महेश चौलागाईं
सुशासनको नारा चर्को सुनाएर चर्चामा आएका गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा अहिले आफ्नै घोषणाबाट पछि हटेका छन्।
एक वर्षअघि ‘म सरकारी गाडी चढ्दिनँ’ भन्दै सार्वजनिक रूपमा घोषणा गरेका अध्यक्ष बुढा अहिले पुनः पालिकाको सरकारी गाडीमा हुइँकिन थालेका छन्।
आफ्नो पालिकालाई सुशासनयुक्त पालिका बनाउने भन्दै अध्यक्ष बुढाले पद सम्हालेकाे झन्डै साढे दुई वर्षपछि आफैंले कुनै सेवा–सुविधा नलिने, पालिकाको गाडीसमेत प्रयोग नगर्ने घोषणा गरेका थिए।
त्यतिबेला उनले आफू मात्र होइन, पालिकाका कर्मचारीलाई समेत सरकारी सवारीसाधन जथाभावी प्रयोग नगर्न निर्देशन दिएका थिए। सरकारी मोटरसाइकल घर लैजान नपाइने र अनावश्यक प्रयोग गर्न नहुने भन्दै कडा नीति घोषणा गरिएको थियो।
तर, समय बित्दै जाँदा वास्तविकता भने ठीक उल्टो देखिन थालेको छ। घोषणा गरेको एक वर्ष नबित्दै अध्यक्ष बुढा आफैं सरकारी गाडी प्रयोग गर्न थालेपछि उनकाे याे कदमको स्थानीयस्तरमा तीव्र आलोचना सुरु भएको छ। सुशासनको नारा भाषणमा मात्रै, व्यवहार शून्य भन्ने टिप्पणी हुन थालेको छ।
पालिकामा कार्यरत केही कर्मचारीका अनुसार अध्यक्षले दिएको निर्देशनका कारण कतिपय कर्मचारीले सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेका छन्। कतिपयले त निजी खर्चमा व्यक्तिगत मोटरसाइकल समेत खरिद गरेका छन्।
‘हामीलाई सरकारी बाइक नचढ्न भनियो, घर लैजान पनि नपाइने भनियो। त्यसपछि धेरैले आफ्नै बाइक किन्यौं। अहिले त्याे बाइककाे सुशासन पनि हराएर सबैले आफ्नो बाइक फेरि लिइसकेका छन्। अध्यक्षज्यूले पनि आफैं गाडी चढेर हिँड्दा हामी छक्क परेका छौं,’ एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए।
सुरुमा उनले गरेको घोषणा धेरैले सकारात्मक रूपमा लिएका थिए। गाउँपालिकाको बजेट बचत हुने, सार्वजनिक सम्पत्तिको दुरुपयोग कम हुने अपेक्षा गरिएको थियो। तर अहिले त्यो आशा निराशामा परिणत भएको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन्। अध्यक्षको दोहोरो चरित्रप्रति स्थानीयवासी असन्तुष्ट देखिन्छन्।
अध्यक्ष बुढाले सुरुवातमा सरकारी गाडी नचढ्ने घोषणा गर्दा त्यसलाई उदाहरणीय निर्णय भन्दै व्यापक चर्चा भएको थियो । तर अहिले त्यही निर्णय उल्ट्याउँदै गाडी चढ्न थाले पछि उनको राजनीतिक प्रतिवद्धताप्रतिको विश्वसनीयता माथि नै प्रश्न उठ्न थालेको छ।
अझ रोचक कुरा के भने गाउँपालिकामा गाडी चलाउनका लागि नियमित ड्राइभर भए पनि अध्यक्ष बुढा आफैं गाडी चलाएर हिँड्ने गरेका छन्।पालिकाका केही कर्मचारीका अनुसार ड्राइभर हुँदाहुँदै अध्यक्ष आफैंले स्टेयरिङ समात्दा गाडीको प्रयोग र मर्मत खर्च अस्वाभाविक रूपमा बढेको छ।
‘ड्राइभर हुँदा पनि गाडी आफैं चलाउनुहुन्छ। यसले गाडीको अवस्था बिग्रँदै गएको छ,’ एक कर्मचारीले बताए। अध्यक्ष आफैंले गाडी चलाउन थालेपछि हालसम्म ४० देखि ४५ लाख रुपैयाँसम्म गाडी मर्मतमा खर्च भइसकेको छ।
सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शिता सुनिश्चित गर्ने दाबी गरेका अध्यक्षकै कार्यशैलीका कारण यति ठूलो रकम मर्मतमा खर्च भएको छ। यदि सुरुमा नै गाडी प्रयोग नगर्ने घोषणा गरिएको थियो भने अहिले किन प्रयोग भइरहेको छ? र यदि गाडी चलाउने नै हो भने ड्राइभरलाई किन जिम्मेवारी नदिइएको हो? प्रश्न स्वाभाविक छ।
कतिपयले भने यसलाई लोकप्रियताका लागि गरिएको घोषणा मात्र भएको आरोप लगाएका छन्। सुरुमा जनताको ध्यान तान्न लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर, व्यवहारमा नउतार्ने प्रवृत्ति स्थानीय तहमा बढ्दै गएको भन्दै आलोचना हुने गरेकाे छ।
गाउँपालिकामा सुशासनको नारा दिँदै आएका अध्यक्ष बुढाको यो कदमले प्रशासनिक व्यवस्थापन माथि पनि प्रश्न उठ्ने देखिन्छ।
कर्मचारीहरू भन्छन्, ‘नीति बनाउने र पालना गराउने जिम्मेवारी नेतृत्वकै हुन्छ। तर नेतृत्वले नै नियम उल्लंघन गर्न थालेपछि पालिकाभित्र अनुशासन कायम गर्न गाह्रो हुन्छ।’
यस विषयमा अध्यक्ष बुढाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। तर गाउँपालिकाभित्र बढ्दो आलोचना र प्रश्नबीच उनले अब के स्पष्टीकरण दिने हुन् भन्ने सबैको चासो छ।
घोषणा किन गरियो? र अहिले किन तोडियो? गुठिचौर गाउँपालिकामा अहिले यिनै प्रश्नहरू घुमिरहेका छन्।
सुशासनको नारा दिएर सुरु गरिएको अभियान व्यवहारमै टिक्न नसक्दा अध्यक्ष बुढा आलोचनाको केन्द्रमा पुगेका छन्। अब उनी आफ्नो निर्णयबारे स्पष्ट जवाफ दिन्छन् कि चुपचाप अघि बढ्छन्, त्यो हेर्न बाँकी छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया