बिहिबार, १९ नोभेम्बर २०२६

मलेसिया श्रमिक ठगी प्रकरणः २ पूर्वमन्त्री र सचिवसहित ६ जना पक्राउ

News Image
• • •

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ठगिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित र सचिवसहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्।

त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

उनीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए।

उनीहरूविरुद्ध आजै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई एकैपटक पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको एसएसपी जबराले बताए।

सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारी विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा रकम मलेसिया पठाउने निर्णय गरी देशको अर्थतन्त्रमा नोक्सानी पुर्‍याएको आरोप उनीहरूमाथि छ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको र श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा खोजी भइरहेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार भएका छन्। स्रोतका अनुसार अर्यालविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!