रुद्रमणि रेग्मी
जनताको नेतृत्वप्रतिको चरम वितृष्णा र वितृष्णाको धमिलो पानीमा लोकरिझ्याइँको माछा मार्ने राजनीतिले देशलाई कुन दिशातर्फ लैजान्छ? यो खालको परिस्थिति र प्रवृत्तिले मुलुकलाई समृद्धि र स्थायीत्वतर्फ लैजाँदैछ कि एक भयानक भड्खालोतर्फ?
हामी सबैलाई थाहा छः राजनीति मुलुक र जनताको मार्गनिर्देशन गर्ने साधन हो। यथार्थमा हुनुपर्ने नीतिको राज हो। तर, विडम्बना नीतिमाथि राज भइदिँदा यही राजनीतिमा स्वार्थ र धूर्तता मक्किएर विचारधारा बन्धक बनेको छ। जसको परिणाम स्वरुप जनतामा निराशा र वितृष्णा उत्पन्न भएको हो।
समृद्धि ल्याउँछौं, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौं, भ्रष्टाचार अन्त्य गर्छौं भनेको जनताले बर्षौंदेखि सुनेका छन्। तर सत्तामा पुगेपछि चुनावी नारा भुलिन्छन्, वाचा कागजमै सीमित रहन्छन्। जसको परिणाम स्वरुप आज जनता निराशा र वितृष्णाले ग्रस्त भएका छन्।
जनतामा फैलिएको यही चरम निराशा र वितृष्णाको फाइदा उठाएर आफ्नो स्वार्थको रोटी सेक्न विभिन्न वर्ग र समूहहरू सलवलाउन थालेका छन्। जो राजनीतिलाई केवल शक्ति हत्याउने औजार ठान्छन्। उनीहरू सँग न कुनै योजना छ, न कुनै दृष्टिकोण छ, न त कुनै विचार छ, न त नेतृत्व दिन सक्ने सामर्थ्य नै छ।
उनिहरूसँग सामर्थ्य छ त केवल ‘सबै पूराना नेताहरू चोर हुन्’, ‘हामी जति जान्ने अरू कोही छैन’, ‘हामी नै नयाँ युग ल्याउँछौं’ भन्दै जनताको भावनामा खेल्न। त्यो पनि जनताको पीडा बुझेर होइन, जनताको निराशालाई हतियार बनाएर धमिलो पानीमा माछा मार्न।
जब राजनीतिमा विचारको ठाउँमा नाराको होड लाग्छ, नीति निर्माणको साटो भिडको रुझान हेरेर निर्णय गरिन्छ, तब मुलुक विधिविहीन बाटोतर्फ जान्छ। विधि होइन, व्यक्ति केन्द्रीत सत्ता निर्माण हुन्छ। यस्तो अवस्थामा नीति, योजना र दीर्घकालीन सोचको स्थान उथलो लोकप्रियताले लिन्छ।
यस किसिमको राजनीतिले देशलाई यसरी तहशनहश बनाउँछ कि सत्यभन्दामाथि भिड, संविधानभन्दा ठूलो भीड, व्यवस्थाभन्दा ठूलो क्रोध। अन्ततः यस्तो सोचले संस्थाहरू ध्वस्त पार्छ, कानुनी संरचनालाई कमजोर बनाउँछ, समाज ध्रुवीकृत हुन्छ र राज्यको स्थायीत्व नै डगमगाउने खतरा रहन्छ। यसैको अन्तिम परिणाम हो- भड्कालो। जहाँ न कुनै योजना बाँच्छ, न नेतृत्व, न राज्य।
लोकरिझ्याइँको राजनीति जनताको क्रोधको लहर चढेर सत्तामा पुग्न सक्छ, तर त्यो लहरले अन्त्यमा उसलाई डुबाउँछ पनि। देशमा जहाँ न्याय, नीति र स्थायीत्व होइन, भावनाको व्यापार हुन्छ, जो भिडसँंगै दौडिएर लोकरिझ्याइँको राजनीति गर्छ उ क्षणिक लोकप्रिय त कहलिएला तर, उसको अस्तित्व भिडसँगै समाप्त भएर जान्छ।
लोकरिझ्याइँको राजनीति गर्नेहरू कायर हुन्। तिनीहरू अप्ठ्यारो परिस्थितिबाट भाग्छन्। नेतृत्व भनेको सजिलो बाटो रोज्ने होइन, सत्य र नैतिकताको बाटोमा एक्लै हिँड्नसक्ने साहस राख्नसक्ने हुनुपर्छ। भिड जता लाग्यो त्यतै दौडिनेलाई नेता भन्न मिल्दैन। साँचो नेता त त्यो हो जो कठिन परिस्थितिमा सत्यको पक्षमा एक्लै पनि अडिग रहन्छ, डराउँदैन बरू अरूलाई पनि डर जित्न सिकाउँछ।
आजको दिनमा अब जनता केवल आशा मात्रै होइन, परिणाम पनि खोजिरहेका छन्। जनताको यो आवाजलाई सही दिशामा पुर्याउन नेतृत्व परिवर्तनले मात्रै पर्याप्त छैन, नेतृत्व संस्कारको पनि परिवर्तन जरूरी छ। जहाँ व्यक्ति होइन, विधी र पद्वतिबाट शासन व्यवस्था सुदृढ पारिन्छ। अदालत, अख्तियार र निर्वाचन आयोग स्वतन्त्र र सक्षम भएको खण्डमा मात्रै पनि जनताको लोकतन्त्रप्रतिको आस्था बलियो भएर आउँछ।
त्यसैले अब नेतृत्व मात्रै होइन, नेतृत्व सँगसँगै नेतृत्व चिन्ने दृष्टिकोण पनि बदलौँ। हामीले राष्ट्रलाई भड्खालोमा होइन, स्थायीत्व र समृद्धिको बाटोमा लैजानसक्ने विवेकपूर्ण नागरिकको भूमिका निर्वाह गर्न सक्नुपर्छ। भविष्य नाराले होइन, विचार, योजना, चरित्र र कार्यदृष्टिले बन्छ।