मङ्गलबार, १४ अप्रिल २०२६

ओमप्रकाशलाई राष्ट्रिय सभा लैजान रक्षा बमहरूले नै गरेका थिए जोडबल

News Image
• • •

नागरिक सरकारले राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा ‘जेनजी विद्रोह’काे मर्मविपरीत वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेपछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ।

२३ र २४ भदौको बलमा सिंहदरबार छिरेका थिए उनी। तर, गृहमन्त्री अर्यालकाे नाम राष्ट्रिय सभामा सिफारिस भएपछि एकहुल जेनजीहरू फेरि सडकमा उत्रिएका छन्।

राजनीतिसँग कुनै साइनो नभएका तर, पेशाले अधिवक्ता उनी काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको कानुनी सल्लाहकार बनेपछि एकाएक चर्चामा आएका थिए। तथापि, उनी अड्डा–अदालतवृत्तमा परिचित नै थिए।

जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा गृहमन्त्री बनेका अर्याल प्रधानमन्त्री सुशीला कार्कीको झन् प्रियपात्र बनेका छन्। निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका खेलेको उपहार स्वरुप प्रधानमन्त्रीले राष्ट्रिय सभा लैजान खाेज्दा भने अहिले अनेकन झमेला खप्नु परेकाे छ।

निर्वाचनअघि केही मन्त्रीहरूले धमाधम राजीनामा दिँदै रास्वपाबाट उम्मेदवार बनेको भन्दै आलोचना खेपिरहँदा प्रधानमन्त्री कार्कीको साथ नछोड्दा वाहवाही कमाइरहेका गृहमन्त्री अर्याल अहिले माथिल्लाे सदन ताक्दा विवादमा तानिएका छन्।

राष्ट्रिय सभा सदस्यको एक सिट खाली छ। जुन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्छन्। अर्यालले राष्ट्रिय सभामा वामदेव गौतमको ठाउँ लिन जाँदैछन्। राष्ट्रपतिबाट मनोनित भएमा उनी ६ वर्ष सांसद हुनेछन्।

रास्वपा स्रोतका अनुसार वरिष्ठ नेता बालेन शाहको ‘कोर टीम’ले अर्यालको नियुक्तिमाथि चासो देखाएपछि राष्ट्रपतिले उनको नाम होल्डमा राखेका छन्। दुईतिहाइ हाराहारीको ‘बालेन सरकार’सँग अविश्वासकाे अवस्था सिर्जना नहोस् भन्नेमा सतर्क छन् राष्ट्रपति पौडेल पनि।

राजनीतिक वृत्तमा प्रधानमन्त्री कार्कीकाे चर्काे आलाेचना भइरहँदा सिंहदरबार स्राेतले भने रक्षा बम नेतृत्वकाे जेनजी समूहको दबाबमा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको दाबी गरेको छ।

स्रोत भन्छ, ‘उहाँहरू (रक्षा)कै समूहले त्यस्तो कठिन अवस्थाबाट मुलुकलाई ट्र्याकमा फर्काएको भन्दै अर्यालजीलाई राष्ट्रिय सभामा सिफारिस गर्न प्रधानमन्त्रीलाई दबाब दिएको साँचो हो।’

रक्षा नेतृत्वकाे जेनजी समूह हप्तादिन अघिदेखि अर्यालको नाम बोकेर प्रधानमन्त्रीकहाँ दौडिरहेकाे थियाे। यता, प्रधानमन्त्रीका स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्तिको विरोधमा खुलेरै लागेको याे समूह अर्यालबारे मौन मात्रै होइन, बचाउमा नै देखिनुले प्रधानमन्त्री कार्यालयको दाबी पुष्टि हुने आधार देखिन्छ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते दिउँसो हालकी प्रधानमन्त्री कार्कीसँगै नयाँ बानेश्वरमा देखिएका अर्याल साेही राति जंगी अड्डा पुगेका थिए। उनैले रक्षा लगायतलाई जेनजी नेताको रुपमा प्रधान सेनापति अशाेक राज सिग्देलसामु चिनाएका थिए।

त्यसपछि गृहमन्त्री अर्याल र जेनजी अगुवा रक्षाको साझेदारी बनिरह्यो। सडक आन्दोलनमा माइतीघर पुगेका अर्कोथरी जेनजीहरू भन्छन्– ‘अर्यालले रक्षालाई जेनजी नेताका रुपमा स्थापित गरे। उनै, रक्षाहरूले अर्याललाई गृहमन्त्री बनाउन सहयोग गरे।’

त्यस्तै, केही महिनाअघि नागरिक सरकारसँगै रक्षा समूहले चुनावकाे पक्षमा चट्टानी अडान लिइरहँदा सुदन गुरुङको समूह भने गृहमन्त्री अर्यालको राजीनामा मागिरहेको थियो।

याे समूहले अर्यालको चर्को आलोचना र विरोध गर्दा रक्षाहरू उनको पक्षमा ढाल बनेर उभिएका थिए। कतिसम्म भने, उबेला जेनजी अगुवाको तर्फबाट मन्त्रिपरिषद्‍मा रक्षा बमलाई लैजान गृहमन्त्री अर्याल खुलेरै लागेको बालुवाटार स्रोत बताउँछ।

तर, सुदन समूहले अवरोध गर्‍यो। बरु उनले भावना राउतलाई मन्त्री बनाउन पटक–पटक नाम टिपाए। सुदनको सिफारिस गृहमन्त्री अर्यालले फिर्ता पठाएपछि अन्ततः बालेन समूहबाट बब्लु गुप्ताले चान्स मारे।

अर्याल कुनै समय बालेनकै कानूनी सल्लाहकार थिए। मानिसहरूमा कतिसम्म भ्रम रह्यो भने बालेनले नै आफ्ना पूर्वसल्लाहकार अर्याललाई गृहमन्त्री बनाए। तर स्रोत भन्छ– बालेनले अर्याल होइन, आफ्नै महानगर प्रहरी बल प्रमुख राजु पाण्डेलाई गृहमन्त्री बनाउन खोजेका थिए। तर, अर्यालले सबै जेनजीलाई फकाउँदै र खेलाउँदै आफैं गृहमन्त्री बने।

जब बालेनको विरोधका बाबजुद अर्याल गृहमन्त्री बनेको विषय बाहिरियो, तब बालेननिकट भिक्टर पौडेललगायतले उनको राजीनामा माग्दै सामाजिक सञ्जालमार्फत दबाब बढाए। आफ्नो समूहबाट मन्त्री नबनाएको इख लिएर बसेका सुदनले पनि सोही मौका छोपेर अर्यालको राजीनामाका लागि अभियान नै चलाए। तर, यसपटक पनि रक्षा समूह गृहमन्त्रीकाे राजीनामा हाेइन, ‘ताेकिएकै मितिमा निर्वाचन हुनुपर्छ’ भन्दै अर्यालको पक्षमा खम्बा बनेर उभियो।

उबेला जेनजीका अलगअलग समूहले सिंहदरबारकाे टाउको दु:खाइरहेकाे थियाे। यद्यपि, याे क्रम आज पनि जारी नै छ। एकथरी जेनजीहरू सडकमै छन्।

राेचक दृश्य त तब देखियो– जब निर्वाचनको मिति नजिकिँदै गयाे। एकाएक कतिपय जेनजी अगुवा, सुदन गुरुङ र बालेनहरू रास्वपाकाे घण्टीघरमा छिर्दा ‘रक्षा’ भने अलग्गै देखिइन्।

यद्यपि पछिल्लो समय जब कांग्रेसको नेतृत्वमा गगनले हस्तक्षेप गरेपछि खासगरी अर्याल र रक्षाहरूको झुकाव त्यतातर्फ देखिएको चर्चा चलेको थियो।

चुनावी नतिजापछि झन्डै दुईतिहाइ नजिक पुगेको रास्वपाले पूर्वसहमति बमोजिम वरिष्ठ नेता बालेन शाहलाई पूरै कार्यकाल प्रधानमन्त्री बनाउने पक्कापक्की जस्तै छ। बालेनको स्वभावसँग राम्रोसँग परिचित गृहमन्त्री अर्याल यतिबेला रक्षा समूहलाई अघि सार्दै रक्षात्मक बनिरहेकाे चर्चा रास्वपावृत्तमा छ।

एकातर्फ, सरकारमाथि कार्की आयोगको प्रतिवेदन नयाँ सरकार गठन अगावै सार्वजनिक गर्न व्यापक दबाब छ। अर्कोतर्फ, रक्षा समूहको सहयोगमा राष्ट्रिय सभामा फड्को मार्ने दाउमा देखिन्छन् अर्याल।

त्यसो त प्रधानमन्त्री कार्कीले नयाँ सरकार गठनअघि प्रतिवेदन सार्वजनिक नगर्ने मनस्थिति बनाइसकेको बालुवाटार स्रोत बताउँछ।

प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको जिम्मेवारी नयाँ सरकारलाई दिने मुडमा देखिन्छिन् प्रधानमन्त्री कार्की। उता, रास्वपाबाट चुनाव जितेका कतिपय सांसदहरूमाथि छानबिन आयोगले कारबाही सिफारिस गरेको सिंहदरबारनिकट स्रोतको दाबी छ।

सोही कारण गृहमन्त्री अर्यालले रक्षा समूहलाई प्रयोग गरेर प्रतिवेदन सार्वजनिक गर्न दबाब बढाइरहेको बताइन्छ। प्रतिवेदन सार्वजनिक भए रास्वपामाथि दबाब बढ्ने र राष्ट्रिय सभामा आफ्नो सिफारिस सदर गराउने उनको मनसाय देखिन्छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!