अभिव्यक्ति स्वतन्त्रता : के सोचेँ मैले, के भयो अहिले ?

Break n Links
Break n Links

यो संसारमा लक्ष्य बिनाको केही हुन्छ भने त्यो बेकार हुन्छ । कसैले छैन भन्छ भने पनि त्यो एक किसिमको सफेद झुट नै हुन्छ । हरेकको केही न केही लक्ष्य त हुन्छ नै । तर, त्यो समय र स्थानले बनाएको सन्दर्भसँग युक्तिसंगत छ कि छैन भन्ने चाहिँ हुँदो हो । यही कशीमा लक्ष्य राम्रो वा नराम्रो भन्ने पनि हुन सक्छ कि ? तर, म यसमा पनि यकिन छैन ।

म यसपटकको लेखन लक्ष्यबाट सुरु गरिरहेको छु । तर, यो सुरुवात यही रोकिनलाई हैन । म मिशनमा पुग्न चाहन्छु । त्यो पनि मिशन जर्नालिज्ममा । मलाई थाहा छैन, मिशनको ठ्याक्कै अनुवाद लक्ष्य हुन्छ कि हुँदैन । जर्नालिज्म त मज्जैले पत्रकारिता भैसक्यो । यसैले मिशन पत्रकारितालाई लक्ष्य पत्रकारिता भन्दा हुन्छ कि जस्तो लागेको हो । यद्यपि, अझै पनि मैले लक्ष्य पत्रकारिता लेखेर मिशन पत्रकारिताको स्वाद पाइरहेको छैन ।

भो, यसपटक मिशन पत्रकारिता नै भनेर काम चलाउने भएँ । अर्को वर्ष लक्ष्य पत्रकारिता सार्वजनिक रूपमै पुगिसरी खपत भयो भने त्यही सम्म पुगेर कुरा गरौला ।

मिशन पत्रकारिता संसारभरि नै थियो र अझै पनि छ । फरक केही भएको छ भने समय र स्थानले बनाउने सन्दर्भ र त्यसले निर्धारण गर्ने मिशन मात्रै हो । नेपाल पनि  मिशन पत्रकारिताको त्यही विश्वजनीन अभ्यासमा थियो र छ । अर्थात् नेपाली पत्रकारिता पनि मिशन जर्नालिज्म नै अभ्यास गर्दैआएको छ । सुरुमा नेपालको मिशन पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको लागि थियो । त्यसका लागि सुरुमा जहानियाँ राणा शासन बाधक थियो, पछि एकदलीय पञ्चायती शासन । ती दुबैलाई हटाएर आउने दलीय व्यवस्थामा मात्र अभिव्यक्ति स्वतन्त्रता हुन्छ भनेर केही राजनीतिक रूपले सचेत मानिस पत्रकारितातिर लागे । उनीहरूलाई पत्रकारिता थाहा थिएन तर उनीहरू लेख्न जान्ने थिए, उनीहरूलाई के लेख्ने भन्ने थाहा थियो । त्यसको लागि चाहिने भाषा उनीहरूसँग थियो । साँच्चै नै ती मानिसहरू महान् थिए जसले राणा र राजाले ओछ्याएको मखमली कार्पेट हैन, जेल–नेलको ढुंगेबाटो रोजेर नेपाललाई अभिव्यक्ति स्वतन्त्रताको राजमार्गमा ल्याए ।

हो, त्यतिबेला पत्रकारिता आजजस्तो आमसञ्चारका सिद्धान्तमा आधारित थिएन । न त्यसको बुनोट र बनोटमा आधारित पत्रकारिताको प्रयोग नै न आज जस्तो गणितीय थियो । समाचार संरचनाको पिरामिड उल्ट्याउने र सुल्ट्याउने कुरा त कल्पनाभन्दा पनि टाढाको कुरा थियो । त्यसको सैद्धान्तिकरण भएको त धेरैपछि हो । अझै पनि नेपाली पत्रकारितामा रहेको एउटा ठूलो पंक्ति त त्यसको बारेमा जानकार पनि छैन । 

गोरखापत्रको भाषालाई गुरु दक्षिणा चढाएर लेख्नुपर्ने त्यो जुगका अभिव्यक्ति स्वतन्त्रताका मनिषीहरूले जे गरे, त्यो आफैँमा महान् थियो । अवसरका मैदानहरू छोडेर चुनौतीका पहाडहरू चढ्ने ती अग्रजहरूकै कारण देश २०४६ को वसन्त क्रान्तिसम्म आइपुग्यो ।

यदि उनीहरूले साहसका साथ कलम नसमाएका भए अभिव्यक्ति स्वतन्त्रताका नाममा आज जे जस्ता अभ्यास र प्रयोगहरू भइरहेका छन्, तिनको कल्पनासम्म पनि गर्न सकिँदैन थियो ।

२०४६ अघि खासगरी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको मिशन पत्रकारिताले आफ्नो लक्ष्य भेट्टायो । हुन त त्यस बेला यो लक्ष्यलाई रोक्ने दिशामा अर्को मिशन पत्रकारिता पनि चलाइएको थियो । पञ्चायतको पक्षमा अझ भनौँ राजाका पक्षमा गरिएको त्यो मिशन पत्रकारिताको भने रामधुलाई भयो ।

यसको सफेद कारण के हो भने त्यो मिशन समय र स्थानले चाहेको सन्दर्भ बनाउने दिशामा थिएन । उल्टो दिशामा हिडेर समयको कशीमा उत्रने दाउमा थियो, नराम्ररी ढल्यो । त्यतिबेला त्यो मिशनका पत्रकारहरूले सत्ताको पाल्तु भएर मोज नै गरेका थिए । उनीहरूको त्यो मोज गर्ने मिशन भने सफल थियो । धेरैका गाडी र घरघडेरी त्यततिबेलै जोडिएका थिए । कतिपयले त ठूला कम्पाउण्डवाला महल नै बक्सिस समेत पाएका थिए ।

२०४६ को वसन्त क्रान्तिको सफलताले देशमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्यो । त्यसपछि निजी क्षेत्रबाट कर्पोरेट पत्रकारिता सुरू भयो । अनि, अखबारको टेब्लोयड साइज बढेर ब्रोडसिटे भयो । लेटर प्रेस अफसेट हुँदै वेभमा उक्लियो । अखबारका श्याम/श्वेत पानाहरू रंगीन भए । विज्ञापनहरू पत्रिकाका अनिवार्य कन्टेन्ट बने । 

त्यसका लागि आवश्यक पर्ने आमसञ्चार र पत्रकारिता शिक्षाको पठनपाठन अरू व्यवस्थित रूपमा सुरु भयो । अनि मात्र साँचो मानेमा सुरु भएको हो, समाचार संरचनाको पिरामिड उल्ट्याउने र सुल्ट्याउने अभ्यास । यसैको सेरोफेरोमा गरिने पत्रकारिताले अन्तत: व्यावसायिक पत्रकारिताको भाष्य पायो । र, अहिले त्यो भाष्य एक किसिमले यथार्थमा परिणत भयो । 

अब देशमा दुई खाले पत्रकारिताको युग सुरु भयो । पहिलो कित्तामा २०४६ पूर्वको मिशन पत्रकारितालाई राखियो र नयाँ नाम दिइयो, पार्टी पत्रकारिता । यो नामकरण मिशन पत्रकारिताको ब्राण्ड अर्को मिशनमा सार्न गरिएको एक किसिमको सुनियोजित चाल थियो । त्यतिबेलाका अगुवा साप्ताहिक मिशन पत्रिकाहरू कुनै न कुनै पार्टीका नजिक भएकाले उनीहरूलाई त्यो नाम असुहाउँदिलो पनि थिएन, सुहाएकै थियो ।

दोस्रो कित्तामा मूलतः व्यापारीहरूले मालिक भएर सुरु गरेको व्यापारिक पत्रकारिता थियो । तर, त्यसलाई व्यावसायिक पत्रकारिता भन्न थालियो । यी मालिक व्यापारीले गर्ने कर्पोरेट पत्रकारिताको खास मिशन थियो– शक्ति आर्जन गर्ने र त्यसलाई माध्यम बनाएर पैसा कमाउने । त्यसका लागि शक्तिकेन्द्रहरूसँग पहुँच बनाउन जान्नेहरूलाई सम्पादक र प्रधानसम्पादक बनाएर समय सुहाउँदो पत्रकारिताको प्याकेजिङ गर्न उनीहरूले जानेका थिए । उनीहरूका लागि पत्रकारिता खाडी मुलुकमा सस्तो श्रमिक पठाउने म्यानपावर कम्पनी वा भारतमा बनाएको कार्पेटलाई नमस्ते कार्पेटको ब्राण्डमा मेन इन नेपाल लेखेर अमेरिका पठाउने व्यापार भन्दा बढी केही थिएन ।

नेपालमा अहिले स्रोत र साधनको अभाव हुँदाहुँदै पनि पार्टीको नजिक रहेर गरिने पार्टी पत्रकारिता अस्तित्व जोगाउने लडाइमा छ । यस कित्तामा धेरैजसो साप्ताहिक पत्रिका छन् । केही प्रिन्टमा टेब्लोयडमा आउँछन्, बाँकी सबै अनलाइन र ई–कारितामा गैसके ।

ई–कारिता पनि के भन्नु ?, साँच्चै भन्दा पीडीएफ पत्रकारिता भन्दा हुने अवस्था छ । लगभग कपी पेस्ट वा पुनः सम्पादन पत्रकारितामा गइसकेका यिनीहरूले दिनानुदिन पाठक र सामाजिक स्वीकृति गुमाइरहेका छन् । इतिहास र योगदान गरेकाहरू त्यसैको आधारमा घिस्रिरहेका छन् । अहिलेसम्म पनि उनीहरू नजिकका राजनीतिक दलहरू नै सत्ताको रहेकाले घिस्रिनका लागि यो वा त्यो नामको टेको पाएकै छन् ।

अहिलेको नेपाली पत्रकारिताको मूलधार यिनै दुई कित्ताले बनेको छ । यी दुवै कित्ताको देखाउने एउटै तर चपाउने भने फरक मिशन छन् । दुबैको देखाउने मिशन चाँहि स्वस्थ पत्रकारितामार्फत् जनतालाई सुसूचित गर्ने नै हो । तर, चपाउने मिशन चाहिँ पार्टी पत्रकारिताको आआफ्नो पार्टी अझ त्यसमा पनि आआफ्नो नेता वा उसको गुटको राजनीति बचाउने हो । अनि, कर्पोरेट पत्रकारिताको चपाउने मिशन चाहिँ शुद्ध मुनाफाखोरी व्यापार नै हो । दुवैले मस्तले एडिटोरियल मिक्सिङ गरेकै छन् । र, दुबैतिर अर्को पनि एउटा समानता छ, त्यो के भने दुबैतिर मालिक मोटाउँदै गएका छन् तर पत्रिका भने खिइदै गएका छन् । अपवादलाई छोडेर हरेक मिडियामा पत्रकारहरूले समयमा तलब पाएका छैनन् । त्यसको अर्कै किसिमले सोधभर्ना गर्नुपर्ने बाध्यताले पत्रकारले आफ्नो स्व गुमाइरहेका छन् । त्यसको प्रष्ट छनक उनीहरूका समाचार सामग्रीमा देखिन्छ ।

पछिल्लो समय वैकल्पिक मिडियाका रूपमा अनलायन पोर्टलमा धेरै बुनोट र बनौटका मिडिया कन्टेन्ट आएका छन्, सामाजिक सञ्जालको पनि बिगबिगी बढेको छ । तर, मूल रूपमा यी प्राथमिक मिडिया हैनन् । यिनीहरू मूलधारकै मिडियामा आधारित सामग्रीको पुनः उत्पादन र प्रसारणमा उपयोग भइरहेका मिडिया भेहिकल मात्र हुन् ।

यद्यपि, यिनीहरू ‘इन्स्यान्ट’ अनि ‘अजिनोमोटो’ कन्टेन्टका कारण लोकप्रिय छन् । सस्तो लोकप्रियताका कारण यतातिर लागेका केहीलाई हुटिट्याउले सागर थाम्छु जस्तो लागेको जस्तो पनि देखिएको छ, तर यथार्थमा त्यस्तो कहिल्यै हुँदैन ।

आमसञ्चारको एउटा सिद्धान्तले भन्छ, ‘साइक्लिक अर्डरमा मूलधारे मिडिया र वैकल्पिक मिडियाहरूको ठाउँ र भूमिका फेरिन्छ । तर, त्यसका लागि आधारभूत रूपमा उनीहरू लगभग उस्तै बुनोट र बनोटको हुनुको साथै उस्तै संरचनाको पनि हुनुपर्छ ।’ जस्तो कि बाघ वर्गको बिरालोले कहिलेकाहीँ बाघ जस्तै भनेर बाघलाई प्रतिस्थापन पनि गर्न सक्छ तर कुकुर बर्गकोले बाघ जस्तै भनेर बाघ वर्गलाई प्रतिस्थापन गर्न सक्दैन ।

यो अक्षरकर्मी नेपालमा अभिव्यक्ति स्वतन्त्रताको लागि चालिसको दशकको सुरूमै मिशन पत्रकारितामा जोडिएको एक सिपाही थियो । त्यतिबेला पञ्चायत एक किसिमले स्वेच्छाचारिताको र निरंकुशताको पराकाष्ठामा थियो । अभिव्यक्ति स्वतन्त्रताको लागि गरिने त्यतिबेलाको पार्टी पत्रकारितामा वामपन्थी र प्रजातन्त्रवादी गरी दुई ठूला भंगालाहरू थिए । ती भंगालामध्ये यो पंक्तिकारले वामपन्थी भंगालाबाट पत्रकारिता सुरू गरेको थियो ।

२०४६ को वसन्त क्रान्तिको एक कलमी योद्धाका रूपमा जेलमा पुग्दा यो अक्षरकर्मी छलफल साप्ताहिकमा थियो । त्यसपछि,  नेपालको पहिलो कर्पोरेट पत्रकारिता कान्तिपुर सुरू गर्दा सुरूवाती दिनमा जोडिएको अक्षरकर्मीले त्यसपछि नेपालका थुप्रैखाले माध्यममा जोडिने मौका पायो । कतिपय क्षेत्रमा आफैं गोरेटो कोर्दै राजमार्ग बनाउनुपर्ने अवस्था पनि थियो । त्यही क्रममा कोरिएको गोरेटो थियो, नेपाली चलचित्र पत्रकारिता र समीक्षा । आज पत्रकारिताको यो विधा एक समुन्न्त विधाका रूपमा स्थापित भएको छ । आज त्यो राजमार्गमा हिड्नेहरूलाई त्यो विधाको गोरेटो कोर्ने यो अक्षरकर्मी थाहा नहुनु सक्छ । निमको पत्थरहरू सबैको कथा यस्तै हो । 

आज नेपालमा अभिव्यक्ति स्वतन्त्रता कम हैन, बरू बढी नैछ । स्वतन्त्रता सचेत प्रयोग हो । यो आफैंमा निरपेक्ष हुँदैन । यसलाई स्थान र समयले बनाउने सन्दर्भले दिशा निर्देश गरिरहेको हुन्छ । यो अक्षरकर्मी सुरूदेखि नै यही सत्यको वकालत गर्दैआएको छ । यद्यपि, केही आधा सचेत मानिसहरूलाई स्वतन्त्रता निर्वाध हुने लाग्छ । र, यो अक्षरकर्मीको विचार अभिव्यक्ति स्वतन्त्रताविरोधी जस्तो पनि लाग्छ । तर, यथार्थमा त्यस्तो हैन । सचेतना बिनाको स्वतन्त्रता एक किसिमको अराजकता हो । जब यो बन्सोसरी फैलन्छ, यसले अन्तत: अभिव्यक्ति स्वतन्त्रताको विरूवालाई नै नाश गर्छ।

नेपालमा पछिल्लो समय अनलाइन प्लेटफर्महरूमा भैरहेको अराजकता अभिव्यक्ति स्वतन्त्रताको प्रयोग हैन, दुरूपयोग हो । अझ, सामाजिक सञ्जालमा भैरहेको प्रयोग त अभिव्यक्ति स्वतन्त्रताको सत्यानशाको अवस्था हो भन्दा पनि फरक पर्दैन । पछिल्लो समय पत्रकारितामाथि सञ्चारकर्मले बुइ चढेको छ । र, एक किसिमले सञ्चारकर्म नै पत्रकारिता हो भन्ने गलत बुझाइ र भाष्य निर्माण भएको छ । यसले नेपाली समाजलाई जे जसरी भड्काएको छ, त्यसको परिणाम राम्रो हुने छैन । अहिले देखिएका केही  दुष्परिणामबाट नै त्यसको आँकलन गर्न सकिन्छ । 

यो अक्षरकर्मी पहिले भूगोल र भावना दुबै कोणबाट नेपाली थियो, नेपालमा थियो । तर, अहिले भूगोलको नेपाल छोडेर भावनाको नेपालमा मात्र सिमीत भएको  छ । यो एक किसिमको संक्रमण हो । यस्तो बेला आजको भन्दा पनि हिजोको सम्झनाले धेरै सताउँदो रहेछ । आज खासै सम्झने कुरा नहुँदा सम्झने भनेकै हिजोको कुरा हुनेरहेछ । हुन त कसैलाई त्यस्तो नलाग्न पनि सक्छ । तर, यो अक्षरकर्मीलाई अर्को भूगोलमा आप्रवासी भएर संघर्ष गरिरहदाको समयमा सुनाउनलायक खासै कुरा छन् जस्तो लाग्दैन । होलान्, केही भौतिक कुराहरू तर ती सबै अब क्रमश: फगत एक साधन हुँदैछन्, साध्य त जन्मेको देशमै छोडिसकिएको छ ।

यतिबेला जन्मेको देश यो वा त्यो नाममा दुखिरहेको छ । एकपछि अर्को किसिमको राजनीतिक प्रयोगशाला हुँदा कुनै पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । धेरै पुस्ताले यही प्रयोगशालामा अभिसप्त जीवन बिताइसकेको छ । अहिलेको पुस्ता पनि त्यही दुस्चक्रको शिकार हुने बाटोमा अगाडि बढिरहेको छ । त्यसका पछाडि केही कारण बिरासतमा प्राप्त छन् भने केही कारण आजको पुस्ताका आफैं सिर्जना गरिरहेको छ ।

यद्यपि, यो अक्षरकर्मी घना बादलभित्र पनि चाँदीको घेरा देखिरहेको छ, त्यो भनेको फेरि पनि नेपाली मूलधारे पत्रकारिताले रखबारी-खबरदारी नै हो । अनेकौ कमी-कमजोरी हुँदाहुँदै पनि यसले आफ्नो मूलधर्म छोडेको छैन । यो अक्षरकर्मीले सहकर्म गरेको, पढाएको-सिकाएको एउटा अब्बल पुस्ता राज्यको चौथो अंगको ठाउँमा बसेर त्यो धर्म निर्वाह गरिरहेको देख्दा आशा गर्न सकिने ठाउँ बाँकि नै छ।  

आखिर जीवन भनेकै आशाको त्यान्द्रो त रहेछ । आज फेरि एकपटक भाग्यले पाएको देश सम्झेर यो बनाएको देशमा नराम्ररी ऐठन लाग्यो । यतिबेला यो बनाएको देशमा 'के हुन्छ भन्दा पनि के हुँदैन' भन्ने एन्टिथेसिसको जगजगी छ । कुरा गर्यो कि कुरैको दु:ख भने जस्तो; कुरा गरी साध्य छैन । लाग्छ, चलचित्र सम्झनाको यो गीत आफ्नै लागि लेखिएको हो :

के सोचे मैले के भयो अहिले 
कसम हाम्रो अल्झाइ राख
नलैजाउ टाढामा ..

टाढा हुनुपर्ने हो तर टाढामा भएको छ यो गीतमा । त्यस्तै छ, यतिबेलाको अम्रिकाने जिन्दगी पनि । 

प्रकाशित मिति: : 2025-03-23 09:50:00

प्रतिकृया दिनुहोस्