आइतबार, २७ जुलाई २०२५

विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ

News Image
• • •

नेपालको वर्तमान राजनीतिको केन्द्रमा अहिले एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्या भण्डारी हुनुहुन्छभन्दा गलत नहोला। खासमा मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर उहाँले आफूले एमाले पार्टी सदस्यता नवीकरण गरिसकेको र अब एमाले पार्टीमा रहेर सक्रिय राजनीति गर्ने घोषणा गरेपछि उहाँ चर्चाको केन्द्रमा रहनु भएको छ। 

त्यसमाथि उहाँले सदस्यता नवीकरण गरेको लामो समय पश्चात उहाँको नविकरणलाई अमान्य ठहर गर्दै उहाँलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय केपी ओलीले एमाले पार्टीको केन्द्रीय कमिटी बैठकमा सुनाएपछि त झन उहाँ आम चर्चाको विषय हुनु स्वाभाविक नै हुने भइगयो। 

एमाले पार्टीले त्यो खालको निषेधात्मक निर्णय लिइसकेपछि अहिले समाजमा विद्या भण्डारीले सक्रिय राजनीतिमा आउनु ठिक वा बेठिक के हो भन्नेदेखि अबको उहाँको कदम के कस्तो हुनुपर्छ वा पर्थ्यो भन्ने ढंगबाट चर्चा परिचर्चा भइरहेको छ। देशको राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन लागेको पहिलो अनुभव भएको हुँदा त्यसमा आम चासो रहनु र अनेकन कोणबाट चर्चा हुनु स्वाभाविक नै हो। 

त्यसैले त्यस्ता छलफल र बहसहरूलाई अन्यथा नमानिकन अगाडी बढन दिनुपर्छ तर त्यसो गर्दै गर्दा पनि बहस र छलफलमा प्रस्तुत तर्कहरूलाई प्रस्तुतकर्ताहरूले कुन नियतले प्रस्तुत गरिरहेका छन भन्ने विषयलाई गम्भीरता साथ लिने र सही नियत भएकाहरूसँग स्वस्थ रुपमा तथ्यपूर्ण बहस गर्ने काम गर्नुपर्छ। 

त्यस्ता बहस र छलफलबाट एउटा सही र साझा निष्कर्षमा पुग्नुपर्छ अनि गलत नियत राखेर आफ्नो स्वार्थ अनकुलको तर्क राख्नेहरूको हकमा चाहीँ उनीहरूको असली अनुहार देखाइदिन आवश्यक निर्ममता राख्दै उनीहरूको भण्डाफोर गर्नुपर्छ।

त्यसैले सुरुमा चर्चा गरौँ विद्या भण्डारी राजनीतिमा सक्रिय हुने विषयले गणतान्त्रिक व्यवस्थाको मर्ममै प्रहार हुने हो कि भन्ने सकारात्मक चासो र चिन्ता राखेर व्यक्त विचारहरूको। 

हो, सामान्यत राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा नआएको भए हुने भन्ने मान्यता ठिक हो। आम राजनीतिमा नेतृत्व विकास सही ढंगले चलिरहेको अवस्थामा हुन्थ्यो भने, राजनीतिमा सुसंस्कार र देशभक्ति संस्थागत भइसकेको अवस्था हुन्थ्यो त्यो तर्क झनै यथार्थपरक र ठिक ठहर्थ्यो। 

तर हाम्रो देशको दुर्भाग्य नै भनौं विद्यमान श्रीष राजनीतिक तह आम रुपमा या त भ्रष्ट भइसकेको वा अकर्मण्य सावित भइसकेको अनि तिनलाई विस्थापन गर्न सक्ने वैकल्पिक राजनीतिक दल वा नेताहरू तयार भइनसकेको वर्तमानमा भए/रहे मध्यकै इमान्दार, अनुभवी र सक्षम विकल्पमा जानुपर्ने हुन्छ। 

त्यसो हुँदा परिस्थितिको बाध्यताले गर्दा विद्या भण्डारी जत्तिको अनुभवी राजनीतिज्ञ सक्रिय राजनीतिमा आउने विषयलाई स्वच्छ नियतले सैद्धान्तिक रुपमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा नआए हुने भन्ने ठान्नेहरूले पनि कोरा सिद्धान्तको पछि लागेर देशलाई बन्धक बनाउन नहुने सत्य स्वीकार्नु उचित देखिन्छ। त्यही पंक्तिले अर्को के पनि भुल्न हुँदैन भने पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा उपभोग गर्दै तामझामसहित विद्या भण्डारी सक्रिय राजनीतिमा आइरहनु भएको छैन। 

उहाँ त आफूले पाउने सेवा सुविधा त्यागेर एक प्रकारले भन्नुपर्दा अनेकन अभाव, दुःख कष्ट सहन तयार भएर देश बनाउने संकल्प बोकेर राजनीतिमा फर्कंदै हुनुहुन्छ। त्यसैले पनि निःस्वार्थ भावना राख्ने कोही कसैले पनि विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनारागमनबाट तर्सिनु पर्दैन र हुँदैन।

यहाँ सबैले बुझ्नु पर्ने के छ भने शब्दमा सही सिद्धान्त लिएर गलत काम गर्नुभन्दा व्यवहारले राम्रो गर्दै नयाँ सिद्धान्त सिर्जनाको अवस्था निर्माणको कोशिसले पनि अवसर पाउनुपर्छ।

त्यसपछि चर्चा गरौँ अनेकन तर्कहरू अगाडी सारेर विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने तिकडमपूर्ण कोशिस र त्यसैको परिणाम स्वरूप भण्डारीको सदस्यता नवीकरण निस्तेज गर्दै राजनीतिमा आउनबाट रोक्ने एमालेको निर्णयको औचित्यहीनता र त्यसको बर्खिलाफको अनिवार्यताको। 

सबैभन्दा पहिलो कुरो त एमालेको त्यो निर्णय संविधानले सुरक्षित गरेको नागरिकको मौलिक हकको खिलाफ हो भनेर स्वयम् विद्या भण्डारीले पत्रकार सम्मेलनमार्फत नै स्पष्ट पारिदिनु भएको छ। 

त्यति मात्रै नभई संविधानको मर्म अनि पार्टीकै विधि विपरित आफ्नो सदस्यता खारेजीको लहडी निर्णय आफूले नमान्ने घोषणा पनि विद्या भण्डारीले गरिसक्नु भएको छ। त्यसो हुँदा कोही कसैको नेतृत्व निरन्तरता हुने अनि कोही कसैले त्यस माध्यमबाट आफूमा उत्तराधिकार स्वतः आउने ठानेको आधारमा प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्दै अगाडी बढन तम्सिनु भएकी विद्यालाई रोक्ने षड्यन्त्र रुपी निर्णयको बर्खिलाफको अनिवार्यता बारे खासै केही चर्चा गर्न नपर्ला। 

यद्यपि विद्या भण्डारीलाई रोक्नकै लागि तिकडमपूर्ण रुपमा राष्ट्रपति पदको गरिमाको स्मरण गर्दै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा गणतन्त्र कमजोर हुन्छ भन्ने तर्कभित्र लुकेको स्वार्थ र त्यस्तै तर्क गर्नेहरूको विगतले उहाँहरूलाई जिस्क्याई रहेको तथ्य चाहीँ सुस्पष्ट रुपमा राख्नु सही र समय सान्दर्भिक छ।

हामी सबैले बुझेकै कुरा हो कि नेकपा एमालेका अध्यक्ष केपी ओली कुनै हालतमा नेतृत्व छोडन तयार हुनुहुन्न। त्यसैले गर्दा नै उहाँले हिजो आफू नेतृत्वमा पुग्ने आधार निर्माण गर्ने हेतु आफैंले कुनै बेला पार्टी विधानमा राखेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान आज हटाउनु भएको पनि बुझिएकै छ। 

अनि एमाले महासचिव शंकर पोखरेल आफ्नो अन्तर्मुखी व्यक्तित्वको कारण महाधिवेशनमा चुनाव जितेर नेतृत्व लिन आफू असमर्थ रहेको बुझेर थप एकपटक ओलीलाई अध्यक्ष हुन सघाएमा उहाँले सौराहामा महासचिव टिका लगाएर दिए झैं अध्यक्ष पनि दिनु होला भन्ने आशा र विश्वासले अहिले अनेकन तर्क गरेर विद्या भण्डारी रोक्न सक्रिय रहनु भएको सत्य पनि घाम जत्तिकै छर्लंग छ। 

त्यसैले केपी ओली र शंकर पोखरेलको यो नियत स्पष्ट पारिसकेपछि उहाँहरूले गर्ने तर्कहरू केवल तर्क को लागि तर्क हुन भनेर भनिरहन नपर्ला। तर त्यति हुँदा हुँदै पनि आज पूर्वराष्ट्रपतिले गणतन्त्रको मर्यादा जोगाउन पर्छ भन्ने तर्क गर्ने केपी ओली र शंकर पोखरेलहरूले हिजो उनै विद्या भण्डारी राष्ट्रपति पदमा बहाल रहँदा मन्त्रिपरिषदको निर्णय मान्नु पर्ने संवैधानिक बाध्यता देखाउँदै राष्ट्रपति संस्था र त्यसमा आसिन विद्या भण्डारीको हुर्मत लिएको हैन? 

अनि विगतमा बहालवाला राष्ट्रपति विद्या भण्डारीलाई मर्यादामा रहन नदिनेले आज उहाँ पूर्वराष्ट्रपति भइसकेको अवस्थामा विद्या भण्डारीलाई नै राष्ट्रपति मर्यादा सम्झाउँने विषय मिठो मजाक बाहेक के हुनसक्छ? भनेर उहाँहरूलाई सोध्ने ताकत राख्नुपर्छ। भलै उहाँहरूले त्यसमा तथ्यपूर्ण जवाफ दिने कुनै गुञ्जायस छैन। 

तसर्थ विद्यालाई रोक्न केपी ओली र शंकर पोखरेलले गरिरहनु भएको तर्क र उहाँहरूको नियत र विगतसँग मेल खाने नभएकोले त्यो खारेजभागी छ भन्ने बाहेक अरु केही भन्नै पर्दैन।

त्यसपछि राष्ट्रपति भइसकेको मान्छे फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न राजनीतिमा फर्कने हो त? भन्दै सवालयुक्त तर्क गर्नेहरूको तर्कको पनि चर्चा गरौँ। त्यस्तो तर्क गर्नेहरूले बुझ्न नचाहेको वा बुझेर पनि बुझ पचाएको कुरा के हो भने- हाम्रो नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति पद शरीरमा उर्जा अनि मनमा सफलताको शिखर चढने दृढता भएको कोही पनि मानिस जान चाहने पद हैन। किन? 

किनभने नेपालको संविधानले राष्ट्रपति पदमा रहनेलाई कार्यकारीको सिफारिस कार्यान्वयन गर्ने कारिन्दाभन्दा थप केही मानेको छैन। त्यसैले नै राष्ट्रपति बन्ने अफर विगतमा एमालेमै माधव नेपालले इन्कार गर्नु भएको हो भने अरु कोही त्यसमा जान नचाहेको। त्यसो हुँदा ‘राष्ट्रपति भइसकेको’ मान्छे भन्दै सनसनी खडा गरेर राष्ट्रपति हुनुलाई के के नै हो भन्ने पार्न जरुरी छैन। 

त्यसको अलावा विद्या भण्डारी स्वयंको चाहनाले नभई पार्टीभित्रका केही लोभी पापीको जोडमा भएको निर्णयले उहाँ राष्ट्रपति बन्नु भएको हो भन्ने सत्य पनि कहिल्यै भुलिनु हुँदैन। उहाँ राष्ट्रपति पदको लागि उम्मेद्वार बन्नु भएको अवस्थामा बधाई दिन फोन गर्दा पंक्तिकारसँगै उहाँले ‘मलाई त थन्काउन खोजेर यहाँ पठाउन लागियो, बधाई के दिनुहुन्छ? मलाई कुनै हर्ष छैन।’ भन्नु भएको हो।

त्यसो हुँदा रहरले नभई बाध्यताले सम्हालेको पदमा रहँदा पनि अत्यन्त जिम्मेवारीपूर्ण रुपमा काम गरेर कार्यकाल सकेर सामान्य नागरिक भइसकेको अवस्थामा ‘सक्रिय राजनीतिमा फर्कन पाइन्न’ भन्दा त अन्याय बाहेक अरु के नै हुन्छ र? झन जुन पार्टीले नेतृत्व गर्ने अवस्थाको निकट पुगेको अवस्थामा आफ्नो नेता विद्या भण्डारीलाई आलंकारिक राष्ट्रपति पद सम्हाल्न पठाउने निर्णय लियो, त्यसैले सफलतापूर्वक जिम्मेवारी पुरा गरेर फर्किएर राजनीतिमा पुनः सक्रिय हुन खोज्ने विद्या भण्डारीलाई रोक्न खोज्नु झनै ठुलो अन्याय सिवाय के नै पो हुन्छ र? 

अनि कतिपयले ‘रामवरण यादवलाई कांग्रेसको राजनीतिमा फर्कन नपर्ने अनि विद्यालाई चाहिं किन पर्ने?’ भनेको पनि सुन्नुपर्यो। त्यस्तो भन्नेहरूले पनि बुझ्न पर्यो कि रामवरण यादव गिरिजाप्रसाद कोइरालालाई माओवादीले राष्ट्रपति बनाउन इन्कार गरेको अवस्थामा जित्ने सम्भावना न्यून रहेको स्थितिमा केवल उम्मेद्वार बन्नलाई बनेको अनि सौभाग्यले जितेको व्यक्ति हो। 

उहाँले राष्ट्रपतिको रुपमा गरेको कामप्रति सम्मान हुँदाहुँदै पनि यति भन्नैपर्छ कि उहाँ विद्या भण्डारी जस्तो पार्टी भित्र अति लोकप्रिय रहेको र सम्भावित नेतृत्वको रुपमा हेरिएको अवस्थाकै बीच बाध्यताले राष्ट्रपति पदमा गएको मानिस हुनुहुन्न। अनि त्योभन्दा महत्वपूर्ण कुरा भनेको चाहीँ उहाँ विद्या भण्डारीले जस्तो सरकारी सेवा सुविधा लिन्न भनेर घोषणा गर्ने साहस प्रकट गर्दै सक्रिय हुनु भएको छैन र हुने आसय पनि देखाउनु भएको छैन। 

त्यसैले विद्या भण्डारी र रामवरण यादव दुवै सफल र सम्मानित पूर्वराष्ट्रपति भए पनि सक्रिय राजनीति गर्ने दृढता र उपयुक्तताको हिसाबले तुलना नै गर्न नमिल्ने पात्रहरू हुनुहुन्छ। त्यसमाथि पनि रामवरण सेवा सुविधा त्यागेर सक्रिय हुनु भएको छैन भन्दैमा विद्या भण्डारीले पनि हात बाँधेर थन्कनु पर्छ भन्ने त कुनै तर्क नै हुन सक्दैन।

अत; देशको राजनीतिक अन्योलता र अनिश्चितताबाट गुज्रिरहेको वर्तमानमा विद्या भण्डारी जत्तिको अनुभवी नेता सक्रिय राजनीतिमा फर्कने विषयलाई स्वागत गरिनु पर्छ। 

आम रुपमा राजनीतिक दलका नेताहरू आफ्नै कर्मले अलोकप्रिय र अविश्वसनीय भइरहेको अवस्थामा विद्या भण्डारी जत्तिको इमान्दार, स्वच्छ र दृढ निश्चयी नेता देशलाई सम्वृद्ध र जनतालाई सुखी बनाउने संकल्पसहित अगाडी बढने विषयमा अवरोध बन्न खोज्नेहरूको षड्यन्त्रलाई चकनाचुर पार्दै विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमन देशको लागि एउटा सुनौलो अवसर बन्न सक्छ। 

त्यसैले कोही कसैको तिकडमकै भरमा विद्या भण्डारीको पाइला अब रोकिनु हुँदैन, बरु झन दृढता साथ अगाडि बढ्नुपर्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!