बुधबार, २८ अक्टोबर २०२६

देउवा समूहबाट अबको सभापति को?

ओम आचार्य

ओम आचार्य

विराटनगर
News Image
• • •

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि नेपाल फर्कँदा सर्वोच्च अदालतमा चलिरहेको मुद्धाकै सन्दर्भमा ‘हाम्रै पक्षमा फैसला हुन्छ’ भन्दै उनी निकट केन्द्रीय स्तरका नेताहरूदेखि जिल्लास्तर सम्मका नेताहरूले भन्दै आएका छन्। यसो भनिरहँदा अहिले देशभरी नै वडादेखि केन्द्रसम्म अधिवेशन गरिरहँदा देउवाको भनाइमा देउवा आफैं आश्वस्त विश्वस्त हुन नसकेको उनीहरूको भनाइमा संशय पैदा हुन आउछ।

सर्वोच्चमा यति विघ्न विश्वास राखेका इतर समूहले अहिले गरिरहेको अधिवेशन गर्न के जरुरी थियो त? फैसला पूर्व र संस्थापनको अधिवेशनको बीच समयमा इतर समूहले आफ्नो सक्रियता र चलायमान गरिरहन नेता र कार्यकर्तालाई समूहमा आवद्ध गर्न र संस्थापनलाई मानसिक दबाब दिनकै लागि यसो गरिएको हो त?

देउवा समूहले कांग्रेस कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने रणनीतिकै लागि ‘मुद्धा हाम्रै पक्षमा हुने’ भन्दै गरेको देखिन्छ। अर्कोतिर संस्थापनले १५औं महाधिवेशन गर्ने तिथि मिति तय गरिसकेपछि इतर समूहले पनि अधिवेशन गर्ने उद्घोष गर्नु कार्यकर्तालाई आफूतिर टिकाइ रहने यी दुई रणनीति अख्तियार गरेको हो भन्न सकिन्छ।

अदालतको फैसला के हुन्छ?

संस्थापन इतर समूहले पुनरावलोकनको मुद्धा हालेपछि मुद्धाको फैसला के हुन्छ? अनुमान र सम्भावना अहिले सामाजिक सञ्जालमा आउने गरेको छ। राजनीतिमा अनुमान र सम्भावना जे पनि गर्न सकिन्छ। तर अदालतको निर्णय र फैसलामा अनुमान र सम्भावनाभन्दा पनि मौजुदा दलको विधान र नेपालको नियम कानुन र नजिर पनि हेर्ने गरिन्छ।

संस्थापन या इतर समूह या दुवै निर्णय भन्दा फरक चुनाव चिन्ह र चार तारा स्थगित या खारेज नै पनि हुन सक्ने। भारतमा यस्तै प्रकृतिको दुई दलको झगडाको मुद्धामा भारतमा भएको फैसला र निर्णय पनि यहाँ प्रभावित नहोला भन्न सकिन्दैन।

शेरबहादुर देउवा समूहले अहिले वडा र केन्द्रीय अधिवेशन गरिरहँदा भारतमा भएको फैसला र निर्णयलाई मध्यनजर गरेर नै गरेको हुनुपर्छ। कथमकदाचित त्यस्तो भएमा निर्णय र फैसला पश्चात पुन संगठन गर्न/गराउन निकै कठिन र समय लाग्ने हुँदा अहिले रुख र चार तारा प्रयोग गर्ने सुविधा पाएकोले यो समूहलाई पार्टी चलायमान र नेता र कार्यकर्ता जुटाइ रहन सहज सुविधा हुने भएको हुँदा इतर समूहले अधिवेशनमा होमिएर आफ्नो पक्षलाई चुस्त र दुरुस्त राख्न खोजेको देखिन्छ।

इतर समूहबाट सभापति को?

कांग्रेसमा दुवै समूहमा यस्तै परिस्थिति निर्माण भए लाभ र हानि हेर्दा राजनीतिक रुपमा लाभ देउवा समूहलाई हुने छ। किनभने गगन समूहमा यो परिस्थितिमा कुनै आकर्षण हुने छैन अहिले जुन आकर्षण छ। गगनमा विकर्षण सुरु हुने छ र त्यो समूहबाट धेरै नेताहरू देउवा समूहमा आउने उच्च सम्भावना रहन्छ।

सम्भावना यस कारणले पनि छ की अहिले इतर समूहमा सिनियर नेताहरू धेरै छन्, अनुभव छ, राजनीतिक कुशलता छ र लामो राजनीतिक अनुभव पनि छ। जनसम्पर्कमा समेत रहेका छन्। त्यति मात्र हैन कोइराला परिवार, गणेशमान सिंह र महेन्द्र नारायण निधीको विरासत बोकेका नेताहरू अहिलेसम्म यही समूहमा आवद्ध छन्।

पूर्णबहादुर खड्का पनि त्यो अवस्था आए देउवा समूहमा नै आवद्ध हुने छन्। डा. शेखर कोइराला दुवै समूहमा नलागी एकताको अधिवेशन भनिरहँदा र ‘पार्टी फुट्न दिन्नँ र फुट्दैन’ भन्दै गर्दा यस्तो परिस्थिति आएमा देउवा समूहमा आवद्ध हुने धेरै सम्भावना छ।

डा. शेखरको देश दौडाहा

अहिले वर्तमान कांग्रेसको स्थिति र परिस्थिति हेर्दा डा. शेखरको देशदौडाहाको अवस्थाको औचित्य छ की छैन? भर्खरै विशेष महाधिवेशन हुँदै पन्धौं महाधिवेशन गरी सभापति बनिसकेका गगन थापाको नेतृत्वमा केन्द्रीय समिति समेत बनिसकेको अवस्थामा डा. शेखर कोइरालाको यो देश दौडाहाको अभियान के हो? अझै पनि कांग्रेस एक बनाउने अभियान हो या अन्य कुनै राजनीतिक उद्धेश्य अन्तरनिहित छ? तर जे भए पनि अब कांग्रेस एक बनाउने सम्भावना त्यति धेरै देखिँदैन।

देउवा समूहले गर्ने भनेको अधिवेशनलाई लक्ष्य गरेर नै डा. शेखरको देश दौडाहा त गरेका हैनन? देउवा समूहबाट डा. शेखर कोइराला त्यतिखेर सभापतिको उम्मेदवार हुन सक्छन् जब अदालतले दुवै दललाई यौटै हैसियतमा पुर्‍याउँछ। देउवाले डा. शेखर जस्तो सक्षम र निश्कलंकित व्यक्ति त्यो पदको लागि त्यो समूहभित्र भेट्दैनन्। अर्को कुरा डा. शेखरमा कोइराला विरासत पनि छ र अहिले दुवै समूहबाट विवाद र दोषरहित पनि छन्। 

हुन त कोइराला विरासत बोकेकै बीपीपुत्र डा. शशांक पनि छन्। तर पनि देउवाको र त्यो समूहभित्रको रोजाइमा डा. शेखर पर्न सक्छन्। उनी देश दौडाहा र जनसम्पर्कमा रहिरहन सक्छन्। 

१४औं महाअधिवेशनमा १८५५ मत अर्थात ४०% भन्दा केही बढी मत ल्याएर आफूलाई कांग्रेसमा स्थापित गरिसकेको कारण पनि उनी अन्य राजनीतिक दलहरूसँग राजनीतिक सौहार्द राख्न र सहकार्य गर्न सिपालु मानिन्छन्। यही कारण पनि देउवा समूहको रोजाइ डा. शेखर हुन सक्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!