दिपा धिताल
युवा अवस्था मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सृजनशील समय हो। यो उमेर जोश, जाँगर, नयाँ सोच र असीमित सम्भावनाले भरिएको हुन्छ। कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको मुख्य संवाहक नै युवा जनशक्ति हो। नेपालको सन्दर्भमा कूल जनसंख्याको ठूलो हिस्सा युवाहरूले ओगटेका छन्।
युवाहरूको काँधमा वर्तमानलाई सुधार्ने र भविष्यलाई उज्यालो बनाउने ठूलो जिम्मेवारी हुन्छ। तर दुर्भाग्य हाम्रो देशका युवाहरू यतिखेर रोजगारी र सुखद भविष्यको खोजीमा परदेश भासिएका छन्। देशमा भएका युवाहरूमा पनि सन्तुष्टी देखिदैन्। राज्यले पनि युवा जोगाउन कुनै ठोस योजना ल्याउन नसकेको सत्य स्थापित नै छ।
मुलुकको वर्तमान अवस्थाले अचेल युवामा सर्वत्र असन्तुष्टि छ। आक्रोश छ। आफूहरूलाई केवल उपयोग मात्रै गरिएको बुझाइमा नेपाली युवा रहेका छन्। आफ्ना सरोकार, चिन्ता र हितलाई उपेक्षा गरिएको गुनासो तीव्र छ। राजनीतिलाई फोहोरी खेलका रूपमा बुझ्ने मनोविज्ञानको विकास भएको छ। जेनजी आन्दोलनका समयमा र त्यसपछि गरिएको युवाको अनाधिकृत प्रयोगले पनि अवस्था जगजाहेर छ।
अर्कोतिर नेपालमा शिक्षा झनै महँगो र स्तरहीन बन्दै गइहेको छ। नागरिकले पाउने सुविधा झनै कठिन र व्यवस्थामा झनै झन्झटिलो छ। एउटा हिंसाको पाटो कमी भएता पनि नयाँ ढङ्गको हिंसा बढिरहेको छ। यसले युवानै निशाना बनिरहेका छन्। कति युवाहरू रोजगारको खोजीमा भौतारिरहेका छन्।
पछिल्लो समय युवाहरूमा लागुपदार्थ (लागुऔषध) दुर्व्यसनीको अवस्था अत्यन्तै चिन्ताजनक र भयावह बन्दै गइरहेको छ। गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताहरूमध्ये ७६ प्रतिशतभन्दा बढी ३० वर्षमुनिका युवा तथा किशोरकिशोरीहरू रहेका छन्।
यो समस्याले देशको ऊर्जावान् जनशक्तिलाई तीव्र रूपमा दलदलमा धकेलिरहेको छ। हिजो सहरमा देखिने यो समस्या ‘मौन महामारी’का रुपमा गाउँटोलसम्म छिरेको छ। यसले भविष्यमाथि अन्योलको बादल छाएको छ। यसलाई रोक्न विद्यालय तहदेखि नै सचेतना फैलाउनु, अभिभावकहरूले आफ्ना बालबालिकाको व्यवहारमा निगरानी राख्नु र तीनै तहका सरकारले यस विरुद्धका काम गर्न निकै जरुरी भइसकेको छ।
बेलाबेलाका राजनीतिक आन्दोलनमा युवाहरू नहोमिएका पनि होइनन्। आफ्ना सपनालाई लत्याएर, राजनीतिक युद्धमा होमिएका ती युवाले परिवर्तन पश्चात् केही प्राप्त गरेको अनुभव गर्नै पाएनन्। त्यसैले युवामा विदेश पलायन, निराशा र विकृति बढाइरहेको छ। निष्ठावान्, स्वाभिमानी र मूल्यको राजनीति गर्न चाहने युवालाई राजनीतिले उत्साहित गर्न सकिरहेको छैन।
लोकतान्त्रिक परिवर्तनपछि पनि राज्यले युवाको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउने नीति बनाउन सकेको छैन। राष्ट्र निर्माणको मुख्य संवाहक युवालाई कसरी यस अभियानमा संलग्न गराउने? शिक्षा, स्वास्थ्य जस्ता उनीहरूको प्रत्यक्ष सरोकारका विषयलाई कसरी अधिकारका रूपमा प्रत्याभूत गर्ने र त्यस क्षेत्रमा लगानी कसरी अगाडि बढाउने? रोजगारीको अवसरको सिर्जना र त्यसमा सहज पहुँच कसरी कायम गर्ने? खेलकुद, मनोरञ्जन जस्ता क्षेत्रमा युवाका आकाङ्क्षाको परिपूर्ति कसरी गर्ने? युवालाई अन्वेषण अनुसन्धानमा कसरी उत्पे्ररित गर्ने? विकृतिबाट युवालाई कसरी मुक्त गर्ने? सर्वोपरि रूपबाट राष्ट्र सुरक्षित भविष्य र अवसरको समानताप्रति उनीहरूलाई आश्वस्त कसरी तुल्याउने? यस्ता गम्भीर प्रश्नमा सार्थक बहस भएकै छैन।
राम्रा मान्छे छाडेर हाम्रा मान्छेलाई काखी च्याप्दा र हाम्रा मान्छेबाट पनि मेरा मान्छेमा झर्दा आज धेरै युवा निराश बन्न पुगेका छन्। नीति निर्माण गर्ने संरचनामा युवाको सहभागिता पनि प्रभावकारी बन्न सकेको छैन। दुर्भाग्यवश हाम्रो सामाजिक मनोविज्ञान परम्परावादी तìवबाट निर्मित छ। समाजका लागि केही गर्छु भन्ने युवालाई उडाउने एवं विपन्न वर्गको युवालाई हेप्ने प्रवृत्तिले पनि युवा अविश्वासको सिकार बनिरहेका छन्, जिम्मेवारीबाट वञ्चित बनाइएका छन्।
युवालाई भविष्यको नेतृत्वकर्ता मूलधारको राजनीतिबाट वञ्चित गराइएका छन्। सहज ढङ्गले र स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन नै नगरी विजय हुनबाट वञ्चित गर्ने र नीति निर्माणको निर्णायक अवसरबाट वञ्चित गर्ने प्रवृत्ति विद्यमान छ। युवाको एउटा सिङ्गो पुस्ता आफ्नो क्षमता परीक्षण गर्न नपाई अयोग्य पुस्ताका रूपमा राजनीतिक दृश्यबाट बिदा हुन विवश छन्।
युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन्। युवा भन्ने बित्तिकै शारीरिक, मानसिक शक्तिले ऊर्जाशील व्यक्तित्व बुझिन्छ। आजको युवाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सक्रिय भएर लाग्नु जरुरी छ। यो वर्ग साहस, सिर्जनशील, उच्च आत्मविश्वास, निर्णय गर्न सक्ने क्षमता, काम गर्न सक्ने तत्परता भएको हुँदा राष्ट्र निर्माणमा सहभागी गराई देशको मानवीय पुँजीका रूपमा राज्यले परिचालन गर्नु पर्दछ।
भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका यस वर्ष पनि युवा दिवस विश्वभरी नै मनाइदै छ। यस वर्ष संयुक्त राष्ट्रसंघले युवाहरू जुनसुकै देश वा परिस्थितिमा हुर्केका भए पनि उनीहरूको चाहना—मर्यादित रोजगार, गुणस्तरीय शिक्षा, प्रविधिको पहुँच र सुरक्षित भविष्य—एउटै हुने हुनाले उनीहरूलाई समान अवसर दिनुपर्ने कुरामा जोड दिएको छ।
युवा दिवस प्रत्येक वर्ष अगस्ट १२ मा मनाइन्छ। यसको औपचारिक सुरुवात सन् २००० अगस्ट १२ देखि भएको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९९ मा युवा मामिला मन्त्रीहरूको विश्व सम्मेलनको सिफारिसलाई अनुमोदन गर्दै यो दिवस मनाउने निर्णय गरेको थियो।
सन् १९९१ः अस्ट्रियाको भियनामा आयोजित पहिलो ‘विश्व युवा फोरम’मा युवाहरूले पहिलो पटक अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा प्रस्ताव गरे। सन् १९९८ः पोर्चुगलको लिस्बनमा अगस्ट ८ देखि १२ सम्म युवा मामिला मन्त्रीहरूको अन्तर्राष्ट्रिय युवा दिवसको रुपा घोषणा गर्न सिफारिस गर्यो।
सन् १९९९ः संयुक्त राष्ट्रसङ्घको महासभाले (संकल्प प्रस्ताव ५४/१२०) मार्फत उक्त सिफारिसलाई पारित गरी यस दिनलाई आधिकारिक मान्यता दियो। सन् २०००ः विश्वभर पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो।
यो दिवस मनाउनुको उद्धेश्य युवाको अधिकार, भूमिका र जिम्मेवारीबारे जनचेतना अभिवृद्धि गर्ने। नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने। युवा उद्यमशीलता, रोजगारी र स्वरोजगारका अवसर प्रवर्द्धन गर्ने।
युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने। वैदेशिक पलायन तथा बेरोजगारीका कारण र समाधानका उपायबारे बहस गर्ने। लैङ्गिक समानता, सामाजिक समावेशिता र समान अवसर सुनिश्चित गर्न पहल गर्ने। स्थानीय तहदेखि राष्ट्रिय तहसम्म युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माणका लागि पैरवी गर्ने रहेको छ।
कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणमा युवाहरूको सबैभन्दा ठूलो हात हुन्छ। युवाहरूसँग नयाँ सोच, नयाँ प्रविधि अंगाल्ने क्षमता र जोखिम मोल्ने आँट हुन्छ। आजका युवाहरू प्रविधिसँग जोडिएका छन्। स्टार्टअप, डिजिटल साक्षरतामार्फत युवाहरूले परम्परागत शैलीलाई विस्थापित गर्दै आधुनिकतातर्फ लगिरहेका छन्।
युवा दिवस मनाइरहँदा हामीले भाषण र नारामा मात्र सीमित नभई व्यावहारिक कदम चाल्न जरुरी छ। सरकार र निजी क्षेत्रले मिलेर युवा उद्यमीहरूलाई बिनाझन्झट ऋण, अनुदान र बजारको व्यवस्था गरिदिनुपर्छ। युवाहरूलाई समयसापेक्ष प्राविधिक तथा व्यावहारिक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्छ। नीति निर्माण र नेतृत्व तहमा युवाहरूको विचार र प्रतिनिधित्वलाई प्राथमिकता दिनुपर्छ।
युवाहरू केवल ‘भोलिका कर्णधार’ मात्र होइनन्, उनीहरू ‘आजका साझेदार’ पनि हुन्। युवाहरूको विचारलाई कदर गर्ने र उनीहरूको क्षमतालाई सही दिशामा प्रयोग गर्ने देश नै समृद्धिको पथमा अघि बढ्न सक्छ। यस युवा दिवसले प्रत्येक युवामा देशप्रतिको दायित्व र आफूभित्रको क्षमता चिन्न प्रेरणा प्रदान गरोस् सबैमा शुभकामना!
(लेखकः नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक हुन्।)
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया