प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै उनले ठुला दलको साझेदारीमा बनेको सरकार नढल्ने बताएका हुन्।
देशमा विकासमा जुट्न सुझाउँदै सरकार ढल्छ भन्ने हल्लाको पछि नलाग्न ओलीको आग्रह थियो।
000
तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गरिएकाे छ।
हालैमात्र क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका उनलाई उपचारकाे लागि रिहा गरिएकाे हाे।
उपचारलगत्तै उनलाई फेरि कानुनी प्रक्रियामा ल्याइने प्रहरीले जनाएको छ।
गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।
000
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्।
शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्र
बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने उनकाे भनाइ थियाे।
000
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजिएको भन्दै सर्वोच्चमा रिट परेको छ।
शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका हुन्। यसको पेसी आइतबारलाई तोकिएको छ।
रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय र स्वयं डा. गुणाकर भट्टलाई विपक्षी बनाइएको छ।
यसअघि भने भट्टले राजिनामी बुझाइसकेका छन्।
000
धरानका नगर प्रमुख हर्क साम्पाङले सामुदायिक वन क्षेत्रमा रुख काटेको भन्दै डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ।
मेसिन प्रयोग गरेर आफैंले अनुमति विना रुख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो।
साम्पाङले चैत्र १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन वन कार्यालय सुनसरीमा परेको थियाे।
000
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरूल तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको उनको भनाइ थियो।
000
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको बताएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने बताएको छ।
विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डको भनाइ छ।
000
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु हुने जनाएको छ।
यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस-१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ।
आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ।
मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ।