बिएल संवाददाता
— उषा जोशी
साहित्य समाजको भोगाइ, चेतना, संवेदना र यथार्थको अभिव्यक्ति हो। यसले समाजमा देखिएका घटनाहरू प्रस्तुत गर्ने मात्र होइन, स्थापित सामाजिक मूल्यमान्यता, शक्ति सम्बन्ध र सामाजिक संरचनामाथि प्रश्नसमेत उठाइरहेको हुन्छ। यसै सन्दर्भमा सीमान्त साहित्यको अवधारणा साहित्यको एक अभिन्न र महत्त्वपूर्ण पक्ष बनेर आउँछ।
अनि सीमान्त साहित्यको बारेमा चर्चा गर्दा एउटा महत्त्वपूर्ण र गम्भीर प्रश्न उठ्छ, के सीमान्त साहित्य सीमान्तकृत समुदायका लेखकले मात्र लेख्न सक्छन् अथवा मूलधारमा रहेका लेखकले पनि यस क्षेत्रमा कलम चलाउन सक्छन्?
यो प्रश्न केवल लेखकीय अभ्यास र स्वतन्त्रताको मात्र होइन, अनुभवको प्रामाणिकता, प्रतिनिधित्वको अधिकार, सामाजिक सम्बन्धहरूप्रतिको संवेदनशीलता र साहित्यिक उत्तरदायित्वको पनि हो।
सीमान्त साहित्य भन्नाले सामाजिक, आर्थिक, राजनीतिक, जातीय, लैङ्गिक, सांस्कृतिक वा भौगोलिक कारणले मूलधारबाट पछाडि रहेका र पछाडि पारिएका समुदायका जीवनभोगाइ, दृष्टिकोण, सङ्घर्ष, पहिचान र पहुँचलाई केन्द्रमा राखेर सिर्जना गरिने साहित्यलाई बुझ्न सकिन्छ।
यसको मुख्य लक्ष्य भनेको समाजमा दबाइएका र कम सुनिएका आवाजहरूलाई स्थान दिनु र विद्यमान असमानतामाथि कलम चलाएर सत्ता, शक्ति र सरोकारवालाहरूलाई मात्र होइन, स्वयं वञ्चितीकरणमा परेकाहरूलाई प्रश्न गर्नु हो। तर यहाँ विचार गर्नुपर्ने पक्ष के छ भने, सीमान्त साहित्यको पहिचान लेखकको सामाजिक परिचयबाट मात्र निर्धारण हुन्छ या उसले प्रस्तुत गरेको विषयवस्तु, दृष्टिकोण र सामाजिक चेतनाबाट पनि प्रस्तुत हुन्छ?
यदि सीमान्तकृत समुदायका व्यक्तिले मात्र सीमान्त साहित्य लेख्न सक्छन् भन्ने मान्यता स्थापित गरियो भने साहित्यको सिर्जनात्मक स्वतन्त्रता सीमित हुन सक्छ र सीमान्तकृत साहित्य अझ सङ्कुचित घेरामा पर्न सक्छ।
अर्कोतर्फ, जोसुकै लेखकले सीमान्तकृत समुदायका विषयमा लेख्न पाउने नाममा उनीहरूको वास्तविक अनुभव र आवाजलाई बेवास्ता गरियो भने प्रतिनिधित्वको प्रश्न झन् जटिल बन्न सक्छ। त्यसैले यी दुवै अतिवादबाट जोगिएर सन्तुलित कलमहरू चल्नुपर्ने हुन्छ।
अनुभव र अभिव्यक्ति स्वतन्त्रता
कुनै समुदायको प्रत्यक्ष जीवनभोगाइले त्यस जीवनका सामाजिक, सांस्कृतिक मूल्यमान्यता, विश्वास, पीडा र सङ्घर्षको सूक्ष्म अनुभूति र विशेष ज्ञान हुन सक्छ। जस्तै, जातीय विभेद भोगेको व्यक्तिको लेखनमा त्यसको मनोवैज्ञानिक असर र सामाजिक बहिष्करणको गहिरो अनुभूति व्यक्त हुन सक्छ। पितृसत्तात्मक संरचनामा सङ्घर्षरत एक महिलाले आफ्नो जीवनका जटिलता र अनुभवलाई विशिष्ट दृष्टिकोणबाट प्रस्तुत गर्न सक्छिन्।
तर प्रत्यक्ष अनुभव नै साहित्य सिर्जनाको एक मात्र आधार हो भन्नु चाहिँ साहित्यलाई साँघुरो घेरामा राख्नु नै हुन्छ। साहित्यमा जीवनको आदर्श, कल्पना, अध्ययन, अनुसन्धान, अवलोकन, संवाद र मानवीय संवेदनाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। कुनै लेखकले आफैले नभोगेको जीवनबारे पनि गम्भीर अध्ययन, अनुसन्धान र संवेदनशीलताका आधारमा प्रभावकारी कलम चलाउन र उत्कृष्ट सिर्जना गर्न सक्छ।
त्यसैले सीमान्त साहित्य लेख्ने अधिकारलाई लेखकको जात, वर्ग, लिङ्ग वा सामाजिक पहिचानका आधारमा सीमित गर्नु उचित हुँदैन। तथापि, लेखकीय स्वतन्त्रता हुनु र कुनै समुदायको अनुभवलाई प्रामाणिक रूपमा प्रतिनिधित्व गर्न सक्नु फरक कुरा हुन्।
लेख्ने अधिकार सबैलाई छ, तर अरूको अनुभवलाई प्रस्तुत गर्दा त्यसप्रतिको उत्तरदायित्वबाट कोही पनि मुक्त हुनु हुँदैन।
आवाजको न्यायपूर्ण प्रस्तुति
सीमान्त साहित्यको बहसमा सबैभन्दा महत्त्वपूर्ण सवाल प्रतिनिधित्वको हो। कुनै समुदायका बारेमा लेख्नु र त्यस समुदायको आवाजलाई न्यायपूर्ण रूपमा प्रस्तुत गर्नु एउटै कुरा होइन।
कहिलेकाहीँ मूलधारका लेखकले सीमान्तकृत मानिसका पीडा, अभाव र विवशतालाई साहित्यको विषय बनाउँछन्। तर तिनै पात्रको आत्मसम्मान, प्रतिरोध, ज्ञान, क्षमता र परिवर्तनको आकाङ्क्षालाई पर्याप्त स्थान दिँदैनन्। यस्तो लेखनले सहानुभूति त उत्पन्न गर्न सक्छ, तर अनजानमै सीमान्तकृत मानिसलाई कमजोर र परनिर्भर पात्रका रूपमा स्थापित गर्ने जोखिम पनि रहन्छ।
अर्कोतर्फ, सीमान्तकृत समुदायका लेखकका अनुभव र सिर्जनालाई कम महत्त्व दिँदै मूलधारका लेखकले लेखेका रचनालाई मात्र प्रतिष्ठित साहित्यका रूपमा स्थापित गरियो भने साहित्यिक क्षेत्रमा प्रतिनिधित्वको असमानता कायम रहन सक्छ।
त्यसैले प्रश्न केवल कसले लेख्ने र के लेख्ने भन्ने मात्र होइन; कसको लेखनले स्थान पायो, कसको आवाज सुनियो र साहित्यिक प्रतिष्ठा तथा अवसरको वितरण कति न्यायपूर्ण छ भन्ने पनि हो।
सीमान्त साहित्यको उद्देश्य सीमान्तकृत मानिसको तर्फबाट बोल्नु मात्र होइन, उनीहरूलाई आफ्नै आवाजमा बोल्न सक्ने साहित्यिक चेत र वातावरण स्थापित गर्नु पनि हो।
साहित्यको मूल्याङ्कनको मापदण्ड
साहित्यको मूल्याङ्कन गर्दा लेखकको सामाजिक पहिचानलाई मात्र निर्णायक बनाउनु उचित हुँदैन। सीमान्तकृत समुदायका व्यक्तिले लेखेको प्रत्येक रचना स्वतः सीमान्त साहित्य हुँदैन। त्यसैगरी, मूलधारको समुदायका सिर्जनाहरू पनि सीमान्त साहित्यको दृष्टिले महत्त्वपूर्ण हुन सक्छन्।
साहित्यले सिर्जनाको विषयवस्तु, दृष्टिकोण, भाषिक अभिव्यक्ति, सामाजिक चेतना र सीमान्तकृत समुदायका अनुभवसँगको सम्बन्धलाई पनि विचार गर्नुपर्दछ।
तर यसको अर्थ लेखकको सामाजिक पहिचान अप्रासङ्गिक छ भन्ने होइन। पहिचान र जीवनानुभवले लेखकको दृष्टिकोण, संवेदना र लेखकीय छनोटलाई प्रभावित गर्न सक्छ। त्यसैले लेखकको पृष्ठभूमिलाई पूर्णतः अस्वीकार गर्नु र त्यसैलाई साहित्यिक योग्यताको एक मात्र आधार बनाउनु दुवै न्यायोचित हुँदैन।
साहित्यको मूल्याङ्कनमा सिर्जनाको गुणस्तर र सामाजिक दृष्टिकोण महत्त्वपूर्ण हुन्छन्। साथै, सीमान्त साहित्यको सन्दर्भमा प्रतिनिधित्व, शक्ति सम्बन्ध र समुदायको आफ्नै आवाजलाई कति सम्मान गरिएको छ भन्ने प्रश्न पनि उत्तिकै आवश्यक हुन्छ।
