आइतबार, ११ जनवरी २०२६

देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै

ओम आचार्य

ओम आचार्य

काठमाडौं
News Image
• • •

नेपाली कांग्रेसभित्र देउवाका अति निकट र विश्वासपात्रहरूले विधान संशोधन गरेर भए पनि पुनः सभापतिमा उम्मेदवार हुन उक्साइ रहेका छन्।

ती विस्वासपात्रले देउवाको शारिरीक अवस्था र उमेर बिर्सेका हुन् या देउवा स्वयंले आफ्नो रुचि मुखरित गर्नु भएको हो? अहिले कांग्रेस सांगठनिक हिसाबले अत्यन्त कमजोर छ। कांग्रेसभित्र अहिले संगठनको लागि भन्दा पनि एकअर्कालाई समाप्त गर्ने रणनीतिमा कांग्रेसी नै लागेका छन्।

अहिलेको गठबन्धन सरकार निर्माणमा प्रमुख भुमिका र सरकार निर्माणको जग नै कांग्रेस भएको हुँदा सरकारबाट भएका निर्णय र सरकारको क्रियाकलाप र प्रवृतिले कांग्रेस अझ कमजोर बन्दै गएको छ। जनमानसमा लोकप्रियता खस्कँदो छ।

अहिले कांग्रेसभित्र पनि स्वयं कांग्रेस हुँ भन्न हिचकिचाउने अवस्था आएको छ। अहिले कांग्रेसभन्दा पनि आफूलाई डेमोक्र्याट भन्न रुचाउनेको संख्या बढ्दो छ। आखिर यस्तो भयो किन? यो प्रश्न गम्भीर छ।

एक समय बीपीले भन्नुभएको थियो- कांग्रेस हुनु नहुनु आफ्नो ठाउँमा छ तर पहिला डेमोक्र्याट् बन्नुस्। अहिले पनि सम्झना आउँछ। जतिखेर बीपीले सो कुरा भन्नुभयो अहिले कांग्रेसको सांगठनिक अवस्था त्यतिखेर कै जस्तो छ। कांग्रेस सांगठनिक अवस्थाले त्यति नै पछाडि छ।

अहिले कांग्रेस बनाउनु भन्दा कांग्रेसभित्र डेमोक्र्याट बनाउनु जरुरी देखिएको छ। देउवालाई विधान संशोधन गरेर पुनः सभापति बनाउन सल्लाह दिनेहरूबाट कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण हुन सक्दैन र संगठन बलियो पनि हुदैन। यस्तो सल्लाहले कांग्रेस त बन्दैन र डेमोक्रेट हुँ भन्नेहरूलाई पनि निराश बनाउँछ।

देउवा समूहभित्रै लडाइँ

देउवा समुहभित्र सभापतिका लागि थुप्रै आंकाक्षी छन्। डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधिलगायतका छन्। यही समुहभित्र पनि एकअर्काका विरोधी र प्रतिस्पर्धी छन्। यिनीहरूबाट पटक-पटक सभापति देउवालाई संस्थापनबाट सभापति को? भन्ने दवाब पनि दिदै आएका छन्। 

देउवा यसमा नबोल्नुले यिनीहरू भित्रै संशय पैदा गरेको छ। यही संशयले नै यौटा समूह विधान संशोधन गरेर पुनः सभापति हुन उक्साएर देउवालाई पनि भ्रमित र द्विविधामा मात्रै पारेको छैन सम्पूर्ण कांग्रेसको भविष्य अन्धकारमा धकल्दै छन्।

कांग्रेस चिनाउदै डा. शेखर

अहिले मुलुकमा कांग्रेसको उपस्थिति छ भने त्यो डा. शेखरबाट देखिँदै छ। पार्टीभित्र होस् या बाहिर कांग्रेस सम्मिलित सरकार कै किन नहोस्, उनले त्यहाँभित्रको विसंगतीलाई चोर औंला देखाएर खबरदारी गर्दैछन्।

कांग्रेसको पदाधिकारीमा छैन तर पनि कांग्रेसभित्र उ बराबर जिल्ला दौडाहा गर्ने कोही छैनन्। डा. शेखरको जिल्ला दौडाहले कांग्रेसभित्र रौनक, चहलपहल र केही आशा त जगाएकै छ।

शेखरले ‘सत्य बोल्नुस’ भनिरहँदा कांग्रेसको वर्तमान अवस्थालाई संकेत गरेर नै भनेका हुन्। बीपीले- नेतृत्व तहले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कि चरम अवसरवादी हुन्, कि दास प्रवृती हो भन्दा डा. शेखरले सत्य बोल्नुस् भनेको पनि त्यही हो। अहिले कांग्रेसभित्र अवसरवादी र दास प्रवृती झांगिदै गएको छ।

यसको ज्वलन्त उदाहरण विधान संशोधन गरेर भए पनि देउवालाई पुनः सभापतिमा उक्साउनु हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!