बिएल संवाददाता
कर्णालीका लाखौं नागरिकको उपचारको अन्तिम भरोसा मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमै अत्यावश्यक एक्स–रे सेवा ठप्प भए पछि बिरामीहरू गम्भीर समस्यामा परेका छन्।
अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू अलपत्र परेका छन् भने अस्पताल प्रशासनको लापरबाही प्रति तीव्र आक्रोश बढ्न थालेको छ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेखलगायतका जिल्लाबाट उपचारका लागि आउने बिरामीहरूको मुख्य गन्तव्य यही शिक्षण अस्पताल हो। तर अहिले यही अस्पतालमा सामान्य एक्स–रे जाँच समेत हुन नसक्ने अवस्था सिर्जना भएपछि बिरामीहरू थप पीडामा परेका छन्।
सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सोसम्बन्धी रोगका बिरामीलाई उपचार अघि एक्स–रे अनिवार्य मानिन्छ। तर अस्पतालमा मेसिन बिग्रिएपछि चिकित्सकहरूले बिरामीलाई निजी क्लिनिक वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
यसले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका बिरामीहरूलाई थप मार परेको छ। टाढाबाट आएका बिरामीका आफन्तहरूका अनुसार अस्पताल पुग्दा एक्स–रे सेवा बन्द भएको जानकारी पाएपछि उनीहरू निराश भएर फर्किनु वा निजी क्लिनिक धाउनु पर्ने अवस्था बनेको छ।
‘दुईदिन हिँडेर अस्पताल आइपुग्यौं, तर यहाँ एक्स–रे हुँदैन भनेर बाहिर जान भनियो,’ एक बिरामीका आफन्तले आक्रोश व्यक्त गरे। सरकारी अस्पतालमा सेवा नपाएपछि निजी क्लिनिक धाउनुपर्दा खर्च दोब्बर भएको बिरामीका आफन्तको गुनासो छ।
स्थानीय बासिन्दाहरूका अनुसार कर्णालीका लागि जीवनदायिनी मानिएको अस्पतालमै आधारभूत सेवा ठप्प हुनु अत्यन्त दुःखद र लज्जास्पद विषय हो। अस्पतालमा दैनिक सयौँ बिरामी आउने गरेका छन्, तर एक्स–रे जस्तो अत्यावश्यक सेवा नहुँदा उपचार प्रक्रिया नै प्रभावित भएको छ।
प्रतिष्ठानभित्रै कर्मचारीकाे दादागिरी
अझ गम्भीर कुरा के भने यस्तो संवेदनशील अवस्थामा पनि अस्पताल प्रशासनले समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नगरेको आरोप लागेको छ। मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका छन्।
यता अस्पतालको रेडियोलोजी विभागको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठ्न थालेका छन्। अस्पताल स्रोतका अनुसार विभागका कर्मचारी मिलन तिमिल्सिनाले नियमित रूपमा काम नगरी केवल हाजिर मात्र गर्ने गरेका छन्।
तिमिल्सिना बिहान करिब १० बजे अस्पताल पुगेर हाजिर गर्ने र बाहिरिने अनि साँझ ५ बजे अस्पताल आएर आउट गर्ने तर दिनभरी अस्पतालमा नबस्ने गरेको त्यहाँकै कर्मचारीकाे गुनासो छ।
अस्पतालभित्रैका स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो व्यवहारबारे पटक–पटक गुनासो गरिएको भए पनि कुनै कारबाही भएको छैन। लिखित र मौखिक रूपमा धेरै पटक जानकारी गराइएको छ।
अस्पतालका एक स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा भने, ‘सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया आएको छैन। यसले संस्थाभित्र पहुँच र पावर भएका कर्मचारीमाथि कारबाही नहुने वातावरण बनेको भन्दै स्वास्थ्यकर्मीहरू नै चिन्तित बनेकाे बताए।
शक्ति र दम्भकाे आधारमा जागिरमा रहेका तिमिल्सिनाले अहिले मात्रै नभएर बेलाबेला अस्पतालमा आफ्नाे दम्भ देखाउने गरेका छन्। ‘अस्पतालकाे नीति नियममा नअट्ने तिमिल्सिनाले कसरी बिरामीकाे उपचारमा सहज वातावरण अपनाउँछन्?’ भन्ने प्रश्न गरेका छन्।
उनीहरूका अनुसार यस्तो प्रवृत्ति बढ्दै गए अस्पतालको सेवा प्रणाली नै कमजोर बन्ने खतरा छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको लापरबाही र प्रशासनको उदासीनता अस्वीकार्य भएको उनीहरूकाे भनाइ छ।
प्रतिष्ठान जस्तो राष्ट्रिय महत्वको संस्थाले कर्णालीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व बोकेको छ। तर अहिले देखिएको अवस्था भने त्यसको ठीक विपरीत देखिएको छ।
स्थानीय नागरिकहरूका अनुसार कर्णालीका धेरै जिल्लामा अझै पनि आधुनिक स्वास्थ्य सेवा उपलब्ध छैन। त्यसैले गम्भीर बिरामीहरूलाई अन्तिम विकल्पका रूपमा प्रतिष्ठानमा ल्याइन्छ। तर यहाँ पनि सेवा नपाउँदा बिरामीहरू थप जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।
‘कर्णालीका नागरिकको जीवनसँग खेलवाड भइरहेको छ,’ एक स्थानीय समाजसेवीले भने, ‘अस्पतालमा उपकरण बिग्रिएको छ भने तुरुन्त मर्मत गर्नुपर्छ। तर महिनौंसम्म सेवा बन्द हुनु भनेको व्यवस्थापनको गम्भीर कमजोरी हो।’
बिग्रिएको एक्स–रे मेसिन तत्काल मर्मत गरी सेवा सुचारु गर्न, आवश्यक परे नयाँ उपकरण खरिद गर्न र जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कडा कारबाही गर्न भित्रकै स्वास्थ्यकर्मीले माग गरेका छन्। साथै अस्पताल प्रशासनले सेवा अवरुद्ध हुनुको कारणबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी दिनु पर्ने मागसमेत उठ्न थालेको छ।
यता एक्सरे डिपार्टमेन्टका रेडियोग्राफर सतल रेउलेले एक्स–रे मेसिन यहि फागुन १९ गते रातिबाट अचानक बिग्रेकाे बताए। उनले भने, ‘एक्स–रे मेसिनकाे केबिमिटरमा समस्या आएकाले मर्मतका लागि जिल्ला बाहिर पठाइएको जानकारी दिए।
एक्सरे मेसिन बिग्रने र चुनाव बिदा सँगै भएकाले मर्मतमा ढिला भएको स्विकार्दै उनले फ्लाइट सुरु भए ४/५ दिनमा एक्सरे सेवा संचालन हुने जानकारी दिए।
यस्तै प्रतिष्ठानभित्रै दादागिरी देखाउने र काम समेत १० बजे आउने दिनभरी बेपत्ता हुने र साँझ ५ बजे आउट गर्न आउने कर्मचारीका विषयमा हामीले अस्पताल निर्देशक कमल थानीसँग जानकारी लिदा उनले अस्पतालमा यस्ता कुनै कर्मचारी नभएको दाबी गरे। उनले भने, ‘पहिला थिए हामीले कारबाही गरेका थियाैं। हाल यस्ता कर्मचारी छैनन्।’
निर्देशक थानीले भने, ‘हामी कहाँ कुनै माैखिक वा पत्र जानकारीका लागि आएको छैन। आगामी दिनमा यस्ता खालका कुनै कर्मचारी भए तत्काल कारबाही गर्छौं।’
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया