कृष्ण उदाशी
–कृष्णउदाशी
सँधै दुःखको पात बजाइरहने गाउँका लाठेहरू
यसपाली त सबेरै पुगेहोलान्
पात्तलको बाटो हुँदै
सिक्किमे रम भारी हाल्न
रिङ्गिप, कि त बिजनबारी।
कसरी ओभाए होलान्
मातृत्वले लछप्पै भिजेका मन
बामे सर्नै नथालेका नानीहरूलाई
एकपाटो स्तन चुसाई नसक्दै
लैनो गाईलाई कलिलो बन्सो खोज्न
खङ्खोला पुगेका सुत्केरी आमाहरुको।
कस्ले पोख्यो होला इँवा खोलो भन्दा लामो बाँसुरीको धुन?
पारि ओडारे भीरको थाप्लोमै बसेर
जीवनका सप्पै दुःखहरू बगाउने गरी
कसरी सम्हाल्दै होलान गाउँका आमाहरू
स्यालघुरीको मोच लागेर
छेरौटीले सखापै भएको नानीहरुको गाउँ।
पानी बगेजस्तै गरी
मान्छेको जिन्दगी बगिरहन्छ
देख्नै पाइएन
हाम्रा बाजे, बूढाबाजेहरुको अनुहार
थाहा छैन
कुन वसन्त भएर फुल्यो होला बैँशको गुलाब ?
कुन शरदमा मुस्कुरायो होला
जीवनको सयपत्री?
उहिले उहिलेदेखि आजसम्ममा
कति बद्लिए होलान्
ब्याङ्ग्रेखोल्साका भलायाका रुखहरु
तर छोडेका छैनन् तुलिगाँडाहरुले
खोल्सै तर्सिने गरी कराउन
जसरी छोड्नै सक्दैनन्
गाउँका आमाहरूलाई
दुःखका भारीहरुले।
जीवनको मोह सुसेल्दै सुसेल्दै
भालुबाँसको पखेतामा सोइसोइला खेल्ने
ताँमे ढुकुरको जोडीसँग
केको दुस्मनी हो ब्याधाको
जस्तो कि–
बाह्रैमास काम गर्नेसँग
दुस्मनी छ गरिबीको।
आज बुझदैछु–
दुःख बराबर गाउँ
गाउँ बरबार आमा
र आमा बराबर दुःख भएपछि
दुःख सम्झे पनि आमाकै याद आउँदोरहेछ,
गाउँ सम्झे पनि आमाकै याद आउँदो रहेछ,
र आमा सम्झे पनि आमाकै याद आउँदोरहेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया