शिक्षामन्त्रीकाे राजीनामाबारे ओलीको स्पष्टीकरण, शिक्षक उक्साउँदै प्रचण्ड (भिडियाे समाचार)

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। 

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका हुन्। 

आफैं बनाएको मन्त्रीलाई सहयोग गरेन भन्ने हल्ला मात्र रहेको बताउँदै अनावश्यक प्रचारबाजी गर्नुको कुनै अर्थ नरहेकाे उनकाे भनाइ थियाे। 

000

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ। 

बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।

शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डकाे निष्कर्ष छ। 

तर चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन चर्काइरहेका शिक्षकहरूले भने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय समेत गरिसकेका छन्। 

000

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

मंगलरबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

त्याेसँगै इजलासले लामिछानेको रिट निवेदनलाई संयुक्त इजलासमा पठाउने आदेश गरेको छ। 

अब लामिछानेको मुद्दा संयुक्त इजलासले हेर्नेछ। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक(पटक धोका भएको भन्दै शिक्षकहरूलाई आन्दोलन नछोड्न अपिल गरेका छन्।

मंगलबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षकहरूका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलन नछोड्न अपिल गरेका हुन्। 

धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गर्दै प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्रीले राजीनामा दिनुपरेको उनको आरोप थियो। 

000

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी ‘नजरबन्द’ मुक्त भएका छन्।  

उनले आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन्। योसँगै  उनी समितिको काममा फर्किएको पनि विज्ञप्तिमा उल्लेख छ। 

चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनपछि सुवेदीलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो। 

 000

 नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख राजनीतिक दलहरूको चरित्रबारे तिखो टिप्पणी गरेका छन्। 

मंगलबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपा र मधेस केन्द्रित दलहरूको चरित्र चित्रण गरेका हुन्। 

देशको राजनीति अहिले गम्भीर अवस्थामा पुगेको भन्दै राजनीतिक सङ्कट पार लगाउने दलहरू नै भएको उनको जिकिर थियो। 

000

नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। 

मन्त्रिपरिषद्ले गत चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि भट्टराईले समितिबाट राजीनामा दिएका हुन्। 

 000

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्।

दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन्।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए। 

उनले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन्।

 

प्रकाशित मिति: : 2025-04-22 20:35:00

प्रतिकृया दिनुहोस्