शुक्रबार, २७ नोभेम्बर २०२६

पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई काँग्रेसले पत्राचार गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग भएको भन्दै नेपाली काँग्रेसले त्यसलाई रोक्नका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सकिएको केन्द्रीय समितिको बैठकले केही समूहले पार्टीको झण्डा तथा चुनाव चिह्न दुरुपयोग गर्दै भ्रम फैलाइरहेको भन्दै त्यस्ता गतिविधिमाथि रोक लगाउन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो।

नेपाली काँग्रेसभित्र शेरबहादुर देउवा समूहले आफ्नो आधिकारिकता दाबी गर्दै समानान्तर महाधिवशेनको अन्तिम तयारी गरिरहेको छ। यसक्रममा उनिहरूले पनि चारतारे झण्डा र चुनाव चिह्न रुख नै प्रयोग गरिरहेका छन्।

चार दिनसम्म चलेको बैठकले समसामयिक राजनीतिक विषयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय र पार्टी तथा संगठनका विषयहरूमा समेत धेरै निर्णयहरू गरेको छ। ती सबै निर्णयहरू शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पनि नेपाली काँग्रेसले जनाएको छ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले अर्को समूहले पार्टीको नाम, झण्डा र चुनाव चिह्नजस्ता सामग्रीहरू दुरुपयोग गरेको भन्दै त्यसलाई रोक्ने पहल कदमी चाल्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए।

केन्द्रीय समिति बैठक चलिरहँदा निर्वाचन आयोगले महाधिवेशनलगायतका गतिविधिहरू अध्यावधिक गरेको पत्र पनि नेपाली काँग्रेसलाई पठाएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!