कहिल्यै हैकम नचलाएका ‘नमूना हाकिम’

उनी कुनै कार्यालयका हाकिम त भए, तर उनले आफू मातहतका कुनै पनि कर्मचारीहरूलाई हैकम भने चलाउन चाहेनन्। उनी हुन् कुनै बखत रोल्पामा रहेको जिल्लास्तरीय एक कार्यालयका पूर्व प्रमुख- अमर अधिकारी।

सबै सहकर्मीहरूसँग हाँसीखुशी दैनिक कार्य गर्न रुचाउने अधिकारी भन्छन्- ‘हाकिम भएँ भन्दैमा फूर्तिफार्ति गर्नैपर्छ र?’

यो पनि-

इमानदार भएकै कारण अधिकारीले विभिन्न कालक्रममा धेरै हण्डरहरू खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा र नियमित प्रकाशन भइरहने उनकै लेखहरूबाट प्रष्ट हुन्छ। छट्टुहरूका लागि सरकारी जागिर फलिफाप सिद्ध छ भने इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको खासै स्थान छैन।

उनी २०७५ सालमा कार्यालय नै नभएको ठाउँमा सरुवा गरिए र एकवर्षसम्म तनाव व्यहोरे। त्यस्तै लेखापालहरूका बदमासीका कारण पाउनुपर्ने भत्ताहरूबाट बञ्चित भए। मन्त्रीका स्वकीय सचिवले आफ्नो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेपछि उनी दुई महिनासम्म बिदा लिएर बसे। बिदा सकिएपछि अनिवार्य अवकाश लिए र निरन्तर रुपमा साहित्य-लेखनमा तल्लिन भए।

साथीले उनलाई ‘दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ पनि भनेका रहेछन्। तर उनले धनलाई पटक्कै महत्व दिएनन्। सेवाग्राहीले कोटको भित्री खल्तीबाट हजारका नोटको बिटो दिनखोज्दा सो फर्काइदिएको प्रसङ्ग पनि बताउँछन्। प्रलोभन देखाएर काम गराउन खोज्नेहरूलाई पनि उनले बेवास्ता गरे।

कार्यालय प्रमुख बनेर चिठी तथा निवेदनहरूमा रातो कलमले तोक लगाउने, फाइल सदर गर्ने  कामको अनुभव बटुलेका अधिकारी अर्धन्यायीक निकायको न्यायाधीश पनि भए। कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी दुई पदका लागि स्वविवेकले नियुक्त गर्ने मनस्थितिमा रहेका अधिकारीले नेता र विभागबाट दबाब आएपछि भने आफूले चाहेको एकजनालाई मात्र नियुक्त गर्नसके। उनलाई प्रशासनमा हुने राजनीतिक हस्तक्षेप पटक्कै मन परेन।

उनको लालपूर्जा हेर्‍यो भने सम्पत्ति शून्यप्राय छ, उनका सम्पत्ति भनेका विभिन्न किर्तिमानहरू, उपाधिहरू, कृतिहरू नै हुन्। ‘नेपालमा जुनसुकै क्षेत्रमा फटाहाहरूको हालिमुहाली छ, सम्मान, पुरस्कार पाउनेहरूमा फटाहाहरू नै अगाडि देखिन्छन्,’ उनी भन्छन्।

२३ वर्ष निजामती सेवा गर्ने क्रममा मन्त्रालयमा रहँदा राती नौ बजेसम्म र विभागमा रहँदा सार्वजनिक बिदाका दिनहरूमा समेत खटेर अनि डटेर काम गर्दा भ्रष्ट र कामचोर कर्मचारीहरू पुरस्कृत भएको थाहा पाएपछि आफूले उनले पुरस्कार नपाएकै ठीक मान्छन्।

कार्यालय प्रमुख भएर रहँदा कसैलाई अदब गरेर हकारेनन्, सताएनन्, नमिठो बोलेनन्। शीतल र शान्त प्रवृत्तिका उनलाई अहिलेसम्म नकारात्मक सोच्ने कोही पनि छैनन् होला। ‘साहित्य क्षेत्रमा लाग्ने कर्मचारीहरूको हृदय कोमल हुन्छ, जो कर्मचारी भ्रष्टाचारमा लिप्त हुन्छ उसमा साहित्यिक भावना पलाउन सक्दैन र ऊ सधैँ ‘कसरी धन कमाउने?’ भन्नेतिर मात्र लाग्दछ अनि अनैतिक काम गर्दै आफ्नो इमानदारीपनलाई धमिल्याउन पुग्छ’ भन्ने उनको बुझाइ छ।

नेपालको राजनीति ज्यादै घिनलाग्दो। आफूले रोल्पाली भएकै कारण विभिन्न समयमा हेपाइ र पेलाइ खाएको जस्ता मनमा गढेका पीडाहरू उनले कहिल्यै पनि नबिर्सने बताउँछन्। यस्ता कैयन पीडाहरू र कर्मचारीतन्त्रमा हुने घटियाखालका कुराहरू उनले साहित्य-लेखनमा उतार्छन्। ४२ वर्ष काठमाडौं र त्यसमा पनि १२ वर्ष सिंहदरबारमा बिताएका उनलाई देश किन बर्बादीतिर गइरहेको छ भन्ने कुरा उनका तमाम लेखहरूबाट प्रष्ट हुन्छ। देशको दयनीय अवस्थाका बारेमा उनका लेखहरूले दर्शाउँदै आएका छन्।

