शनिबार, ०७ मार्च २०२६

'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा

News Image
• • •

नेपालको मधेश प्रदेशको हरेक निर्वाचन क्षेत्रको एकै उम्मेद्वार हुन्,  बालेन शाह  । अरू सबै उनका डमी उम्मेद्वार मात्रै हुन् । 

यसो भन्दा केहीलाई बढी पनि लाग्ला र रास्वपाका उम्मेद्वारहरूको मानमर्दन गरेजस्तो पनि देखिएला । तर, यथार्थ यही हो । मधेशका देहातमा गएर कोही पनि देहातीलाई भोट कसलाई ? भनेर सोध्यो भने लगभग सबैको एउटै हुन्छ,  घण्टीलाई । अनि घण्टी कसको चुनाव चिन्ह हो भनेर सोध्यो भने उनीहरूले दिने उत्तर पनि एउटै हुन्छ, बालेन ।

यही नै आजको यथार्थ हो । 

मधेश प्रदेशमा ८ जिल्ला छन्, धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी र बारा  । हरेक जिल्लामा चार-चार गरी  ३२ निर्वाचन क्षेत्र छन् ।

अहिले ३२ मध्ये २५ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ भने सात क्षेत्रमा मतगणना हुन सकेको छ। मतगणना हुन नसकेका क्षेत्रहरूमा सप्तरीको २ र ३, सिराहको ३, धनुषाको १ र २, रौतहतको २ र ३ मा रहेका छन् । 

मतगणना भइरहेको मधेसको सबै  २५ निर्वाचन क्षेत्रमै रास्वपा अगाडि छ । एक किसिमको सुनामी नै आएको छ मधेशमा । यो सुनामीले वर्षौदेखि मधेसी राजनीति गर्दैआएका क्षेत्रीयतावादी दलहरूको दोकान बन्द हुने संकेत गरेको छ । यो दोकान बन्द गर्ने अरू कोही नभएर मधेसी छोराको नयाँ अवतार बालेन नै भएका छन् ।

'बालेनको बेग'ले मधेश झरेका नवनिर्वाचित कांग्रेस सभापति गगन थापा पनि सर्लाही ४ मा  बच्लान् जस्तो छैन । गगनलाई बालेनकै डमी उम्मेद्वार अमरेश सिंहले धेरै पछाडि छोडेका छन् । यसैगरी रौतहट १ का रैथाने उम्मेद्वार पूर्वप्रधानमन्त्री माधव नेपाल पनि चित खाने अवस्थामा पुगिसकेका छन् । 

'बालेन बेग'ले मधेसका मसिहाजस्ता देखिएका अन्य थुप्रै मधेसी नेताहरूको पनि राजनीतिक दोकान बन्द गरिदिदै छ। यो  सूचीमा शरतसिंह भण्डारी, विमलेन्द्र निधि, रघुबीर महासेठ त परेकै छन्, उपेन्द्र यादव र सीक ेराउत पनि बच्न नसक्ने स्थिति सिर्जना भएको छ । 

अन्तत: मधेशले नयाँ अवतारको मसिहा पाएको छ - बाहुबली बालेन । यी बाहुबली दक्षिण भारतीय सिनेमाको नायकजस्तो स्टन्ट मात्र गर्छन् वा जनजनको मन जितेर मधेसको नायक बन्छन्, त्यो भने समयकै गर्भमा छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!