शुक्रबार, २७ मार्च २०२६

मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी

News Image
• • •

'आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो ।'

मैले यो भनाइ जीवनमा अनेकौपटक दोहोर्याएको छु, नेपालीमा मात्र हैन, अंग्रेजीमा पनि । नेपालका  कक्षाकोठादेखि, युरोप, अफ्रिका र अमेरिकाकै कक्षाकोठासम्म ।

जतिबेला म यो भनाइ भन्थें, मेरा विद्यार्थीहरू सोचमग्न हुन्थे । यस्तो लाग्थ्यो, यसले उनीहरूको दिमाखमा सत्यको घन बजारिरहेको छ । म आफैंलाई भने यो एक किसिमको हाइपोथेसिस जस्तै लाग्थ्यो, आज आफैं त्यसको प्रयोगशाला भएको छु । र, सत्य, विश्वास र संजोगको त्रिवेणीमा उभिएर यो ब्लग लेखिरहेको छु ।

विश्वास, मेरो बाबु – मोती भट्टराई । भौतिक रूपमा अब मसँग हुनुहुन्न । सन् २०२० को नोभेम्बर ३० मा उहाँ यो संसारबाट विदा हुनुभयो । कोरोना कहरको त्यो बेला लक डाउन भएको अमेरिकामा थिएँ म । जीवनको अन्तिम श्वास फेरिरहेको बेला ‘काइलो आएन ?’ भन्दै यो संसार छोड्नु भएको मेरो बाबु मेरो लागि कहिलै नढल्ने विश्वास हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘लुट्ने मौका नपाएर नेता भएका रहेछन् काइला यी सबै । जब मौका पाए, नेताबाट लुटेरा भए अनि एकपटक हैन, पटक पटक लुटे ।‘

उहाँ केपी ओलीप्रति धेरै नै रूष्ट हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘ओली राहू हो । राहु चलुञ्जेल देशमा शान्ति हुँदैन ।‘

संजोग कस्तो पर्यो ? आज अर्थात् फागुन २१, २०८२ साल । म मेरा बाबुले राहु भन्ने गरेका उनै ओलीको गृहनगर दमकमा छु । मध्यावधि चुनाव भैरहेको छ । ओली जीवनकै सबैभन्दा प्रतिकुल चुनावी प्रतिस्पर्धामा छन् । उनी सामु  चुनावी चुनौतिको पहाड बनेका छन्, वालेन शाह । काठमाडोैं महानगरपालिकाको मेयरबाट राजिनामा दिएर झापा ५ पुगेका बालेनले घण्टी चुनाव चिन्ह लिएर ओलीकै घण्टी बजाइरहेका छन् ।

यी दुई उम्मेद्वार सामान्य उम्मेद्वार हैनन्, परस्परविरोधी कित्ताका यी दुई अब पात्र मात्र रहेनन्, प्रवृति नै भैसके । ओली जेनजी आन्दोलनको अपमान गर्छन् र त्यसअघिकै अवस्थामा नेपाललाई लैजान चाहन्छन् । तर, बालेन त्यसको ठीक विपरित जेनजी आन्दोलनको सम्मान गर्छन् र नेपाललाई जेनजी आन्दोलनको आलोकमा अगाडि बढाउन चाहन्छन् ।

आजको मूल प्रश्न भनेको देशलाई अगाडि धकेल्ने कि पछाडि फर्काउने भन्ने हो । यस प्रश्नको उत्तर ओलीको जीत वा हारले नै दिन्छ । अनि यसले निर्धारण गर्छ, देशको दिशा अनि दशा । सारा नेपाली, घरदेशमा हुन् वा परदेशमा अहिले त्यही निर्णयको प्रतीक्षामा छन् ।

सारा नेपाल एउटा निर्वाचन क्षेत्र हुन्थ्यो भने ओलीको जमानत जपथ हुन्थ्यो । तर, यो झापा ५ हो, जहाँ उनी २०४८ सालदेखि २०६४ को चुनावलाई छोडेर एक छत्र राज गरिरहेका छन् । यसपटक उनको विरूद्ध देशैभर हावा चलेको छ । त्यो हावा झापा ५ आइपुगेर ओलीलाई ढाल्ला कि नढाल्ला यसै भन्न सकिने स्थिति छैन ।

ओली मात्र हैन, पात्र र प्रवृतिका रूपमा बालेन पनि समस्या नै हुन् । तर, ओली टेस्टेड समस्या हुन्, उनका कुनै नयाँपन बाँकि छैन । तर, बालेन टेस्टेड छैनन् र उनले जे गरे पनि नयाँ हुन्छ । त्यसका लागि उनलाई शंकाको सुविधा दिन नसकिने हैन ।

सत्य, मेरी आमा, राममाया शताव्दी वर्षको नजिक छिन् । विगत तीन महिनादेखि जीवन र मृत्युको दोसाँधमा सिलिण्डरमा राखेको अक्सिजनले जीवनको अन्तिम पल बाँचिरहेकी छन् ।  

ताप्लेजुङको फावाखोला कुञ्जारीमा जन्मेर जीवनको अधिकांश समय ताप्लेजुङकै तेल्लोकमा बिताएकी मेरी आमाको लामो समय काठमाडौंमै बित्यो । बुबाको मृत्युपछि उनले जीवनको बाँकि समय झापामा बिताउने निर्णय गरिन् । अहिले दमक ९ को इन्द्रेणी टोललाई आफ्नो डेटलाइन बनाएकी छन् ।

यहाँबाट एक माइल पनि टाढा छैन, झापा ५ को एक मतदान केन्द्र पाणिनी माविस्थित मतदान केन्द्र  । एमालेको गढ दमक वडा ९ हो यो, यहाँबाट सबै जनप्रतिनिधि नै एमालेले जितेको छ । पूर्वराजा ज्ञानेन्द्रको चियावारीसमेत रहेको यस वडामा लगभग तीन हजार पाँचसय त चिया मजदुर नै छन् । जहाँ बसेका छन्, त्यहीको लालपूर्जा चाहिएका यी मजदुरहरू कता ढल्किन्छन्, त्यतैतिर पासा पल्टिनेवाला छ । २०४८ सालदेखि लालपूर्जा दिलाउँछु भन्दै भोट जित्ने ओलीको बोलीमा यसपटक पनि लठ्ठिने हुन् वा विकल्प खोज्ने हुन् ?, यसै भन्न सकिने अवस्था छैन ।

मेरी आमा, आज चुनाव हो भन्ने कुराले अलि जागा भएकी छन् । आमाका यस क्षेत्रमै मात्र पनि लगभग १०० नातेदार मतदाता छन् । उनलाई हेर्न आउने हरेकसँग आमा हातको इशाराको घण्टी बजाउछिन् । यसअघि सधैँ घामलाई ढोग्दै आएकी मेरी आमालाई यसपटक के कुराले घण्टी बजाउन बाध्य बनायो, हामीले सोधेका छैनौ र उनी भन्न सक्ने अवस्थामा पनि छैनन् ।

विहान ७: ३० बजे साइली भाउजु मेनुका र उनकी बुहारी सीता आमालाई हेर्न आए । मतदान गर्न जाने बाटो यही थियो । दुबैले आमालाई ढोग गर्दै सोधे, ‘आमा हामी भोट हाल्न जान लागेको; कसलाई दिउँ ?’

आमाले हातले घण्टी बजाएको इशारा गरिन् । आमाको मुखमा पुलुक्क हेरेर गोडा छोएर उनीहरू मतदान गर्न निस्किए । मेरो जेठो दाजुकी बुहारी विनिता पनि उनीहरूसँगै लागिन् । बिनिता त सुरूदेखि नै यसपटक घण्टी बजाउने भन्दैआएकी हुन् । उनी परिवर्तनका लागि पनि यसपटक घण्टी बजाउनुको विकल्प नभएको ठान्छिन् ।

मलाई लाग्छ, यी पंक्ति लेखिरहेको बेलासम्ममा त घण्टी टिनिनी मात्र हैन, टनन नै बजाइसकेका छन् । त्यसले बालेनको घण्टी मात्र बजाउँछ कि ओलीकै घण्टी बजाउँने हो ?, भोलि यतिबेलासम्म परिणाम आइसक्ने छ ।

तर, मेरी आमाको अनुहारमा देखिएको विश्वासले मलाई पनि के लागेको छ भने, झापा ५ मा चाँहि ओलीकै घण्टी बज्ने जस्तो देखिन्छ । किनकि, यहाँ जसले वर्षौदेखि सूर्यका लागि ओली बोके, उनै ओलीले सूर्यको पूजा हैन, कृया गरिदिए ।

घुम्दै फिर्दै रूम्जाटार भनेझैँ  फेरि पुरानै कुरामा फर्कने चाहेँ, 'आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो ।'

आज म त्यही त्रिवेणीमा उभिएर यो ब्लगको बिट मार्दैछु ।

मेरो सामु सिलिण्डरको अक्सिजनले जीवनको अन्तिम क्षण बाँचिरहेकी मेरो सत्य अर्थात् आमा सुतिरहेकी छिन् । बोल्न नसक्ने अवस्थाकी उनको अनुहार पढ्दा लाग्छ,  उनको अन्तिम चाहना भनेकै ओली हारेको सुन्नु हो । उनको यो प्रिय चाहनामा कतै मेरो बाबुको निष्कर्षले पनि काम गरेको हुनुपर्छ । उहाँ बिना हिच्किचाहट भन्नुहुन्थयो,  ‘ओली राहू हो । राहु चलुञ्जेल देशमा शान्ति हुँदैन ।‘

डाँडामाथिको घाम भैसकेकी मेरी आमा त्यो राहूको राजनीतिक जीवनको अन्त्य पर्खेर बसिरहेकी छन् । 

संजोगले यतिबेला म मेरो सत्य र मेरो विश्वास दुबै नजिकिदै गएको दोभानको सामु छु । म चाहन्छु, संयोग थपिएर  त्रिवेणी बनोस्  । र, त्यो त्रिवेणीमा डेटलाइन दमक झापाबाट लेखिएको यो ब्लग इतिहासकै एक महत्वपूर्ण दशी बनोस् ।

आगे जनता जनार्दन !

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!