शनिबार, २१ मार्च २०२६

क्रान्तिको नाममा लुट, देशको नाममा धोका

अरुण सापकोटा

अरुण सापकोटा

काठमाडौं
News Image
• • •

नेपाली राजनीतिमा सबैभन्दा धेरै दुरुपयोग गरिएको शब्द हो—क्रान्ति। यो शब्द कहिले गरिबको आँसु पुछ्ने बहानामा, कहिले राष्ट्र बचाउने नारामा, त कहिले नयाँ नेपाल बनाउने सपनामा प्रयोग भयो। तर आज जब हामी वरिपरि हेर्छौं, प्रश्न उठ्छ—क्रान्ति कसको लागि भयो? देशका लागि कि नेताका लागि? क्रान्ति कहिले पनि देशका लागि नभएको भान अहिलेसम्मको काम र कारवाहीले देखाउँछ।

देशको हालत दयनीय र दुःखदायी छ। युवाहरू भविष्य खोज्दै त्रिभुवन विमानस्थलको लाइनमा छन्। किसान मल र सिँचाइको अभावमा आत्महत्या गर्न बाध्य छन्। मध्यम वर्ग ऋणमा डुबेको छ। तर यिनै देशको नेतृत्व गर्ने नेताहरू करोडौँका गाडीमा हिँडिरहेका छन्, लाखौँ मासिक खर्च हुने कार्यालयहरू चलाइरहेका छन्, र जनतामाथि नैतिकताको उपदेश दिइरहेका छन्। अरुले सेमिनार भोज गरे भ्रष्टचार तर आफैंले गरे प्रचार र विचार भन्ने भाष्य सृजना गर्छन।

यो विरोधाभास होइन, यो राजनीतिक लाजमर्दो यथार्थ हो।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापा— जो भाषणमा परिवर्तनको झण्डा बोक्छन् तर त्यो परिवर्तन गर्न गरेका नकारात्मक कार्यलाई छेक्न आफ्नै अघोषित सेवक परिचालन गर्छन उनको राजनीतिक छवि ‘आशा’ को रूपमा बेचिन्छ। तर आशा बेच्ने नेताको जीवनशैली करोडौँको गाडी, पाँच–छ वटा कार्यालय र लाखौँको मासिक खर्चमा आधारित छ भन्ने चर्चा बाहिर आउँदा, यो केवल व्यक्तिगत विषय रहँदैन। यो राजनीतिक नैतिकताको प्रश्न बन्छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली— जो सधैं सादगी, राष्ट्रवाद र सिद्धान्तको कुरा गर्छन्—उनको वरिपरि देखिने शक्ति संरचना, सुरक्षा घेरा र खर्चको विवरण हेर्दा लाग्छ, यो कुनै समाजवादी नेता होइन, दरबारको अवशेष हो। जनता पेट काटेर बाँचिरहेका छन्, नेता भने करदाताको पैसामा राजश्री जीवन बाँचिरहेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’— जसले हजारौँ युवालाई बन्दुक बोकाएर “समानता”को सपना देखाए—आज स्वयं असमानताको सबैभन्दा ठूला प्रतीक बनेका छन्। जनयुद्धका नाममा बगाइएको रगत अन्ततः केही परिवारको शक्ति र सम्पत्तिमा रूपान्तरण भयो भने त्यो युद्ध इतिहासको सबैभन्दा ठूलो राजनीतिक ठगी होइन र?

रास्वपाजस्ता ‘नयाँ’ दलको कथा झनै पीडादायक छ। रास्वपाका सभापती रवि लामिछाने जसलाई पुरानो राजनीतिबाट वाक्क भएर जनताले नयाँ विकल्पका रुपमा खोजिरहेका छन्। तर यहाँ पनि ठूलो आर्थिक शक्ति, करोडौँको डिपोजिट, जरिवाना तिर्न सक्ने क्षमता—यी सबैले स्पष्ट संकेत गर्छन् कि नयाँ राजनीति पनि पैसाकै काखमा हुर्कँदैछ।

काठमाडौंका पुर्व मेयर तथा वरिष्ठ नेताको पदवि पाएका बालेन शाह जो प्रतिरोधको प्रतीक बने, उनको नाममा पनि करोडौँको गाडीको चर्चा आउनु सामान्य विषय होइन। प्रश्न व्यक्ति होइन, प्रणालीको संक्रमण हो। सत्ता छोएपछि सबै एउटै बाटोमा किन हिँड्छन्? किन सबै ‘भिन्न’ भएर आएका पात्रहरू पनि अन्ततः सुविधाको दलदलमै फस्छन्?

यसको जवाफ एकदमै स्पष्ट छ, नेपाली राजनीति पूँजी बिना सम्भव छैन। र जहाँ पूँजी शासन गर्छ, त्यहाँ नैतिकता लिलामीमा पर्छ।

विनोद चौधरी, चौधरी ग्रुप, उमेश श्रेष्ठ, शेष घले, अग्रवाल ग्रुप, मिनबहादुर गुरुङ, गोल्यान ग्रुप, मालपानी ग्रुप– यी नामहरू अब केवल व्यवसायिक ब्रान्ड होइनन्, यी नै नेपाली राजनीतिका अदृश्य प्रधानमन्त्री हुन्। चुनाव कसले जित्ने, पार्टी कसले चलाउने, नीति कुन दिशामा जाने यी सबै निर्णय बन्द कोठामा हुन्छन्, जहाँ जनता उपस्थित हुँदैनन्।

त्यसैले कुनै एक नेताको गाडी गन्नु, कार्यालयको संख्या गन्नु मात्र पर्याप्त होइन। यो संरचनागत लुट हो। राजनीति सेवा होइन, व्यापार बनेको छ। चुनाव लगानी हो, सत्ता नाफा।

यहाँ एउटा तीतो तुलना गर्नैपर्छ—डोनाल्ड ट्रम्प।

ट्रम्प व्यापारी थिए, राजनीति आउनुअघि नै अर्बपति थिए। तर नेपालका नेताहरू व्यापारी होइनन्, उद्योगपति होइनन्, जोखिम उठाउने उद्यमी होइनन्— तर सम्पत्तिको मामलामा उनीहरू ट्रम्पभन्दा कम देखिँदैनन्। फरक यत्ति हो— ट्रम्पले व्यापार गरेर कमाए, यहाँ नेताहरूले पहुँच बेचेर।

देश बनाउने जिम्मा लिएका नेताहरू आज देशभन्दा ठूलो परिवार बनाउने प्रतिस्पर्धामा छन्। श्रीमती, छोरा–छोरी, साला–भिनाजु, ज्वाइँ, कार्यकर्ता—सबैको भविष्य सुरक्षित गर्न राज्य प्रयोग भइरहेको छ। मन्त्रालय नीति निर्माणको केन्द्र होइन, भर्ती केन्द्र बनेको छ। संसद जनताको आवाज होइन, सौदाबाजीको मञ्च बनेको छ।

यसको परिणाम आज हामी भोगिरहेका छौँ।
-शिक्षा महँगो छ, स्वास्थ्य पहुँच बाहिर छ।
-न्याय ढिलो छ, कहिलेकाहीँ बिकाउ छ।
-संविधान कागजमा छ, व्यवहारमा छैन।

तर नेताहरू भन्छन्—“धैर्य गर्नुस्।”
जनताले ३० वर्ष धैर्य गरे।
अब देशले के पायो?

यदि यही क्रान्तिको उपलब्धि हो भने, यसलाई सफल भन्नु देशप्रति अपराध हो।
यदि यही गणतन्त्रको सार हो भने, यसलाई गौरव भन्नु जनताप्रति धोका हो।

अब समय आएको छ— नेताहरूलाई असहज प्रश्न गर्ने।
अब समय आएको छ— क्रान्तिको नक्कली गाथा च्यात्ने।
अब समय आएको छ— राजनीतिलाई नैतिकताको कठघरामा उभ्याउने।

नेताहरू बदलिँदैमा केही बदलिँदैन।

जबसम्म राजनीति गर्ने उद्देश्य—सेवा होइन, सुविधा—रहन्छ, तबसम्म हिजोका ढोंगी र आजका आशा सबै भोलिका निराशा बन्नेछन्।

क्रान्ति अब भाषणमा होइन, चरित्रमा देखिनुपर्छ।
नत्र इतिहासले कठोर फैसला सुनाउनेछ—
नेताहरूले देश चलाएनन्, देशलाई चलान गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!