गजेन्द्र बोहरा
सबैभन्दा पहिला उनीहरूले तिमीलाई घृणा गर्नेछन्, अनि फेरि उनीहरू तिमीमाथि खुब हाँस्नेछन्। त्यसपछि फेरि उनीहरू तिमीसँग लड्न अनि भिड्न आउनेछन्। त्यसपछि बल्ल तिम्रो जित हुनेछ…
महात्मा गान्धीले भनेजस्तै आफ्नै नियतिसँग लडिरहेको एउटा मान्छे आज नेपाली राजनीतिको सबैभन्दा अग्लो चुचुरोमा पुगेको छ, त्यो मान्छे हो- रवि लामिछाने।
गत भदौमा भैरहवा कारागारको एउटा अँध्यारो कोठाको मधुरो भित्तामा रवि लामिछानेले लेखेका थिए ‘यो युगमा अब कृष्णहरू जन्मिने छैनन् तर अन्यायका विरुद्ध लड्न अब जन्मिएका धेरै मानिस कृष्णजस्तै बन्नुपर्नेछ…।’
१२६ दिनसम्म भैरहवाको त्यो कालकोठरीमा थुनिएका रविको त्यो दिन ‘अड्डासार’ हुँदै थियो। त्यहाँबाट उनलाई सरुवा गरेर नख्खु कारागार लगिदैं थियो।
राजनीतिक जीवनका नियतिले एउटा रवि लामिछानेलाई यतिधेरै फन्को लगाएको छ कि कहिलेकाहिँ नियति आफै रन्थनिन्छ।
जिन्दगी सम्हाल्न अमेरिका पुगेको एउटा केटो, सपनाको त्यो रंगीन संसार त्यागेर फेरि नेपाली फर्किन्छ। जवानीका फुर्काहरू उसले अर्कै देशमा काम गरेर बितायो।
सबलाई थाहा छ, परिवारको गन्जागोल उसले त्यही संसारमा छोडेर आएको थियो। फेरि जिन्दगीलाई नयाँ सिराबाट अघि लैजान। नेपाल फर्किएपछिको पत्रकारिता कर्म। त्यसमै उसले फेरि चर्चा कमायो। परम्परागत पत्रकारिताको धारलाई उसले एकाएक अन्तैतिर मोडिदियो। त्यसमा पनि चुनौतीका कैयौ च्यूराहरू उसले चपाइदियो, पचाइदियो।
त्यसैले ऊ सबका लागि ‘रवि दाई’ भइदियो। धेरैका लागि ‘भगवान’ पनि। यो नेपाली समाजको आफ्नै स्वभाव हो।
यस्तो लाग्छ, कहिलेकाहिं उसलाई नियति अनि उसले भनेजस्तै भाग्य पनि मिलेर सँगसँगै खेदिरहन्छन्। र, पनि ऊ थाक्दैन। आत्तिन्न। कत्ति पनि बिचलित हुँदैन। कहिलेकाहिँ ऊ सबैलाई बेस्सरी गाली गर्छ। आफूले आफैंलाई ‘अभागी’ भन्छ। कराउँछ, चिच्याउँछ। तर कहिल्यै निराश हुँदैन। र, कहिल्यै हार्दैन पनि।
धेरैपटक उसलाई यो राजनीतिले हराउन खोज्यो। तर उसले हारेन। धेरैपटक उसलाई यो समाजले थकाउन खोज्यो तर ऊ कहिल्यै थाकेन। धेरै पटक यो देशका कानुनले उसलाई बाँध्न खोजे, छेक्न खोजे। तर अहँ सकेनन्, सक्दै त सकेनन्।
र, फेरि उसले जित्यो। त्यही माटोमा फेरि उसले जित्यो। आफूले मात्रै जितेन, सिङ्गो पार्टीलाई जितायो। यो देशका नवपुस्ताका सपनाहरूलाई ब्यूँझायो। वर्षौंदेखि ठगिएका, परम्परागत राजनीतिबाट पिल्सिएका अनि राजनीतिको त्यो डङ्गुरमा फतफतिएका करोडौं मान्छेहरूलाई जितायो। फेरि एकपटक उसले देशका युवा अनि नयाँ पुस्ताको भविष्यमा आशाका नौला किरणहरू झुल्कायो। यो मात्रै लहड थिएन, कुनै लहर मात्रै पनि थिएन। पातमात्रै हल्लाउने सिरसिरे पवन पनि थिएन। बतासमात्रै पनि थिएन। हुरीमात्रै पनि भए। बरु यो त एउटा आँधीजस्तै भयो। जनताका कैयौ आकांक्षा, आशा र भरोसाको आँधी। जसले सबका सबलाई उडाएर परपर पुर्याइदियो।
यो त्यो रवि हो, छेक्दाछेक्दै उदाएको, लखेट्दा लखेट्दै बौंरिएको। मुर्झिएर फेरि पनि फर्किन जानेको। रवि लामिछाने फेरि एकपटक चितवनको माटोबाट देशको राजनीतिका राजमार्गमा दगुर्न आइपुगेका छन्। यसअघिका भन्दा अझ सानदार मत लिएर। नेपाली राजनीतिका कतिपय कुत्सित मान्छेहरूले उनलाई पटक पटक यो राजमार्गबाट अलग गराउन खोजे। नियतिले उनलाई तीन वर्षमा तीनपटक चुनाव लड्नुपर्यो। तर जतिपटक लडे अघिल्लोभन्दा अझ धेरै जनताको मत लिएर उनले चुनाव जितेका छन्। यसपालि पनि यस्तै भयो।
पत्रकारिता गर्दागर्दै एकजना सहकर्मी मारिएपछि ‘आत्महत्या दुरुत्साहन’मा उनलाई जेल हालियो। त्यो बेला कम्तीमा १२ दिन बसे। तर देशभरिका मान्छेहरू उनको रिहाइको माग गर्दै चितवनभरि भरिए। रविलाई राजनीतिको चउरमा उतार्नका लागि देशभरिबाट उर्लिएको त्यो ‘प्रेम’ले कहिँ न कतै काम गरेकै थियो। जब पत्रकारिता छोडेर उनी पूर्णकालीन राजनीतिमा आए अनि फेरि उनीमाथि कैयौ मुद्दाहरू ओइरिन थाले।
कहिले नागरिकता, कहिले राहदानी, कहिले ठगी र कहिले अकुत सम्पत्ति थुपारेका नाममा उनलाई जेलमै सडाउने षड्यन्त्रहरू रचिए। र पनि ऊ कानुन मानिरह्यो। अदालतको आदेशलाई पछ्याइरह्यो। यसरी राजनीति सुरु गरेको लगभग ३ वर्षमा उनले २६९ दिनहरू जेलको कोठरीमा बिताउनुपर्यो। र, पनि रवि कहिल्यै थाकेनन्। कहिल्यै उनको अनुहार निराश देखिएन। सधैं आत्मविश्वासको बत्तिले रविको अनुहार सधैं चम्किरह्यो।
थाहा छ, उनीमाथि कैयौ फौंजदारी आरोपहरू छन्। संगीन मुद्दाहरूले उनको घाँटी अँठ्याइरहेको छ। र, पनि आम मतदातालाई लागिरहेको छ, यसपालि त मत फेरिन्छ, त्यो रविका लागि अनि त्यो बालेनका लागि। अदालतमा विचाराधीन मुद्दाहरूका कारण चितवनबाट चुनाव जिते पनि उनी संसद भने छिर्न पाउने छैनन् र पनि आम मतदातालाई लागिरहेको थियो, ‘यसपालि नयाँहरू आउनैपर्छ…।’
यी तमाम चुनौतीका फलामे च्यूराहरू चपाउँदा चपाउँदै तीन वर्षमै रविले नेपाली राजनीतिमा आफूलाई खरो सावित गरे। जसरी उनले आफ्नो जिन्दगीलाई सम्हाल्दै सम्हालिदैं बाँचिरहेका छन् पार्टीलाई पनि कहिल्यै बिथोलिन दिएनन्। बरु राजनीतिको यो अनन्त: राजमार्गमा भेटिएका कैयौ यात्रीहरू उनले थप्दै लगे। यसपालि अलि राजनीतिक चतुर्याइँ पनि गरे। नवपुस्ताको विद्रोहपछि ‘अकस्मात’ आएको यो चुनावी महासंग्राममा रविले यसपालि बालेनलाई भित्र्याए।
गत स्थानीय तहको निर्वाचनमा जोडिएर काठमाडौंमा सुनिएको एउटा नाम थियो- बालेन शाह।
तर पाँच महिनापछि त्यो नाम काठमाडौंवासीको मात्रै रहेन। देशभरमात्रै भएन। त्यो विश्वभरि पुगिसकेको छ- जहाँ नेपाली पुगेका छन्।
र, त्यो बालेन काठमाडौंको रैथाने राजनीतिको किल्ला भत्कएर देशकै राजधानी सहरको ‘महानगरका मेयर’ बने। तर उनी काठमाडौंमा मात्रै सिमित रहेनन्।
तर काठमाडौंसँग ‘साइनो’ गाँसिएकाहरू होउन् वा टाढाका। यहाँका मतदाता होउन् चाहे अरू नै ठाउँका चिन्ता र चिन्तनको एउटै बिम्ब बन्यो- बालेन।
पुर्ख्यौली घर मधेसमा हो उनको। तर काठमाडौंको नरदेवीमा जन्मिएका बालेन एक चर्चित र्यापर थिए, युट्युबमा हालेका भिडियोले उनलाई बालेन्द्रबाट बालेन बनायो। पेशाले इन्जिनियर उनी। भूकम्पपछि भत्केका केही थान घर पुनः ठडाउन उनीसहितको टोलीले काम गर्यो। त्यो समाजसेवा नभएर पेशाको एउटा पाटो थियो।
‘परिवर्तनको भोक’को भूमरीमा रन्थनिएको काठमाडौंले त्यही स्थानीय चुनावबाटै परिवर्तनका पालुवाहरू पलाउन सुरु गरिसकेको थियो। फेरि देशको राजनीतिक नियतिले २०८४ को चुनाव दुई वर्ष अघि नै सारिदियो। रास्वपाले बालेनलाई ‘प्रधानमन्त्री’का रुपमा प्रोजेक्ट गरेर चुनावमा होमिदियो।
उनै बालेन चारपटक प्रधानमन्त्री भइसकेका कुनैबेला आफूलाई यो जुनीकै शक्तिशाली ठान्ने र त्यही अहंकारले भरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको विरासत ढाल्न पुगे। यी उनै ओली हुन् जोसँग लड्दालडदै महानगरका मेयर बालेनका आधा दिनहरू सकिए। बालेनलाई जेलमा थुन्नेसम्मको योजना बुनेका उनै ओलीलाई झापा ५ मा बालेनले त्यो राजनीतिक अहंकारमात्रै ढालिदिएका छैनन्, बरु ओलीको नाममा मक्किएको त्यो राजनीतिक गढमा एउटा नयाँ इतिहास लेखेर आएका छन्। झापामा उनले यसपालि पाएको ६८ हजार ३ ४८ मत यसअघि जित्दै आएका ओलीले ल्याएका थिए न अरु कसैले ल्याउन सकेका थिए।
यतिमात्रै होइन रास्वपासँग देशभरि रफ्तारिएको ‘रवि-बालेन’को बतासले देशको एउटा राजनीतिक विरासत नराम्रोसित ढालिदिएको छ। र नेपाली राजनीतिमा सम्भवत: धेरै पछि कुनै पार्टीले एकल बहुमतमात्रै होइन दुई तिहाइको ‘जनादेश’ ल्याएको छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले हो।
पार्टी गठन गरेको लगभग चार महिनाभित्रै चुनावमा होमिएका रवि लामिछाने र उनको पार्टीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निकै अप्रत्याशित मत ल्यायो। राजनीतिको यही न्वारान रविको जीवनमा नियतिको ‘खेल’जस्तै बनिदियो। त्यो बेलाको स्थानीय निर्वाचनबाटै नेपाली राजनीतिमा चलेको ‘स्वतन्त्र हावा’ले रविको त्यो राजनीतिक यात्रालाई पनि यसरी दगुर्यायो कि अब उनलाई कतै रोकिने वा थामिने छुट नै रहेन।
स्थानीय निर्वाचन त्यो ‘वैशाखे’ हुरीसँगै २०७९ साल असार १७ गते निर्वाचनल आयोगमा उनले एउटा पार्टी गठन गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’। त्यो बेला उनी गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको महाप्रवबन्धक थिए। आफूलाई नै स्थापित गरेको पत्रकारिताको त्यो करिअर चटक्कै छोडेर उनी पार्टी राजनीतिमा होमिए। टेलिभिजनमै काम गरिरहेका आफ्ना केही विश्वासपात्र बनेका पत्रकारहरू लिए। समाजमा नाम कहलिएका केही चर्चित नामहरू जोडे। केही ‘थिङ्कट्याङक्’हरू खोजे। र उनले राजनीतिक यात्रा सुरु गरे। २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा केही दलको चुनावी गठबन्धनलाई चुनौती दिँदै रास्वपाले अप्रत्याशित नतिजा ल्यायो।
