शेखर कोइरालाको नेतृत्वमा बृहत् लोकतान्त्रिक ध्रुवीकरण आजको आवश्यकता

Break n Links
Break n Links

-यज्ञप्रसाद भट्टराई

देशले पटकपटक राजनीतिक व्यवस्था परिवर्तन गर्‍यो तर जनताको अवस्थामा सुधार हुन सकेन। देशमा भएका राजनीतिक परिवर्तनको रसस्वादन केवल नेतृत्व र नेतृत्वका आफन्त र आसेपासेले मात्रै लगातार उपयोग र उपभोग गर्न थालेपछि नेपाली जनतामा राजनीतिक दलहरूप्रति विगतदेखि नै वितृष्णा पैदा हुँदै ०७९ को आम निर्वाचनसम्म आइपुग्दा वैकल्पिक दलको रोजाइसम्म पुगिसकेको अवस्था छ। 

शिक्षामा राजनीति, स्वास्थ्यमा राजनीति, विकासमा राजनीति, जता हेर्‍यो उतै राजनीति नै राजनीति भएपछि जनताका आधारभुत आवश्यकता समेत ओझेलमा परिसकेका छन्। जनताको दैनिकी चल्न समेत नसक्ने गरी थला परेको गाह्रो अवस्था भइसक्दा समेत देश चलाउने ड्राइभरले दह्रोसँग स्टेरिङ्ग समाउन नसकेको देख्दा दुःख लाग्छ।

देश बनाउन अत्यधिक पैसा चाहिन्छ भनेर देशभित्र र देश बाहिरबाट आर्थिक सहयोग र वैदेशिक ऋण लिँदा पनि देशको आर्थिक अवस्था झनझन् तहसनहस बन्दै गएपछि देश पैसा र पावरले मात्रै बन्ने हैन रहेछ, देश बनाउन त राजनीतिक नेतृत्वमा जहिले पनि देशप्रतिको माया हुन जरुरी छ भन्ने विचारमा पुगेका छन् डा. शेखर।

त्यसैले त उनले केहि समयअघि एक कार्यक्रममा यूएसआईडीले सहयोग रोक्का गरेकोमा आफू दुःखी नभएको बताएका थिए। उनले जनतामा नेतृत्वप्रतिको पूर्ण विश्वास कायम रहन सक्यो भने अनि नेतृत्वमा जनताप्रति इमानदारीताको पालुवा पलाउन सक्यो भने देश बनाउन कुनै वैदेशिक सहयोग र वैदेशिक कर्जाको लागि कसैसँग हात फैलाउन नपर्ने आफूले नेपाली जनताबाट पाठ सिकेको  बताएका छन्। 

जनतालाई विकाससँग जोडनुपर्छ, अब विकासको मोडेल फेर्नुपर्छ, विकासलाई राष्ट्र हितसँग जोडदै जनताको सहभागिता अनिवार्य गराउनु पर्छ भन्ने भावना राखेका डा. शेखर नेपाली जनताको राजनीतिक दल र दलका नेताहरूप्रति सकारात्मक भावना जागृत गराउन सके जनतामा देश विकासको भावना आफैं पलाउछ भन्दै नेतृत्वको देश र जनताप्रतिको दृढ संकल्पले देशलाई समृद्ध र समुन्नत बनाउन सकिने आत्मविश्वास रहेको बताउँछन्।

नेपाली जनताले नेपालको राजनीति अति सूक्ष्म तरिकाले अध्ययन गरिसकेका छन्। को पानी माथिको ओभानो छ? भनेर राम्ररी चिनिसकेका छन्। खोलो तरिसकेपछि लौरो बिर्सिने वर्तमान कांग्रेस नेतृत्वका कारण नेपाली जनताले नेपाली कांग्रेसप्रतिको अगाथ प्रेम र समर्थनप्रति औंला उठाउन थालिसकेका छन्। भुस निफनेर चामल ननिस्कने भएपछि अहिले कांग्रेसभित्र भरिलो धानको खोजी भइरहेको छ। 

व्यक्ति जोगाउने कि पार्टी? विचार जोगाउने कि व्यभिचार जोगाउने? आशा जगाउने कि अत्याचार? इमान्दार जोगाउने कि तस्कर? भन्ने बहश हुन थालेको छ। सिङ्गो पार्टीभित्र नेपाली जनतामा देखिएको अविश्वासलाई चिर्दै विश्वास फर्काउने कि वितृष्णा? भन्ने विषयमा खुल्ला छलफल शुरु भएको छ। 

यस महान र असहज तर नगरी नहुने कार्यका लागि नेपाली कांग्रेसभित्र सबैको एकमत बन्दै गएको देखिन्छ। अहिलेको अवस्थामा देश बनाउने र कांग्रेस बचाउने एकमात्र विश्वास र भरोशा योग्य नेता डा. शेखर कोइराला नै हो भनेर साझा धारणा बनाउने कांग्रेस नेतृत्वको संख्या समेत बढदै गइरहेको अवस्था छ।

नेपाली कांग्रेसभित्रकै सबैभन्दा त्यागी, ठुला र दार्शनिक नेता भएकोले डा. शेखर कोइरालालाई नेपाली जनता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अत्यधिक विश्वास, भरोषा र समर्थन गरेको किमार्थ पनि होइनन्।

बरु उनी त नेपाली जनताको दुःख, दर्द र कष्टहरू सहितको जनभावना बुझ्ने, तत्काल नेपाली जनताका साथमा पुग्ने, देश र जनताका आवाज बुलन्द रुपमा उठाउने, पार्टीमा होस या सरकारका गलत कदमको डटेर विरोध गर्ने आफू पनि विधि र पद्धतिमा चल्ने अनि अरुलाई पनि विधि र पद्धति अनुसार चल्न अभिप्रेरित गर्ने आफ्नो विचारमा भिष्म पितामह झैं सधैं अडिग रहने, अरु सयौं नेताजस्तो भ्रष्ट र अपराधिक क्रियाकलापमा अहिलेसम्म सरिक नभएका, खराब आचरणमा सामेल नभई देश र जनताको भलाइका लागि निरन्तर लडिरहने एक असल अभिभावक भएकोले नेपाली जनताले अत्यधिक विश्वास र भरोसा गरेका कारण नै नेपाली जनताले उनलाई साथ दिएका हुन, समर्थन गरेका हुन्। यो कुरा बुझ्दै जाने नेपाली जनताले अब डा. शेखरलाई नजिकबाट चिन्दै जान थालेका छन्।

नेपाली जनताहरूको एउटै चाहना छ, अब यो देशको नेतृत्व डा. शेखर कोइरालाले गर्नुपर्छ। नेपालको संविधान अहिले लाटाको धोती जस्तो जसले जसरी उपयोग गरेपनि हुने अवस्थामा पुर्‍याइएको छ। यसलाई सुधार र जनतालाई संविधानप्रति विश्वास जगाउनु छ। व्यक्तिगत र दलगत स्वार्थपूर्तिका लागि देशको संविधानको गलत व्याख्या गर्न थालिएको छ। त्यसलाई विधिसम्मत सही ट्रयाकमा नल्याउने हो भने नेपाली जनतामा देशकै संविधान र कानुनप्रति विश्वास र भरोसा हराउँदै जाने अवस्था एकातर्फ अनि नेपाली कांग्रेसको विधानअनुसार नचल्ने कांग्रेस नेतृत्वका विरुद्धमा पनि लडनु पर्ने अर्को समस्या छ। 

यी दुवैको बचाउ गर्न र नेपाली जनताको राजनीतिप्रतिको वितृष्णा फर्काउन डा. शेखरले अब नेपाली कांग्रेसभित्र आक्रामक नेतृत्व गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सम्बोधन गर्न समेत अहिले डा. शेखर मात्रै एकमात्र विश्वासपात्रका रुपमा देखिएका छन्। 

नेपाललाई एसियाकै पहिलो गरीब देश बनाउने महामहिमहरूलाई निरन्तर सत्ता सुम्पिरहने, आफू भने सधैं अभाव र महंगीले थिचिइरहने छुट अब नेपाली जनतालाई छैन। नेपाली जनताले डा. शेखर कोइरालाबाट मात्रै देशमा राजनीतिक स्थायित्व र गुणात्मक विकासको अपेक्षा गरेका छन्। विगतमा जसरी गिरिजाबाबुलाई अगाडि नसारी नेपालको लोकतान्त्रिक परिवर्तनको आन्दोलन अघि बढ्दैनथ्यो त्यसरी नै अहिले नेपाली कांग्रेसमा डा. शेखर कोइरालालाई अगाडि नसारी नेपाली जनताको विश्वास र भरोसा नरहने अवस्था सिर्जना भइसकेको छ। 

त्यसैले नेपाली राजनीतिमा देशको अवस्था सुधार्न र लोकतान्त्रिक व्यवस्था जोगाउने एकमात्र विकल्प भनेको डा. शेखर कोइरालाको नेतृत्वमा बृहत् लोकतान्त्रिक ध्रुवीकरण गर्नु नै आजको अपरिहार्य आवश्यकता भइसकेको छ।

प्रकाशित मिति: : 2025-06-01 20:30:00

प्रतिकृया दिनुहोस्