ईश्वरी राई (इशु)
चार वर्षअघि ‘एसईई’ दिएर घरमै बसिरहेकी थिइन् पार्वती, नतिजाको पर्खाइमा।
त्यतिबेला पढ्ने–लेख्ने काम थिएन। उनी दिनभरि आमालाई घरको काममा सघाउँथिन्।
एकदिन पार्वती आमासँगै घाँस काट्न घरबाट निस्किइन्, २० मिनेट टाढाको जंगलमा। घाँस काट्नु उनको लागि नौलो काम थिएन। उनले छिट्टै घाँसको भारी पनि पुगाइन्।
टाउँकोमा नाम्लो बाँधेर घाँसको भारी बोक्दै घर फर्किदैथिइन् पार्वती।
तर, दुर्भाग्य।
उनी भीरबाट लडिन्। त्यसपछि के भयो? उसैलाई राम्रोसँग यकिन छैन।
घाँसको भारीसँगै पार्वती भरिुबाट लडेको आमाले थाहा पाइन्। त्यसपछि अत्तालिँदै उनलाई आमाले रामेछापबाट काठमाडौंको ट्रमा सेन्टरमा पुर्याइन्।
पार्वतीको अवस्था देखेर डाक्टरले मेरुदण्ड भाँचिएको भन्दै ढाडको अप्रेशन गर्न सुझायो।
पार्वतीको अवस्था जटिल थियो। त्यतिनै जटिल थियो उनको अप्रेशन। अस्पतालमा उनलाई देख्ने कुरुवाहरुले त ‘यी नानी बाँच्दिनन्’ भनेर ठोकुवा समेत गरिसकेका थिए।
तर, पार्वतीलाई कालले छोएन। उनको खुट्टा भने चल्न छोडिसकेको थियो। उनलाई डाक्टरले भनेको थियो, ‘अब तपाईंको खुट्टा चल्दैन।’
अस्पतालको बेर्डमा लम्पसार परेकी पार्वतीको मनमा भने झिनो आश थियो, अप्रेशन गरेपछि खुट्टा चल्छ कि!
उनको ढाडको अप्रेशन सफल भयो। तर, खुट्टा चलेन। पार्वतीले सदाको लागि खुट्टा गुमाइन्।
१६ वर्षको उमेरमा खुट्टा दुई वटै खुट्टा गुमाएकी पार्वतीले पाँच महिना ट्रमामा बिताइन्। र, त्यसपछि साँगामा थेरापीको लागि गइन्।
उनले करिब दुई महिना थेरापी गराइन्। अनि, रामेछाप फर्किइन्।
अप्रेशन गरेर गाउँ फर्किदा उनको स्वास्थ्य अवस्था राम्रै थियो। आफैंले खाना खान सक्ने भइसकेकी थिइन्।
तर, पाँच महिना गाउँको बसाइँपछि पार्वतीको स्वास्थ्य बिग्रदै गयो। उनको शरीरभरि घाउ फैलियो।
छोरीको अवस्था देखेर निराशिएका बुबाआमाले पार्वतीलाई फेरि ट्रमा पुर्याए।
अस्पतालमा घाउको उपचार भयो। र, डाक्टरले पार्वतीको ‘नचल्ने खुट्टा पनि काट्नुपर्छ’ भनेर
सुनायो।
सुरुमा त, पार्वतीको खुट्टा काट्ने पक्षमा थिएनन् बुबाआमा नै। तर, छोरीको ज्यानै जाने भएपछि छोरीको खुट्टा काट्न तयार भए अभिभावक पनि।
पार्वतीको ज्यान बचाउन दुबै खुट्टा काटियो। तर पार्वती खुसी थिइनन्। उनलाई खुट्टा गुमाउनुको त पीडा छँदै थियो, त्यसमा पनि खुट्टा काट्नुको पीडा थपियो।
तर, उनले गर्नसक्ने केही थिएन। मात्र सहिरहिन्। सत्यलाई स्वीकारिन्।
अहिले पनि पार्वतीलाई खुट्टा गुमाएर काट्नुपरेको कुराले पिरोलिरहन्छ। तर, अहिले भने उनले आफूलाई सम्हाल्न जानिसकेकी छिन्।
उनी भन्छिन्, ‘सत्यलाई नकार्न नसकिँदो रहिछ। त्यो कुरा सम्झदा अहिलेपनि दुःख लाग्छ। आजको दिन पनि मलाई सपनाजस्तै लाग्छ।’
दोस्रो पटकको अप्रेशनपछि उनी आठ महिना ट्रमा भर्ना भइन्। त्यसपछि उने जन्मभूमि नफर्किने वाचा आफैंसित गरिन्।
‘गाँउ जाने मन धेरै थियो तर बाध्यताको कारण जान सकिनँ’, उनी भन्छिन्, ‘गाउँतिर ह्वीलचियर गुड्ने ठाउँ छैन। त्यसैले म काठमाडौं बस्न बाध्य भएँ।’
आफ्नो जन्मघर र परिवारसँग टाढा बस्ने रहर थिएन पार्वतीलाई तर परिस्थितीले सँगै बस्नै दिएन।
डेढ दशक सँगै बसेका परिवारसँग टाढिएपछि उनी काठमाडौंस्थित जोरपाटीको ‘बीआईए फाउण्डेशन’ मा जोडिन्। जहाँ पार्वतीजस्तै सयौं जनाले ह्वीलचियरमै बसेर जीविकोपार्जन गरिरहेका थिए।
ह्वीलचियरमै रमाएकाहरूलाई देखेर पार्वतीमा पनि आत्मविश्वास बढ्यो।
‘उहाँहरू खुसी हुनुहुन्छ भने म चाहिँ किन सक्दिनँ र? भन्ने प्रश्न मन उब्जियो। त्यसपछि हिम्मत गरें’, उनी सम्झिन्छन्, ‘त्यसपछि आफ्नो कमजोरीलाई बिर्सिन थालें।’
आफ्नो कमजोरीलाई बिर्सिएर जसोतसो ह्वीलचियरको साहारामा जीवनलाई गुडाइरहेकी थिइन् पार्वतीले तर अर्को पीडा थपियो।
पार्वती थला परिन्। उनी फेरि अस्पताल पुगिन्।
ह्वीलचियरमा बस्दाबस्दै उनको शरीरभरि घाउ फैलियो। त्यो घाउलाई निको बनाउन पार्वतीले सात महिना अस्पतालमा बिताइन्।
अस्पतालमा सात महिनाको बसाइँपछि उनी संस्था फर्किइन्। र, काम गर्न थालिन्।
करिब तीन वर्षदेखि ‘बीआईए’ बस्दै आइरहेकी पार्वती अहिले कलेज पढ्दैछिन्। र, काम पनि गर्छिन्।
बिहान कलेज जाने उनी दिनभरि थाङ्का कोर्ने काम गर्छिन्, ह्वीलचियरमै बसेर।
‘सुरुमा ह्वीलचियर गुडाउन नसकेर गाह्रो भएको थियो तर अहिले जतापनि गुडाउन सक्छु। अहिले ठिक छ। तर दुबै खुट्टा भएजस्तो त कहाँ हुन्छ र?’, उनी सुनाउँछिन्, ‘पहिलेभन्दा अहिले चाहिँ केही सहज महसुस भएको छु।’
तुहियो आर्मी बन्ने सपना...
२०७८ सालको घटनाअघि खाइलाग्दो अनि फूर्तिलो शरीर थियो पार्वतीको। त्यही शरीरको कारण उनले आर्मी बन्ने सपना बुनेकी थिइन्।
उनको त्यो सपनामा परिवारको पनि सहमत थियो। उनलाई आर्मी बन्न प्रेरित गरिन्थ्यो।
तर, अहिले त्यो सपना उनको लागि ‘एकादेशको कथा’जस्तै भएको छ। जुन कहिल्यै पूरा हुने छैन।
‘मेरो आर्मी बन्ने रहर सपनामा मात्र सीमित भइदियो’, भावुक हुँदै उनी भन्छिन्, ‘सोचेजस्तो जीवनमा नहुँदो रहिछ।’
आफ्नो अवस्था देखेर अरुले कठैभन्दा निकै दुःख लाग्छ पार्वतीलाई। कयौं पटक त अरु मान्छेले यसरी बाँच्नुभन्दा मर्नु नै जाति भनेको पनि सुनेकी छिन् उनले।
तर, उनलाई जीन्दगीमा केही गरेर बुबाआमालाई खुसी बनाउनु छ। कसैको भरमा बाँच्नु छैन उनलाई।
अब पार्वतीको जीवनको लक्ष्य भनेको आत्मनिर्भर भएर बाँच्नु हो।
करिब चार वर्षदेखि परिवारसँग टाढिएकी छिन् पार्वती। तर, बुबाआमासँग भने फोनमा कुरा गरिरहन्छिन्।
उनलाई भेट्न बेलामौकामा आमा संस्थामै आउँछिन् पनि। तर, बुबा कहिल्यै आएका छैनन्। आउनै मान्दैनन्।
पार्वती भन्छिन्, ‘मेरो अवस्था देख्दा बुबालाई रुन मन लाग्छ रे। त्यहीभएर उहाँ यहाँ आउन खोज्नु हुन्न।’
आफ्नो कारण परिवार दुःखी हुँदा पार्वतीलाई आत्मग्लानी हुन्छ। तर, कसैले ‘कठै’ भनेको सुन्दापनि उनलाई निकै नरमाइलो लाग्छ।
‘यस्तो भएर बाँच्नुभन्दा त मरेकै राम्रो हुन्थ्यो भनेर कयौं जनाले भनेको म आफैंले सुनेको छु। त्यो सुन्दा साह्रै दुःख लाग्छ’, उनी खुलाउँछिन्, ‘अरूले मलाई बिचरा भनेको मन पर्दैन।’
भलै, उनले पैसा कमाउन सकिनन् होलिन्। तर, उनलाई आमाबुबालाई खुसी बनाउनु छ।
कसैको भरमा बाँच्नु छैन उनलाई आफ्नो लागि आफैं कमाउने रहर छ।
अब पार्वतीको जीवनको एउटै लक्ष्य छ, त्यो हो आत्मनिर्भर भएर बाँच्ने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया