व वुसु चुङगुरेन्...!

भानु बोखिम

काठमाडाैँ
Break n Links
Break n Links

फेब्रुअरी २२, २०२५।

अघिल्लो दिन नै न्यानो कपडा लगाएर तयार हुन भनिएको थियो। 

आज चीन आइपुगेको पाँचौ दिन हो। हामी एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियलको परिसरमा हिँडिरहेको छौं। चिसो हावाको सामना गर्दै ब्रेकफास्ट लिनको लागि अघि बढ्दैछौं।  

‘आज त तपाईं धेरै खुसी हुनुहुन्छ होला?’ हिँड्दा हिँड्दै मैले तुलसी बोहरालाई सोधें।  
‘किन?’ उल्टै उनले मलाई सोधिन्। 

‘आज ग्रेटवाल जादैछौं नि!’ मैले भनें। 

जवाफमा उनले ‘ए…’ मात्रै भनिन्। तर उनको खुशी उज्यालो मुहारमा छल्किएको थियो। निश्चय नै ग्रेटवालको यात्रा सबैको चाहना थियो। तर तुलसी जीले चाहिँ खुलेर ग्रेटवाल जान पाइन्छ कि पाइँदैन भनेर सोध्नुभएको थियो। 

म लगायत अन्यले यसबारे बोलेर चासो प्रकट गरेका थिएनौं। यसको अर्थ रहर नभएको हैन। बरु पहिले नै चीन भ्रमण गएर आएकाले दिएको जानकारी अनुसार ढुक्क भएको हो। किन भने कुनै पनि सेमिनारमा बेईजिङ पुगेकालाई ग्रेटवाल अवश्य घुमाउँछन्। 

खाजा खाएर हामी ८:३० मा सेमिनार हलको अगाडि आइपुग्यौं। त्यहाँ ठुलै बस हामीलाई कुरिरहेको थियो। हाम्रा लागि आज टुर गाइडको व्यवस्था पनि थियो। जब हामी चढेको बस गुड्न थाल्यो, टुर गाइड माइकमा बोल्न थालिन्। 
‘मलाई ईभा भनेर बोलाउन सक्नुहुन्छ…’ टुर गाइडले आफ्नो परिचय दिने क्रममा भनिन्। 

उनले आफ्नो चिनियाँ नाम पनि भनेकी थिइन्। तर हामीलाई सम्झिन गाह्रो भयो। सायद यही कुरा ख्याल गरेर हुनुपर्छ, उनीहरूले एउटा अँग्रेजी नाम राखेका हुन्छन्। हाम्रो सेमिनारको संयोजक अनि उनका तीन जना सहयोगीहरूका पनि यस्तै गरी अँग्रेजी नामहरू राखिएको थियो। यी केवल आगन्तुकको सहजताका लागि राखिएका नामहरू थिए। 

बस गुडिरहेको थियो। हामी सबै आफुले रोजेको सिटमा बसेका थियौं। ईभा हाम्रो सामुन्ने उभिएर माईक समातिरहेकी थिइन्। हाम्रो यात्रा अनि ग्रेटवालको बारेमा बताउँदै थिइन्। 

बसभित्र सेमिनारमा भाग लिन आएका विभिन्न पाँच देशका नागरिक छन्। 

तिमध्ये सबैले ईभाको कुरा सुनिरहेका थिएनन्। तर ईभा आफ्नो जिम्मेवारी बहन गर्नमा मग्न थिईन्। उनका अनुसार ग्रेटवाल निर्माण गर्दा आवश्यक सामग्रीहरू भेडा र गधालाई बोकाएर लगिएको थियो। 

हुन त, त्यो मोटर-गाडीको जमाना थिएन। त्यसैले जनावरलाई भारी बोकाउनुको विकल्प थिएन। पर्खाल निर्माणको क्रममा धेरै मजदुरहरूको मृत्यु पनि भयो। त्यसैले ग्रेटवाल मजदुरको श्रम र पसिनाले मात्र उभिएको छैन, बरु कैयौं मजदुरको चिहानको विम्व पनि भएको छ।

त्यसअघि कुनै समय चीनका लागि यो सुरक्षा पर्खाल थियो। तर आजकल साँस्कृतिक तथा ऐतिहासिक ज्ञान आदान प्रदान गर्ने माध्यम र थलो भएको छ। 

ग्रेटवालको एउटा विन्दुमा पुगेर हामी चढेको बस रोकियो। ईभाले हामी सबैलाई फर्केर आउने समय तोकिन् अनि हामीलाई स्वतन्त्र छाडिदिईन्। 

त्यहाँ पुग्दा बिहानको नौ बजेर ४० मिनेट गएको थियो। उनले ठिक दुई घण्टामा बस भएको ठाउँमा आउन भनेकी थिईन्। फोटो खिच्दै ग्रेटवाल चढ्न र फर्केर आउनको लागि हाम्रा लागि दुई घण्टा थियो। 

बसबाट झर्दाखेरि एलिना कार्कीलाई गाह्रो भएको थियो। उच्च गतिमा गुडेको बसभित्र गुम्म भएकोले उनलाई वाक्-वाकी लागेको थियो। यो एक किसिमका सफोकेशनको परिणाम थियो। उनले आफ्नो अवस्था हेरेर ग्रेटवाल नचढ्ने भनिन्। तर हामीले नै उनलाई कर गर्‍यौं। माथि चढ्दै जाँदा उनी फ्रेस हुँदै गइन्। 

फोटो खिच्नलाई आ–आफ्नो क्यामेरा त थियो नै। त्यसमाथि तुलसी जीको डिएसएलआर क्यामेरा पनि थियो। ठाउँ ठाउँको खुड्किलाचाहिँ अति नै ठाडा थिए। तै पनि हिँड्नलाई उति गाह्रो थिएन। ठाउँ ठाउँमा कोसेली किन्ने ठाउँहरू राखिएको थियो। तर हामीसँग समय धेरै नभएकोले कोसेली पसलमा खासै अलमलिएनौं। 

पर्खाल चढ्ने क्रममा बंगलादेशी मित्र रेहमान भेटिए। उनी आफ्नो देशको नागरिक उड्ययन मन्त्रालयमा काम गर्छन्। रेहमान र म निकै माथिसम्म सँगै गयौं। उनका अन्य बङ्गलादेशी साथीहरूसँग पनि चिनजान भएको थियो। तर उनीहरू रेहमानसँग थिएनन्। उनीहरूका बारे रेहमानलाई सोध्दा यति माथिसम्म चढ्न मानेनन् भन्ने जवाफ पाएँ। उनको जवाफबाट लाग्थ्यो कि दुनियाँमा प्राय सबै कुरा सापेक्षिक हुन्छन्। 

उकालो ओरालो गरिरहेका हामी नेपालीलाई ग्रेटवाल चढ्नु खासै गाह्रो काम थिएन। तर समथरमा बस्ने बंगलादेसीलाई निकै गाह्रो थियो। सायद रेहमान अपवाद थिए, जो एक्लै माथि आइपुगेका थिए। उनी फर्खिनलाई हतारिदै थिए। मैले घडी हेरेर प्रशश्त समय छ भन्दिए। तर पनि उनी अत्तालिएकै देखिन्थे। हामीसँगै ओह्रालो झर्दै थियौं। म हाम्रो टोलीसँग कुरा गर्दा-गर्दै रेहमान अलप भए। 

हामी ईभाले दिएको समयमै बस चढ्ने ठाउँमा आइपुग्यौं। यो बेला थाहा भयो कि रेहमान त अर्को समूहमा आएका हुन्। उसको बस नै छुट्टै छ। सायद रेहमान त्यहाँबाट हिँडिसकेका थिए। यसपछि हामीले खाना खाने अनि सपिङ गर्ने तालिका थियो। सपिङका लागि पनि ईभाले हामीलाई स्वतन्त्र छोडिदिने बताएकी थिईन्। यो कुरा थाहा पाएकी  हाम्रो टिम लिडर दीपा दाहालले चलाखी गरिहालिन्। ईभालाई हामीसँगै हिँड्नको लागि मनाइन्। ताकि उसको अनुवादको सहायताले किनमेल गर्न सजिलो होस्। 

आजको खाना हामी आफैले व्यवस्था गर्नुपर्ने थियो। ग्रेटवालबाट फर्किरहेका बेला बसभित्र ईभाले सोधिन् ‘तपाईहरू मध्ये कसैलाई मुस्लिम रेष्टुरेन्ट चाहिन्छ?’

‘चाहिन्छ…!’ भन्ने केही आवाजहरू आए। 

हात उठाउनेहरूमा इराकका साथीहरू थिए। केही अफ्रिकी देशका साथीहरू थिए। मैले चिनेका केन्याका ब्रायन र टेइटस भने मुस्लिम थिएनन्। उनीहरू क्रिस्चियन थिए। 

ईभाले मुस्लिम रेष्टुरेन्टको बारेमा सोध्नु भनेको फरक धर्म र संस्कृतिप्रतिको चासो र सम्मान थियो। 

सामन्यतया चीन कम्युनिष्ट देश भएकोले धर्म र संस्कृतिसँग जोडिएको आनिबानी तथा व्यवहारलाई चासो राख्दैनन् भन्ने थियो। तर मेरो धारणा भन्दा ठिक विपरीत पाए चिसो सोच र व्यवहार। बसबाट झरेपछि ईभाले बसमा भएका विभिन्न देशका मुस्लिम साथीहरूलाई रेष्टुरेन्टतिर लग्न तयार भइन् र भनिन्, ‘प्रिय मुस्लिम साथीहरू, रेष्टुरेन्ट जान मलाई पछ्याउनु होला।’

‘अनि कसैलाई अफ्रिकन खाना चाहिन्छ भने मलाई पछ्याउनु होला’ विनोदी र अग्लो ज्यान भएका केन्याको टेइटसले ठट्टाको शैलीमा भने, ‘यहाँ मेरो हजुरबुबाको रेष्टुरेन्ट छ।’

तर यो केवल ठट्टा मात्र थियो। उनीहरूको खानदानमा टेइटस नै पहिलोपल्ट चीन आईपुगेका थिए। खाना खाएपछि हामी सपिङ मलमा छिर्‍यौं। हामीलाई सहयोग गर्न ईभा पनिसँगै आएकी थिइन्। यो महलमा दीपा, एलिना र तुलसीजीले लगेज पसलमा गए। रुषा थापा जो हाम्रो समूहको कान्छी सदस्य हुन्, उनी र मचाहिँ अर्को पसलमा गएर जुत्ता हेर्न थाल्यौं। 

जुत्ता हेर्दै गर्दा पसलेले चिनियाँ भाषामा के के भन्न थाल्यो। पसले मेरो अनुहार हेरेर झुक्कियो कि भनेर बुझिसकेको थिएँ। किन भने अरु पनि यसरी नै झुक्किएका थिए। 

‘व वुसु चङ्गुरेन्…’ मैले पसलेलाई भनें। 

यसको अर्थ भनेको म चिनियाँ हैन भन्ने हुन्थ्यो। पसलेले एक पटक फेरि मेरो अनुहार हेर्‍यो अनि भन्यो ‘ओके माई फ्रेन्ड…।’

हामीबीचको संवादको दृश्य देखेर रुषा मुसुक्क हाँसिन्। व वुसु चुङगुरेन्… भन्न हिजो मात्र सिकेको थिएँ। यसले धेरै ठाउँमा काम गर्नेवाला थियो। किनभने चीनको बसाई अझै नौ दिन बाँकी थियो। र यत्तिका दिनमा मेरो अनुहार हेरेर धेरै चिनीया झुक्किनेवाला थिए नै। 

रुषा र मैले एक-एकजोर जुत्ता किन्यौं। रुषाले फेरि अर्को जुत्ताको मूल्य सोधिन्। जसको मुल्य १२० यूआन थियो। पसले त्यो जुत्ता भिडाउने दाउँमा थियो। तर रुषालाई जुत्ता किन्नु थिएन। 

‘यसले त जसरी पनि हामीलाई किनाउन खोज्दैछ…’ रुषाले भनिन्। 

‘उम्’ मैले भने ‘अब हामी ठ्याक्क आधा दाम भनौं। त्यसपछि यसले यति सस्तोमा त हुन्न भन्छ। अनि हामी पसलबाट निस्कनुपर्छ।’

रुषाले मेरा कुरामा सहमती जनाइन्। हामीले मोबाईल झिकेर क्याल्कुलेटर खोल्यौं। त्यसपछि क्याल्कुलेटर मा ६० देखायौं। आधा मुल्य घटाएपछि पसलेले हुन्न भन्छ भन्नेमा निश्चिन्त थियौं। 

पसलवालाले खै के भन्यो हामीले बुझेनौं। तर अलि परतिर गयौं। हामीले मुक्ति पायौं भनेर त्यहाँबाट हिँड्न लागेका थियौं। हामीलाई हाम्रो उपायले काम गरेको भान भइरहेको थियो। पसले त एउटा प्लास्टिकको झोला लिएर आयो। त्यो झोलामा जुत्ता राखेर रुषालाई दिँदै भन्यो, ‘ओके माई फ्रेन्ड, टेक।’
अब भएन फँसाद! निहुँ खोज्ने वा पन्छिने ठाउँ पनि बाँकी थिएन। रुषाले ६० युआन तिरेर जुत्ता लिईन् र हामी बाहिरियौं। 

‘जति भन्यो त्यति मै दिने रहेछ,’ रुषाले भनिन् ‘पहिले नै थाहा भएको भए, ४० मात्र दिन्छौं भन्ने थ्यौं नि!’

हामी फेरि लगेज किनिरहेका साथीहरूलाई भेट्न आयौं। उनीहरू अझैं पनि लगेजको मोलतोल मै थिए। लगेजपछि कपडा किन्न थाले। रुषा र म भने त्यो मलको अन्डरग्राउण्डमा गयौं। त्यहाँचाहिँ सेलमा राखिएका समानहरू थिए। 

साँझ चार बजेतिर हामी सबै सपिङ मलको अगाडि आयौं। 

ग्रेटवाल घुम्न हिँडेकाहरू सबै किनमेल गरेर फर्किसकेका थिए। 

चिनियाँको ब्यापार गर्ने शैलीचाहिँ गजब लाग्यो। 

ग्राहकले बुझ्ने भाषा नबुझे पनि उनीहरू आफ्नो सामान बेच्न सक्दा रहेछन्, ‘माई फ्रेन्ड, माई फ्रेन्ड…’ भन्दै! 

प्रकाशित मिति: : 2025-04-12 08:40:00

प्रतिकृया दिनुहोस्