बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रको केन्द्रमा रहेका केही नेता र तिनका आसेपासेहरूको निरन्तरको भ्रष्ट, अनैतिक र अमर्यादित गतिविधिहरूबाट नेपाली जनतामा असन्तुष्टि बढदै गएर त्यो आक्रोशमा परिणत भइसकेको तथ्य कहीं कतैबाट लुकेको छैन। त्यसमाथि राजनीतिक दलहरू भित्रका मुख्य नेताहरूमा देखिएको सामन्ती चिन्तन र त्यसका सामु लत्रक्क पर्दै नेताको मुखविर बन्न दोश्रो र तेश्रो पुस्ताले देखाएको दास मनोवृतिले गर्दा जनतामा देखिएको वितृष्णाको पारो बढदो छ।
जनतामा बढदै रहेको त्यही वितृष्णा, असन्तुष्टि र आक्रोशको कारण हाल राजनीतिको केन्द्रमा रहेका नेताहरू मात्रै नभई त्यस्ता नेताहरूको दासत्व स्वीकार्नुलाई धर्म मान्दै आएका कार्यकर्ताहरूको कारण दलहरूको समेत अस्तित्व समाप्त भएर नयाँँ अवस्था निर्माण हुनेछ भन्ने निष्कर्ष स्वयम् पंक्तिकारले प्रस्तुत गर्दै आएको पनि लामो समय भइसकेको छ।
जनताको त्यही मनस्थितिले नै हो विगतको स्थानीय चुनावमा बालेन शाह, हर्क साम्पाङ अनि संघीय चुनावमा रवि लामिछानेहरूले चुनाव जितेको पनि। तर विडम्वना परिवर्तन प्रतिको जनताको अभिमतको रुपमा विजयीमध्ये बालेन शाह बाहेक अरु कसैले पनि जनताको आशा र विश्वासमा खरो उत्रन सकेनन। यस्तोमा भए रहेका दलहरू भित्र इमान्दारिता र स्वच्छता कायम राखेर बसेकाहरूले त्यहाँका भ्रष्ट, अनैतिक र नालायकहरूको किल्ला उपर धावा बोल्नु पर्थ्यो। तर त्यसो हुन सकेन। बरु उल्टै त्यस्तो गर्नेहरू या त पार्टीभित्रै अल्पमतमा परेर बाहिरिन बाध्य भए वा सम्झौता गर्न बाध्य भए।
हो, दलहरू भित्रबाट भ्रष्टचार, अनैतिकता र अकर्मण्यताको विरुद्ध आवाज बुलन्द नभएपछि, दलहरू भित्र दासत्व संस्थागत बन्दै गएपछि जनता अबको विकल्प के त? भनेर सोच्न बाध्य बनिरहेको अवस्थामा आफू चुनावी बाटोबाट सत्तामा पुग्न असफल रविन्द्र मिश्रजस्ता अवसरवादीदेखि दुर्गा प्रसाईंं जस्ता अराजकहरू समेतले आफ्ना लागि अवसर खोज्न थाले। अनि तिनै अवसरवादी, अराजकहरूले हिजो आफ्नै दम्भ, घमण्ड र अकर्मण्यताले गद्दीच्युत भएका ज्ञानेन्द्र शाहको पुनरागमनमा आफ्नो भविष्य देख्न थाले। अनि गद्दी त्यागेदेखि नै फेरि त्यहाँ पुग्न हरेक वर्ष लोकतन्त्र विरुद्ध मन्तव्य दिंदै आएका ज्ञानेन्द्रले पनि यो बेलालाई आफ्नो पुनरागमनको अवसर ठाने।
यहाँसम्म त ठिकै थियो त्यो आन्तरिक नै थियो। तर ठिक यही समयमा छिमेकीले पनि नेपालको आन्तरिक मामलामा खेल्दै नेपाललाई थप अस्थिर र कम्जोर बनाउने आफ्नो निरन्तरको कदमलाई थप सशक्त बनाउन थाल्यो। ति सबैको परिणाम आज नेपालमा राजतन्त्र पुनर्वहालीको चर्चा सुरु भएको छ। तर के यो चर्चाले सार्थकता पाउनु नेपाल र नेपालीको हितमा हुन्छ त? यो चाहिं गम्भीर सवाल हो जसको बारेमा व्यापक चर्चा परिचर्चा हुनु अनिवार्य छ। नत्र फेरि एकपटक हतारमा गल्ती गर्ने अनि फुर्सदमा पछुताउने काम हुनेछ।
त्यसैले सबै भन्दा पहिला चर्चा गरौँ- के ज्ञानेन्द्र शाह नेपालले भोगिरहेका सबै समस्याहरूको अचुक समाधान हुन त? अवश्य हैनन। किन? किन कि उनी नेपालको इतिहासमा अत्यन्त शक्तिशाली राजा रहिसकेका र आफ्नै कर्मले असफल भएर गद्दीच्युत भएका पात्र हुन। अझै भन्नुपर्दा ज्ञानेन्द्र तिनै राजा हुन जसको असफलताले त्यतिबेला नै इतिहास भइसक्नु पर्ने कतिपय भ्रष्टहरूले आफ्नो राजनीतिक आयु लम्ब्याउने मौका पाएका हुन्।
अहिले केही थान अवसरवादी र अराजकहरूको खेलोफड्कोले असुन्तुष्ट जनताको पंक्तिलाई पनि आकर्षण गरेको हुँदा केही हुने पो हो कि भन्ने परेको भएपनि ज्ञानेन्द्र शाहले महाराज हुँदा मात्रै हैन अधिराजकुमार हुँदासमेत गरेका जनविरोधी कामहरू पनि सचेत जनताले भुलेका छैनन्। त्यति मात्रै हैन जनताको प्रिय राजा विरेन्द्र शाहको समग्र वंशलाई नास गर्न उनको भूमिका छ भन्ने ठान्ने मान्नेहरूको संख्या नै पनि उनीलाई फेरि राजा बनाउनु पर्छ भन्ने जमात भन्दा निक्कै ठुलो छ। त्यसैले ज्ञानेन्द्र शाहको राजाको रुपमा पुनारागमन हुने विषय असान्दर्भिक र असम्भव नै हुन्छ। किन कि ‘राजा सबैका साझा’ भन्ने मान्यता ज्ञानेन्द्र शाहको हकमा कमसेकम अब सम्भव नै छैन। किन कि कुण्डले, मण्डले, अराजक र अवसरवादीहरूको काँध चढेर गद्दीमा पुग्ने कोहि पनि साझा हुनै सक्दैन। जो साझा हुन सक्दैन त्यो राजा हुन सक्दैन।
ज्ञानेन्द्र शाह फेरि राजा हुन नमिल्ने र नसक्ने दोश्रो कारण हो- उनलाई राजा बनाउन केही भारतीय राजनीतिज्ञ र केही पुर्व सैनिक अधिकृतहरू लागेकोमा त दुई मत नै रहेन। १० देखि १५ हजार मानिसले राजालाई स्वागत गर्दा चार लाख मान्छे राजाको स्वागतमा आएको कुप्रचारमा भारतीय सैनिक सेवाका पुर्वअधिकारी लाग्नुले पनि केही भारतीयहरू नेपालमा राजा आइदिए हुन्थ्यो भन्ने कामना गर्छन भन्ने बुझ्न गाह्रो छैन। अनि ती सीमित भारतीयको छनोट भएकोमा प्रशन्न भएर तिनका लेख र पोष्ट आफ्नो भजन मण्डलीमार्फत सेयर गराउने मात्रै नभई ज्ञानेन्द्र स्वयम् नै पनि भारतको संस्थापनसंग आफ्नो पुनारागमनको याचना गर्दै हिँडेको पनि स्पष्ट छ।
योगी आदित्यनाथसंगको उनको भेटघाट र उनको स्वागतको लागि आयोजित भिडमा योगी आदित्यनाथको तस्बिर देखिनु संयोग मात्रै हैन। त्यति मात्रै पनि हैन भारतको पूर्ण नियन्त्रणमा रहेको भुटानका राजाले ज्ञानेन्द्र शाहलाई राजकीय सम्मानसहित भ्रमण गराउने विषय पनि भुटानको भन्दा ज्यादा भारतीय शासक र ज्ञानेन्द्र शाहको सम्वन्ध विस्तारको मोडालिटी तय गर्ने अभ्यास थियो भन्ने विषय कुटनिति बुझ्ने जोसुकैले पनि बुझ्न सक्छ।
भुटान भ्रमणमार्फत ज्ञानेन्द्र शाहले आफू भुटानी शैलीको राजा हुन तयार छु भन्ने सन्देश भारतलाई दिएका थिए भने भुटानी शैलीको राजा भएर आउने हो भने हामी सोच्न सक्छौं भन्ने संकेत भारतीय संस्थापनले ज्ञानेन्द्र शाहलाई दिएको थियो। तर यहाँ ज्ञानेन्द्र शाह अनि भारतीय संस्थापन दुवैले बुझ्न नसकेको भन्दा पनि नबुझे झैं गरेको कुरा के हो भने नेपाली जनता आफ्नो सार्वभौमसत्ता र राष्ट्रियताप्रति बडो संवेदनशील छन्। त्यसैले उनीहरूले भारतीय वा कुनै अर्को देशसंग लत्रिने शासकलाई स्वीकार्न सक्दैनन्।
त्यसैले पनि आफ्नो गद्दी फिर्ता पाउन देशभन्दा माथि उत्तर प्रदेश देख्ने ज्ञानेन्द्र शाहको पुनरागमन नेपालको हितमा हुनै सक्दैन। उनले गर्दै आएका कामहरूले स्पष्ट पारेको छ कि भारतसंग रहेको सीमा लगायतका समस्या समाधानको सन्दर्भमा ज्ञानेन्द्र शाहले राजाको रुपमा कुनै अडान राख्न सक्दैनन् र सक्ने छैनन्। जसले गर्दा ज्ञानेन्द्र फेरि राजा बनेर आउने विषय राष्ट्रियताको नजरबाट पनि असान्दर्भिक छ।
ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने विषयमा घातक हुने तेश्रो र महत्वपूर्ण कारण भनेको त उनको पुनरागमनमा आफ्नो राजनीतिक भविष्य देखिरहेका अराजक, अवसरवादी र अनैतिकहरूको झुण्ड नै हो। आफ्नो असफलताको जगमा उठेको जनआक्रोशको जगमा भएको आन्दोलनको कारण सत्ता छोडेर बसिरहेका ज्ञानेन्द्रलाई उनले बीचमै छोड्नु परेको सत्ता फेरि पाउन सक्ने आशा देखाएर उचाल्ने र उराल्नेहरूमा कस्ता कस्ता पात्रहरू छन भन्ने हेर्दा नै धेरै कुरा बुझिन्छ नि।
आफू चुनावमा जित्नै नसकेपछि विचारभन्दा माथि देश भन्दै राजतन्त्र पुनर्वहाली भन्ने रविन्द्र मिश्रजस्ता अवसरवादी, आफूले लिएको ऋण नतिर्न कहिले प्रचण्ड अनि कहिले ओली गर्दै हाल ज्ञानेन्द्र शाहकोमा आइपुगेका दुर्गा प्रसाईं जस्ता अराजक अनि आफैँ चुनाव जित्न एमालेको सहयोग पटक पटक लिएका राजेन्द्र लिङदेनदेखि एमालेको चुनाव चिन्ह लिंदासमेत चुनाव जित्न नसकेका कमल थापासम्मको दौडधुपको जगमा फेरि राजा हुन हिँडेका ज्ञानेन्द्र शाह राजा भइहालेमा देश कस्तो होला? के हिसाबले देश चल्ला? यति अनुमान गर्न पनि हामिलाई गार्हो होला त? अनि एकातिर ज्ञानेन्द्रलाई राजा बनाएर ल्याउने हो भने उनले सबै भ्रष्ट नेता तह लगाउने र रामराज्य बनाउने छन् भन्ने र मान्छे उचाल्ने अनि अर्कोतर्फ राजा राजनीतिक दल सबै मिल्न पर्छ भनेर संवैधानिक राजतन्त्रसहितको भागबण्डा गर्ने योजना प्रस्तुत गर्नेहरूले आखिरमा के गर्छन? कुनै टुंगो छ?
अनि नेताहरू र दलहरूको खिलाफ मान्छे उचाल्ने अनि पछि तिनै दलका नेता र दलहरूको स्वार्थ र आफ्ना पनि स्वार्थ मिल्ने गरेर कथित संवैधानिक राजतन्त्रमा सहमति भयो भने आज भए रहेका दलका भ्रष्ट नेता फालिने आशामा ज्ञानेन्द्रको पछि कुदेको जनताको भिड थप आक्रोशित भएर मुलुक अनन्तकालसम्म द्वन्द्वमा फस्ने खतरा रहने छैन? अवश्य रहन्छ। त्यसैले भ्रष्टचार, अनैतिकता, कुशासनको अन्त्य लागि उठेको जनताको पंक्तिले फेरि अर्को सेटिङराज स्वीकार्ने छैन त्यसैले पनि अराजक अवसरवादी मण्डलेहरू अनि भ्रष्ट, अनैतिक र अकर्मण्य दलका नेताहरूको सेटिङको राजनीतिक सिद्धान्तको आधारमा ज्ञानेन्द्रको पुनरागमन नेपाल र नेपाली जनताको छनोट विषय हैन र हुनसक्दैन।
भएका दलहरू र तिनका नेताहरूबाट पार पनि नलाग्ने अनि फेरि राजा भएर आउन खोजिरहेका ज्ञानेन्द्र शाहलाई पनि आउन नदिने हो भने अब गर्ने के त? हो यो सवाल चाहिं महत्वपूर्ण छ र यसको उत्तर समयमै खोज्नु चाहिं अनिवार्य छ। तर त्यो सवालको उत्तर गाह्रो पक्कै छैन। किन कि नेपाललाई माया गर्ने स्वदेश तथा विदेशमा बस्ने एकसय एक नेपालीहरू छन जसले मिलेर नेपाललाई थप विकसित, सफल र बलियो बनाउन सक्नेछन्।
सकारात्मक चिन्तन, नविन विचार अनि अध्यन र अनुभवबाट सुसज्जित तर राजनीतिबाट बाहिर रहेको त्यो पंक्ति अब एकतावद्ध भएर अगाडी आउनुपर्छ र त्यसरी आएर भ्रष्ट र अकर्मण्य भएका दलका नेताहरूदेखि आफ्नै दम्भ, अहंकार, घमण्ड र अविवेकले असफल भएर गद्दीच्युत भएका ज्ञानेन्द्र शाहसम्मलाई अब तिमीहरूको सम्भावना छैन भन्ने स्पष्ट पारिदिनु पर्छ।
हो, लोकतन्त्रलाई बदनाम बनाउने भ्रष्ट अनैतिक र अकर्मण्यहरूलाई तह नलगाई हुँदैन तर त्यसको नाममा अवसरवादी, अराजक र गैरजिम्मेवारहरूलाई विराजमान गराउने निरंकुशताको परिकल्पना गर्नु हुदैन। अर्थात अब विकल्पको नाममा विगतमै अलोकप्रिय र असफल भएका ज्ञानेन्द्र शाह हैन वर्तमानमै लोकप्रिय र सफल भइरहेका बालेन्द्र शाहलाई रोज्नु पर्छ। हामीले बुझ्न पर्छ कि बालेन्द्र शाह केवल काठमाडौंका मेयर रहेका एक पात्र मात्रै हैनन् उनी जनताले चाहेको खण्डमा जनताका असल छोरा छोरीहरूले शासन गर्न पाउँछन र पाउँदा राम्रोसंग चलाउँछन भन्ने सशक्त उदाहरण पनि हुन्।
त्यसैले अब पछाडि फर्केर ज्ञानेन्द्र खोज्ने हैन अगाडी बढेर बालेन्द्र रोज्ने बाटोमा हामी लाग्नुपर्छ र एक हैन सयौं बालेन्द्र शाहहरू जन्माउन जनताले कम्मर कस्नुपर्छ।