साझा सिर्जना, साझा उत्तरदायित्व
सीमान्त साहित्यको विकास कुनै एक समुदायको मात्र जिम्मेवारी होइन। सीमान्तकृत समुदायका लेखकले आफ्ना अनुभव, भाषा, संस्कृति र पहिचानलाई साहित्यमा स्थापित गर्न सक्छन्। अन्य समुदायका लेखकले पनि विभेद, अन्याय र बहिष्करणविरुद्ध लेखेर महत्त्वपूर्ण योगदान दिन सक्छन्।
तर यो साझा जिम्मेवारीको अर्थ सबैको अनुभव समान हुन्छ भन्ने होइन। प्रत्यक्ष विभेद भोगेको व्यक्तिको अनुभव र बाहिरबाट त्यसलाई अवलोकन गरेको व्यक्तिको दृष्टिकोण फरक हुन सक्छ। यी भिन्नतालाई स्वीकार गर्दै संवाद, सहकार्य र पारस्परिक सम्मानको वातावरण निर्माण गर्नु आवश्यक छ।
सीमान्त साहित्यका नाममा सीमान्तकृत समुदायका लेखकलाई मात्र सीमित गरिनु हुँदैन। त्यस्तै, उनीहरूको आवाजलाई विस्थापित गरेर अरूले नै उनीहरूको प्रतिनिधित्व गर्ने प्रवृत्तिलाई पनि सामान्य मान्न सकिँदैन।
साहित्यको लोकतान्त्रिक चरित्र त्यतिबेला बलियो हुन्छ, जब विविध समुदायका मानिसले लेख्ने अवसर पाउँछन्, उनीहरूका सिर्जनाले उचित स्थान पाउँछन् र साहित्यिक बहसमा सबैका अनुभवलाई सम्मानपूर्वक सुनिन्छ।
निष्कर्ष
सीमान्त साहित्य कसले लेख्न पाउँछ भन्ने प्रश्नको उत्तर लेखकीय स्वतन्त्रता र सामाजिक उत्तरदायित्वको सन्तुलनमा खोजिनुपर्छ। कुनै निश्चित समुदायमा जन्मिएको आधारमा मात्र साहित्य लेख्ने अधिकार प्राप्त हुने वा अरू समुदायमा जन्मिएको आधारमा त्यो अधिकार समाप्त हुने होइन।
तर लेखकीय स्वतन्त्रताको अर्थ अरूको अनुभवलाई मनपरी व्याख्या गर्ने छुट पनि होइन। संवेदनशीलता, अध्ययन, संवाद, आत्मालोचना र प्रतिनिधित्वप्रतिको उत्तरदायित्वले नै लेखनलाई न्यायपूर्ण बनाउन सक्छ।
अन्ततः, सीमान्त साहित्यको मूल प्रश्न लेखकको पहिचान मात्र होइन, साहित्यले कसलाई केन्द्रमा राख्छ, कसको अनुभवलाई अर्थ दिन्छ र समाजमा विद्यमान असमानतालाई कसरी चुनौती दिन्छ भन्ने हो।
सीमान्त साहित्यको वास्तविक उपलब्धि सीमान्तकृत मानिसका लागि अरूले बोल्नुमा मात्र होइन, उनीहरूको आवाज सुनिने, उनीहरू स्वयं बोल्न सक्ने र उनीहरूका सिर्जनाले समान स्थान पाउने वातावरण निर्माण हुनुमा छ।
त्यसैले सीमान्त साहित्यको बहसलाई ‘कसले लेख्न पाउँछ?’ भन्ने प्रश्नमा मात्र सीमित नराखी ‘कसको आवाज सुनिएको छ, कसको आवाज ओझेलमा परेको छ र साहित्यिक क्षेत्रमा समान अवसर कसरी सुनिश्चित गर्न सकिन्छ?’
भन्ने प्रश्नतर्फ विस्तार गर्दै साहित्यले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको महसुस आम जनमानससम्म पुर्याउनु आजको आवश्यकता हो। अझ भन्ने हो भने, हरेक कलम समाजमा व्याप्त विभेदकारी शक्ति सम्बन्धलाई चुनौती दिँदै विभेदरहित सभ्य, सशक्त र रूपान्तरित समाजको निर्माणका लागि चल्न सक्नुपर्दछ।
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया