बिहिबार, ११ डिसेम्बर २०२५

‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन

ईश्वर पोखरेल

ईश्वर पोखरेल

काठमाडौं
News Image
• • •

पञ्चायती निरंकुशताको कालमा तत्कालीन नेकपा (माले) अत्यन्त कडा भूमिगत अवस्थामा मुलकभित्र क्रियाशील थियो।

त्यो सिङ्गो कालमा आफ्नो कार्यशैलीलाई परिस्कृत गर्दै देशभित्रैका जनताको बीचमा मालेले आफ्ना गतिविधिहरूलाई निरन्तर अगाडि बढाउँदै एउटा सशक्त शक्तिको रुपमा  आफूलाई स्थापित गरेकाे थियो।

त्याे बेला उसका मिटिङहरू, बैठक तथा ठूलाठूला भेला, सभा–सम्मेलनका लागि समेत तत्कालीन ‘माले’ले न त विदेशी भूमिमा शरण लिनुपर्‍यो, न गाउँ–बस्ती छोडेर जंगल र ओडारकै सहारा लिनुपर्‍यो।

निरन्तर चल्ने केन्द्रीय कमिटीका बैठकहरूसमेत श्रमजीवी जनताकै आँगनमा उनीहरूकै सहयोगले चल्ने गर्थे। जनताकै सहयोग र व्यवस्थापनमा सम्पन्न हुने यस्ता कार्यक्रमहरूको सम्झनाले आज पनि गौरवले शिर ठाडो हुने गर्छ। निधारमा पञ्चायतको इनाम ठेकिएका त्यस ताकाका कयौं नेता, कार्यकर्ता तथा न्यायप्रेमी जनताका साहसिक तथा चातुर्यपूर्ण कामहरू आज धेरैका लागि प्रेरणादायी प्रसंगहरू रहेका छन्।

२०४५ साल पुसमा तत्कालीन ‘माले’को केन्द्रीय कमिटीको बैठक धादिङ जिल्लाको धुषा गाविसमा अवस्थित स्यादुलमा सम्पन्न भएको थियो। अत्यन्त कडा जनसुरक्षाका बीच उक्त बैठक लगातार दश दिनसम्म चलेको थियो। मलाई अहिले पनि सम्झना छ– बैठकका लागि केन्द्रीय कमिटीका सदस्यहरू रातारात छुट्टाछुट्टै स–साना टोलीहरू बनेर बैठकस्थलसम्म पुगेका थियौं।

भर्खर मात्र लामो जेल बसाईपछि रिहा हुनुभएका केपी शर्मा ओली र आरके मैनालीहरूलाई त्यहाँ पुर्‍याउन स्थानीय साथीहरूलाई कम्ति गार्‍हो परेको थिएन। कडा भूमिगत अवस्थामा आयोजना गरिएको उक्त बैठकले तत्कालीन पार्टी जीवनमा गम्भीर महत्व राख्ने निर्णयहरू गरेको थियो।

बैठकमा सीपी मैनालीले लामो समयदेखि पार्टीभित्र सिर्जना गर्दै आएका समस्याहरूलाई समाधान गर्नका लागि संस्थागत रुपमा महत्वपूर्ण निर्णय गरिएको थियो र आयोजना हुन लागिरहेको पार्टीको चौथो राष्ट्रिय महाधिवेशनको तयारीमा गर्नुपर्ने कामका सम्बन्धमा महत्वपूर्ण फैसलाहरू गरिएको थियो। कमरेड टीका थपलियाको त्यो घर अहिले पनि इतिहासको साक्षी बनेर खडा छँदैछ। कमरेड टीकाका पिता अहिले दिवंगत भइसक्नु भयो, लगभग ७० वसन्त पार गरिसक्नु भएकी उहाँकी बृद्ध आमाले बैठक आयोजना गरिएका ती दिनहरूको गौरवका साथ सम्झना गरिरहनु हुन्थ्यो। त्यसबेला काखमा रहेकी उहाँकी छोरी १४ वर्षमा हिंड्दै थिइन्।

बैठकको लागि स्यादुल पुगेका तत्कालीन ‘माले’का हामी नेताहरू सुरक्षाका कारण बिहानको अँध्यारैमा दिसापिसाब गर्ने र हातमुख धुने काम गरिसक्थ्यौं। दिनभरि भित्रै बसेर सानो स्वर–साउतीमा बैठक सकेका थियौं। यतिसम्म कि दिउँसोको उज्यालोमा हामीले अघाउँजी स्यादुललाई हेर्न पाएका थिएनौं। कुनैकुनै दिन टहटह लागेको जूनमा उभिएर हामीले त्यो बस्ती र पाखालाई हेरेका थियौं।

जुनसुकै उज्यालोमा पनि हामीले केही वरसम्म लटरम्म पाकेका सुन्तलाघारी (बगैचा) हेरेका थियौं। बैठकको अवधिभर हामीले पहिले कहिल्यै नखाएका स्वादिला सुन्तला खाएका थियौं। त्यहाँका साथीहरूबाट त्यहाँको सुन्तला खेती र किसानको जीवनमा सुन्तला उत्पादनले ल्याएको परिवर्तन आदिबारे सुनेका थियौं।

धुषा गाविसका तीनवटा वडाहरू (७, ८ र ९) रहेको स्यादुलले हामीलाई त्यसबेला औधी मोहित पारेको थियो। हामीले त्यसबेला स्यादुललाई माया र सम्मान गर्दै ‘सुन्तले टापु’ को नाम दिएका थियौं। केही कमरेडहरूले त सुन्दर कवितासमेत लेख्नुभएको थियो। त्यस बेलादेखि स्यादुल ‘सुन्तले टापु’को रुपमा चिनिन्छ र सम्बोधन गरिन्छ– पार्टी पंक्ति भित्र।

स्यादुलबारे विगतको एउटा प्रसंग बडो रमाइलो छ– एक पटक कमरेड मोदनाथ प्रश्रित भूमिगतकालमा दिउँसै त्यहाँ पुग्नु भएछ। त्यहाँका साथीहरूले उहाँलाई धादिङबेसीतिरका शिक्षक भनेर चिनाउनु भएछ। शिक्षककै रुपमा उहाँले गाउँ घुम्नु भएछ। पछि त्यहाँबाट फिरेपछि अत्यन्त प्रभावित भएर ‘सुन्तले टापु’ मा बैठक भएको कुरासमेत खुल्ने गरी पत्रिकामा संस्मरण लेख्नुभयो। सबैले रुचिका साथ पढियो पनि। तर ठाउँ र साथीहरूका बारेमा कुरा खुलेकाले, भूमिगत कवि स्वभावका प्रश्रित कमरेडलाई के गरेको होला भनेर त्यसबेला हामी कसैले केही सोचेनौं।

सुन्तले टापु–यो नाम मैले कम्युनिष्ट पार्टीको राजनीतिमा लागेपछि विशेष महत्वका साथ सुनेको छु। सुन्तला फल्ने धेरै ठाउँ हुन सक्छन्, टापुजस्तो परेका ठाउँहरूमा पनि सुन्तला फलेका हुन सक्छन्। तर, ती सबैले ‘सुन्तले टापु’को नाम पाएका हुन्छन् भन्ने छैन, अर्थात ती सबै ठाउँ ‘सुन्तले टापु’ का नामले चिनिन्छन भन्ने मलाई लाग्दैन।

सबैभन्दा पहिले मैले पूर्व ‘माले’को समय (को–अर्डिनेशन केन्द्रको पछिल्लो काल)मा माओ त्सेतुङका रचनाहरू पढ्ने सिलसिलामा ‘माओ त्सेतुङका कविताहरू’ पढ्दा ‘सुन्तले टापु’ शीर्षकको कविता पढेको थिएँ। अत्यन्त कलात्मक रुपमा माओका भावनाहरू व्यक्त भएको उक्त कविता त्यसताका हामीमध्ये कतिपयले कण्ठ नै गरेका थियौं। माओका प्रायः सबै कविताहरू कण्ठ पार्नेमध्ये कमरेड मुकुन्द न्यौपानेलाई म सम्झिरहेको छु।

उर्लदोँ यात्से नदीमा पौडी खेल्दै नदीको बीचमा टापुजस्तो बनेको भूभागमा, जहाँ सुन्तला अत्यन्त धेरै फलेका हुन्थे, पुगेर त्यहाँको मनोरम दृश्यपान गर्दै माओले लेख्नुभएको कविताले चिनियाँ क्रान्तिको सफलताको बारेमा मुक्तकण्ठले गीत गाएको छ। उक्त कविता त्यसताका हामी भूमिगत रुपमा काम गर्नेहरूको बीचमा औधी लोकप्रिय बनेको थियो।

कविता पढ्ने र कण्ठ पार्ने हामीबीच होड नै चल्ने गर्थ्यो। म सम्झन्छु – कमरेड मुकुन्द न्यौपानेलाई, जसले माओका प्रायः सबै कविता हामीलाई मौका पर्नासाथ कण्ठस्थ सुनाइहाल्नु हुन्थ्यो। उहाँले भाका पारिपारी सुनाउने गर्नुभएका ती कविताको सम्झना अहिले पनि बिर्सनै नसक्ने गरी ताजै रहेका छन्।

भूमिगतकालमै मैले चीन भ्रमण गर्ने अवसर पाएको थिएँ। करिब दुई महिनाको चीन भ्रमणको सिलसिलामा मैले धेरै समय हुनान प्रान्तका ऐतिहासिक महत्वका धेरै स्थानहरू घुमेको थिएँ। शाओ शान, जहाँ माओको जन्म भएको थियो। छाङ्सा, जहाँ माओले प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो– त्यहाँका सबै ठाउँ मैले घुमेको थिएँ।

छाङ्सा समीप रहेका सुन्दर पाखाहरूबाट जब मैले नजिक बगिरहेको यात्से नदीलाई हेरें– नदीको बीचको लाम्चो परेको टापुजस्तो भूभाग माओका कविताको ‘सुन्तले टापु’ भन्ने थाहा पाएर औधी हर्षित भएर त्यसलाई धेरै बेर नियालेको थिएँ। उक्त टापुलाई बीचमा पारेर, दुई भङ्गाला बनेर बगिरहेको यात्सेले त्यसबेला मेरो ध्यान निकै बेर तानेको थियो। यात्सेका धारिला भङ्गालामा पौडिदै माओ कसरी सुन्तले टापुमा पुगेका होलान् भनेर कल्पनाशील भएको थिए त्यसबेला। यो नामले गहिरो प्रभाव छाडेको थियो ममा/हामीमा।

स्यादुललाई हामीले ‘सुन्तले टापु’को नाम दिइरहेका बेला हाम्रो मनमा कमरेड माओका कविताको शीर्षक र यात्से नदीका तेजिला धारहरूसित जुध्दै माओको जन्मथलोलाई प्रतिनिधिमूलक हिसाबले चिनाइरहेको ‘सुन्तले टापु’को आदरपूर्वक सम्झनाले काम गरेको थियो।

रमाईलो स्यादुल...

स्यादुल साँच्चै अत्यन्त मनोरम र सुन्दर छ। कुनै बेला धादिङका ५० मध्ये निर्वाचन क्षेत्र ३ का १४ गाविसहरूमध्येको एउटा नाम धुषा थियो। यही गाविसका तीनवटा वडाहरू मिलेर स्यादुलको सुन्दर क्षेत्र बनेको थियो। यो उत्तरतर्फ ढल्केको पारिलो पाटो हो। स्यादुलका सुन्तला–केन्द्रहरू गर्सिवास, नवलथर, भन्ज्याङ र थुम हुन्।

यी सबै क्षेत्रहरू चितवन जिल्लाको लोथरतिर झर्ने नाका भएको सोली घोप्टेको उत्तरतिर पारिलो फाँटका रुपमा अविस्थित छन्। कुनै समयमा गाईवस्तु–चरणको लागि उपयुक्त मानिएको स्यादुल चेपाङ (प्रजा) जातिले आफ्नै भाषामा राखेको नाम हो। (‘स्या’ ‘गाई’ र ‘दुल’ ‘चरन’ अर्थात चेपाङ भाषामा गाईचरन)। त्यसबेला यी तीन ठाउँहरूमा उत्पादन हुने सुन्तला उन्नत थिए। यहाँका सुन्तला अत्यन्त स्वादिला मानिन्छन्। 

दुर्भाग्य!

यहाँ आइपुग्ने बाटो राम्रो छैन, यातायात–व्यवस्थाको त कुरै पर जाओस्। किसानहरू डोकामा सुन्तला बोकेर तीन घण्टाभन्दा धेरैको बाटो हिंडेर पृथ्वी राजमार्गको चारौंदीमा पुग्छन्। सुन्तला बोक्न विभिन्न ठाउँका मानिसहरू ठूलो संख्यामा यहाँ आउने गर्दा रहेछन्। साथै, उदयपुरलगायत अन्य जिल्लाहरूबाट समेत सुन्तला बोक्न मानिसहरू यहाँ आउन थालेका छन्। यस्ता भरियाहरू उज्यालो हुँदा नहुँदै राजमार्गमा पुगिसकेका हुन्छन्। 

स्यादुलको सुन्तला उत्पादनले गाउँलेहरूको जीवनस्तरलाई माथि उठाउँदै लगेको भए पनि सिंचाईको अभावका कारण उनीहरूले समस्या झेल्नुपरेको रहेछ। सुन्तला–खेती वैज्ञानिक तरिकाले हुन सकेको छैन। धेरै ठाउँमा सुन्तलाका बोटहरू अत्यन्त बाक्लो भएका कारण ज्यादै साना दाना फल्न थालेका छन्। नयाँ विरुवा लगाउने वैज्ञानिक तरिकाबारे कृषकहरूलाई प्रशिक्षित गरिएको छैन। किसानका गुनासो सुन्दा मन दुखेर आएको थियो।

एउटा रमाईलो प्रसंग

स्यादुलभित्रको एउटा रमाइलो प्रसंग छ– २०३३/३४ तिर केही युवकहरू क्रान्तिकारी राजनीतिक विचार बोकेर त्यतै शिक्षण पेशा अँगालेर पुग्नुभएको थियो। पछि रहँदा–बस्दा उहाँहरू त्यतै घरजम गरेर बस्नु भयो। यसरी बस्ने प्रायः सबैले केही जग्गा लिएर केही बोट सुन्तला लगाई नियमित आयआर्जन गर्न थालेको वर्षौ भइसकेको जानकारी त्यसरी घरजम गरी बस्ने वीरेन्द्र पाण्डेले सुनाउनु भएको थियो।

स्यादुल पुग्दा भूमिगतकालमा नै कम्युनिष्ट पार्टीको राजनीतिक सम्पर्कमा रहेका किसानहरू त्यस बेलाका रोमान्चक संस्मरणहरू सुनाउनु हुन्थ्यो। एकजना ६५ वर्षीय पदमबहादुर पुलामीले हामीलाई त्यसताकाका थुप्रै प्रसंगहरू सुनाउनु भएको थियो।

तत्कालीन केन्द्रीय कमिटीको बैठक आयोजना भएको बेला उहाँका छोरा लीलाबहादुर पुलामीले घरमा आफूहरू कसैलाई थाहा नदिई, आफ्नै श्रीमतीलाई समेत केही थाहा नदिई घरबाट ओढ्ने ओछ्याउने र भाँडाकुँडा बैठक आयोजना भएको घरमा पुुर्‍याएको प्रसंग अत्यन्त रमाईलो गरी सुनाउनु हुँदा रामाञ्चक लागेको थियो। लीलाबहादुर पछिसम्म पनि त्यहाँको पार्टी कमिटीमा सक्रिय हुनुहुन्थ्यो। 

पञ्चायती कालदेखि नै स्यादुल कम्युनिष्ट राजनीतिको महत्वपूर्ण आधार स्थल रहेको थियो। २०४६ को ऐतिहासिक जनआन्दोलनमा त्यहाँका कार्यकर्ताहरूले उल्लेखनीय भूमिका खेलेका थिए। जनआन्दोलनको सफलतापछि उत्साही बनेका त्यहाँका जनताले पञ्चायतकालमा आफूहरूलाई औधी सताउने व्यक्तिलाई मारभकुरेका थिए रे! त्यसैले गर्दा लामो समयसम्म गाउँ छोडेर भाग्नु परेको थियो, जो पछि नेपाली कांग्रेसको कार्यकर्ता बनेर गाउँ फर्किएका थिए।

स्यादुलका किसानहरू जागरुक थिए। देशमा घटेका घटनाहरूको उनीहरू चर्चा गर्थे, विश्लेषण गर्थे र निष्कर्ष निकाल्थे। यतिबेला कांग्रेसको अयोग्यताका कारण मुलुकले भोग्नुपरेका समस्याका कारण उनीहरू चिन्तित थिए। राजनीतिक अनिश्चितताले गर्दा पैदा हुने परिणामका कारण आफूहरूले दुःख उठाउनुपर्ने कुराप्रति उनीहरू गम्भीर पाए। त्यहाँ पुग्ने पार्टीका नेता तथा कार्यकर्ताहरूसित उनीहरू यही सेरोफेरोमा कुरा गरिरहेका हुन्थे।

अन्त्यमा, सिंचाइको अभाव भोगिरहेको स्यादुलका किसानहरूले सुनाउने त्यहाँको स्थिति झल्काउने गीतको निम्न मार्मिक हरफ त्यहाँ पुग्ने हरेक व्यक्तिको कानमा गुन्जिरहेको हुन्छः

‘पानी छैन सुन्तला खानुहोस्
हाम्रो दुःख लेखेर लानुहोस्!’

स्यादुल प्रतिकुलताहरूसित जुध्दै अगाडि बढिरहेको छ। यस रसिलो, हँसिलो र पौरखी ऐतिहासिक गाउँलाई सम्मान र सलाम गर्न चाहन्छु। 

(भूमिगत कालको अनुभवमा आधारित संस्मरण पुस २९, २०५७ मा प्रकाशित साहित्यिक पत्रिका झिसमिसेबाट साभार गरिएको हो।)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!