रमानन्द न्यौपाने
राजनीतिमा पद र शक्तिभन्दा ठूलो कुरा नैतिकता, निष्ठा र जीवनशैली हो। करिब चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी माता हिराबेन मोदीको निधन हुँदा उनको सामान्य जीवनशैलीले निकै चर्चा पाएको थियो।
विश्वकै शक्तिशाली राष्ट्रहरूमध्ये एक भारतका प्रधानमन्त्रीकी माता गुजरातको वडनगरस्थित सामान्य परिवेशमा जीवन बिताइरहेकी थिइन्। उनको परिवारका सदस्यहरूको जीवनशैली पनि अत्यन्तै सामान्य थियो। प्रधानमन्त्रीको परिवार हुनुको कुनै तडकभडक, विलासिता वा विशेष आडम्बर त्यहाँ देखिँदैनथ्यो। हाल प्रधानमन्त्री मेदीस्वयंको अत्यन्तै सरल र सादगी जिबनशैलीको भारतमा मात्रै होइन मुलुक बाहिर र संसारभर चर्चा र प्रसंसा हुने गरेको छ।
अहिले भारतकै सबैभन्दा ठूलो जनसंख्या भएको प्रदेश उत्तर प्रदेशका शक्तिशाली मुख्यमन्त्री योगी आदित्यनाथकी माता सावित्री देवी बिष्टको आफ्नै निवासमा दुःखद निधन भएको छ। उनको सामान्य जीवनशैली र उत्तराखण्डको पञ्चुर गाउँमा रहेका परिवारका सदस्यहरूले बिताइरहेको साधारण जीवनले पुनः सामाजिक सञ्जालमा चर्चा पाएको छ। यी घटनाहरूले एउटा महत्वपूर्ण प्रश्न खडा गर्छन्- राजनीतिमा उच्च पद र शक्ति प्राप्त गर्दैमा व्यक्तिको जीवनशैली र पारिवारिक परिवेश किन अस्वाभाविक रूपमा परिवर्तन हुन्छ र हुनुपर्छ?
भारतका पूर्वप्रधानमन्त्रीहरू लालबहादुर शास्त्री र अटल बिहारी वाजपेयीको जीवनशैली पनि सादगी, निष्ठा र इमानदारीका उदाहरणका रूपमा स्मरण गरिन्छ। उनीहरूले राजनीतिलाई आफ्नो, आफ्नो परिवारको वा आफन्तको जीवनस्तर उकास्ने माध्यमका रूपमा कहिल्यै बुझेनन्। बरु राजनीतिलाई मुलुक र मुलुकवासीको सेवा गर्ने पवित्र माध्यमका रूपमा आत्मसात् गरे। उनीहरूको राजनीतिक जीवनले पदमा पुग्नु ठूलो कुरा होइन, पदमा रहँदा आफ्नो नैतिकता र चरित्र जोगाइराख्नु ठूलो कुरा हो भन्ने सन्देश दिन्छ। नेपालको राजनीतिक इतिहासमा पनि यस्ता अनुकरणीय व्यक्तित्वहरूको कमी छैन।
पूर्वप्रधानमन्त्री बीपी कोइरालाको सादा जीवनशैली र प्रत्येक नेपालीको आफ्नै सानो घर, सानो खेतबारी र एउटा दुहुनो गाई होस्, सबैले सामान्य शिक्षा र स्वास्थ्य सेवा पाऊन् भन्ने परिकल्पनाले उनको जनमुखी सोच र सामाजिक न्यायप्रतिको प्रतिबद्धता प्रस्ट पार्छ। त्यस्तै, नेपाली राजनीतिमा 'सन्त नेता'का रूपमा परिचित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनशैली सादगी र त्यागको अनुपम उदाहरण हो। उनले न त आफ्नो परिवार र परिवारका लागि सम्पत्ति नै जोडे, न त व्यक्तिगत विलासितालाई प्राथमिकता दिए। उनको नाममा बैंक खाता समेत नरहेको र प्रधानमन्त्री निवास प्रवेश गर्दा एउटा छाता र पानी खाने माटोको सुराही बोकेर गएको प्रसंग नेपाली राजनीतिक वृत्तमा आज पनि चर्चित छ।
प्रधानमन्त्रीजस्तो सर्वोच्च कार्यकारी पदमा पुगेर पनि व्यक्तिगत सम्पत्ति र सुखसुविधाप्रति मोह नराख्ने उनको चरित्रले राजनीतिमा नैतिकताको वास्तविक अर्थ बुझाउँछ। नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी पनि सादगीपूर्ण जीवनशैलीका लागि परिचित थिए। पूर्वी नेपालको जमिनदार परिवारमा जन्मिएर पनि उनले आफ्नो जीवनमा सामान्यतालाई आत्मसात् गरे। त्यसैगरी पूर्वप्रधानमन्त्री सुशील कोइरालाले जीवनको अन्तिम समयसम्म पनि अत्यन्तै साधारण जीवन बिताए। उनको व्यक्तिगत जीवनमा देखिएको सादगी नेपाली राजनीतिमा एउटा विशिष्ट उदाहरणका रूपमा रहेको छ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सामान्य जीवनशैली पनि बेलाबेलामा चर्चाको विषय बन्ने गरेको छ। यी सबै व्यक्तित्वहरूको जीवनलाई नजिकबाट नियाल्दा एउटा समान विशेषता देखिन्छ—उनीहरूका लागि राजनीति व्यक्तिगत समृद्धि, पारिवारिक विरासत र आर्थिक लाभको माध्यम थिएन।
राजनीति उनीहरूका लागि विचार, सिद्धान्त, निष्ठा र जनसेवाको माध्यम थियो। तर आजको नेपाली राजनीतिमा दृश्य क्रमशः बदलिँदै गएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको अस्वाभाविक जीवनशैली, अपारदर्शी आर्थिक कारोबार, विभिन्न क्षेत्रमा हुने लगानी र देशी–विदेशी बिचौलियासँगको साँठगाँठका विषयहरू दिनहुँ समाचारका विषय बन्न थालेका छन्। सार्वजनिक जीवनमा रहेका केही व्यक्तिहरूको सम्पत्ति, आवास र आर्थिक हैसियतलाई लिएर उठ्ने प्रश्नहरूले समग्र राजनीतिक क्षेत्रप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ।
अझ चिन्ताजनक कुरा त के छ भने, मुलुक र जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेका व्यक्तिहरू सत्तामा पुग्न, सत्तामा टिकिरहन र राजनीतिक प्रभाव स्थापित गर्न आर्थिक रूपमा अपारदर्शी तथा नैतिक दृष्टिले प्रश्न उठ्ने सम्बन्धहरूमा संलग्न भएको आरोपसमेत सार्वजनिक बहसको विषय बन्न थालेको छ।
राजनीति सेवा र त्यागको क्षेत्र हुनुपर्नेमा कतिपयका लागि शक्ति, सम्पत्ति र पहुँच आर्जन गर्ने माध्यम बन्दै गएको अनुभूति आम नागरिकमा बढ्दै छ। जब कुनै व्यक्तिको पेसा, व्यवसाय र आम्दानीको स्पष्ट स्रोत नहुँदा पनि उसको जीवनशैली अस्वाभाविक रूपमा परिवर्तन हुन्छ, जब सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दाबी गर्ने नेताको जीवनशैली सामन्ती चरित्रको देखिन्छ, जब जनताको दुःख, अभाव र समस्याभन्दा नेताको आफ्नै सुखसुविधा प्राथमिकतामा पर्न थाल्छ, तब राजनीतिप्रतिको जनविश्वास स्वाभाविक रूपमा कमजोर हुँदै जान्छ।
राजनीतिक नेतृत्वको चरित्रले नै राजनीतिक दलको विचार, सिद्धान्त र नीतिको विश्वसनीयता निर्धारण गर्छ। नेताको व्यवहार र जीवनशैली उसको राजनीतिक आदर्शसँग मेल खाँदैन भने जतिसुकै सुन्दर विचार र आकर्षक घोषणापत्र भए पनि त्यसको कुनै अर्थ रहँदैन। सिद्धान्त भाषणमा मात्र सीमित हुन्छ र व्यवहारमा त्यसको प्रतिबिम्ब देखिँदैन भने राजनीतिक नैतिकताको स्खलन निश्चित हुन्छ। यही कारण आज नेपाली समाजमा राजनीतिक दल, विचार र सिद्धान्तप्रतिको आकर्षण घट्दै गएको छ। जनता दलको नीति र विचारभन्दा कुनै अमुक व्यक्तिको व्यक्तिगत प्रभाव, लोकप्रियता र चमत्कारको खोजीमा लाग्न बाध्य भइरहेका छन्।
यो अवस्था प्रजातान्त्रिक प्रणाली र राजनीतिक संस्थाहरूका लागि सुखद संकेत होइन। किनभने लोकतन्त्र व्यक्तिको चमत्कारमा होइन, विचार, संस्था, विधि, पद्धति र नैतिक नेतृत्वको जगमा बलियो हुनुपर्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने राजनीति गर्ने व्यक्तिले धनी हुनु अपराध होइन, तर सार्वजनिक पद र शक्तिको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्नु गम्भीर नैतिक र कानुनी प्रश्न हो। नेताको जीवनशैली उसको आम्दानीको वैध स्रोतसँग मेल खानुपर्छ। सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र नैतिकता अनिवार्य सर्त हुन्।
आज नेपाली राजनीतिले फेरि एकपटक बीपी कोइरालाको जनमुखी सपना, कृष्णप्रसाद भट्टराईको त्याग, नरेन्द्र मोदीको सादगी र लालबहादुर शास्त्रीको इमानदारीबाट पाठ सिक्न आवश्यक छ। अन्ततः, राजनीतिमा ठूलो नेता त्यो होइन, जसको घर ठूलो छ, सम्पत्ति धेरै छ र शक्ति अपार छ।
ठूलो नेता त त्यो हो, जसले सत्ता र शक्तिमा पुग्दा पनि आफ्नो जीवनशैली, नैतिकता र इमानदारीलाई सामान्य नागरिकको जीवनसँग जोडेर राख्न सक्छ। कृष्णप्रसाद भट्टराईको एउटा सुराही र एउटा छाताले नेपाली राजनीतिमा त्याग र सादगीको जुन इतिहास निर्माण गर्यो, मोदीजी र योगिजिको सरल र सादगी जीवनशैली र उनको परिवारका सदस्यहरुको सामान्य जिबनयापनले सार्वजनिक पद र पारिवारिक जीवनबीचको मर्यादाको एउटा उदाहरण प्रस्तुत गरेको छ।
प्रश्न यति मात्र हो- हाम्रा नेताहरूले राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउने कि व्यक्तिगत समृद्धिको अवसर?
(अन्त्यमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथकी ममतामयी माता सावित्री देविको भर्खरै भएको दुःखद् निधन प्रती दुख व्यक्त गर्दै उहाँ प्रती हार्दिक श्रद्धाञ्जली।)
लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी, कर्णाली प्रदेशका अध्यक्ष हुन्
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया