आइतबार, २२ नोभेम्बर २०२६

तेस्रो प्रयासमा सुदूरले लग्यो एनपिएलको उपाधि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो। योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ।

१५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिम भेट्टायो। सुदूरपश्चिमको जितमा जर्ज मन्सेले आक्रामक शतक बनाए। उनी १२५ रनमा नटआउट रहे। उनले १२ छक्का र ८ चौका प्रहार गरे। यस्तै विनोद भण्डारी ३० रनमा अविजित रहे।

सुदूरपश्चिमले पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै १२ रन जोड्यो। सुदूरपश्चिमले शानदार सुरुवात गर्दै ३ ओभरमा कुनै विकेट नगुमाई २५ रन बनायो। ओपनरद्वय जर्ज मन्से र विनोद भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका हुन्।

सुदूरपश्चिमले पावरप्लेमा बिना विकेटको क्षतिमा ६० रन बनाउँदै खेल आफ्नो पक्षमा बढायो। मन्सेले ६.४ ओभरमा जीवनदान पाए। लुम्बिनीका सन्दीप जोराले उनको क्याच मिस गरे। मन्सेले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अर्धशतक बनाए।

सुदूरपश्चिमले १० ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ९० रन बनायो। मन्सेले ४९ बलमा आक्रामक ब्याटिङ गर्दै शतक बनाए। एनपीएल फाइनलमा शतक हान्ने उनी पहिलो खेलाडी बने।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन जोड्यो।

लुम्बिनीले पहिलो ओभरमा १ रनमात्रै बनायो। सुदूरपश्चिमका स्कट कुगलेइनले कसिलो बलिङ गरे।

लुम्बिनीले २.१ ओभरमा पहिलो विकेट गुमायो। आसिक शेख ४ बलमा १ रनमात्रै बनाएर आउट भए। उनलाई कुगलेइनले पभेलियन पठाए।

कप्तान रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आए। लुम्बिनीले ५।३ ओभरमा दोस्रो विकेट गुमायो। ओपनर डार्सी शर्ट १८ बलमा २१ रन जोडेर आउट भए। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टोलीलाई दोस्रो सफलता दिलाए।

लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोड्यो। रोहितलाई निरोशन डिकवेलाले साथ दिँदै दुई ब्याटरले लुम्बिनीको इनिङ्स सम्हाले।

तर आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन जोडेर आउट भए। उनलाई आफ्नै देशका श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेले बोल्ड गरे।

त्यसपछि ब्याटिङमा आएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अगाडि बढाए।

लुम्बिनीले १४ औं ओभरको समाप्तिमा कप्तान रोहित पौडेलको विकेट गुमायो। दिलिप नाथसँग तालमेल नमिल्दा उनी रनआउट हुन पुगे। उनले ३१ बलमा ३० रन जोडे। त्यसपछि ब्याटिङमा आएका सन्दीप जोरा पनि सस्तैमा आउट भए। उनले ५ बलमा ४ रनमात्रै बनाए।

त्यसपछि ब्याटिङमा उत्रिएका अलि शेखले विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीको स्कोर माथि उठाए। उनले १२ बलमा २ छ्क्का र २ चौका हान्दै २४ रन जोडे।

दिलिप नाथले नटआउट ३९ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दिपेन्द्र सिंह र थरिन्दु रत्नायकेले एक एक विकेट लिए।

विजेता बनेसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाउने छ।

यसअघिका दुवै सिजनमा फाइनलमा पुग्दा सुदूरपश्चिमले क्रमशः पाँच र ६ विकेटको हार व्यहोरेको थियो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!