नेपालको संसदीय राजनीतिमा सम्भवत: पहिलोचोटी रास्वपाले धेरै नै ‘कलिला मुना’हरू संसदभित्र ल्यायो। राजनीतिमै पाकेर कपाल सेताम्य भइसकेका ‘रैथाने’ सांसदहरूका लागि भर्खरै छिरेका यी कलिला मुना अनि ‘नमुना’हरू अपत्यारिला पात्रहरू लाग्थे। पहिलो प्रयासमै प्रत्यक्ष र समानुपातिक गरी २१ जना सांसदहरू लिएर संसद छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तत: सरकार निर्माणको बाटोमा निर्णायक शक्ति पनि बन्यो। संसदमा चौथो ठूलो दलका रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी सम्भवत: अहिलेसम्म संसदमा धेरै नै ‘प्रश्न’ गर्ने सांसदहरू भएको पार्टी पनि रह्यो।
राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले लगभग ४९ हजार ३०० मतका साथ बिजयी भएका थिए। त्यसपछि एमाले माओवादीसँगै मिसिएर उनी सरकारमा सहभागी भए। गृह तथा उपप्रधानमन्त्रीसमेत भए। तर त्यो धेरै दिन टिक्न सकेन। उनीमाथि नेपाली नागरिकता अध्यावधिक नगरेको आरोप लाग्यो। जालसाझीको त्यो मुद्दाले रविको त्यो राजनीतिक सौर्य केही मधुरिएको जस्तो भयो। उनको संसद पद गुम्यो। तर अर्को दिन नै उनले फेरि नागरिकता पाए।
उनले जितेको क्षेत्र चितवन २ मा फेरि निर्वाचन घोषणा भयो। ८० को वैशाखमा भएको उपनिर्वाचनमा रविको राजनीतिक सौर्य अझ चम्किलो भयो। यसपालि त उनी पहिलाकोभन्दा पनि अझ धेरै ५४ हजार २७६ मत लिएर संसद फर्किए। लड्न अनि भिड्न त रविले पत्रकारिताबाटै सिकेका हुन्। त्यहाँ पनि रविले कसैलाई बोलीमा हराउन सकेनन्। यसै पनि लगातार ६० घण्टाभन्दा धेरै समयसम्म अन्तर्वार्ता चलाएर उनले आफ्नो नाम गिनिज बुकमा पनि लेखाइसकेका थिए।
नेपाली पत्रकारिताका कैयौ स्थापित मान्यताहरूलाई ढाल्दै रवि लामिछानेले यहाँ पनि फरक मानकहरूलाई स्थापित गरे। पत्रकारिताबाटै आफूलाई नेपाली समाजको एउटा हिस्सामा ‘भगवान’ सावित गरेका उनलाई राजनीति त फलिफाप हुँदै थियो। तर त्यही राजनीति उनको निजी जीवनका लागि भने ‘पनौती’जस्तै भइदियो।
जीवनका यस्तै धेरै नियतिहरूले रविको राजनीतिक जिन्दगीलाई सुरुदेखि नै पछ्याइरहेका छन्। परम्परागत राजनीतिक दलहरूको प्रतिसोध भनौं वा साधना नमिलेका उनका राजनीतिक सारथीहरू? जति रविलाई चाहनेहरू छन् त्यत्तिकै हिस्सा उनलाई दुत्कार्नेहरूको पनि छ। रवि कुनै राजनीतिक विरासतबाट खुसुक्क पदको सौर्यमा उदाएका पात्र होइनन्। यही समाजमा हेपिएका, न्याय पाउने आशामा झन् धेरै अन्यायबाट पिल्सिएका अनि आफ्नो सारा जवानी खाडीमा पसिना बगाउनेहरूका ‘सारथी’ बनेर उनले आफूलाई स्थापित गरेका हुन्।
नेपाली समाजको यो चरित्र नै हो कि कसैलाई रातारात ‘देवत्त्वकरण’ र कसैलाई क्षणका क्षण ‘राक्षसीकरण’ गरिहाल्ने। नेपाली राजनीतिमा पनि त्यो प्रवृत्ति उस्तै छ। राजनीतिमा पनि रविलाई राजनीतिको नयाँ शक्ति ठान्नेहरू छन्, राजनीतिको धमिलो पानीमा सुनौलो माछा समाउन आएका भन्नेहरू पनि छन्। उनलाई समकालीन राजनीतिको ‘बिपी कोइराला’ ठान्नेहरू पनि उनीसँगै छन्।
