शुक्रबार, १२ जुन २०२६

फिफा विश्वकप महाकुम्भः कसको पक्षमा छन् कलाकारहरू? मेस्सी, रोनाल्डोदेखि एम्बापेसम्म

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीबार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन।

फिफाले यसपटकको विश्वकपमा ४८ देशका राष्ट्रिय टोलीलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ टीमले बढी हो। चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान तथा जोर्डन त नवप्रवेशी मात्र छन्। यसले प्रतियोगिताको समयमात्र होइन, यसपटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ ।

यसपटकको विश्वकपमा कुल १०४ खेल खेलिनेछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ, जुन सन २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति पनि हो।

आफ्नो रोजाईको टीमले उपाधि चुमोस् भन्ने अभिलाषाका साथ नेपाली समर्थकहरू उत्साहित तथा खेलको प्रतिक्षाको घडी नजिकियोस भनेर आतुर छन्। जति–जति खेल प्रारम्भ हुने समय नजिकिँदै छ, उति–उति ढुकढुकी बढिरहेको छ, खेल समर्थकहरूको।

हरेकको आफ्नो आफ्नो रोजाईको टिम छ। सबैलाई विश्वकप फुटबलको महाकुम्भले छोईरहँदा कलाकारहरूलाई नछुने कुरै भएन।

हामीले कला क्षेत्रमा अनवरत रुपमा लागिरहेका कलाकर्मीहरूसँग विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप–२०२६’ को २३औँ संस्करणमा तपाईँको रोजाईको टिम कुन हो? भनेर सोधेका छौँ। तेजन खड्कासँग गरिएको कुराकानीको सार जस्ताको त्यस्तैः

रेखा थापा, अभिनेत्री

मलाई पोर्चुुगल खेल एकदमै मनपर्छ। क्रिष्टियानो रोनाल्डोको फ्यान हुँ। म सदावहार पोर्चुगलको समर्थक हुँ। विश्वकपमा पोर्चुगलले उपाधि चुमोस भन्ने लाग्छ। ब्राजिलका नेइमारको खेल पनि एकदमै मन पर्छ।

ज्योती मगर, गायिका

म त नेपाल विश्वकप फुटवलमा पुगोस् भन्ने चाहन्छु नि। आफ्नै देशप्रति अनमोल प्रेम भए पनि आफ्नो देश विश्वकपमा नपुगेको कारण कुनै देशको समर्थन गर्नै पर्छ। सुुरुवाती खेलहरू खासै हेर्दिन। सांगीतिक कार्यक्रमका दौडधुपले थकान पनि हुन्छ। म क्वाटरफाईनल र सेमिफाईनलदेखिका खेल सबै नछुटाई हेर्छु। त्यसपछि कुन टिमको समर्थन गर्ने हो, निश्चित हुन्छ। जजमेन्ट हुन्छ, गरिन्छ। हामी विश्वकप फुटबलबाट जति मनोरञ्जन लिन्छौँ, आफ्नो समर्थक राष्ट्र हार्दा उत्तिनै दुःखी पनि हुन्छौँ। खेल हो, हार–जीत त अवश्य हुन्छ नै। तर म के भन्न चाहन्छु भने, खेल हेर्ने मात्र होईन, हाम्रा नयाँ पुस्ताका तथा राष्ट्रिय टीमका खेलाडीहरूले पनि विश्वकप फुटबलबाट नयाँ–नयाँ ट्याकल सिकुन्।

भुवन केसी, अभिनेता

विश्वकप फुटबल मलाई एकदमै मनपर्छ। हरेक संस्करण जहिल्यै पनि समय अनुुकुल नछुटाई हेर्ने गर्छु। म चाँहि अर्जेनटिनाको फ्यान हुँ। म जहिले पनि अर्जेन्टिनालाई सर्पोट गर्छु। म्यारोडोनाको पालादेखि नै म अर्जेन्टिनाको फ्यान हुँ। मेस्सी खेलमा रहुन्जेलसम्म म अर्जेन्टिनालाई सर्पोट गर्छु। यो पटक खेल हेरेर कुन टिमले मन जित्छ, उत्कृष्ट प्रदर्शन गर्छ, त्यस अनुसार निर्धारण गर्दै म उसैको सपोर्ट गर्छु। आजसम्म चाहिँ अर्जेन्टिना नै हो।

डम्बर नेपाली, गायक

लामो समयको प्रतिक्षापछि आजदेखि प्रारम्भ हुन गईरहेको विश्वकप फुटबल निक्कै प्रफुल्लित छु। खेलमा सबै टीमहरू छनौट भएर नै स्पर्धामा सहभागी जनाउनु भएको हो। सबै टीम राम्रो भएता पनि म चाहिँ अर्जेन्टिनाको समर्थक हुँ। बालापनदेखि नै म अर्जेन्टिनाको सपोर्टर हुँ। अहिले पनि एकदमै राम्रो लाग्छ। भविष्यमा पनि अर्जेन्टिनाकै सपोर्टर हुन चाहन्छु। र जीत–हार आफ्नै ठाँउमा छ। खेल हेरेर ईन्जोय गर्नु होला भन्न चाहन्छु।

सिर्जना सुब्बा, अभिनेत्री

मेस्सी अन्तराष्ट्रिय खेल जगतकै उत्कृष्ट खेलाडी हुन्। खेल राम्रो भएर पनि कहिलेकाहिँ ‘लक’ ले साथ नदिन पनि सक्छ। होला धेरै जना विभिन्न देशको फ्यान हुनुहुन्छ। तर मेस्सीको खेलमा खोट लगाउने ठाउँ छैन। होला, क्लबका गेममा थुप्रै खेल जिताए पनि मेस्सीले आफू सम्मिलित खेलबाट आफ्नो देशको लागि जीत दर्ता गराउन सकेका थिएनन्। खेल रोमाञ्चक अति रोमाञ्चक गत सीजनको खेलमा उनले उपाधि चुमाए। क्लबलाई मात्र जिताएको आफ्नो देशलाई जिताउन नसकेको ट्यागबाट उनले छुटकारा पाए। मलाई मात्र हैन, सबैलाई लागेको थियो, सायद। मेस्सीले देशलाई जिताउन् भनेर, ईतिहास कायम गरुन् भनेर। उनी सफल भए। त्यो चाहना मेरोमात्र थिएन, जस्तो लाग्छ। देशलाई होइन, मेस्सीप्रतिको लभाव र सद्भाव थियो। खेल हो, हार–जीत हुन्छ अवश्य हुन्छ नै। आफ्नो आफ्नो समर्थन हुन्छ नै। म चाँहि यो पटक एम्बाप्पेहरूले पनि आफ्नो देशलाई जिताउन्, पेले म्यारोडोना, रोनाल्डो, मेस्सीहरू जस्तै उदियमान खेलाडी जन्मिउन्, नाम रा खुन् भन्न चाहन्छु। फुटबलमा भविष्य छैन भन्ने आमा–बुवाहरूले आफ्ना नानीहरूले खेल्दै गर्दा रोक्ने होइन। उनीहरू जस्तै बनुन् भन्ने कामना गर्दै नवपथ निर्माणका खुड्लाहरू बनाईदिउन् भन्न चाहन्छु। मलाई खेलमा पुस्तान्तारणहुँदै उदियमानहरूको जन्म होस् भन्ने लाग्छ। मेरो सानो बाबुले चाँहि रोनाल्डो भन्छ। फ्यान फलोईङले पनि होला।

दीपकराज गिरी, कलाकार

म अर्जेन्टिनाको समर्थक हुँ । सन १९९० देखि विश्वकप हेर्न थालेको हुँ। आजन्म यो टिमको समर्थन गर्छु । विगतमा निद्रा मारेर विश्वकप हेरेको छु। यस पटक भने छायाङ्कनले गर्दा विश्वकपनजिक आएको पनि त्यति आभास भएको छैन। म खेलकुदमा एकदमै चासो राख्ने व्यक्ति हुँ, तर यस पटक सुटिङले गर्दा खासै ध्यान दिन पाएको छैन । यस पटकको विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच फाइनलमा भिडन्त हुने मेरो अनुमान छ । कुनै बेला मनोरञ्जनका साधन एकदमै कम हुँदा फुटबलमा एकदमै चासो हुने गर्थ्यो। हाम्रो देशमा अहिले क्रिकेटको माहोल छ । त्यसैले फुटबलमा अहिले हाम्रो पालाको जस्तो चार्म देख्दिन। यस पटक पोर्चुगल, स्पेन, जर्मनीलाई पनि दावेदारीका रूपमा लिएको छु । पाँच पटकको विजेता ब्राजिल केही कमजोर भएको हो कि भन्ने मेरो बुझाइ छ ।

बिजय बराल, कलाकार

म ब्राजिलको समर्थक हुँ । मलाई त सानो बेला आफ्नो अनुहार पनि रोनाल्डोको हो कि जस्तो लाग्थ्यो  । सबैले जिस्काउने पनि गर्थे । सन् २००२ मा ब्राजिलले विश्वकप ट्रफी उचालेको देख्दा मेरो मन धेरै प्रफुल्लित भयो किनभने मैले विश्वकप हेर्न थालेको समय त्यही नै थियो । त्यसपछि प्रिय लागेको ब्राजिल हो, मलाई सधैँ बाज्रिल मन पर्छ । म प्रायः सबै टिमको खेल उत्तिकै चाख दिएर हेर्ने हेर्छु। तर आफूलाई मन परेको टिम बाहिरिएपछि भने खेल हेर्ने मुड हुँदैन । विश्वकप त प्रतियोगिता मात्रै नभएर उत्सव जस्तै भइसक्यो । साथीहरूकहाँ बसेर कसको समर्थन गर्ने भनेर योजना बनाउन थालिसकेँ । ब्राजिल फाइनलमा पुगोस् भन्ने चाहना त अवश्य नै छ तर सोचे जस्तो सबै कहाँ हुन्छ कि हुन्न, खेल बाँकी नै छ ।

वर्षा राउत, अभिनेत्री

म खासै फुटबलमा चासो राख्दिन। तर पनि म ब्राजिलको समर्थक चाँहि हुँ । सन २००२ मा ब्राजिलले विश्वकपको ट्रफी उचालेसँगै ब्राजिलको फ्यान बनेकी हुँ । समर्थकको हिसाबले ब्राजिलले फाइनल कप उचालोस नै भन्ने हो तर खेल हो केही भन्न सकिन्न । यस पटक जर्मनी र ब्राजिल फाइनलमा पुग्ने मेरो अनुमान छ ।

बिनिता कार्की, अभिनेत्री

मेरो प्रिय टिम अर्जेन्टिना हो । अर्जेन्टिनासँगै मलाई फ्रान्स पनि मन पर्छ । खेल त अरूको पनि राम्रो हुन्छ तर अर्जेन्टिनाको चाहिँ विशेष लाग्छ । मलाई आफूले समर्थन गरेको टिमले विश्वकप जित्नै पर्छ भन्ने लाग्दैन तर तर आफूले समर्थन गरेको टिम सक्दो माथि पुगेको हेर्ने चाहना त अवश्य हुन्छ नै । मेरो प्राथाना छ, अर्जेन्टिनाले राम्रो खेल्न सकोस, फाइनल जितोस्।

नीति शाह, अभिनेत्री

यस पटक म पोर्चुगल र ब्राजिल फाइनलसम्म पुगेको हेर्न चाहन्छु।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!