जेनजीको नाममा नेपालमा भदौ २३ र २४ गते जे भयो, त्यो के हो ? प्रश्न जति सजिलो छ, उत्तर त्यति सजिलो छैन । कारण, यो प्रश्नको उत्तर एउटै छैन । अहिलेसम्म यसको उत्तरमा धेरै शब्दावली प्रयोग भए । सूची बनाउँदा यी शब्द छुट्दैनन्– आन्दोलन, विद्रोह, क्रान्ति, प्रतिक्रान्ति, हुलदुंगा, अग्रगमन, प्रतिगमन ।
शब्दावली परस्परविरोधी छन् । केही सकारात्मक, केही नकारात्मक । समाजमा दुवैथरी सोच भएका मानिस हुन्छन् । परस्पर विरोधी ध्रुवमा रहेर सोच्छन् । यस अर्थमा यस्तो सोचिनु अस्वाभाविक हैन ।
तर, सत्य यी दुवै हैनन् । ग्रिक दार्शनिक आरिस्टोटलले भनेका छन्, सत्य कहिल्यै छेउमा हुँदैन, बीचमा हुन्छ । जेनजीको नाममा जे भएको हो, त्यसलाई पनि छेउमा राखेर हेरिनु हुँदैन । कतै बीचमा राखेर हेरियो भने मात्र त्यसको प्रस्ट अनुहार देखिन्छ ।
सत्य कुनै पनि विषयलाई हेर्ने निजी धारणा हो । यो सन्दर्भको जगमा उभिन्छ र जहिले पनि भेक्टर हुन्छ । यसलाई बनाउने दुई स्कालर हुन्छन्, समय र स्थान । मानिस यी दुई स्कालरमा जहाँ उभिन्छ, उसले त्यस्तै सत्य देख्छ ।
सत्य विभाजित हुन्छ, तर तथ्य एउटै हुन्छ । तथ्यका अनेक आयाम भए पनि यसको मूल आयाम भौतिक हुन्छ । भौतिक भनेको नापजाँच गर्न सकिने आयाम हो । त्यसरी हेर्दा ७६ जन र खर्बौँ धनको क्षति भयो । यो क्षति माओवादी द्वन्द्वलाई छोडेर बाँकी विभिन्न कालखण्डका जनआन्दोलनमा भएको भन्दा ठूलो क्षति हो ।
यो क्षति कसले गरायो ? यसको पनि एउटै उत्तर छैन । एकाथरि, पछिल्लो एक दशकयता सत्तामा चलिरहेको तीन दलीय सिन्डिकेट र तिनका सुप्रिमोहरूको मनोमानी ठान्छन् । त्यसमा पनि पछिल्लो आलोपालो प्रधानमन्त्रीको सेटिङ गरेका देउवा र ओली । अझ, पिन–पोइन्ट नै गर्दा यो घटना घटिरहेको बेलाका प्रधानमन्त्री केपी ओली ।
केपी ओली एक पात्र मात्र हैनन्, प्रवृत्ति हुन् । उनी अपरिहार्य मात्र हैन, निर्विकल्प नै ठान्छन् । पार्टीमा, सरकारमा, देशमा जहाँतहीँ । उनी हाकाहाकी भन्छन्, मबाहेक कसैले सक्दैन । म नै पार्टीको, जनताको र देशको मसिहा हुँ । उनी आफ्नो लागि जे पनि गर्छन् । दिउँसै रात पार्न पनि सक्छन्, यति भनेपछि सक्किगो नि । उनको शक्ति बोली हो, उनको जिब्रोमा कहिल्यै ठेस लाग्दैन । उनी आफ्नो पक्षमा जति नै झुटो पनि बोल्न सक्छन् ।
ओलीसँग हल बाँधेका देउवा कम बोल्छन् । तर, उनको अर्जुन दृष्टिमा सधैँ प्रधानमन्त्रीको कुर्सीमै हुन्छ । त्यसका लागि उनले एमाले, माओवादी, राजावादी, राजा जोसँग पनि हल बाँधे । पछिल्लो समय ओलीसँग हल बाँध्नको अर्जुनदृष्टि पनि प्रधानमन्त्रीमै थियो, छैटौपटकको प्रधानमन्त्री । देउवाको त्यही कमजोरीको फाइदा उठाउँदै ओली यति मनमौजी बने कि सामाजिक सञ्जाल नै बन्द गरिदिए ।
भन्दा अप्रिय लाग्ला तर सत्य हो कि नेपालको युवापुस्ता सामाजिक सञ्जालको दुव्र्यसनी भैसकेको छ । जब ओलीले लागूपदार्थको डोज नै एकाएक खोसिदिए, उनीहरू सिक भए । उनीहरूको यही सिक अवस्थालाई पागलपनमा बदल्न सुशासन र भ्रष्टाचार अन्तको ब्राण्डिङ गरियो । तावा तातिसकेको थियो, सिक जेनजीलाई मानवढाल बनाएर सबै ओली विरोधीहरू एकभएर उनलाई घेराबन्दीमा पारे । परिणाम हाजिर छ, ओली सेनाको हेलिकोप्टर चढेर भाग्नुप¥यो । बाँकी के के भयो, सबैको मनमस्तिष्कमा ताजै छ ।
ओली समाधान हैनन्, समस्या हुन् । उनी सधैँ कसरी सत्तामा पुग्नुपर्ने अति स्वार्थ र म नै निर्विकल्प भन्ने अति महत्वाकांक्षाले भरिएका हुन्छन् । अति स्वार्थ र अति महत्वाकांक्षाले मानिसलाई विवेकहीन बनाउँछ । यतिबेला ओली त्यस्तै पात्र र प्रवृत्ति हुन् । यही नै जेनजी परिघटनाको मूल कारण हो ।
तर, ओली यो मान्न तयार छैनन् । उनी यसमा आफ्नो कमजोरी पनि देख्दैनन्, जिम्मेवारी पनि लिँदैनन् । उल्टै आफूलाई देश ठानेर यो परिघटना आफूमाथि हैन देश, लोकतन्त्र र संविधानमाथि नै देशी–विदेशीले गरेको कु–डेटाको ओली–भाष्य दिँदै छन् । यो ओली–भाष्यमा एमालेमा मात्रै हैन, कांग्रेसको तत्कालीन सत्तारूढ संस्थापन पक्ष पनि एकसाथ उभिएको छ । एमाले र देउवा पक्षका सांसदहरू संसद् पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालत जानु त्यसैको दशी–प्रमाण हो ।
अब प्रश्न उठ्छ– ओलीले भनेजस्तै यो देशी–विदेशीको षडयन्त्र हो भने कसले ग¥यो त षडयन्त्र ? यसको स्पष्ट उत्तर उनीसँग छैन र कहिल्यै हुँदैन पनि । तर, पनि ओली यसमा भारत र अमेरिकातिर मुन्टो बटारिरहेका छन् । अझ त्यसमा पनि उनको चोरऔला अमेरिकातिरै ठडिरहेको छ । यद्यपि, उनी तोकेरै भन्न सक्दैनन् । एक किसिमको षडयन्त्रका सिद्धान्तहरूको तानाबाना बुनेर आफूले आफैलाई अभयदान दिइरहेका छन् ।
जति नै षडयन्त्र भने पनि त्यसलाई बेलैमा निस्तेज पारेर धनजनको क्षतिबाट जोगाउन नसक्नु तत्कालीन प्रधानमन्त्रीका हैसियतले ओलीको जिम्मेवारी हो । यो जिम्मेवारीबाट उनी कहिल्यै मुक्त हुँदैनन् । चुनावको वातावरण बनाउने नाममा चुनावी सरकार ओलीसामु नतमस्तक भए पनि उनी ढिलोचाँडो दण्डित हुने नै छन् र हुनु पनि पर्छ ।
तर, कहिले ? यस प्रश्नको उत्तर दिने जनताले हो । पहिलो किस्ताको उत्तर सम्भवतः फागुन २१ गते नै मिल्ने छ । ओलीले आफैँलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर एमालेलाई चुनावमा उतारेका छन् । यस क्रममा उनले पार्टीका संस्थापनइतर नेतालाई हैन, आफूप्रति बफादारलाई मात्र छानी छानी टिकट दिएका छन् । यसले पनि ओली अझै न चेतेका छन्, न सुध्रिनेवाला छन् भन्ने प्रस्ट हुन्छ ।
आफ्नै कारणले घटेको जेनजी आन्दोलनमा त्यत्रो जनधनको क्षति भयो, आफैँ पनि सत्ताच्यूत भए । संविधान लिक बाहिर गयो, असमयै संसद् विघटन गरेर चुनाव गराउँदा राष्ट्रको ठूलो स्रोत, सधान र समय खेर गैरहेको छ । तैपनि सारा लाज पचाएर ओली आफूलाई प्रधानमन्त्री बनाउन मत माग्दैछन् । फेरि पनि उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने हो भने यो चुनाव किन ? उनी भन्दैछन्, लोकतन्त्र र संविधानलाई लिकमा ल्याउन । लोकतन्त्र त हैन, संविधानचाहिँ लिक बाहिर गएकै छ । तर, त्यो लिक बाहिर लाने काम ग¥यो कसले ? त्यसको पृष्ठभूमि बनाइदियो कसले ?
यी प्रश्नहरूको पनि सोझो उत्तर हो, ओली र उनको एमाले कम्पनीले । त्यसैले ओली र उनका वफादारहरू यसपटक पुरस्कृत गरिनुपर्ने हैन, दण्डित गरिनुपर्ने पात्र हुन् । उनीहरूलाई जिताउनु भनेको ७६ जना निर्दोष नागरिकको हत्या सही थियो, जेनजी आन्दोलन देशी विदेशीले गरेको षडयन्त्र थियो भनेर अभिमत दिनु हो ।
जेनजी आन्दोलनलाई आँखै अगाडि देखेका नेपाली जनताले यति छिटै होस गुमाएर ओली र उनका वफादारलाई फेरि सरकारमा पु¥याउलान् त ? पु¥याउनु नपर्ने मात्र हैन, उनीहरूलाई दण्डित गर्नुपर्ने हो । तर, नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुने नेपाली समाजमा फेरि एकपटक बिस्तारै बिस्तारै ओलीको बोलीको टोन फेरिएको छ । यससँगै भित्तैमा पुग्नुपर्ने ओलीको षडयन्त्रको सिद्धान्तले काम गर्न थालेको हो कि जस्तो देखिँदै छ ।
अब प्रश्न उठ्छ, किन यस्तो नहुनुपर्ने कुरा भइरहेको छ त ? यस प्रश्नको उत्तर हो– नेपाली जनतासँग उम्दा र भरपर्दो विकल्प नै छैन । जनधार भएका अरू पार्टी नै छैनन् । भएका मूलधारका ठूला राष्ट्रिय पार्टी कांग्रेस, एमाले र नकेपा नै आजको परिस्थित ल्याउन जिम्मेवार छन् । खासगरी यी तीन पार्टीको सत्ता सिण्डीकेट र सेटिङले खेलाएको म्युजिकल चियरको सहउत्पादन नै जेनजी आन्दोलन र अहिले जन्मिएका नयाँ दल हुन् ।
एमालेको विकल्प हुनुपर्ने कांग्रेस स्वयं ओली सरकारको सबैभन्दा ठूलो हिस्सा थियो । १५ महिनापछि पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाउने स्वार्थमा उसले ओलीलाई मनमौजी गर्न छुट दियो । जेनजी आन्दोलनको पहिलो दिन २२ जना किशोहरूको हत्या हुँदा गृहमन्त्री नै कांग्रेसका रमेश लेखक थिए ।
जेनजीमाथि गोली चल्दाका गृहमन्त्री नै भएको पार्टीलाई त्यसलगत्तैको चुनावमा जनताले कसरी म्याण्डेट दिने ? त्यति मात्रै हैन, यसअघि भएको चुनावको सबैभन्दा ठूलो पार्टी पनि कांग्रेस नै हो । ठूलो पार्टी बनाउँदा पनि सरकार नबनाएर उल्टै पालैपालो प्रचण्ड र ओलीको दौराको फेरो समातेर उधारो प्रधानमन्त्री मात्रै भेरहने कांग्रेसलाई किन फेरि जिताउने ? यी प्रश्नहरू कांग्रेस सामु झिरझैँ तेर्सिने छन् ।
यी प्रश्नहरूको उत्तरका लागि जेनजी आन्दोलनपछि नै नीति र नेतृत्व परिवर्तन गरेको कांग्रेससँग बोल्ने ठाउँ भने छ । ‘फेर्यौ कांग्रेस, अब देश फेर्छों’ भन्ने नारा पनि आकर्षक नै छ । तर, त्यसका लागि कांग्रेसको नयाँ नेतृत्वका लागि चाहिने न्यूनतम कुलिङ पिरियड छैन । एकातिर वर्षौँसम्म कांग्रेसलाई एकछत्र कब्जा गरेका देउवालाई भित्तामै पुर्याएर आएको नयाँ नेतृत्व छ, अर्कोतिर देउवाले टाल्नै नसक्ने गरी बनाएको प्वाल छ । यो छोटो समयमा कांग्रेसलाई यी दुवै चुनौति सामना गर्न सहज छैन ।
प्रचण्डको नेकपा माओवादीको मूल चोइटामा नेकपा एस र अन्य थुप्रै वाम घटकहरू जोडिएका छन् । तर, यो टालाछुली बटुलीले पुतली बन्ने अवस्था छैन । यसअघि नेकपा माओवादीसँग ३२ र नेकपा एससँग १० सिट गरी संसदमा ४२ सिट थियो । कांग्रेससहित पाँच दलीय चुनावी गठबन्धनको बलमा हासिल गरेको यो संख्या यसपटक जोगाउन पनि गाह्रो छ ।
रह्यो, नयाँ भनेर दाबी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा । यसअघि पार्टी स्थापनाको थोरै समयमा पुरानै पार्टीको गठबन्धनमा दुई दुईपटक सत्तामा गएर बदनाम भैसकेको रास्वपा आफैँमा नयाँ पार्टी हो कि हैन?, हेर्नुपर्ने छ । यसअघिको चुनावमा म्याजिक गरेर २१ सिटसहित संसदमा चौथो ठूलो दल बनेको रास्वपामा यसका जादूगर सभापति रविको चमक पहिला जस्तो छैन ।
दोहोरो राहदानी, सम्पति शुद्धिकरण, संगठित अपराधजस्ता फौजदारी मुद्दाले घेरिएका उनी रास्वपाका लागि वरदान र अभिशाप दुवै हुन् । खासगरी दोहोरो राहादानीको मुद्दामा उनको पल्ला भारी छैन । सर्वोच्च अदालतका श्रीमानहरूले दशी प्रमाण टेकेर समयमै फैसला गर्ने हो भने रविको राजनीतिक जीवन कुनै पनि बेला समाप्त हुन्छ । अहिलेकै अवस्थामा सांसद जिते भने पनि उनी शपथ ग्रहण बिनाका गर्भे निलम्बित सांसद हुने हुन् ।
रविकै वक्तृत्व कलाको कारण स्थापित पार्टी रास्वपा सुरुदेखि नै उनीमाथिका संगीन मुद्दाहरूको बचाउमा मानव ढाल बनेर उभिएको छ । यदि त्यस्तो हुँदैनथ्यो र अहिले रास्वपामा भएका नेताहरूले रवि नहुँदा पनि उभिन सक्ने रास्वपा बनाउन सक्थे भने यो पार्टी अहिलेको सन्दर्भमा नयाँ त हुन्थ्यो नै, मूलतः गैरकम्युनिष्ट मतदाताका लागि विकल्प पनि हुन सक्थ्यो ।
तर स्थिति त्यस्तो रहने, छैन । अहिले रास्वपामा रहेका सारा नेताहरू एउटै प्रश्नको उत्तर दिन नसकेर हैरान छन् । दोहोरो राहदानी, सम्पत्ति शुद्धीकरण, संगठित अपराधजस्ता संगीन फौजदारी मुद्दामा बिगो–धरौटीमा छुटेको अभियुक्तलाई शिरमा राखेर कसरी सुशासन, भ्रष्टाचार र विधिको शासनको कुरा गर्न सकिन्छ । चारचारवटा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले पनि उनलाई निर्दोष भन्न नसकिने भन्दै धरौटीमा छोडेको अवस्थामा पूर्वाग्रही राज्य लागेको भनेर मात्रै धर पाइन्छ र ?
यो सत्य हो कि जेनजी आन्दोलनको बलमा बनेको चुनावी सरकारले रविमाथि दया देखाएकै छ । सहकारीसँग सम्बन्धित मुद्दाबाट फौजदारी अभियोग हटाउने निर्णय गर्नु, राज्यविरूद्ध बिगो–धरौटीमा छुटेको अभियुक्तलाई भेटघाटका लागि पटक पटक प्रधानमन्त्रीले रातो कार्पेट ओछ्याउनु, चुनावी सरकारका मन्त्रीहरूलाई रास्वपाको उम्मेदवार हुने वातावरण बनाइदिनु– केही यस्ता अकाट्य सत्य हुन् जसले जेनजी आन्दोलनको फल जेलजीले खाएकै हुन् भन्न सकिने ठाउँ मिल्छ ।
जेल दलेको स्टाइलिस कपालका साथ गृहमन्त्री भएका रवि त्यतिबेला जेल दल्ने ‘जेलजी’ थिए, पछि सहकारी प्रकरणमा जेल नै गएपछि कारागारको कैदीका रूपमा ‘जेलजी’ भए । पछिल्लो भेरियन्टका जेलजी रवि जेनजी आन्दोलन नभएको भए सम्भवतः अहिले पनि जेलमै हुन्थे ।
भन्नेहरू त जेनजीको आन्दोलन जेलजीले अपहरण गरे पनि भन्छन् । आन्दोलनका पर्दापछाडिका नायक बालेनदेखि जेनजी मोहरा बनेका सुदन गुरूङसम्म रास्वपा पसेर चुनावी उम्मेदवार भएको सन्दर्भको हेक्का राख्ने हो भने त्यस्तो हैन भन्न सकिने ठाउँ छैन । अझ सरकारले नै रास्वपाका सुप्रिमो रविको मुद्दा नै फिर्ता लिएबाट त यो सत्य अरू स्थापित हुन्छ ।
अहिले देशमा घोषणा नै गरिएका प्रधानमन्त्रीका तीन उम्मेदवार चुनावी मैदानमा छन्, गगन थापा, केपी ओली र बालेन साह । हुने भनेको पनि यी तीनमध्ये एक नै हो । ओली र बालेन एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार भएकाले हार्नेको प्रधानमन्त्री हुने सम्भावना त्यहीबाट टुंगिन्छ । यो भनेको एक किसिमको सेमी फाइनल भिडन्त हो । यस भिडन्तमा जित्नेको फाइनल भिडन्त गगन थापासँग हुन्छ ।
गगनसँग को भिड्छ, ओली वा बालेन । अहिले नै यसै भन्न सकिन्न । त्योभन्दा पनि पहिला चुनाव हो, गगन आफैँ पनि जित्छन् कि जित्दैनन्, यसै भन्न सकिन्न । यदि साँच्चै रविले दाबी गरेजस्तै घण्टी पार्टीको सुनामी आयो भने त्यसले गगन र ओलीलाई एकसाथ नबढार्ला भन्न सकिन्न । त्यस्तो अवस्थामा बालेन नै प्रधानमन्त्रीको सम्भावित उम्मेदवार हुन्छन् । त्यसको लागि अर्को पनि एउटा पूर्वशर्त लागु हुन्छ, रविको फौजदारी मुद्दा ।
रविले मुद्दा जिते भने रविको लागि जे पनि गर्न तयार जेहादी घण्टी पार्टीले बालेनलाई प्रधानमन्त्री बनाउने कुरा त सम्झने पानी छम्किने मात्र हुन्छ । यसअघि नागरिक काण्डले सदस्यता खारेज भएका रविले सरकारबाट निस्कँदा पार्टीलाई नै सरकारबाट बाहिर निकालेका थिए । यो दृष्टान्तले रविका लागि घण्टी पार्टी के हो भन्ने छनक दिन्छ ।
चुनावको बेला हरेक व्यक्तिका निजी चाहना हुन्छन्, यसले जितिदेवोस् वा यसले हारिदेवोस् । यस्ता चाहना जोड्दै जाँदा एउटा लम्बेतान सूची नै बन्छ । एक व्यक्तिका रूपमा यो स्तम्भकारको पनि आफ्नै सूची छ । चुनाव आउनुअघि अझै तीन मंगलबार बाँकी नै छन् । कुनै एक मंगलबारको बिलोममा लेखौँला ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया