शुक्रबार, १३ मार्च २०२६

‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्‍यो’ (भिडियाेसहित)

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

चार महिनाअघि गहभरि आँसु बनाएर रुपाले आमासित भनेकी थिइन्, ‘म बाहिर बस्न सक्दिनँ। मलाई समाज र प्रहरीले राम्रो मान्दैन। म फेरि रिह्याब सेन्टर बस्न चाहन्छु। अब म सुध्रिन चाहन्छु आमा!’

दुई हात जोडेर रुँदै गरेकी छोरीलाई देखेर आमा पनि भक्कानिइन्। छोरीलाई सुधार केन्द्र पठाउन आमा तयार भइन्।

आफ्नो कुरामा आमाको सहमति देखेर खुसी भइन् रुपा। उनी आफैंले ट्याक्सी बोलाइन्। र, आमासँग उनी गोकर्णस्थित आरुबारीको ‘सोबर महिला पुनस्र्थापना केन्द्र’ पुगिन्। 

त्यो सुधार केन्द्र गएको उनी पहिलोपटक थिएन। त्यसअघि उनी ६औं पटक सुधार गृहमा बसिसकेकी थिइन् तर ७औं पटकको सुधार केन्द्र रुपाको लागि फरक थियो।

६ पटक परिवारको करकारले रिह्याब बसेकी उनी ७ औं पटक भने आफ्नै खुसीले उपचारको लागि सुधार केन्द्र छिरिन्, आफूलाई सुध्रार्ने हुटहुटीले।

चार महिनादेखि सुधार केन्द्रमा बसिरहेकी रुपा अहिले खुसी छिन्। राम्रोसित खाना र सुत्न सक्छिन्।

तर, विगत सम्झिदा अझैपनि झस्किने गर्छिन्।

आठ वर्षअघि रुपाको ‘नेपाल प्रहरी’मा जागिरे बन्ने धोको थियो। फूर्तिलो शरीर, लोभलाग्दो उँचाइ। उनलाई घरकाले पनि भन्थे, ‘तिमी पुलिस बन्न फिट छौं।’

प्रहरी बन्ने सपनामा बुबाआमाको साथ। उनी खुसी थिइन्। जीवनका यात्रा सहज लाग्न थाल्यो।

तर आफूले सोचेजस्तो कहाँ हुन्छ र, जिन्दगीमा। रुपाको जीवनमा पनि कहिल्यै नसोचेको भइदियो।

साथीभाइको संगतले उनलाई कुलतमा पुर्यायो।

१५ वर्षको उमेरमा रुपाले पहिलोपटक चुरोट तानिन्। उनले चुरोट पिउन साथीहरूबाटै सिकेकी थिइन्।

उनीसँग पढ्ने साथीहरू चुरोट पिउँथे। झगडा गर्थे अनि स्कूलबाट भागेर घुम्न जान्थे। रुपाले पनि साथीहरूको नक्कल गर्न थालिन्।

झगडा गर्ने, स्कूलबाट भागेर चुरोट तान्दै हिँड्नु त उनको दैनिकी बन्यो। ‘साथीहरूसँग मिलेर चुरोट पिउँदा र झगडा गर्दा खूबै रमाइलो लाग्थ्यो। हामीजस्तो कोही छैन लाग्थ्यो’, उनी सुनाउँछिन्, ‘आफूले आफैंलाई ग्याङस्टार सम्झियौं।’

साथीहरूको करले चुरोट पिउन थालेकी रुपाले गाँजा खान पनि सिकिन्। उनी गाँजामा रमाउन थालिन्। 

तर, नशामा रुमलिन थालेकी रुपाको लागि चुरोट र गाँजा त मात्र सिँढी थियो, कुलतको बाटो पछ्याउने। 

‘पहिलोपटक गाँजा खाँदा मलाई धेरै ट्रिप दियो। तर सधैं गाँजा खाइरहँदा मलाई रमाइलो लागेन’, उनले भनिन्, ‘मैले सुरुको ट्रिप पाउनको लागि नयाँ–नयाँ नशा खान थालें।’

चुरोट–गाँजाबाट उनले गोटी खान थालिन्। पहिलोपटक नशा दिने गोटी खाँदा उनलाई रमाइलो लाग्यो। उनले दुनियाँ भुलिन्। 

सुरुवातमा एक–दुई वटा गोटी खाने उनले विस्तारै २०–२५ वटा गोटी निल्न थालिन्। 

‘पहिलाचोटी मैले दूई वटा गोटी खाएँ तर साथीहरूले जिस्काउन थालेपछि २५ वटासम्म खाएको पत्तै पाइनँ’, उनले भनिन्, ‘साथीहरूलाई देखाउनको लागि भएपनि मेरो नशाको डोज बढ्यो।’

लागुऔषध खान थालेपछि रुपाको व्यवहार पनि बदलिन थाल्यो। परिवारसँग उनको सम्बन्ध टाढिदैं गयो। उनको बास घर बाहिरबाहिरै हुन थाल्यो।

घरमा तोडफोड गरेर बुबाआमासँग पैसा खोसाउनु उनको कामै बन्यो। जब पैसाको खाँचो पथ्यो, तबमात्र उनी घर फर्किन्थिन्। नत्र त उनको लागि सबथोक साथीभाइ र सडक नै थियो।

‘लागुऔषध खाएपछि मान्छे आफ्नो कन्ट्रोलमा नहुँदो रहिछ। जे गर्न नहुने त्यो सबै लागुऔषधले गराउने रहिछ’, उनको भोगाइ छ।

छोरीको लागुऔषध खाने आदतका कारण बिरक्तिएका बुबाआमाले कयौं रात रुएरै बिताए। तर, रुपालाई त्यसको कुनै प्रवाह नै थिएन।

उनी त सधैं नशा दिने औषधिको खोजीमा मात्र भौतारिरहन्थिन्। ‘मलाई मेरै मतलब थिएन, झनै परिवारको के हुन्थ्यो र!’, उनी सुनाउँछिन्, ‘आफ्नै ज्यानको माया नभएपछि कसैको मतलब नहुने रहिछ।’

सधैं नशामा झुलिरहने उनले परिवारको प्रेम गुमाइसकेकी थिइन्, झन समाज त उनको लागि परैको कुरा थियो।

उनी बाटोमा हिँड्दा समेत टाउको निहुँराएर हिँड्थिन्। उनकै अगाडि छिमेकीले नानाथरि कुरा काट्थे। उनी नसुनेजस्तो गर्थिन्।

‘मेरो अगाडि साथीको आमाले मेरो संगत नगर्नु भनेर आफ्नो छोरीलाई भन्नुभयो तर जवाफ फर्काउनको लागि मसँग केही शब्द थिएन’, उनी सुनाउँछिन्, ‘आखिर, बिग्रेको मान्छेसँग घुलमिल होस् भन्ने कुन चाहिँ बुबाआमाको सोच हुन्छ र?’

रुपाको कारण परिवार पनि लज्जित थिए। छिमेकील परिवारलाई पनि मनपरी भन्थे।

समाजको अवहेलनाका कारण बुबाआमाले छोरीलाई घरमा थुनिदिए, छोरी सुध्रिएला कि भन्ने सोचले। 

तर, छोरी झनै ‘डेन्जर’ भइन्।

त्यो दर्दनाक घटना...

बुबाआमाले चारभित्ते कोठामा थुनिदिएपछि रिसाएकी थिइन् रुपा। उनको मनमा अनेकौं कुरा खेल्न थाले।

उनी आफैंसित प्रश्न गर्थिन्, ‘अरूको बुबाआमाले यसरी छोरीलाई नजरबन्दमा राख्दैन तर मेरो आमाबुबाले मलाई किन यस्तो गरिरहेको छ? मलाई किन हेपिरहेको छ?’

दिनभरि बन्द कोठामा बसिरहँदा श्वासै फेर्न गाह्रो भएजस्तो लाग्यो उनलाई। जसरीहुन्छ उनी घरबाट निस्किन चाहन्थिन्। 

तर कसरी?

रुपाले डरलाग्दो उपाय निकालिन्।

उनले ऐनामा टाउको ठोकाइन्। फुटेको सिसाले हात काटिइन् अनि डोरी घाँटीमा बेरेर झुन्डिने धम्की समेत दिइन्।

छोरीको त्यो रुप देखेर डराएका बुबाआमाले आत्तिदैं छोरीलाई कोठाबाट बाहिर निकाले। ‘हामी तिमीलाई बाहिर निस्किन दिन्छौं छोरी तर यस्तो गलत काम नगर’, त्यतिबेला आमाबुबाले रुँदै भनेको कुरा अझै रुपाको कानमा गुञ्जिरहन्छ।

घरमा तोडफोड मच्चाएर रगताम्य भएको आफ्नो शरीर सम्झदा अहिले आफैं तर्सिछिन् उनी। भन्छिन्, ‘अहिले त्यो घटना सम्झदा पनि मुटु काँप्छ।’

घरमा झगडा बुबाआमासँग पैसा माग्नु उनको लागि नौलो थिएन। बरू, उनमा त झनै हिम्मत थपिएको थियो, नयाँ–नयाँ नशाको प्रयोग गर्ने।

‘बुबाआमाले मेरो असली रुप देखिसकेका थिए। त्यसैले मलाई कुनै डर थिएन। झन मभित्र नयाँ कुरा ट्राई गर्ने हिम्मत आयो’, उनी भन्छिन्, ‘झगडा गरेर पैस पाइहाल्थें।’

परिवारलाई नटेर्ने, आफ्नो मनमर्जी गर्ने रुपाले धुलो ड्रग्स खान थालिन्। त्यसले उनलाई झनै धेरै ट्रिप दिएजस्तो महसुस भयो। 

तर उनी त्यसमात्र रोकिएनन्। रुपाले ‘सिरिन्ज’ ड्रग्स पनि प्रयोग गरिदिइन्। ‘हामीले एकपटक नशा गर्न थालेपछि त्यसको डोज बढ्दै जाने रहिछ। हाम्रो कन्ट्रोलै नहुने रहिछ। त्यो कुरा मैले पछि मात्र थाहा पाएँ’, अहिले उसलाई आत्मग्लानी छ।

ड्रग्सको कारण रुपाले आफूले आफैंलाई बिर्सिइन्। उनको लगाउने कपडादेखि हिँड्ने चालढाल पनि बदलियो। 

छोरी मान्छे भएर रातमा ढिला घर आउने र टोलमा होहल्ला गर्ने त उनको बानी बन्यो। त्यही बानीले रुपाको परिवारले नपाउनुको दुःख पायो। दिनदिनै डेरा सर्नुपर्यो। 

‘मध्यरातमा आएर गेटमा तोडफोड र हल्ला गरेपछि कुन चाहिँ घरबेटीले नकराउँदो होला र?’, उनी सम्झिन्छिन्, ‘मेरो कारण बुबाआमालाई घरबेटीले कराउनुहुन्थ्यो। घरबाट निस्किएर तुरुन्तै जान लगाउँथ्यो तर मेरो अभिभावकले हात जोडेर अर्को डेरा नपाएसम्म बस्न दिनु भन्दै अनुरोध गर्नुहुन्थ्यो।’

छोरीको कारण चारैतिरबाट गाली आउन थालेपछि बुबाआमाले रुपालाई ‘सुधार केन्द्र’ राखिदिने योजना बुने। 

०७५ सालताका।

एकदिन उनी ‘हन्टिङ’ जाने तयारीमा थिइन्। आफूसँग भएको २२ सय रुपैयाँलाई .२५ सय बनाउने तरखरमा थिइन् रुपा।

तर त्यहीबेला घरको गेटभित्र एउटा गाडी रोकियो। त्यहाँबाट तीन–चार जना केटीहरू बाहिरिए। त्यसपछि उनलाई झ्यामझुम समातेर गाडीभित्र कोचे।

त्योबेलासम्म रुपालाई थाहा थिएन, उनलाई कहाँ र किन लैजाइँदैछ। ‘मलाई समात्ने केटीहरू पहलवानजस्तै देखिनुहुन्थ्यो। मैले विरोधै गर्न सकिनँ’, उनले भनिन्, ‘अपहरणशैलीमा मलाई गाडीभित्र कोचिएको थियो।’

आफूलाई अन्जान मानिसहरूले समातेपछि उनले झगडा गरिन्, गालीगलौज गर्न समेत भ्याइन्। तर उनले छुटकारा पाइनन्।

उनी आफू अन्योलमा थिइन्, कहाँ लैजादैंछन् यी केटीहरूले?

घरबाट निस्किएको केही समयपछि उनलाई एउटा गेटभित्र छिर्याइयो। त्यपछि उनलाई आफू ‘सुधार केन्द्र’ मा आएको कुरा बुझ्न समय लागेन।

‘रिह्याब पुगेपछि मलाई रिस उठ्यो तर केही बोलिनँ। मेरो कुरा सुन्ने पनि कोही थिएनन्’, रुपा भन्छिन्, ‘घरबाट निस्किँदा मैले झगडा गरेकी थिएँ तर रिह्याब पुगेपछि म शान्त भएँ। किन? थाहा छैन। सायद, हाम्रो लागि मन्दिर भएर होला।’

रिह्याब बस्न थालेपछि उनलाई पिँजडामा थुनेजस्तो भयो। तर जसोतसो उनले २ महिना कटाइन्। र, तीन पुग्नै लाग्दा उनले बुबाआमासँग अनुरोध गरिन्, ‘म सुध्रिसकें। अब खान्नँ। यहाँबाट निकाल्नूस्।’

छोरीले आफू सुध्रिएको कुरा सुनाएपछि आमाबुबाले उनलाई सुधार केन्द्रबाट निकाले। तर रुपा सुध्रिएकी थिइनन्।

रिह्याबबाट बाहिरिएपछि फेरि उनले नशा सुरु गरिहालिन्।

‘हामीलाई रिह्याबमा खराब साथीको संगत नगर्न भनेर सिकाउँछ तर मैले त्यही गरें। सुधार केन्द्रबाट बाहिरिएपछि मैले पुरानै साथीहरूसँग भेटें। त्यसपछि फेरि खान थालें’, उनी भन्छिन्, ‘त्योबेला मलाई सुध्रिन्छु भन्ने सोच पनि थिएन रहेछ।’

एकपटक सुधार केन्द्र राखेकी छोरीले फेरि लागुऔषध खाएपछि बुबाआमाले रुपालाई दोस्रो पटक रिह्याब राखे। उनी त्यतिखेर पनि सुध्रिनन्।

छोरीलाई सुधार्ने सपना देखेका बुबाआमाले उनलाई तीन पटक, चार पटक, पाँच पटक र ६ पटकसम्म रिह्याब राखिदिए। तरपनि रुपा सुध्रिनन्।

बरू, झनै उनको ड्रग्सको डोज बढ्यो।

सधैं घरमा झगडा गर्नु, ड्रग्स खानु र पुलिस चौकी धाइरहनु उनको लागि दैनिकी बन्यो। प्रहरी चौकीमा रुपा परिचित भइन्।

दिनदिनै पुलिसको चक्कर अनि समाजको अपहेलना। रुपालाई आफ्नो जीन्दगी देखेर बेक्कार लाग्न थाल्यो। 

‘म देखेर मान्छे यतिधेरै डराउन थालिसकेका थिए कि जंगलको बाघ–भालु देख्दा पनि त्यति डराउँदैन होला। मलाई देखेर मान्छे तर्सिएको देख्दा नरमाइलो लाग्थ्यो’, त्यहीकारण् उनमा सुध्रिने रहर पलायो।

तर कसले सुधार्ने? साथीभाइसँग सहयोग मागिन्, कसैले सुनेन।

अन्ततः उनले आमालाई नै आफू सुध्रिने बताइन्। र, रिह्याब सेन्टर बस्न थालिन्।

‘हिजोको दिनमा मलाई जसले लागुऔषध खानको लागि प्रोत्साहित गर्यो। त्यही मान्छेले म सुध्रिन्छु भन्दा टेरेन। म बिग्रिदा सबैले हौसला दियो तर सुध्रिन्छु न्दा कसैको सहयोग पाइनँ’, उनको गुनासो छ, ‘मलाई प्रयोग गरेको कागजजस्तो गरियो।’

आफूलाई सुधार्ने संकल्प गरेकी रुपाको लागि सातौं पटकको उपचार सहज थिएन। उनी साता दिनसम्म सुत्न सकिएनन्। खान सकिनन्। आफूलाई सम्हाल्न पनि सकिएनन्। तर उनीसित आत्मविश्वास थियो, अब त सुध्रिनैपर्छ।

रुपाको त्यही आत्मविश्वासले चार महिनादेखि नशाबिहिन छिन् उनी।

भलै, उनको नशा नखाएको समय थोरै छ। तर अहिले भने रुपाको एउटा अठोट छ, ‘अब पनि सुध्रिन सकिनँ भने कहिल्यै सक्दिनँ।’

विगतमा नशा खाएर सडकमा भौतारिने रुपा अहिले नशाविना खुसी छिन्। 

उनले धन–सम्पत्ती कमाएकी छैनन्। लागुऔषध खानको लागि बुबाआमाले लगाइदिएको गहना पनि बेचिन् तर अहिले उनको मन नशा त्यागेको कारण सन्तृष्ट छ।

‘मैले कमाएको केही छैन तर म खुसी छु। विगतमा आमाबुबालाई धेरै दुःख दिएँ। रुवाएँ तर अगामी दिनमा सुख दिनु नसकेपनि दुःख चाहिँ दिन्नँ’, जीवनबारे उनी भन्छिन्, ‘खुसी हुनका लागि धेरै ठुलो काम गर्नु नपर्ने रहिछ। सानोतिनो कुराले पनि रमाउन सकिने रहिछ।’

(माथि लेखिएको पात्रको नाम परिवर्तन गरिएको हो।)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!