भो, अति भो 'भुक्ने' नेता र 'भन्नुभयो' पत्रकारिता

Break n Links
Break n Links

विक्रम संवतको पात्रोमा फेरि एकपटक अर्को वर्ष फेरिएको छ । यसपटकको पालोमा २०८१ साल गएर २०८२ साल आउनुपर्ने थियो । जानुपर्ने गयो, आउनुपर्ने आयो । र, यतिबेला चलिरहेको छ, शुभकामना साटाफेरको औपचारिकता ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारण नागरिकहरूसम्म शुभकामना दिनेहरू दिइरहेका छन्, लिनेहरू लिइरहेका छन् । शव्दहरू यताउता परेका होलान् तर लगभग सबै एकै स्वरमा भनिरहेका छन्, नयाँ वर्ष शुभ होस्, सुख मिलोस्, समृद्धि प्राप्त होस्, सफलता हात लागोस्, शान्ति छाओस् यस्तै यस्तै । सबैको कामना मोटामोटी एउटै छ– सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य अनि सफलता ।

यो क्रम अब अरू एक साता जति चल्छ । त्यसपछि दिनेहरू पनि थाक्छन्, लिनेहरू पनि । अनि, पर्दा लाग्छ यो वार्षिक नियमिततामा र अर्को वर्षसम्मका लागि मञ्चन पनि खतम हुन्छ । म आफैँ चाहिँ ठूलो दोधारमा थिएँ । यही लाइनमा उभिएर शुभकामना साटासाट गर्ने कि यो औपचारिकताको मेसोबाट टाढै बस्ने ।

मलाई लाग्छ, नयाँ वर्षको नाममा फेरिएको भनेको एउटै अङ्क त हो, २०८१ को अन्तिम अङ्क १ को ठाउँमा २ । त्यो बाहेक के नै फेरिएको छ र, यो नयाँ भनिएको वर्षमा ? सबै उही बासी अनुहार, उस्तै बासी कुरा । केही त नयाँ छैन । त्यसैले धेरै सोचविचारपछि म चाहिँ यो निर्णयमा पुगे कि, शुभकामनाको यो सट्टाबजारमा यसपटक लाइन नलाग्ने ।

झट्ट सुन्दा यो कुरा रूखो लाग्न सक्छ र एक किसिमले हो पनि । तैपनि जे पर्ला, जे पर्ला । यो वर्ष यसै गरियो । रिसानी माफ होस्, २०८२ सालको सुरुमै अलि रूखो भएकोमा । तर, रूखो सुनिए पनि सत्य त यही नै हो । भनाइ नै छ, पात चिल्ला राम्रा, कुरा खस्रा । चिल्ला कुरा नराम्रो हो भन्ने थाहा पाईपाई यसपटक त्यतातिर लाग्न मनले मानेन । फेरि मैले शुभकामना नभने के भयो र? तपाईँहरूले अरूबाटै यति धेरै शुभकामना पाइसक्नु भएको छ कि, शुभ हुने भए त्यही शुभकामना पर्याप्त मात्र हैन, त्यो भन्दा पनि बढी नै हुन्छ ।

२०८१ लाई फर्केर हेर्दा, यो वर्ष देशलाई प्रभाव पार्ने खासै नयाँ कुरा भएनन् । केही कर्मकाण्डी घटनाहरू भए, जस्तो किः प्रचण्डको ठाउँमा ओली प्रधानमन्त्री भए । उनीहरूका केही आसेपासेको पद यता–उता भयो । यो न नौलो हो, न यसको खासै अर्थ र उपादेयता नै छ । वल्ला घरे नरे, पल्ला घरे सरे त भएको हो ।

२०७४ सालपछि नेपालको प्रधानमन्त्रीको पद ओली, प्रचण्ड र देउवाकै म्युजिकल चियरको कुर्सी त भएको छ । यी तीन लुते खेलाडी दक्षिणले सिटी फुकेपछि घुम्न सुरू गर्छन्, रोकेपछि जो कुर्सीनजिक पुग्छ, ऊ केही दिन बस्छ । केही समयपछि फेरि दक्षिणले सिटी फुक्छ, उठेर घुम्न थाल्छन्, फेरि जो कुर्सीनजिक पुग्छ, बस्छ । अलि नजिक पुग्ने आफ्नो पालो पर्खदै सत्तारूढ दलको नेता भएर भागबन्डामा सहभागी हुन्छ, अलि टाढा हुने प्रमुख प्रतिपक्षी दलको नेता हुन्छ । ऊ पनि मिल्ने जति भागबन्डामा सहभागी हुन्छ ।

नेपालको सत्ता यी तीन लुते खेलाडीको टिठलाग्दो म्युजिकल चियरभन्दा बढी केही पनि भएन । सिटी फुक्ने, बस्ने, उठ्ने भइरह्यो । जनता भन्ने कि यो खेल्ने हेर्ने रमितेहरू, उनीहरूको काम चार वर्षका सबै बाँकी दिन यिनलाई गाली गर्ने तर चुनावका दिन यिनै तीन लुतेलाई जिताएर म्युजिकल चियरमा पठाउने मात्रै भयो । जनता जनार्दन नभएको यो बेला लाग्छ, यिनीहरू बाँचुन्जेल यो खेल यिनै लुतेहरूको आलोपालो खेल हो ।

राजनीति यही म्युजिकल चियर खेल आयोजना गर्नेभन्दा एक इन्च पनि पर भएन । यो खेलमा कहिलेकाहीँ अरू दलका लुतेहरू पनि यी तीनमध्ये एक कुर्सीमा बसिसकेपछि त्यही कुर्सी सफा गर्ने, अड्याउने, पसिना पुछिदिने मौका पाउँछन् । उनीहरूको भूमिका भनेको बढीमा त्यति नै हो ।

त्यो भूमिकामा २०७९ यता केही नयाँ पनि थपिएका छन् । नामै लिँदा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सी के राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी हुन् । यी तीनै नयाँ भनिएका दल पनि दुई वर्ष नबित्दै पुरै जडौरी भैसके । प्रचण्ड कुर्सीमै पुगेको बेला यिनीहरू सबै उनको पसिना पुछ्ने गम्छा भए । तीमध्ये केही अहिले ओलीको पनि पसिना पुछिरहेका छन् । विडम्बना नै भन्नुपर्छ, यतिबेला उनीहरू त्यही पसिनाले भिजेर धङधङी गन्हाइरहेका छन् ।

प्रचण्डको पसिना पुछ्ने सबैभन्दा ठूलो गम्छा बनेका थिए, रवि लामिछाने । चुनावको बेला ‘नानीको बा’ भन्दै प्रचण्डको सबैभन्दा बढी खिसीटिउरी गर्ने पनि उनी नै थिए । ओलीको जोडबलमा प्रचण्डले लामिछानेलाई उपप्रधानमन्त्री थमाइदिएर पुरानै ड्याङमा पु¥याइदिए ।

यिनै रविको जीवनमा भने यो वर्ष अन्तरालले आनको तान परिवर्तन ल्याएको छ । २०८१ सालको यतिबेला सिंहदरबारमा झन्डा हल्लाइरहेका उनी २०८२ को यतिबेला भैरहवा कारागारको चिसो हावा खाइरहेका छन् । राजनीति गर्ने राजबन्दी हुनु त सामान्य नै हो । तर, उनी राजबन्दी हैन, एक ठगका रूपमा त्यहाँ पुगेका हुन्, त्यो पनि गरिब जनताले सहकारीमा राखेको पैसा ठगेको गम्भीर अभियोगमा । पाँच–पाँच वटा सहकारीमा ठगी गरेको संगठित ठगकै गम्भीर आरोप उनलाई लागेको छ ।

उनी सहकारी ठगीमा कारागार पुगेको घाम जत्तिकै सत्य हो तर पनि उनी राजनीतिक पूर्वाग्रह हो भनेर दिउँसै रात पार्ने कोसिसमा लागेकै छन् । हो, अलि अलि त पूर्वाग्रह पनि होला तर त्यो अलि अलि गर्ने ठाउँ पनि उनी आफैँले दिएका हुन् ।

२०८२ को सुरुमा रविको ठेगाना जहाँ छ, त्यो उनकै कुकर्मले मिलेको हो । सहकारीको पैसा ल्याएर ग्यालेक्सी चलाउने ‘मुर्गा–तरिका’ रविकै हो । रविको ट्रिकमा हो मा हो मिलाउँदै जीवी हौसिएको मात्र हो । अन्तमा समस्यामा परिने देखेर रवि निस्किए र जीवीलाई धोका दिए । नेपालमा मिडिया चलाउन कसरी मुर्गा बनाइन्छ ?, त्यसको ज्ञान हुनेले यो पहेली सजिलै सुल्झाउँछ ।

अब त यो रवि–कर्तुतको पर्दाफास नै भइसक्यो । तर पनि रास्वपा र त्यसका नेताहरू उनलाई जोगाउन न्वारानदेखिकै बल लगाइरहेका छन् । यस्तो नहुने ढिपी गरेपछि रवि त सकिने नै हुन्, रास्वपा पनि जोगिँदैन । त्यसबाट रास्वपा नेताहरूको राजनीतिक जीवनको पनि आत्मदाह हुन्छ । अनि न रहन्छन् रवि, न बाँकी हुन्छ रास्वपा । अन्ततः हुने भनेको रविकै कारण देशको चौथो ठूलो बनेको रास्वपा रविकै कारण सकिने हो ।

२०८१ को अन्तिम महिना चैतमा राजावादीहरू सडकमा आए । उनीहरू कसरी यो अवस्थासम्म आइपुगे?, यसका एक हैन, अनेक कारण छन् । तर, पनि मूल कारण भने ओली, देउवा र प्रचण्ड नै हुन् । उनीहरूले आआफ्ना पार्टीलाई राजनीतिक जनमण्डली बनाएर नेपालको सत्तालाई नै तीनकौडीको म्युजिकल चियर बनाइ दिए । यिनीहरूका राजनीतिक पार्टीका नाम जे जे भए पनि तिनीहरू सबै तिनै नेताका प्राइभेट कम्पनी साबित भए । पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता जे जे भने पनि अन्ततः सबै हुक्के, चिलिमे, बैठके साबित भए ।

नेपाली जनताले पटक पटक यी तीनकौडी र तिनका दललाई अवसर दिए । तर, जतिपटक अवसर दिए पनि यी अरू बढी भ्रष्ट र नालायक मात्रै साबित भए । तिनका दल पनि राजनीतिक दल नभएर तिनकौडीका जनमण्डली भए ।

यस्तो अति भएपछि के गर्ने त ? जनता अन्ततः विकल्प खोज्ने निष्कर्षमा पुगे । त्यही क्रममा कहिले बालेनका नाममा, कहिले रविका नाममा विकल्प खोजियो । रविको नाममा खोजिएको पछिल्लो विकल्प पनि पत्रु भएपछि उनीहरू बाध्य भएर ज्ञानेन्द्रको विकल्पमा गएका हुन् । उनीहरूलाई राजा भन्दा पनि यी तीनकौडीको विकल्प चाहिएको हो ।

सबैलाई थाहा छ, यो पटक्कै राम्रो विकल्प हैन । २०४६ अघिको सक्रिय राजतन्त्र भोगेकालाई यसका बारेमा राम्ररी नै थाहा छ । तर पनि उनीहरू निरुपाय छन् । २०४६ पछि जन्मेको पुस्ताले त कांग्रेस–एमाले–माओवादीका नाममा यी तीनकौडीकै निरंकुशता देखेका छन् । उनीहरूका लागि यो निरंकुशता नै राजतन्त्रभन्दा पनि बढी छ । त्यसैले उनीहरू यो निरंकुशता बदल्न चाहन्छन् । त्यसका लागि नै उनीहरूले ज्ञानेन्द्रलाई अन्तिम विकल्प देखेका हुन सक्छन् ।

यो देशमा ज्ञानेन्द्रहरूले पनि बोल्न पाउनुपर्छ । उनको विपक्षमा मात्र हैन, पक्षमा भएकाहरूले पनि बोल्न पाउनुपर्छ । आन्दोलन गर्न पनि पाउनुपर्छ । आन्दोलन शान्तिपूर्ण हुँदै हुँदैन, यसमा जनधनको क्षति हुन्छ नै । स्वाभाविक रूपमा राजावादी आन्दोलनमा पनि भयो । सरकारको काम हो, भरसक क्षति हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने । तर, त्यस दिशामा यो सरकारले कुनै माखो मारेन । उल्टै आन्दोलनकारीको टाउकोमा दोष थोपरेर आफ्नो कमजोरी लुकाउने प्रयास ग¥यो ।

मलाई लाग्छ, अहिलेको मूल माग भनेको देशबाट ओली, देउवा र प्रचण्डको लँगडो म्युजिकल चियर हटाउने हो । तत्कालै यी तीन नेता हटाएर आन्तरिक लोकतन्त्रको आधारमा दलहरूले नयाँ नेता चुने भने आधा समस्या समाधान हुन्छ । त्यसपछि बाँकी समस्या संविधान संशोधनमार्फत् हल गर्न सकिन्छ ।

सबै तहमा सानो, छरितो र पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद मन्त्री नहुने परिपाटी जस्ता विषय सम्बोधन गर्ने हो भने बाँकी समस्याले समाधानको बाटो भेट्टाउँछ । निर्वाचनमार्फत् त्यसको सही अभ्यास गर्ने हो भने नेपालमा साँच्चैको लोकतन्त्र–गणतन्त्र आउँछ । जनताले चाहेको पनि यही मात्रै हो । त्यो भएपछि जनता कुनै राजाको खोजी नै गर्दैनन् ।

तर, विडम्बना अहिले पनि यी तीन नेताकै लुते म्युजिकल चियर र संसदीय परिपाटीमै लोकतन्त्र–गणतन्त्रको भविष्य खोजिँदै छ । राजावादी आन्दोलनलाई पञ्चायती पारामै दमन गरिँदै छ । दमनले निकास दिन्न भन्ने कुरा त ३० वर्षे पञ्चायती शासनमा यिन नेताहरूले नै भोग्दै आएको कुरा हो । यदि यही किसिमको उपाय खोज्ने हो र सरकार दमनमै उत्रिएर मान्छे मार्ने हो भने अन्ततः जनता ज्ञानेन्द्रको विकल्पमा नजालान् भन्न सकिन्न ।

सबैले यो बुझ्न जरुरी छ कि इतिहास बलियाहरूको घोडा हो जसको हातमा जाबुक हुन्छ, उसकै लागि दौडन्छ । जति बेला राजाको हातमा चाबुक थियो, उसकै लागि दौडियो । राजा विष्णु अवतार भए भने वीपी, गणेशमान, किसुनजी, पुष्पलाल, ममनमोहन अराष्ट्रिय तत्व । त्यो चाबुक २०४६ मा जनताको हातमा आयो त्यसपछि अराष्ट्रिय तत्वहरू राजनेता भए भने विष्णु अवतार निरंकुश राजा । त्यो समयमा ओली त धर्मप्रसादको हत्यारा थिए । देउवाको त के गणना थियो र ? संवैधानिक राजतन्त्रको बेला देउवाको हातमा चाबुक हुँदा उनैले प्रचण्डको टाउकोको मोल तोके । ज्ञानेन्द्रको हातमा चाबुक आउँदा उनले के के गरे?, त्यो त सबैलाई थाहै छ।

२०६२÷६३ को जनआन्दोलनले त्यो चाबुक गणतन्त्रको पक्षमा ल्यायो । माओवादी–कांग्रेस–एमालेका नाममा तततत पार्टीका सुप्रिमोको हातमा आएको चाबुक उनीहरूले ज्ञानेन्द्रमाथि चलाए र कुम्लो कुटुरो बोकेर नागार्जुनतिर धपाए । २०७४ पछि त्यो चाबुक ओली–देउवा–प्रचण्डको हातमा छ । अहिले उनीहरू रविन्द्र मिश्र, धवलशमशेर, दुर्गा प्रसाई आदिमाथि त्यही चाबुक चलाउँदै छन् ।

यी ओली, देउवा र प्रचण्ड नामका तीनकौडीको बुद्धि नफर्कने हो र यही लँगडो म्युजिकल चियरमा देश चलाउने हो भने फेरि चाबुक राजावादीहरूको हातमा नपुग्ला भन्न सकिन्न । त्यतिबेला त्यो चाबुक यी तीनकौडीमाथि बर्सन्छ र राष्ट्रद्रोही भनिन्छन् ।

इतिहासको क्रूर सत्य यही हो । यो सत्यलाई स्विकारेर भरसक तीनकौडी आफैँले छोडे हुने हो । यदि उनीहरू त्यसका लागि तयार हुँदैनन् भने तिनका पार्टीहरूले बिदा गर्नुपर्छ । अहिलेको समयको मूल माग नै यही हो । तर, नेपाली लोकतन्त्र–गणतन्त्रकै शनि, राहु र केतु साबित यी तीनकौडी त्यतातिर लाग्लान् जस्तो छैन । तिनका तोरीलाहुरे पार्टी र नेताहरूले त्यसो गर्दान् भनेर पत्याउनुपर्ने आधार पनि देखिँदैन । त्यसपछि हुने भनेको ‘विनाशकाले विपरीत बुद्धि’ नै हो । अहिले नेपालमा त्यही दिशामा अगाडि बढिरहेको छ ।

बिट मार्नु अघि, नेपालमा अनेक विकृति छन्, तीमध्येको एक शीर्ष विकृति हो– ‘भुक्ने’ नेता र ‘भन्नुभयो’ पत्रकारिता । नेपाली मिडियाका आधा जति शीर्षक त यी भुक्ने नेताका ‘भन्नुभयो’ मै सीमित छन् । मलाई लाग्छ, नेपाली मिडियामा भन्नुभयो शीर्षक सकिएको दिन धेरै भ्रमको बादल फाँड्छ । आशा गरौँ, २०८२ मा नेपाली मिडिया भुक्ने नेताको र भन्नुभयो पत्रकारिताको शल्यक्रिया गर्नेतिर लाग्ने छ ।

जननेता मदन भण्डारी सधैँ एउटा कुरा दोहो¥याउथे, कुराले च्युरा भिज्दैन । तर, नेपालमा कुराले च्युरा भिजाउने नाकाम प्रयास उनकै पार्टीका नेताहरूबाट नै भइरहेको छ । २०८१ म त उत्कर्षमै पुग्यो । आशा गरौँ, २०८२ मा सारा भुक्नेहरूको जिब्रोमाथि लगाम लागेर केही काम हुनेछ । त्यसो भयो भने २०८३ साल नयाँ भएर आउन सक्छ । त्यसपछि भनौला, नयाँ वर्ष २०८३ को शुभकामना !

प्रकाशित मिति: : 2025-04-16 03:23:00

प्रतिकृया दिनुहोस्