सुबास शर्मा
नेपालको राजनीतिमा कुनै समय यस्तो थियो, जहाँ एउटा नेताको एउटै अडानले सात समुद्रपारि रहेका नेपालीहरूको मन पनि ढक्क फुलाउँथ्यो। २०७२ को नाकाबन्दीका बेला केपी ओलीले लिएको राष्ट्रियताको अडान एउटा राजनीतिक कदम मात्र थिएन, त्यो त पराइ भूमिमा पसिना बगाइरहेका लाखौँ नेपालीहरूको स्वाभिमानको आवाज थियो।
त्यतिबेला खाडी मुलुक देखि युरोप अमेरिकाका सडकहरूमा हिँड्ने युवाहरूले गौरवका साथ ओलीको समर्थनमा भिडियो बनाए, सामाजिक सञ्जाल रंगाए र गाउँघरमा फोन गरेर ‘यसपालि त सूर्यमै भोट हाल्नुपर्छ’ भनेर एउटा ठुलो लहर सिर्जना गरे। तर, समय सधैँ एकैनास रहेन। हिजो जुन डिजिटल दुनियाँले एमालेलाई उचाइमा पुर्याएको थियो, आज त्यही दुनियाँले पुराना दलहरूलाई प्रश्नको कठघरामा उभ्याएको छ।
विगत एक दशकमा नेपाली समाज र विशेषगरी युवा पुस्ताको चेतना 'अडान' बाट 'परिणाम' तर्फ सरेको छ। २०८२ सम्म आइपुग्दा नेपालले एउटा भयानक 'जेन-जी' (Gen-Z) आन्दोलनको सामना गर्यो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्याप्त भ्रष्टाचारका विरुद्ध सडकमा उत्रिएका ती निःशस्त्र युवाहरूमाथि राज्यले जुन किसिमको दमन गर्यो, त्यो लोकतन्त्रका लागि एउटा कालो धब्बा बन्यो।
आफ्नै देशमा भविष्य खोजिरहेका कयौँ युवाहरूले गोली खाएर ज्यान गुमाउनु परेको त्यो कारुणिक दृश्यले हिजोका कट्टर समर्थकहरूको मन पनि छियाछिया बनायो। हिजो नाकाबन्दीमा राष्ट्रियता जोगाउने नेताले आज आफ्नै देशका छोराछोरीको आवाज दबाउन खोज्दा, मतदाताको मनमा 'अडान' भन्दा बढी 'आक्रोश' पलाउन थालेको छ। आफ्नै रगत पसिनाले सिञ्चित माटोमा युवाहरूको रगत बग्दा पनि सत्ताको दाउपेच नछोड्ने प्रवृत्तिले पुराना दलहरूप्रतिको विश्वासको जग भत्काइदिएको छ।
यसैबीच, राजनीतिमा नयाँ शक्तिको रूपमा आएका रवि लामिछाने र उनको पार्टीप्रति युवाहरूको आकर्षणलाई रोक्न पुराना दलहरूले जुन किसिमको रणनीति अपनाए, त्यसले उल्टो परिणाम दिइरहेको छ। रवि लामिछानेमाथि लागेका सहकारी ठगीका आरोपहरू र त्यसपछि राज्यले उनलाई दिएको हैरानीले जनतामा एउटा गम्भीर सन्देश प्रवाह गरेको छ, ‘पुराना दलहरू सुधारिनुभन्दा नयाँलाई निषेध गर्न बढी उद्यत छन्।’
गगन थापाहरूले संसदमा 'प्रमाण छ' भन्दै गरेको गर्जन र त्यसपछि देखिएको प्रतिशोधपूर्ण राजनीतिको मारमा अन्ततः जनताको न्यायप्रतिको विश्वास नै धर्मराएको छ। मुद्दाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा कसैको दुई मत छैन, तर राज्यका संयन्त्रहरूलाई केवल एउटा व्यक्ति सिध्याउने हतियार बनाउँदा आम जनतामा भने उनीप्रति सहानुभूति र पुराना शक्तिप्रति वितृष्णा पैदा भएको छ।
अहिलेको डिजिटल युगमा जनतालाई झुक्याउन अब सम्भव छैन। हिजोका 'अडान' हरू इतिहासका पानामा मात्र सीमित भएका छन् भने वर्तमानका 'अकर्मण्यता' हरू फेसबुकका भित्ता र टिकटकका क्लिपहरूमा छरपस्ट छन्। कांग्रेसले ढिलै भए पनि नेतृत्व परिवर्तनको संकेत गरेर युवाहरूलाई समेट्ने प्रयास गरिरहेको देखिन्छ, तर एमाले अझै पनि त्यही पुरानो आरोप र प्रत्यारोपको चक्रव्यूहबाट निस्कन सकेको छैन।
जेन-जी आन्दोलन पछिको यो समयमा लाखौँ सचेत मतदाताहरू थपिएका छन्, जसलाई न त कुनै दलको झण्डाको मोह छ, न त कसैको अन्धभक्त बन्ने इच्छा। स्मार्टफोन बोकेको हरेक हात अहिले एकएक ओटा 'प्रेस' बनेको छ, जसले नेताका हरेक गल्तीको रेकर्ड राखिरहेको छ।
आज परिस्थिति यस्तो छ कि, हिजोका तिनै 'राष्ट्रवादी' नेताहरू आज आफ्नै नागरिकको प्रश्नबाट भागिरहेका छन्। सत्ताको मातमा परेर जनताको मर्म नबुझ्ने हो भने, हिजो उचाइमा पुर्याउने तिनै हातहरूले भोलि भुइँमा पछार्न बेर लगाउँदैनन्। अबको लडाइँ राष्ट्रवादको खोक्रो नारा र विकासको कागजमा कोरिएको नक्साबीच होइन, डेलिभरी र इमानदारिताबीच हुनेछ।
अन्ततः, नेपाली राजनीति अहिले एउटा निर्णायक मोडमा छ। हिजो विदेशबाट फोन गरेर भोट माग्ने तिनै हातहरू आज परिवर्तनको पक्षमा मुठ्ठी कसिरहेका छन्। अबका मतदाता गाली र आरोपले होइन, भिजन र कार्यक्षमताले प्रभावित हुनेछन्।
यदि पुराना शक्तिहरूले समयमै आफूलाई नसच्च्याउने हो भने, उनीहरूले इतिहासमा पाएको सम्मान वर्तमानको भेलले बगाएर लैजाने निश्चित छ। समय अझै बाँकी छ, तर अवसरको झ्याल बिस्तारै बन्द हुँदैछ।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया