सोमबार, ०३ नोभेम्बर २०२५

नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र

News Image
• • •

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम्॥’ (भगवद्गीता ४.७)— जब जब अन्याय र असमानता बढ्छ, तब तब समाजमा नयाँ पुस्ताले विद्रोह गर्छ। मानव इतिहासमा हरेक पुस्ताले आफ्नो असन्तोषलाई आवाज दिने काम गरेको छ— कसैले कलमबाट, कसैले सडकबाट, कसैले सामाजिक सञ्जालबाट।

२०११ को इजिप्टको ‘अरब स्प्रिङ’ आन्दोलन होस् या अहिले नेपालको ‘जेन–जी आन्दोलन’, दुवै युवाहरूको न्याय, समानता र इमानदार शासनको खोजको प्रतीक हुन्। तर यी आन्दोलनहरूको यात्राले एउटा कठोर यथार्थ देखाउँछ— उत्साह र बलिदानले सत्ता त हल्लाउन सक्छ, तर प्रणाली नबदलिएसम्म परिवर्तन टिक्दैन।

१. इजिप्टको आन्दोलन: उत्साहदेखि निराशासम्म
२०११ मा अरब मुलुकहरूमा फैलिएको आन्दोलनको केन्द्र थियो इजिप्ट। काहिराको तहरीर स्क्वायरमा लाखौँ युवाहरू र नागरिकहरू भेला भएर ‘रोटी, स्वतन्त्रता र सम्मान’ (Bread, Freedom and Dignity) को नारा लगाए। 

३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति होस्नी मुबारकले अन्ततः पद त्याग्नुपर्‍यो। विश्वभरका युवाहरूले त्यस दिनलाई ‘नयाँ युगको प्रारम्भ’ भने। तर केही वर्षमै त्यो सपना कुहियो। सैन्य नेतृत्वले पुनः शासन सम्हाल्यो, आन्दोलनका अगुवा जेलमा परे, र देशमा पुनः पुरानै अनुशासन र डरको वातावरण फर्कियो।

संस्कृतमा भनिएको छ— ‘विप्लवो न विनाशाय, पुनर्जन्माय तिष्ठति।’ अर्थात्— क्रान्ति विनाशका लागि होइन, पुनर्जन्मका लागि हुन्छ। तर इजिप्टमा त्यो पुनर्जन्म हुन सकेन। पुरानो शक्ति र पुराना अनुहारले नयाँ पुस्ताको सपना चपाए।

२. नेपालको जेन–जी आन्दोलन: डिजिटल युगको विद्रोह
नेपालमा सन् २०२३ पछि सुरु भएको जेन–जी आन्दोलनले राजनीतिक वृत्तभित्र ठूलो तरंग ल्यायो। सामाजिक सञ्जालमा युवाहरूले भ्रष्टाचार, अवसरवाद र पुरानो नेतृत्वप्रति असन्तोष प्रकट गर्न थाले। यो आन्दोलनको प्रारम्भ डिजिटल संसारबाट भयो— फेसबुक, टिकटक, युट्युब, ट्विटरमा ‘सिस्टम बदल्ने’ स्वर गुञ्जियो।

यी वाक्यहरूले आन्दोलनको सार प्रकट गर्छन् —
’दल खोल्ने हैन, युवाहरू व्यवसाय र उद्योग खोल्ने हो।’
’युवाको बलिदानको सम्मान गर्ने हो भने एअरपोर्टमा नेता जान रोक्ने हैन, नेपाली जान रोक्ने हो।’
’बोरामा आलु कुहिएको छ भने बोरा फाल्ने हैन, कुहिएको आलु फाल्ने हो— देशको नेता फाल्ने हो, जनता हैन।’
’डिजिटल लडाईं गरेर जग हसाउने हैन, यहाँ डिजिटल व्यापार गरेर देश बनाउने हो।’

यी वाक्यहरू आन्दोलनका नाराजस्ता लागे पनि, यिनमा देश विकासको दर्शन छ। युवा पुस्ता अब केवल विरोध होइन, उत्पादन र समाधान खोज्ने बाटोमा उभिएको छ। नेपालको जेन–जी आन्दोलनले यसपालि जनतालाई बुझायो— ‘देश बनाउने शक्ति संसद्मा मात्र होइन, कम्प्युटर, पसल र खेतमा पनि छ।’

३. समानता र भिन्नता इजिप्ट र नेपालको आन्दोलनको समानता एउटै हो— नयाँ पुस्ताको विद्रोह पुरानो पुस्ताको नियन्त्रणमा हरायो। तर फरक यति छ कि, नेपालका युवाहरू अझै अवसर निर्माण गर्ने बाटोमा फर्किन सक्छन्।

४. संस्कृत र विचार दर्शन
संस्कृत ग्रन्थहरूमा भनिएको छ— ‘राजा धर्मेण भूमिं रक्षेत्।’ (मनुस्मृति)
तर जब शासक अधर्ममार्गी हुन्छ, नागरिकले प्रतिकार गर्न अधिकार राख्छ।
’अधर्मेण जयः नास्ति।’ (महाभारत)
इजिप्ट र नेपालका आन्दोलनहरूले यही कुरा पुनः प्रमाणित गरेका छन्— अन्याय र भ्रष्टाचारबाट बनेको सत्ता कहिल्यै दीर्घकालीन हुन सक्दैन।

५. निष्कर्ष
इजिप्टले देखायो— भावनाले परिवर्तन ल्याउन सक्दैन, संरचनाले ल्याउँछ।
नेपालको जेन–जी आन्दोलनले सिकाउँदैछ— नेता बदल्नुभन्दा पहिले स्वयंलाई सुधार्नुपर्छ।

‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।’ (कठोपनिषद्)
अर्थात्— उठ, जाग, र लक्ष्य प्राप्त गर।

अब नेपालको युवा पुस्ताले यही मन्त्र अंगाल्नुपर्छ —
सडक होइन, सपना निर्माण गर्ने कारखाना खोल्ने हो।
डिजिटल लडाईं होइन, डिजिटल व्यवसाय र स्वाभिमानको लडाईं हो।

इजिप्टको गल्तीबाट नेपालले सिक्नुपर्छ— क्रान्ति क्षणिक होइन, चेतना स्थायी हुनुपर्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!