साहित्य-लेखनमा प्रयोग हुने अधिकारीका विभिन्न शैलीहरू अरुले पनि अनुशरण गरेको देख्दा उनी खुशी हुन्छन्। २०८१ साउन १८ मा प्रकाशित ज्ञान-चेतनासम्बन्धी उनको एउटा सर्वाधिक लोकप्रिय लेख अहिलेसम्म पाठकहरूले फैलाइरहँदा अर्थात् सेयर गरिरहँदा उनी खुशी हुन्छन्। उक्त लेखसँग मिल्दोजुल्दो शीर्षक राखेर अरुले पनि त्यस्तैखाले लेखहरू पनि लेखिरहेका छन्।

दुईवर्षको अवधिमा आधा दर्जनभन्दा बढी कीर्तिमानहरू कायम गर्दै त्यतिकै संख्यामा उपाधिहरू समेत पाउँदा उनी खुशी हुन्छन्, तर प्रदर्शन गर्दैनन्। एकवर्षको अवधिमा दुई सयभन्दा बढी लेख-रचनाहरू प्रकाशन हुनु उनको एउटा कीर्तिमान हो भने उनको पुस्तक ‘ओगिल्जा’ मोबाइलमै कोरिएको नेपालको पहिलो पुस्तक बन्न पुगेको छ।

नेपालको सबैभन्दा छोटो लघुकथाका कथाकार पनि उनै हुन् भने उनका दिनमा ३/४ वटासम्म लेख-रचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन भएको इतिहास पनि छ। सम्मानपत्र र कदरपत्र उनले कोठाको भित्तामा टाँग्दैनन्, जे गर्ने हो फेसबुकमार्फत् साथीहरूलाई जानकारी दिन्छन्। उनीमा अहंकार भने देखिदैन, ‘सादा जीवन उच्च विचार’ नै उनले अङ्गीकार गर्नेमध्येको एक सिद्धान्त हो।

 उनी अर्को दुखेसो पोख्छन्- ‘नेपालमा जुनसुकै क्षेत्रमा पनि धनीमानीको मात्र चर्चा हुने गर्छ, साधारण र गरिब मान्छेको चर्चा हुँदैन।’

आफ्नो जन्मथलो रोल्पाको खुंग्रीमा ‘त्रिपुरा पुस्तकालय तथा वाचनालय' स्थापना गर्ने सुरसारमा रहेका अधिकारीले गाउँमा ज्ञान-चेतनाको खाँचो रहेको कुरा बताउँछन्। उनले पठन संस्कृतिको विकासको आवश्यकता देख्छन्।

नयाँ र पुरानो गरी दुईटा मोबाइल र दुईटा ल्यापटप एकैपटक चलाउन भ्याउने ६१ वर्षीय अधिकारीमा बुढ्यौली देखिँदैन। भन्छन्, ‘व्यस्त रहनुपर्छ, कतिपय रोगहरू आफैं भाग्छन्’ दीर्घजीवि र स्वस्थ बन्ने बीस सूत्र उनकै पुस्तक ‘ओगिल्जा’मा उल्लेख छन्। उनी फेसबुकमार्फत् पनि समाजमा ज्ञान-चेतना बाँड्दै आएका छन्।

साहित्यकार समेत भएको दृष्टिले भन्नुपर्दा उनी सामाजिक अभियन्ता पनि हुन्। तीन पुस्तकहरूका कृतिकार समेत रहेका अधिकारीको जीवनीमा आधारित पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ डा. घनश्याम पुडासैनीले लेखिसक्नुभएको छ भने ‘अमर अधिकारीका प्रभावकारी लेखहरूको सङ्गालो’ नामक पुस्तक कीर्तिमानी समीक्षक अरुण खत्री ‘नदी’ ले लेख्दैहुनुहुन्छ।

अधिकारीका आगामी योजनाअन्तर्गत दशभन्दा बढी पुस्तकहरू प्रकाशन गर्ने योजना रहेको बताउँदै आफ्नो रचनाका गीत तथा भजनहरू पनि रेकर्डिङको क्रममा रहेको बताउँछन्। उनको एउटा गीत रेकर्डिङ भएर बजारमा आइसकेको छ। अधिकारीका एक मात्र छोराले पीएचडी सकेर पनि पोस्ट पीएचडी गर्दैछन्। 

तर उनमा ‘वैज्ञानिक-प्रोफेसर-डाक्टर’ को पिता हूँ भन्ने अहंकार छैन। जीवनशैली कसरी र कस्तो अपनाउने भन्ने धेरै कुराहरू अधिकारीबाट सिक्न सकिन्छ।

प्रकाशित मिति: : 2025-04-10 19:50:00

प्रतिकृया दिनुहोस्