बिहिबार, ११ जुन २०२६

खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद

News Image
• • •

पुरुष राष्ट्रिय भलिबल टोलीमा खेलाडी छनोट प्रक्रिया विवादित बनेको छ।

पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ खेल्ने राष्ट्रिय टोलीमा विना प्रतिष्पर्धा छनोट गरिएको भन्दै खेलाडीहरूले असन्तुष्टि जनाएका छन्। 

राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरूले छनोट प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै कुनै पनि प्रक्रिया पूरा नगरी प्रशिक्षक र संघका पदाधिकारीको मिलेमतोमा मनलाग्दी टोली घोषणा गरिएको आरोप लगाए।

काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ पाकिस्तान भलिबल फेडेरेशनको आयोजनामा असार १७ देखि २३ गते (जुलाई १–७) सम्म इस्लामाबादमा हुँदैछ। प्रतियोगिताका लागि भलिबल संघले ६ नयाँ खेलाडीहरू समावेश गरेर १२ सदस्यीय नयाँ राष्ट्रिय टोली घोषणा गरेको छ।

सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर राष्ट्रिय टोलीमा समेटिएका छन्। बाँकी खेलाडी भने गत वर्ष बंगलादेशमा भएको काभा पुरुष नेसन्स कप खेल्ने खेलाडीहरू रहेको भलिबल संघले बताएको छ।

के भन्छन् असन्तुष्ट खेलाडीहरू?

राष्ट्रिय टोलीमा खेलिसकेका एक खेलाडीका अनुसार संघले छनोट प्रक्रियाबारे कुनै जानकारी नै नदिइ सिधै १२ जना खेलाडीको नाम निकालेको हो। उनका अनुसार संघले खेलाडी छनौटबारे कुनै जानकारी नै गराएको छैन। संघ र प्रशिक्षकको मिलेमतोमा टोली घोषणा गरिएको उनको आशंका छ।

उनी भन्छन्, ‘संघले हामीलाई केही पनि भनेको छैन, हामीले पनि केही पनि भनेका छैनौं। आश त हुन्छ नै उत्कृष्ट खेलाडी टीममा परिएला भन्ने। नपरेपछि अब के भन्ने? एकपटक खुल्ला छनौट गरिदिएको भए राम्रो हुन्थ्यो। आफूलाई मन लागेको खेलाडी टिपेर राखेको जस्तो भयो।’

गाउँमा टोले कप खेल्न फोन गरेर टीम बनाएजस्तै राष्ट्रिय टोली घोषणा अपारदर्शी हुन नहुने उनी बताउँछन्।

राम्रो खेलिरहेकाहरूलाई अन्याय हुने गरी नयाँ टोली घोषणा गरेर भलिबल संघले खेलाडीहरूको भविष्यमाथि गम्भीर खेलबाड गरेको राष्ट्रिय टोलीमा खेलिसकेका अर्का खेलाडीको गुनासो छ।

‘नयाँ खेलाडीले त चित्त बुझाउने ठाउँ होला। तर, ६ महिना/ १ वर्षभित्र राम्रो खेलिरहेका खेलाडीहरू पनि परेनन्। पर्नुपर्छ भनेको पनि होइन तर, छनोट प्रक्रिया के हो, खेलाडी कुन आधारमा छनोट गरियो भनेर खुलाउनु त पर्ला नि?’

‘संघमा कुरा राख्नेबारे हामीले सोच्दा पनि सोचेनौं। बालुवामा पानी हालेजस्तै त हो। हामीले त हरेश खाइसक्यौं। मनपरी छ उहाँहरूको। विना प्रतिष्पर्धा, छनोट प्रक्रिया मिचेर टोली घोषणा गरिएको छ। हाम्रोलाई भन्दा राम्रोलाई हाल्नुपर्‍यो भन्ने हाम्रो मान्यता हो,’ उनले दिक्दारी पोखे।

के भन्छ नेपाल भलिबल संघ?

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले राष्ट्रिय टोली घोषणामा कुनै विवाद नरहेको दाबी गरेका छन्। प्रदर्शन हेरेरै उत्कृष्ट खेलाडी छनोट गरिएको उनको दाबी छ।

‘छैन छैन केही विवाद छैन, कोचले छान्ने हो खेलाडी, भलिबल संघले अनुमोदन गरेको हो। राम्रो खेलाडी परेका छन्। त्यस्तो विवाद मलाइ जानकारीमा छैन। हेड कोचले वर्षभरीको खेल हेरेर, प्रधानमन्त्री कपमा देखाएको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरू छनोट गरेको हो,’ महासचिव श्रेष्ठको दाबी छ।

खेलाडी छनोट निर्विवाद रहेको दाबी गर्दै उनले यसबारेमा थप कुरा गरिरहनु नपर्ने बताए।

यता राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षकमा जगदीश भट्टले छोटो समयमा सहभागी गराउनुपर्ने भएकोले बंगलादेशमा काभा पुरुष नेसन्स कप खेल्ने टोलीलाई नै पाकिस्तान पठाउन लागिएको दाबी गरेका छन्। यद्यपि खेलाडी छनोटमा विवाद देखिएको उनले स्वीकार गरेका छन्।

उनी भन्छन्, ‘नेपालले छोटो समयमा सहभागी गराउनुपर्ने भयो। १०/१५ दिनमात्रै बाँकी छ। हामीले ४० जना खेलाडी ल्याएर ६ महिना प्रशिक्षण गरेको भए विवाद नै आउने थिएन। हामीसँग समय भएन। पाकिस्तानसँग भिसाको समस्या, अत्यन्तै कम समयमा सहभागी हुने भएपछि एकवर्ष पहिले बंगलादेशमा खेल्न गएको टीमलाई पठाउने भनेको हो।’

बंगलादेशमा खेल्न गएको टोलीमा कतिपय खेलाडीहरू विदेश पलायन भएका र कतिपय घाइते अवस्थामा रहेकाले उनीहरूको ठाउँमा प्रधानमन्त्री कपमा राम्रो खेलेका खेलाडीहरूलाई प्रतिस्थापन गरिएको भट्टको दाबी छ।

‘नयाँ टोली घोषणा भएको होइन, पुरानै टोलीमा केही खेलाडी रिप्लेस मात्र गरेको हो। नेपाल भलिबल संघले त्यो उल्लेख गरिदिएको भए सबैले बुझ्ने थिए। अब नेपालमा यस्तै हो। राजनीतिमा पनि जति सांसद छन् सबैलाई मन्त्री बन्नुपर्ने। खेलकुदमा पनि सबैलाई खेलाडी र कोच हुनुपर्ने,’ उनी भन्छन्।

असन्तुष्ट खेलाडीहरूले भने प्रशिक्षक भट्टको दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार पुरानै टोली पुनर्गठन गरिएको संघको दाबीमा सरासर झुट देखिन्छ। प्रशिक्षकले दाबी गरेजस्तो विदेश पलायन भएका मात्र होइन नेपालमै सक्रिय रुपमा खेलिरहेका खेलाडीहरूलाई पनि विनाजानकारी बाहिर राखिएको छ। 

‘होला कतिपय खेलाडीहरू विदेश जानुभयो तर, नेपालमै खेलिरहेका खेलाडीहरू पनि परेका छैनन्। पहिले उहाँहरूले नै योग्य छैनन् भनेका खेलाडीहरू चैं अहिले १२ जनाको टीममा परेका छन्, अनि खेलिरहेका योग्यहरूलाई चैं अयोग्य भनिदिने?’ खेलाडीहरूको प्रश्न छ।

सन्तोष राईलगायत खेलाडीहरू नेपालमै खेलिरहे पनि भलिबल संघले जानकारी नै नदिइ टीमबाट निकालेको जानकारी पाएको खेलाडीहरूले दाबी गरेका छन्। यसबारेमा बुझ्ने प्रयास गरिए पनि राईसँग सम्पर्क हुन सकेन।

यस्तो छ नयाँ राष्ट्रिय टोली–

सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द।

यस्तो थियो बंगलादेशमा काभा पुरुष नेसन्स कप खेल्ने १४ सदस्यीय टोली–

धनबहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, सरन सामरी क्षेत्री, शैलेन्द्र यादव, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द, सन्तोष राई

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!