयासले मात्र सम्भव हुँदैन। त्यसका लागि नागरिकको चेतना, जिम्मेवारी र अनुशासन पनि उत्तिकै आवश्यक हुन्छ। 

जबसम्म नागरिक स्वयं जिम्मेवार हुँदैनन्, तबसम्म राम्रो शासनको अपेक्षा मात्र गरेर समाज परिवर्तन सम्भव हुँदैन। त्यसैले आज हामी नेताहरूबाट मात्र प्रतिज्ञा खोज्नुको सट्टा आफैँसँग पनि केही प्रतिज्ञा गर्ने समय आएको छ।

सबैभन्दा पहिले, व्यक्तिगत कामका लागि नेताको नाम प्रयोग गरेर काम गराउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। 

'मेरो दाइ/भाइ' भन्दै सिफारिस लगाएर काम गराउने संस्कारले प्रणालीलाई कमजोर बनाउँछ र समानताको सिद्धान्तलाई नष्ट गर्छ।

त्यस्तै, नेताहरूलाई अनावश्यक उद्घाटन र औपचारिक कार्यक्रममा बोलाएर समय खर्च गराउने बानी पनि कम गर्नुपर्छ। 

नेताहरूको मुख्य काम देशको विकास र नीतिगत काम गर्नु हो, त्यसैले उनीहरूलाई वास्तविक काममा केन्द्रित हुन दिनु नागरिकको जिम्मेवारी पनि हो।

भ्रष्टाचार पनि हाम्रो समाजको ठूलो समस्या हो। घुस लिनु मात्र होइन, घुस दिनु पनि अपराध हो। त्यसैले आजदेखि हामीले सिस्टमअनुसार नै काम गर्ने र गराउने संस्कार बसाल्नुपर्छ। 

सानो होस् वा ठूलो, नियम र कानुनको पालना गर्ने बानी बसाल्नु जिम्मेवार नागरिकको चिन्ह हो।

सार्वजनिक सम्पत्ति–जस्तै सडक, पार्क, विद्यालय वा सरकारी संरचना–हाम्रो साझा सम्पत्ति हो। त्यसलाई आफ्नै सम्पत्ति जस्तै माया गरेर संरक्षण गर्नु हाम्रो कर्तव्य हो। त्यस्तै, गलत काम गर्ने नेतालाई समर्थन नगर्ने साहस पनि नागरिकमा हुनुपर्छ।

हामीले कर तिर्नुपर्ने दायित्व पनि इमानदारीपूर्वक पूरा गर्नुपर्छ। साथै, सडक, सार्वजनिक स्थान वा प्रकृतिलाई फोहोर बनाउने बानी त्यागेर स्वच्छ वातावरण निर्माणमा योगदान दिनुपर्छ।

आजको समयमा सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवार ढंगले गर्न आवश्यक छ। झुटा खबर वा अफवाह फैलाउने काम नगरी सत्य र सकारात्मक सन्देश फैलाउने प्रयास गर्नुपर्छ। जात, धर्म, भाषा वा क्षेत्रको नाममा घृणा फैलाउने प्रवृत्ति समाजका लागि घातक हुन्छ, त्यसैले त्यस्तो व्यवहारबाट टाढा रहनु आवश्यक छ।

सडक सुरक्षाका लागि ट्राफिक नियमको पालना गर्ने, लाइनमा बस्ने संस्कार अपनाउने र अरूको अधिकारको सम्मान गर्ने बानी बसाल्नुपर्छ।

साथै, देशभित्र उत्पादन भएका सामानलाई प्राथमिकता दिने र मेहनत, इमानदारी तथा अनुशासनलाई जीवनको आधार बनाउने संस्कारले समाजलाई अझ बलियो बनाउँछ।

यदि समाजमा भ्रष्टाचार वा गलत काम देखियो भने त्यसको विरोध गर्ने हिम्मत पनि हामीमा हुनुपर्छ। मौन बस्नु भनेको अन्यायलाई स्वीकार गर्नु जस्तै हो।

अन्ततः, देशको विकासका लागि सकारात्मक सोच राख्दै आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्नु नै साँचो देशप्रेम हो। देश परिवर्तन नेताबाट मात्र होइन, हामी नागरिकबाट पनि सुरु हुन्छ।

त्यसैले आजैदेखि आफैँ परिवर्तनको सुरुवात गरौँ। जब नागरिक सचेत, जिम्मेवार र अनुशासित हुन्छन्, तब मात्र देश साँचो अर्थमा विकसित हुन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!