तराई-मधेसका कलधाराहरूमा पानी चुहिन छोडेपछि सबैले भने- चुरे दोहनका कारण तराईको पानी सुक्यो।
वर्षौंअघिका कुवा-इनार सुके। पोखरी मासिए। पुरिए, सकिए। तराई-मधेसमा गर्मी झन् चर्कियो। हिउँदको चिसोले ज्यानै निल्न थाल्यो। पानी परेन। सुख्खा भयो।
फेरि विकासे भाष्य स्थापित भयो- जलवायु परिवर्तनको असर।
पानीको मुहानलाई कहिले वन जंगलसँग जोडियो। रुख मास्दा पानी सुक्यो भनियो। जलवायु परिवर्तन भनियो। त्यसकै कारण पानी रसाएन भनियो। सुख्खा लाग्यो भनियो। जे-जे भनिएका थिए, तीबाहेक नीति निर्माताहरूले अरू केही सोचेनन्। खोज भयो न अनुसन्धान।
अहिलेसम्म पानीका मूलबारे कुनै पनि सरकारी निकायसँग कुनै तथ्याङ्क छैन। अध्ययन त परैको कुरा भो।
किन सुक्दैछन् मुहानहरू ?
यी एकाएक सुकेका हैनन्। वर्षौंदेखि सुक्दै सुक्दै आएका थिए र अहिले निख्रिएका मात्रै हुन्। एउटा मूलबाट पानी चुहिनका लागि हजारौं वर्षको ‘पानी-प्रक्रिया’ हुन्छ। सुक्दा पनि त्यही हो।
निकै गहिराइमा धसिएका चापाकलहरू अलि-अलि रसाइरहेका छन्। तर, केही औसत फिटमा गाडिएका कलधाराहरू सुकेका छन्। तराई-मधेसका चापाकलमा अहिले नै पानी नचुहिएको होइन। त्यो सुक्दै सुक्दै आएको थियो र अहिले सुक्यो। भएको यही हो।
इनारका कथाहरू पनि यही हुन्। पोखरीको पानी सुक्यो। कथा त उही हो। तर, मासिएका अनि पुरिएका प्राकृतिक पोखरीका कथाहरू मान्छेका हर्कतसँग गाँसिएका छन्।
‘पहाडमा पानी किन हराउँदैछ भन्ने प्रश्नको जवाफमा प्रायः खनिएका सडक र जलवायु परिवर्तनले भनिन्छ। जबकि भुटानमा समेत मूल हराएको छ। उत्तराखण्डमा त्यही हाल छ। यी ठाउँ भनेका निकै नै वन जंगल भएका क्षेत्र हुन्। भुटानमा लगभग ६५ प्रतिशत भू-भाग जंगलले ढाकिएको छ’ मार्टिन चौतारीले पानीका मुहानबारे राखेको एउटा छलफलमा जलाधारविद् मधुकर उपाध्यायले भने ‘तराईको भूमिगत पानी किन सुक्दै गयो भन्ने प्रश्नको जवाफ प्रायः चुरेको वन विनास भन्ने हुन्छ। जबकि बर्दिया राष्ट्रिय निकुन्ज भित्रै पानीका स्रोत सुकेका छन्। त्योभन्दा पनि घना जंगलका मुहान पनि सुकेका छन्।’
उनकाअनुसार यी मिथकहरूमा केही सत्यता भने पक्कै हुनसक्छ। जलवायु परिवर्तनको असर पनि केही हुनसक्छ। जसरी मनसुन र झरीको प्रवृत्ती फेरिएको छ, मौसम र त्यसका प्रणालीहरूमाथि जलवायु परिवर्तनका असर पक्कै हुन्छन्।
तर, जब मूल फुट्ने र सुक्ने सवाल आउँछ, त्यहाँ यी ‘कथित’ मान्यताहरू अब पुराना भइसकेका छन्।
नेपालकै सन्दर्भमा भन्ने हो भने, चुरे विनास रोक्न त सरकारले ‘राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम’का नाममा हरेक वर्ष करोडौं खर्चिरहेको छ।
जंगल विनास भयो भनेर भनियो। तर, अहिले त नेपाल वन संरक्षण र त्यसको प्रवर्द्धनमा उदाहरणै बनेको छ। जंगल क्षेत्र बढिरहेको छ, रुखहरू बढिरहेका छन्। त्यो बढेर अहिले ४४.७४ प्रतिशत पुगिसकेको छ।
र, पनि पानीका मुहान त सुकिरहेकै छन्।
‘हामीले जे सुन्यौं र जे मान्यौं त्यसैको पछिमात्रै लाग्यौं’ उपाध्याय भन्छन् ‘तर खास कारणहरूको खोजी गर्न सकेनौं वा त्यो बाटोमा जानै चाहेनौं।’
पृथ्वीमा हरेकका आ–आफ्नै स्वभाव हुन्छन्। मान्छेका आफ्नै स्वभाव छ। हरेका प्राणीका आफ्नै स्वभाव छन्। हरेकको विकास र विनासका आ–आफ्नै प्रक्रिया हुन्छन्।
‘त्यस्तै हो, पानीको पनि आफ्नै प्रक्रिया हुन्छन्। त्यसका पनि आफ्नै स्वभाव छ’ उपाध्यायको अध्ययन अनुसन्धान अनुभव भन्छ ‘जमिनमुनि पानी छिर्ने र त्यहाँ पुनर्भरण हुने आफ्नै प्रक्रिया हुन्छ। त्यहाँ उसको आफ्नै अर्कै स्वभाव हुन्छ। जमिनमाथि आउने र रसाउने पानीको स्वभाव र प्रक्रिया पनि फरक हुन्छन्।’
उनलाई लाग्छ, हामीले नबुझेको अनि नीति निर्माताहरूले जान्न र बुझ्न नखोजेको कुरा पनि त्यही हो।
‘तराईमा जुन पानी थियो, अर्थात् भूमिगत पानी थियो। त्यसको साइनो चुरेको पहाड वा त्यहाँ रुखजंगलसँग थिएन र होइन’ उनी भन्छन् ‘त्यो त भावरको भण्डारण थियो। तराईको मूल त्यहीँबाटै रसाउने हो।’
उनकाअनुसार हामी पानी अनुसन्धानको नाममा त्यसको किनारामा मात्रै रह्यौं। त्यसका किनारा पछ्याउँदै पछ्याउँदै कहाँ पुगियो थाहै भएन। बरू किनारामा जे भेटियो त्यसैलाई कारण भन्दै गयौं।
वन विनास र पानीको सम्बन्ध भएको विश्वासमा गत पाँच दशकमा सबैभन्दा बढी अध्ययन अनुसन्धान पानी, वन, बाढी वरिपरि भयो। वन संरक्षणमा निकै सफलता मिल्यो तर त्यसको बाबजुद न बाढीको क्रम कम भयो, न पानीका स्रोत दिगो रह्यो। पहिरो पनि घटेन।
वनको हैसियत र भूमिगत पानीको तह बीच के सम्बन्ध छ भन्ने विषयमा भरपर्दो तथ्य प्रकाशित छैन, न त कुन हदसम्मको वन विनास भए पछि भूमीगत पानीको पुनर्भरण प्रक्रिया प्रभावित हुन्छ भन्ने विज्ञान नै स्थापित छ।
‘पानी किन हराउँदैछ भनेर त्यसका खास खास अनि स्वभाविक कारणहरू खोज्नुको सट्टा हामी बरू विकल्पहरू खोज्न लाग्यौं’ उनी भन्छन् ‘त्यही फिटमा गाडिएको चापाकलबाट पानी आएन, हामीले अझ गहिरो सतहमा त्यसलाई धस्यौं। त्यहाँबाट पनि रसाउन छोड्यौं फेरि हामीले डीप बोरिङ धस्न थाल्यौं।’
पानीको मुख्य स्रोत भनेकै वर्षा हो अनि हिमपात हो। तर, वर्षाले स्वभाव बदल्न थालेको दशकौं भइसक्यो। साउनमा झरी लाग्दैन। बरू कहिलेकाहीँ बिदा भइसकेको मनसुन सम्झाउने झरी बेमौसममा लाग्छ।
कहिलेकाहीँ पानी एकैपटक दर्किन्छ ठुलो भाँडोबाट खन्याएजस्तै। त्यो धेरैबेर जमिनमा रहनै पाउँदैन। बगेर सक्किहाल्छ। अनि जमिनमुनि छिर्नै पाउँदैन। कहिले पर्नुपर्ने बेला पानी नै पर्दैन।
वर्षाले आदत फेरेको छ। तराईलाई सुख्दा र रुखो छोड्दै बरू पानी पार्ने बादल मुस्ताङ माथिका हिमालहरू नाघिसकेको छ। पहाडमा पानी दर्किनु र मुस्ताङमा बाढीले आफ्नौ रौद्ररुप देखाउनु त्यसैको परिणाम हो। जबकि वर्षे पानी मुस्ताङमा कहिल्यै दर्किन्नथ्यो।
अब साउन झरी लाग्दैन। साउने मूल फुट्दैनन्। साउने मूल हराउनु वा सुक्नु भनेकै सुख्खा युगको सुरुवाती संकेत थियो। गाउँघरबाट हराएका, मासिएका वा मेटिएका आहाल अनि प्राकृतिक पोखरीहरू आज पानी सुक्नुका परिणाम हुन्।
‘पश्चिमी हिन्दमहासागर तात्दै छ। पश्चिमी वायु दबिएको छ। मनसुन ढिला, बेमौसमी वर्षा, हिउँदे खडेरी बढेको छ। ३ दशकदेखि साउने मूल फुट्न छाडेको छ’ उनी भन्छन् ‘जलस्रोतको ब्याख्यामा साना साना मूल, खोल्सि, दह, पोखरी, खोला गौण रहे, ती सुकिरहँदा वा मासिइरहँदा समेत हाम्रो ध्यान गएन।’
उनकाअनुसार तराई मधेसको जमिन भनेको गंगा मैदान थिग्रेनीले भरिएको एउटा ठुलो खाल्डो हो। जसको सीमान्तमा यो भूमि अवस्थित छ। पहाडबाट बगी आउने नदी र भूमिगत पानीको संगमस्थल नै तराई-मधेस हो।
र, हरेक संगलस्थल भनेको निकै संवेदनशील क्षेत्र हो। भावर क्षेत्र हुँदै निरन्तर बगिरहेका कोशी, कर्णालीलगायतका नदीहरूले तराई-मधेसमात्रै होइन गंगापारिको विशाल भूमिगत पानीलाई समेत एउटै प्रणालीमा गाँसेका छन्।
नत्र चुरेबाट बग्ने प्राय: खोला नदी त खहरेमात्रै हुन्। वर्षामा वैशालु हुने ती, हिउँदको घाम छिप्पिन नपाउँदै सुकिसक्छन्।
जमिनमुनि छिर्ने र फेरि रसाउने पानीको मुख्य स्रोत भनेकै वर्षाको पानी हो। खोला नदीहरूमा उर्लिने भेल हो। तर, ठुला ठुला नदीहरू तराई मधेस पुग्दैनन्। ती भावरबाटै अन्तैतिर पुगिसक्छन्। खहरे खोलाहरूको के नै भर हुन्छ र ! निरन्तर बगिरहने ठुला नदी बेसिनहरूले वरिपरिको मात्रै भाग रिचार्ज गरेका हुन्छन्।
धानखेत अनि कुलाहरू अब छैनन्। जहाँबाट रसाएर केहीमात्रामा पानी जमिनमुनि छिर्नसक्छ। अब ती नहर बनिसकेका छन्। सिमेन्ट लगाएका। त्यै पनि पानी हुँदैन। वा कुलाहरू मासिएका छन्। धानखेतमा अब पहिलाजस्तो पानी छैन। पुग्दा पनि पुग्दैन।
अब के गर्ने ?
जे गरिरहेका छौं, त्यो नगर्ने।
उपाध्यायकाअनुसार अब फेरि मूल ब्यूँझाउने उपाय भनेकै पानीको पुनर्भरण हो। हामीले जति निर्दयी वा बेफिक्र भएर जमिनमुनिको पानीको दोहन गर्यौं। अब त्यसको पैंचो तिर्न पनि ढिला भइसकेको छ। त्यसैले जतिसक्यो चाँडो अब हामी पुनर्भरणको अभियान सुरु गर्नैपर्छ। सोच्ने वा सल्लाह गर्ने, नीति बनाउने निर्णयहरूमा बाझिने र अल्झिने छुट अब छैन, त्यो समय घर्किसकेको छ।
अब पोखरीहरू बनाउने हो। तर, सस्तो लोकप्रियता कमाउन अहिलेका सरकार (स्थानीयदेखि संघीयसम्म) ‘एक गाउँ एक पोखरी’को नारामात्रै होइन। कुनै परियोजनामात्रै पनि होइन। यसका लागि अब ब्यापक अभियान नै जरुरी भइसकेको छ। जसलाई अबको पुस्ताले आफ्नो आदत बनाउन सकोस्, पानीका लागि।
पोखरी जहाँ बनाए पनि हुन्छ। आँगनमा बनाउँदा हुन्छ, आफ्नै खेतबारी जहाँ जत्रो सकिन्छ त्यत्रै बनाउँदा पनि हुन्छ।
पहाडमा आहाल वा पोखरी र वर्षे भलको व्यवस्थापन गर्न ढिला भइसकेको छ। यो प्रणालीलाई अहिले पूर्वोत्तर भारतमा अपनाइएको छ। नागाल्याण्ड राज्यमा त्यसलाई रुजा वा जाबो भन्छन् जसको अर्थ हुन्छ- बगिरहेको वा बगेर जाने पानीलाई एकै ठाउँमा रोक्नु। त्यहाँको स्थानीय भाषामा यो ‘जाबो’ भन्ने शब्द पारम्परिक खेती-किसानी प्राणलीसँग गाँसिएको छ।
यसअनुसार यहाँ धेरै त्यस्ता पोखरीहरू बनाइएका छन्। वर्षे भेल जम्मा गर्नका लागि ठुलो संख्यामा त्यस्ता पोखरीहरू छन्। सामूहिक र विशाल जमिनमा एकैपटक खेती गरिन्छ। जसले पानीको विशालमात्रा एकैठाउँमा जम्मा हुन्छ र जमिनमुनि पुनर्भरणमा सहयोग पुग्छ। भारतमा पानी जोगाउनका लागि अपनाइएको यो प्रणाली अहिले विश्वभरि चर्चित छ।
त्यस्तै मैदानी क्षेत्रमा ‘अहर’ र ‘पायन’ मोडेलबाट काम गर्न सकिन्छ। जसलाई भारतको मध्य प्रदेश अनि बिहारजस्ता ठाउँहरूमा अपनाइएको छ। ‘पायन’ भनेको लगभग ५००० वर्ष पुरानो त्यहाँको परम्परागत सिँचाइ विधि हो, जसले जमिनमा पानीको पुनर्भरणलाई मदत गर्छ। त्यस्तै तीनतिर बलिया तटबन्ध गरेर पानी जम्मा गर्ने बिधि ‘अहर’ हो।
राजस्थानका एकजना ‘पानी मान्छे’ले सुकेका मूल फर्काउन फेरि सुरु गरेको एउटा उपाय हो जोहाड। जो राजस्थानबाट विश्वभरि चर्चित भयो। यो भनेको पनि कृत्रिम तलावहरू बनाउनु हो।
अनि जलस्रोत मन्त्री हुँदा नीतिन गडकरीले लगाएको एउटा आइडिया थियो- बुलधाना मोडेल। यो भनेको के थियो भने उनले विकास निर्माणका लागि ढुङ्गा, बालुवा-गिट्टी वा माटो निकाल्दा बनेका खाल्डाखुल्डीहरूलाई उनले पुरेनन्। अनि वर्षाको पानी त्यसैमा जम्मा भयो। त्यसले जमिनमुनिको पानी ‘रिचार्ज’मा सहयोग गर्यो।
यी सबको अर्थ तलाउहरू बनाउने भनेको हो। ताल वा पोखरीहरू बनाउने भनेको हो।
‘तर अब त्यसका लागि ढिला गर्ने होइन’ उपाध्याय भन्छन्, ‘पोखरीहरू बनाउनुभन्दा अर्को कुनै उपाय नै छैन। त्यो भनेको एउटा वा दुई वटा वा केही हजार होइन, हामीले लाखौं त्यस्ता पोखरीहरू बनाउनुछ, जो आगामी पुस्ताको आदत नै बनोस् र त्यसले मात्रै अब जमिनमुनिको पानी पूर्ति गर्नसक्छ। प्रोजेक्ट होइन अब अभियानै चाहियो।’