सहकारी ठगीका कैयौ गन्जागोल मुद्दाहरूसँग लड्दैलड्दै उनी पटक पटक जेल बस्नुपर्यो। अझै पनि पाँच जिल्लामा उनीविरुद्ध त्यस्तै ठगीका मुद्दाहरू छन्। करोडौं रुपैयाँ धरौटी बुझाइसकेका छन्। सम्पत्ति सुद्धिकरणको मुद्दा अझै उनको घाँटीमा झुन्डिरहेको छ। उनकै भाषामा ‘भाग्य’ले बिथोलेका रवि अघिल्लो कार्यकालमा उतिधेरै संसद छिर्न पाएनन्। सरकारमै पनि टिक्न सकेनन्। बरु उनलाई त्यस्तै मुद्दा र आरोपहरूले निरन्तर खेदिरहे। जसरी उनी आफैले कुनै बेला नेपालका मिडिया र पत्रकारहरूलाई बेस्सरी गाली गरेका थिए। दोस्रोपटक गृहमन्त्री भएपछि उनले त्यो गल्ती स्वीकार गर्दै माफी त मागे तर नेपालका मूलधार र परम्परागत मिडिया अनि पत्रकारहरू उनीप्रति कहिल्यै सकारात्मक भएनन्।
उनी कारागारमै रहेका बेला नेपालमा गत भदौ २३ र २४ गते जेनजीको विद्रोह भयो। त्यो विद्रोहलाई जेलबाटै नियालीरहेका उनलाई फेरि त्यही एउटा भीडले जेलबाट निकाल्यो। त्यो आन्दोलनमा सयौं नवयुवाहरूले जिन्दगी बिसाएका छन्। कतिले रगत मिसाएका छन्। २४ गतेको विध्वशंले देशका कैयौ धरोधर र अर्थतन्त्र खरानी भएको छ। त्यहाँबाट रवि निस्किनु, देशभरिका कैदीहरूको विद्रोह सुरु हुनु र हजारौं कैदी अहिले पनि फरार रहनुको दोष अहिले पनि रविमाथि नै छ। भलै उनले कागजी प्रक्रिया पुर्याएर निस्किएको दाबी गरिरहेका छन्, परिस्थितिका कैयौं ब्यवहारिक जटिलताहरू भनेका छैनन्। कुनै दिन भन्लान्। तर धेरै नै आलोचना भएपछि उनी फेरि आफ्नै जन्मदिनको साइत पारेर कारागार फर्किए। त्यसको केही महिनापछि अदालती प्रक्रिया पुर्याएरै छुटे। र, त्यही जेनजी विद्रोहको जगमा फागुन २१ गते हुन थालेको निर्वाचनमा फेरि आफ्नै निर्वाचन क्षेत्र फर्किएर चुनाव लडे र फेरि सानदार मत लिएर जिते।
उनको जीवनमा राजनीति फाप्यो कि फापेन? अझै फाप्ने हो कि होइन? यो उनको आफ्नै ‘भाग्य’लाई थाहा होला तर बालेनजस्ता नवपुस्ताका ‘नायक’लाई रावस्वामा ल्याएर फेरि एकपटक उनले जसरी परम्परागत राजनीतिको विरासतमा ‘घण्टी’ बजाइरहेका छन्, नेपाली राजनीतिक इतिहासमा यो पनि एउटा मानक बनेर स्थापित हुनेछ। जसरी २०६४ सालमा माओवादीसँग बन्दुकको बल थियो अनि जनतालाई त्यही डर थियो। अनि मतदाताको सारा मत माओवादीमै खनियो। युद्ध बिसाएर भर्खरै संसदीय यात्रामा झरेको माओवादीले सुरुवातमै पाएको त्यो मतको भारीले ऊ यसरी थिचियो कि अहिलेसम्म ओरालाव यात्रा उसका लागि थामिनसक्नु भएको छ। त्यसकै परिणाम हो कुनै बेला नेपाली राजनीतिमा सत्ता र शक्तिको फेरो समाइरहने पुष्पकमल दाहाल प्रचण्ड अब संसदको ‘साक्षी’मात्रै रहनेछन्।
नेपाली राजनीतिको विरासतमा यसपालि ‘परिवर्तनको घण्टी’ यसरी बजिदिएको छ कि नबदलिएका राजनीतिक दलहरू पनि त्यसको ध्वनीले ढलेका छन् बलिएका भन्नेहरू पनि त्यसको बतासले सिमलिएका छन्। अब नेपाली राजनीतिमा उनै थोत्रिएका अनि मक्किएका अनुहारहरू छैनन्। उनीहरूको चकचकी र बिगबिगी हुने छैन। तर यो चर्को आंकाक्षा र जनतामा जागेको चाहनाको उत्कन्टाले बजेको घण्टी उन्मादको ‘कर्कस’ नबनोस्, रविले यसलाई पक्कै सम्हाल्नेछन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया