४ घण्टा हिरासतमा बसेर छुटे राप्रपा नेताहरू, स-परिवार बैंकक उडे देउवा (भिडियाे समाचार)

आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। 

करिब ४ घण्टा प्रहरी हिरासतमा बसेर उनीहरू छुटेका हुन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर थुनिएपछि बाहिर निस्किएका राप्रपा नेताहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

सो क्रममा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायत नेताहरू पक्राउ परेका थिए।

भिडियो-

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन्।

आइतबार विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानाशाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्य आन्दोलन नभई अपराध भएको बताएका हुन्। 

ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको उनकाे विश्वास थियाे। 

000

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

रविलाई आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी हुन्।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

000

संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा गएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको हो। 

यसअघि बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे थियाे।  

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।

आइतबार पत्नी डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवाना र स्वकीय सचिव भानु देउवासहित उनी बैंकक प्रस्थान गरेका हुन्।

सभापति देउवा बैंकक उडेपछि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन्। 

000

जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्।  

ललितपुर प्रहरीमा उनीविरुद्ध  ठगी र आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ। 

प्रकाशित मिति: : 2025-04-20 20:31:00

प्रतिकृया दिनुहोस्