बिएल संवाददाता
भदौ २३ र २४ गते देशले एउटा विचित्र दृश्य देख्यो। राजधानीसंगै देशभरका सडकमा युवाहरूको भीड, चर्का नारा, तोडफोड र भावनाको बाढी।
‘जेनजी’ भन्ने नाम एकैचोटी ब्यानरबाट भित्तासम्म फैलियो। हरेक अनुहारमा असन्तोष थियो, तर असन्तोषको लक्ष्य स्पष्ट थिएन। कोही भ्रष्टाचारविरुद्ध थिए, कोही बेथितिविरुद्ध, कोही मात्र भीडसँगै बहिरहेका। जनताको असन्तोष साँचो थियो, तर त्यस असन्तोषको पछाडिबाट चल्ने हातहरू झूटका थिए। अहिले त्यो नाम, जुन युवाको आवाजको प्रतीक बन्न सक्थ्यो, तर अहिले दलाल र धम्कीबाजहरूको नारा बनेको छ।
युद्ध र आन्दोलन धेरै देखेको यो देशमा अब नयाँ रोग फैलिएको छ, आन्दोलनकै नाममा माफिया शासन। जनताको मर्ममा खेल्दै, आन्दोलनको पवित्र नामलाई ढाल बनाएर व्यापार गर्नेहरू अहिले हिँडिरहेका छन्। कसैले कम्पनीमा सेयर माग्दैछ, कसैले अफिसमा पुगेर राजीनामा माग्दैछ, कसैले आफ्नो शक्ति प्रदर्शन गर्दै ‘म नै राज्य हुँ’ भन्ने शैलीमा बोल्दैछ। यो आन्दोलन होइन, आन्दोलनको अपहरण हो।
पहिले माओवादी र वाईसीएल का नाममा डर देखाइन्थ्यो। अहिले नयाँ पोसाकमा त्यही मनोवृत्ति पुनः फस्टाइरहेको छ। भोटेकोशी जलविद्युत आयोजनामा जब ‘जेनजीको नाममा’ सेयर माग्न थालियो, त्यो माग आन्दोलनको होइन, धम्कीको भाषा थियो। लगानीकर्ताको आत्मविश्वास मर्ने गरी बोलिएका शब्दहरू, आयोजना ठप्प पार्ने निर्णय, अनि त्यसको औचित्य खोज्नेहरू सबै एउटै खेलका पात्र हुन्। जसले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने कुरा गर्थे, अहिले तिनै संस्थाहरू हुलबाट डराइरहेका छन्।
जनताको नाममा व्यापार गर्नु अपराध हो। जेनजीको नाममा यतिबेला यही अपराध संस्थागत रूपमा फैलिन थालेको छ। केही व्यक्तिहरूले युवाको भावनालाई पेट्रोल र माइकको शक्तिले किन्न खोजेका छन्। उनीहरूलाई जनताको पीडा होइन, आफ्नो पहुँच विस्तारको चिन्ता छ। उनीहरूलाई देशको अर्थतन्त्र होइन, आफूलाई चर्चामा राख्ने रहर छ। जनताको मर्ममा खेल्दै, राष्ट्रको स्थायीत्वलाई कमजोर पार्दै उनीहरू नयाँ युगको गुण्डा संस्कृती ल्याउन खोजिरहेका छन्।
सामाजिक संजालमा अहिले एउटा भिडियो भाइरल छ,उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाही थरका एक ब्यक्ति सहितको नेतृत्वको टोलीले महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा मागेको। त्यतिबेला अधिकारीले तथ्यसहित जवाफ दिए, ‘संस्था घाटामा गएको छैन, प्रमाण छ।’ तर जवाफ सुन्ने धैर्य तिनमा थिएन। उनीहरूका लागि कुरा तथ्यको होइन, ताकतको थियो। ‘ठाउँ खाली गर, अर्को आउँछ,’ भन्ने आदेशात्मक स्वरमा उनीहरूले बोलेका शब्दहरूले अब हाम्रो प्रशासनिक मर्यादालाई हल्लाइदिएको छ। भिडियोमा देखिन्छ, जनताको नाममा बोल्नेहरू नै कानुनलाई ठेकेदारको आदेशजस्तो प्रयोग गर्दै छन्।
प्रहरीले ती अर्जुन शाही नामका व्यक्तिलाई भर्खरै पक्राउ पनि गरेको छ। जो कर्मचारीलाई धम्क्याउँदै राजीनामा दिन भन्दै हिँड्थे उनै शाही विभिन्न अपराधकर्ममा जोडिएको खुलेको छ। शाही विभिन्न अपराधमा फरार अभियुक्त रहेका प्रहरीले भनेको छ।
यस्ता अराजक तत्वहरूले राज्यका अङ्गहरू धम्कीको वातावरणमा काम गर्न थाले भने, त्यस देशले लोकतन्त्र होइन, आतंकको शासन भोग्न थाल्छ। विश्वविद्यालयदेखि एन्फासम्म यस्ता गतिविधि फैलिन थालेका छन्। विश्वविद्यालयमा रजिष्ट्रारलाई कार्यालयमै घेराबन्दी गरी राजीनामा गराइएको घटना केवल व्यक्तिको अपमान होइन, शिक्षा प्रणालीकै हत्या हो। खेलकुदमा पनि त्यस्तै छ। हुल, दबाब, र धम्की। जहाँ युवाहरूले अनुशासन र प्रतिस्पर्धा सिक्नुपर्ने हो, त्यहाँ अब ‘कसको समर्थन गर्छौं’ भन्ने प्रश्न प्रमुख बनेको छ।
यी गतिविधिले ‘आन्दोलन’ र ‘अपराध’बीचको सीमाना नै मेटाउँदै लगेको छ। आन्दोलन तबसम्म पवित्र रहन्छ जबसम्म त्यसको लक्ष्य न्याय हुन्छ। तर जब लक्ष्य डर हुन्छ, आन्दोलन अपराधमा परिणत हुन्छ। अहिले यही भइरहेको छ, आन्दोलनको नाममा भयको व्यापार। युवाहरू सडकमा नारा लगाउँछन्, तर त्यो नाराको अर्थ अरूले लेख्छन्। आन्दोलनको भावना साँचो हुन्छ, तर यसको प्रयोग गर्नेहरू असली अपराधी हुन्।
यसबीच मिडिया पनि मौन छ। केही डरले, केही दबाबले। तर पत्रकारिताको मौनता भनेको अपराधको सहयोग हो। सत्य लेख्नु जोखिमपूर्ण हुन सक्छ, तर मिडिया मौन भयो भने झूटले शासन गर्छ। जसरी विगतमा माओवादी आन्दोलनको समयमा पनि ‘कसरी बोल्ने’ भन्ने डर थियो, अहिले फेरि त्यो डर फर्किएको छ। तर यो पटक डर झन् खतरनाक छ, किनभने यसपटक हुललाई ‘जनताको प्रतिनिधि’ भनेर परिचय दिइँदैछ।
सरकार र सुरक्षातन्त्र पनि परीक्षणको घडीमा छन्। कानुनभन्दा माथि कोही छैन भन्ने कुरा केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। धम्की दिने, अफिस बन्द गराउने, आयोजनामा सेयर माग्ने, राजीनामा गराउने यी सबै कार्यहरू कानुनको दायराभित्र ल्याउनुपर्छ। ढिलाइ गर्नु भनेको अपराधीलाई आत्मबल दिनु हो। प्रहरी प्रशासनले तटस्थता देखाउने बहानामा बेथिति बढाउन दिनु अब राष्ट्रघात हो।
यो देश फेरि भयमा बाँच्न तयार छैन। जनताले धेरै सहनु पर्यो, युद्ध, संक्रमण, घोटाला, महामारी। अब फेरि आन्दोलनको नाममा अर्को आतंक सहन सक्दैनन्। युवाले उठाएको आवाज शान्तिपूर्ण, नीति परिवर्तनमुखी हुनुपर्छ; तर अहिले उठिरहेको यो आवाज धम्कीको रूपमा परिणत हुँदैछ। कसैले विरोध गर्छ भने ‘तिमी पुरानो पुस्ता’ भन्ने आरोप। तर यो नयाँ पुस्ता होइन, नयाँ ढाँटी पुस्ता हो, जसले आन्दोलनलाई व्यवसायमा रूपान्तरण गरेको छ।
अब नागरिक समाज, बुद्धिजीवी, लेखक, प्राध्यापक सबैले बोल्नैपर्छ। मौन रहनु भनेको सत्यको हत्या हो। जब बौद्धिक वर्ग डराउँछ, देश बिस्तारै हुलको हातमा जान्छ। हामीले यस्तो अवस्था कहिल्यै स्वीकार्न मिल्दैन। अब ‘कसले आन्दोलन सुरु गर्यो’ भन्दा पनि ‘कसले आन्दोलन अपहरण गर्यो’ भन्ने प्रश्न उठ्नुपर्छ।
र यो सबैको अन्त्यमा एउटा कुरा स्पष्ट भन्नुपर्छ, अब देशले डर मान्दैन। जनताको नाममा गरिएको फसाद अब चल्दैन। जेनजीको नाममा गरिएको धम्की, दवाब र अपमान अब सह्य छैन। आन्दोलन पवित्र रहोस्, तर त्यसको नाममा माफियाले शासन गर्न खोजे भने, नागरिकहरूले प्रतिरोध गर्छन्।
नेपालको सडकमा फेरि परिवर्तनको स्वर गुञ्जियोस्, तर त्यो स्वर धम्कीको होइन, चेतनाको होस्। युवाहरूले फेरि बोलुन्, तर अरूको आदेशमा होइन, आफ्नै विवेकमा। किनभने यो देश हुलको होइन, जनताको हो। हाम्रा सन्तानले स्वतन्त्रता पाउनुपर्छ, डर होइन।
अब देशले मौन बस्दैन। अब हामी सहन सक्दैनौं। जेनजीको नाममा भएको यो धम्की र आदेश अब समाप्त हुनैपर्छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया