बिहिबार, ०८ अक्टोबर २०२६

भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार

News Image
• • •

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँमा जन्मिएर दुर्गम तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यका साथ आफ्नो जीवन नै शैक्षिक अभियानमा अर्पण गरेका ‘मुगुका शिक्षा बा’ सोनाम धामी लामाको ०८३ भदौ ९ गते राति आकस्मिक बिरामी भएपछि उपचारका क्रममा राति २ बजे निधन भयो।

उनकी छोरी, शैक्षिक अभियानकी मुख्य खम्बा तथा मूल सहयोगी, कैलाश बोधी स्कुल, बौद्ध, काठमाडौंकी प्रिन्सिपल कार्मा छेजोम लामा र उनका पति, बौद्ध गुम्बा निर्माणमा निपुणता हासिल गरेका निर्माण व्यवसायी ज्याम्पल लामासहितको परिवार ८२ वर्षीया आमालाई बौद्ध धार्मिक संस्कारअनुसार प्रत्येक १२ वर्षमा एकपटक पूजा–अर्चना तथा दर्शन गराए मोक्ष प्राप्त हुने धार्मिक विश्वासअनुसार कैलाश मानसरोवर दर्शनका लागि ०८३ भदौ ८ गते बिहान काठमाडौंंबाट रसुवातर्फ प्रस्थान गरेको थियो।

भदौ ९ गते बिहान सपरिवार रसुवागढी नाकाबाट चीन प्रवेश गरी केरुङमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनमा परिवार व्यस्त थियो। तर, नियतिको लेखा कसैले टार्न सकेन।

यता परिवार तीर्थयात्रामा थियो, उता काठमाडौंमा सोनाम धामी लामाको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो। कान्छी छोरी तेन्जेन साम्तेन लामा, ज्वाइँ तथा नातिनीहरू उनको उपचारमा खटिएका थिए। तर, चिकित्सकको अथक प्रयासका बाबजुद राति २ बजे उनको निधन भयो।

ससुराको स्वास्थ्य अवस्था गम्भीर भएको जानकारी राति नै ज्याम्पल लामालाई गराइएपछि उनीहरूले तीर्थयात्रा छोट्याएर तत्काल नेपाल फर्किने निर्णय गरे। जुम्लाका भानु देवकोटालाई हेलिकप्टर व्यवस्थापनका लागि खबर गरिएको थियो।

भदौ १० गते बिहान नेपाल फर्किएपछि परिवार टिमुरेको सोनाम गेस्ट हाउसमा हेलिकप्टरको प्रतीक्षामा बसिरहेको थियो। काठमाडौं पुग्न अब करिब आधा घण्टा मात्र लाग्ने आशामा परिवारले बिहान ८:३६ बजे काठमाडौंमा छोरीसँग संवादसमेत गरेको थियो।

तर त्यसपछि……

आजसम्म न फोन लाग्छ, न कुनै खबर आएको छ।

आफ्नो प्रियजनको बाटो हेर्दै बसेका परिवारका आँखा रसाएका छन्। एकातिर छोरी, ज्वाइँ र आमा बेपत्ता भएको पीडा छ भने अर्कोतिर आफ्ना प्रिय ‘शिक्षा बा’ सोनाम धामी लामाको पार्थिव शरीरले समेत आफ्ना सन्तानको प्रतीक्षा गरिरहेको छ।

परिवार भन्छ, ‘हामी मात्र होइन, बाजे सोनाम धामी लामाको शवले समेत आफ्ना छोरी–ज्वाइँ र जीवन संगिनीको बाटो हेरिरहेको छ।’

दुर्गमका बालबालिकाको शिक्षाका लागि जीवन समर्पण गरेका सोनाम धामी लामाको निधनले परिवार मात्र होइन, उनीसँग जोडिएको सम्पूर्ण शैक्षिक अभियान र शुभेच्छुकहरूलाई गहिरो पीडा दिएको छ। त्यसमाथि रसुवा बाढीले परिवारमा पुर्‍याएको बज्रपात अकल्पनीय छ।

यस दुःखद् परिस्थितिमा राज्यका सम्बन्धित निकायहरूले हालसम्म गरिरहेको खोजी तथा उद्धार प्रयासप्रति परिवारले आभार व्यक्त गरेको छ। साथै, रसुवागढी–केरुङ क्षेत्रमा बेपत्ता भएका परिवारका सदस्यहरूको खोजी तथा उद्धार कार्यमा थप तीव्रता दिन र सम्भावित सबै स्थानमा खोजी गरी परिवारलाई सत्यतथ्य जानकारी गराइदिन सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, सञ्चारकर्मी तथा सम्पूर्ण नागरिकसमक्ष अनुरोध गरेको छ।

बाटो हेर्दै पर्खिएका यी परिवारसँग अब एउटै आशा जीवित छ–
आफ्ना प्रियजन सकुशल फर्केर आउनेछन्।

भगवान् गाैतम बुद्ध  तथा कैलाश मानसरोवरका आराध्य देवले हराएका परिवारका सदस्यहरूको शीघ्र खोजी तथा उद्धार हुनेमा परिवारको प्रार्थना छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!