आइतबार, २४ मे २०२६

हुम्ला–बाजुरा सीमा घटनाबारे एसएसपीको नेतृत्वमा छानबिन टोली गठन

News Image
• • •

हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आइतबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए।

मन्त्रालयले छानबिन टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी शीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बनेको र हुम्ला तथा बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विशेष सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति कार्यान्वयन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।

स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति स्थापनाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयात्मक बैठक गर्दै आवश्यक पहल अगाडि बढाइरहेको पनि प्रवक्ता काफ्लेले बताएका छन्।

त्यस्तै सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गरिसकेको छ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन्।

नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!