आफ्नै छोरीमाथि पटक पटक बलात्कार, मुख मैथुन र भिडिओ रेकर्ड…

जब पर्साको एक व्यक्तिको त्यो हर्कतबारे प्रहरीलाई सात समुद्रपारिबाट खबर आयो

डिल्ली पाण्डे

काठमाडाैँ
Break n Links
Break n Links

चैत्र १९ गते इन्टरपोलबाट नेपाल प्रहरीको साइबर ब्यूरोमा एउटा पत्र आउँछ। त्यो पत्र अनि त्योसँगै प्राप्त भिडिओ र तस्बिरहरूले नेपाल प्रहरी पनि चकित हुन्छ। 

खासमा त्यो नेपालकै एउटा यौन शोषणको घटना थियो। यो एउटा त्यस्तो घटना हो जो सुन्दामात्रै पनि पूरै ज्यान सिरिङ्ग हुन्छ। 

यो पर्सा जिल्लाको एक त्यस्ती छोरीको कथा हो जसलाई आफ्नै बुवाले घरमै बलात्कार गरिरहे। एकपटक होइन, पटक पटक। धेरै पटक।

बलात्कारमात्रै गरेनन्, भिडिओ बनाए। नीलो सिनेमाको स्टाइलमा उनले पोजिशन-पोजिशनमा जबर्जस्ती गरेका भिडिओहरू खिचेर उनले आफ्नै मोबाइलमार्फत गुगल ड्राइभमा सेभ गरे। 

त्यही भिडिओ देखाएर उनले यतिसम्म गरे कि मुख मैथुन र अरु अप्राकृतिक तरिकाबाट पटक पटक जबर्जस्ती यौन सम्पर्क गरिरहे। 

इन्टरनेटको जमाना हो यो। आफ्नै छोरी बलात्कार गर्ने उनलाई पत्तो थिएन, गुगल ड्राइभमा राखिएका त्यस्ता यौनजन्य हिंसाका भिडिओहरू कुनै न कुनै कुनाबाट निगरानी भइरहेका हुन्छन्। 

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको ‘नेशनल सेन्ट्रल अफ मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ले उनको गुगल अकाउन्टमा त्यस्ताखाले भिडिओ भएको थाहा पाएपछि लामो अनुसन्धान गरेको थियो। अनुसन्धानबाट एकजना बाबुले आफ्नै छोरीलाई निरन्तर बलात्कार गरिरहेको पत्ता लाग्यो र सेन्ट्रलले इन्टरपोललाई सबै प्रमाणसहित पत्र लेख्यो। 

त्यसैका आधारमा इन्टरपोलले नेपाल प्रहरीलाई पनि खबर गरेको थियो। त्यही खबरको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले ती व्यक्तिलाई पछ्याइरहेको थियो। 

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा प्रहरीले ती व्यक्तिलाई निरन्तर पछ्याउने क्रममा एक दिन आफ्नै घरमा फेला पार्‍यो। उनको घर पर्साको छपकैया हो। प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लियो र अनुसन्धान थाल्यो। 

प्रहरीले सुरुमा उनका छोराछोरीका फोटो देखायो। उनले रिसाउँदै भनें ‘यी मेरा छोराछोरीहरू हुन्…’

अनि प्रहरीले उनको जेठी छोरीको फोटो देखायो अनि उनी अत्तालिंदै भुँइमै ढले र भन्न थाले ‘कहाँ से पाया ये, इसे हटा दो…।’ 

त्यसपछि उनले आफ्नो अपराध काबोल गरे। अर्थात् उनले नाबालिका छोरीमाथि यौन शोषण गरेको स्वीकार गरे र घटनाहरूको फेहरिस्त भन्न थाले। हाल उनलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

भारतको मोतियारीमा स्थायी घर भएका उनी हाल परिवारसहित पर्साको छपकैयामा बस्छन्। उनकी जेठी छोरी १२ वर्षकी भइन्। छोरीलाई उनले कहिलेदेखि डराई धम्क्याइ बलात्कार गर्दै आएका हुन् त्यो भने प्रहरीले खुलाएको छैन। 

तर आफ्नै बाबुबाट यौन शोषणमा पर्दै आएकी ती बालिका निकै गम्भिर अवस्थामा छिन्। उनले लामो समयसम्म कसैलाई त्यो कुरा भनेकी थिइनन्। अत्ति नै भएपछि आमालाई भनेकी थिइन्। तर आमाले ‘समाजको डर’ देखाउँदै त्यो कुरा अरु कसैलाई नभन्न आदेश दिन थालिन्। ती व्यक्तिले भने आमा र छोरी दुबैलाई धम्क्याउँदै झन् झन् छोरीलाई बलात्कार गर्दै गए। 

उनले खिचेका भिडियोहरू गुगल ड्राइभमै राखेका थिए। ‘नेशनल सेन्ट्रल अफ मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ले त्यसलाई फेला पार्‍यो। बालबालिकामाथि हुने यौन हिंसा तथा शोषणका बारेमा गोप्य अनलाइन रिपोर्ट गर्ने इन्टरनेट प्लेटफर्म साइबर टिपलाइनले ती गुगल ड्राइभका ती यौन हिंसाजन्य सामग्रीहरूको शूक्ष्म निगरानी र विश्लेषण गरेर सेन्ट्रललाई उपलब्ध गराएको थियो। सेन्ट्रलले त्यसलाई प्रमाणित गरेर इन्टरपोललाई खबर गरेको थियो। इन्टरपोलले नेपाल प्रहरीलाई ती डकुमेन्टहरू दिएपछि यो घटनाबारे प्रहरीले अनुसन्धान गर्दै ती व्यक्तिलाई पछ्याएको थियो। 

‘यो घटना एमदमै गम्भीर हो। यसलाई हामीले साईबर टिपलाईन मार्फत समात्न सफल भएका हौं, यसको सुचना त नेशनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेनले दिएको हो’ ब्यूरोको प्रमुख डिआईजी नबिन्द्र अर्यालले भन्छन् ‘त्यहाँबाट प्राप्त फोटोहरू अनि तस्विरहरूका आधारमै अपराधी पत्ता लगाएर पक्राउ गर्नु अझ चुनौतीपूर्ण काम थियो। तर हाम्रो टीमले त्यसलाई अझ धेरै भेरिफाइ गरेर अनि विश्लेषण गरेर उनलाई पक्राउ गर्न सफल भयो।’ 

गत चैत २२ गते पक्राउ परेका ३४ वर्षीय ती व्यक्तिलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको छ। ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्कीका अनुसार घटनाबारे अझ विस्तृतमा अनुसन्धान भइरहेको छ। 

‘यो सामान्य अपराध होइन। यो एकदमै अमानवीय घटना हो। १२ वर्षीया बालिका अझ आफ्नै छोरीलाई मुखमैथुन गराउनेजस्तो अपराध उसले गरेको छ’ खड्की भन्छन् ‘अपराधबारे अझ विस्तृतमा अनुसन्धान भइरहेको छ। बाँकी कुराहरू पनि खुल्दै जालान्।’ 

‘नेशनल सेन्ट्रल अफ मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ अमेरिकी राज्य भर्जिनियामा मुख्यालय भएको एउटा अन्तर्राष्ट्रिय संस्था हो। जसले संसारभरि नै बालबालिकामाथि हुने शोषण र हराइरहेका बालबालिकाको खोजीमा सहयोग गर्छ। इन्टरनेटमा उपलब्ध सामग्रीहरूको शूक्ष्म निगरानी र विश्लेषण गरेर उसले बालबालिकामाथि हुनेगरेका यौन, श्रम शोषणबारे अध्ययन र अनुसन्धान गर्छ। संसारका सबै इन्टरनेट प्लेटफर्महरूले यो वैश्विक कार्यका लागि सेन्ट्रललाई अनुमति दिएका छन्। इन्टरनेटमा उपलब्ध जतिसुकै गोप्यरुपमा राखिएका सामग्रीहरूमाथि पनि उसले निगरानीको पहुँच राख्दछ। 

संसारभर नै यौन शोषण त्यसमा अझ बाल यौन शोषणलाई निकै गम्भिर अपराधका रुपमा लिइन्छ। यो एक अन्तर्राष्ट्रियस्तरकै अपराध पनि हो। संसारका जुनसुकै व्यक्ति वा जुनसुकै ठाउँमा हुनेगरेका यस्ता अपराधहरूको कुनै पनि अंश इन्टरनेटमा छ भने त्यो अपराध र अपराधि एक न एक दिन पत्ता लागिहाल्छ। 

प्रकाशित मिति: : 2025-04-11 17:30:00

प्रतिकृया दिनुहोस्