शुक्रबार, १२ जुन २०२६

सीपले बनायो आमा–छोरीलाई आत्मनिर्भर

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

झन्डै २ दशकअघि सबिना तामाङलाई केही कुराको कमी थिएन। श्रीमान र छोराछोरीको साथमा खुसी थिइन्। नपुग्दो केही थिएन। उनलाइ लाग्थ्यो, खुसी नै जिन्दगी हो। 

तर, सोचेजस्तो सधैं कहाँ हुँदो रहिछ र? सपनामा पनि नसोचेको घटना भइदियो सबिनाको जीवनमा। 

आजभन्दा ठ्याक्कै १७ वर्षअघि घटेको एक अप्रियले घटनाले उनको अनुहार जल्यो। शरीरसँगै जल्यो, उनको सारा खुसी र रहरहरू पनि। 

सबिनासँगको घटनापछि श्रीमानले सदाका लागि त्यागे। दुई सन्तानको साथमा एक्ली परिन् २८ वर्षकी सबिना। 

उनीसँग कतै जाने विकल्प थिएन। नत कसैको साथ नै थियो। थिए त मात्र उनका दुई सन्तान।

जलेको शरीर। एक्लोपना अनि दुई सन्तानको स्याहार। त्यतिबेला कम्ता कष्टकर थिएन उनको जीवन। ‘म विगतको कुरा सम्झन पनि चाहन्नँ’, उनले भनिन्। 

उनले छोराछोरीलाई एक्लैले हुर्काइन्। काम गर्न छिमेकीको घर–घर चाहारिन्। तर सोचेजस्तो सम्मान भने कहिल्यै पाइन्। 

उनलाई अझै याद छ, एकपटक ‘बच्चा हेर्ने’ काम पाउँदा उनी धेरै खुसी थिइन्। काम गर्न उनी एक तिब्बतीयनको घर पुगिन्। तर, कामै नगरी फर्किइन्। 

‘त्यहाँ पुग्दा मलाई घरधनीले हेर्दै घिनलाग्दो मान्छेलाई काममा लगाउन सक्दिनँ भनेर ५०० रुपैयाँ दिएर पठायो’, उनी अहिले पनि सम्झिन्छन्, ‘मसँग रोग त थिएन तर मेरो बाहिरी रुप देखेर मलाई कामबाट निकालियो।’

त्यसरी रुपको कारण कामबाट निकालिएको घटना सम्झदा अझैपनि निराश हुन्छिन् सबिना। ‘मान्छेले रुपको सुन्दरता हेर्छन्, मनको हेर्दैनन्। हामी काम त गर्न सक्छौं तर काममा राखिदैन’, उनी गुनासो गर्छिन्, ‘कामको लागि भोलि–पर्सि बोलाउँछु भन्छन् तर त्यो दिन कहिल्यै आउँदैन। हामीले काम पाउनु धेरै मुश्किल छ।’

छोरीछोरीलाई जसोतसो हुर्काइरहेकी सबिना ‘अस्तिव नेपाल’सग जोडिइन्। उनले त्यही मैनबत्ती बनाउन सिकिन्। र, काम पनि गर्न थालिन्। 

उनीसँगैं छोरी सुजिना पनि काममा जान्थिन्। उनी आमाले गरिरहेको कामलाई नियालिरहन्थिन्। आमासँग काममा गएपनि स्कूल जान्थिन् सुजिना। 

उनलाई पढाइमा पनि खूबै रुची थियो। तर बिडम्बना, पैसा नभएको कारण उनले पढाइलाई बीचैमा छोड्नुपर्यो।  

उनी नक्सालमा बस्थिन्। स्कूल टंगालमा थियो। सुजिनासँग स्कूल जाने गाडी भाडा समेत हुन्थेन।

‘ममी मात्र काम गर्नुहुन्थ्यो। उहाँले कमाएको पैसा घर खर्चमा सक्किहाल्थ्यो। मसँग स्कूल जाने गाडी भाडा समेत हुन्थेन’, सुजिना भन्छिन्, ‘मैले अन्तिम परीक्षा दिनको लागि स्कूलसँग अनुरोध पनि गरकी थिएँ तर मिलेन।’

गाडी भाडा नभएको कारण पढाइ छाड्न बाध्य भएपछि उनी ‘अस्तित्व नेपाल’मा जोडिइन्।  ‘झुम्का’ बनाउने तालिम लिइन्। र, उनी आफैं थरिथरिका झुम्का बनाउन सिपालु भइन्। 

आफैं काम गरेर पढेकी सुजिनाले अहिले १२ पास गरिसकेकी छिन्। उनी अहिले आत्मनिर्भर छिन्। 

‘मैले पाँच वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिएँ। तर अहिले जसोतसो १२ सक्काएँ’, खुसी हुँदै उनले भनिन्, ‘सोचेकी थिइनँ कि मैले १२ पास गर्नेछु। तर गरें। सपना जस्तै लाग्छ।’

सानैदेखि आत्मनिर्भर बनेकी छोरी देखेर आमा सबिना पनि खुसी छिन्। उनी भन्छिन्, ‘यतिधेरै बुझ्ने छोरी देखेर धेरै खुसी छु। घरको सबै कामकाज पनि सम्हालिरहेकी छिन्। मलाई धेरै खुसी लाग्छ। 

विगतमा जस्तो अहिले आफूहरूलाई दुःख नभएको उनी सुनाउँछिन्। अब उनको सपना भनेको छोराछोरीको प्रगति देख्नुछ। 

छोरी सुजिना पनि आमालाई खुसी बनाउन चाहन्छिन्। त्यसको लागि उनी भविष्यमा आमाको लागि सानो घर बनाइदिने सोचमा छिन्। र, आफैंले आमाजस्तै धेरै महिलाहरूलाई सीप सिकाएर जागिरे आत्मनिर्भर बनाउन चाहिन्छन्। 

‘हाम्रो आफ्नै घर छैन। डेरामा बस्छौं। मेरो सपना अब आमालाई सानो भएपनि घर बनाइदिने छ। र, आमाजस्तै धेरैलाई आत्मनिर्भर बनाउनुछ’, उनी भन्छिन्, ‘मान्छेले रुपको सुन्दरता मात्र हेर्छन्। मनभित्रको सुन्दरता र सीप देख्दैनन्। त्यसैले म उहाँहरूलाई आत्मनिर्भर बनाउन चाहन्छु।’

बाहिरी रुप जस्तोसुकै भएपनि मान्छेको मनको रुप सुन्दर हुनुपर्ने उनको बुझाइ छ। अनुहारको रुप हेरेर व्यवहार नगर्न सबैमा उनको अनुरोध पनि छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!