मङ्गलबार, १६ डिसेम्बर २०२५

आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति

News Image
• • •

नेपालको राजनीतिक इतिहास आन्दोलनको इतिहास हो। यहाँ आन्दोलनबिना कुनै युग परिवर्तन भएको देखिँदैन। तर प्रश्न यहीँ उठ्छ— ती आन्दोलनहरूले देशलाई निर्माण गरे कि विनाश?

नेपालले विगत तीन दशकमा पटक–पटक आन्दोलनका छालहरू देख्यो— २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०६२–६३ को गणतान्त्रिक आन्दोलन, र अहिलेको नयाँ पुस्ताले ल्याएको जेनजी आन्दोलन। प्रत्येक आन्दोलनको उदेश्य परिवर्तन थियो, तर त्यसको परिणामले देशलाई स्थायित्वभन्दा अस्थिरतामा धकेलेको छ।

‘अत्यन्तं विकृतं राज्यं यत्र नित्यं विरोधकः।’
(जहाँ सधैं विरोध र संघर्ष हुन्छ, त्यहाँ शासन र समाज दुवै विकृत हुन्छन्।)

नेपालमा आन्दोलन केवल राजनीतिक अधिकारका लागि मात्र नभएर असन्तुष्टिको अभिव्यक्ति बनेको छ। जनताले समस्या देख्नेबित्तिकै सडक रोज्ने प्रवृत्ति गहिरो बन्यो। राजनीतिक दलहरूले पनि आन्दोलनलाई नै अस्तित्व टिकाउने माध्यम बनाइदिए।

२०४६ सालको जनआन्दोलनले लोकतन्त्र ल्यायो, जनताको मुख खोल्यो, तर त्यसले नेताहरूको लालसा पनि जगायो। २०६२–६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गर्‍यो, तर त्यही आन्दोलनले राज्यको स्थायित्व पनि खोस्यो।

आजको जेनजी आन्दोलनले युवाहरूको जोश र असन्तोषलाई देखाउँछ, तर योजनाबिनाको जोशले कहिल्यै स्थायी परिणाम ल्याउँदैन।

‘क्षणे रुष्टं क्षणे तुष्टं, नृणां चित्तं चलं स्मृतम्।’
(मानव मन क्षणभरमै बदलिन्छ — कहिले रिस, कहिले खुशी।)

यही चञ्चलता अहिलेको आन्दोलनमा स्पष्ट देखिन्छ। आजका युवाहरू परिवर्तन चाहन्छन्, तर त्यसको स्वरूप र दिशाबारे स्पष्ट छैनन्।

प्रत्येक आन्दोलनपछिको नेपाल हेर्दा दुःख लाग्छ— सडक तात्छ, नाराहरू गुँजिन्छन्, तर आन्दोलनपछि देश शान्त हुने सट्टा झनै कमजोर बन्छ।

२०४६ सालपछि देशले धेरै संविधान, धेरै सरकार र धेरै नेताहरू देख्यो, तर स्थिर विकास देख्न पाएन। आन्दोलनहरूले लोकतन्त्र ल्याए, तर त्यस लोकतन्त्रको उपयोग गर्ने संस्कार आउन सकेन।

‘परिवर्त्य च राज्यानि न तु मन्यः स्वभावतः।’
(राज्य वा शासन प्रणाली फेर्न सकिन्छ, तर मानिसको स्वभाव फेर्न कठिन हुन्छ।)

नेपालमा समस्या व्यवस्था होइन, प्रवृत्ति हो। नेताहरू बदलिन्छन्, तर सोच बदलिँदैन। आन्दोलनहरूले बाहिरी रूप फेर्छ, भित्री रोग त्यसै रहन्छ।

हालको जेनजी आन्दोलन युवाहरूको निराशा र विद्रोहको प्रतीक हो। उनीहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनको मार्ग स्पष्ट छैन।

सामाजिक सञ्जालमा आधारित यो आन्दोलनले आवाज त बुलन्द गरेको छ, तर नेतृत्वहीन आन्दोलनको लक्ष्य प्रष्ट हुँदैन।

भूकम्पपछि डकर्मीहरूले इँटा र ढुंगा जोडेझैं, आजका युवाहरू पनि जोशले भरिएका छन्, तर निर्माणको नक्सा छैन।

‘उत्साहो बलवानार्य नास्त्युत्साहात्परं बलम्।
सोत्साहस्य लोकेषु न किञ्चिदपि दुर्लभम्॥’
(उत्साह भन्दा ठूलो शक्ति केही छैन, तर संयमविहीन उत्साह विनाशकारी हुन्छ।)

युवाहरूको आक्रोश उचित हो— बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव। तर आक्रोशले मात्र समाधान आउँदैन, सोच र कार्ययोजना चाहिन्छ।

यदि आन्दोलनले समाजमा विभाजन, द्वेष र हिंसा बढायो भने त्यो आन्दोलनले उद्देश्य गुमाउँछ।

नेपालमा सबैले दोष नेतालाई दिन्छन्, तर साँचो समस्या हामी आफैंभित्र छ।

हामी नै नेताहरूलाई शक्ति दिन्छौं, फेरि ती नेतामाथि रोइला गर्छौं।

हामी नै अस्थिरता सहन्छौं, फेरि स्थायित्व खोज्छौं।

नेपाल ‘सतिले सरापेको देश’ होइन, जनताले नै धिक्कारेको देश हो। हामी क्षणिक लाभका लागि दीर्घकालीन सोच बिर्सिन्छौं।

‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।’
(आफ्नो कर्तव्य पालन गर्दै मर्नु राम्रो, परधर्म वा नक्कल भयावह हुन्छ।)

हामीले विदेशी आन्दोलनको शैली, विदेशी नारा र विदेशी समाधान आयात गर्छौं, तर आफ्नै माटोको आवश्यकतामा ध्यान दिँदैनौं। यही कारण नेपालमा आन्दोलनहरू आयातित जस्तो लाग्छन्— जरा नभएका बोटझैं।

आजको अवस्था यस्तो छ कि देशलाई चलाइराखेको शक्ति सायद केवल भगवान र भाग्य हो। 
हामी कामभन्दा बढी दैवमा विश्वास गर्छौं।

‘दैवमेव हि मानुष्यं नियच्छति शुभाशुभे।’
(मनुष्यको शुभ–अशुभ कर्मलाई अन्ततः दैवले नै नियन्त्रित गर्छ।)

साच्चै भन्ने हो भने नेपाललाई अहिले पनि पशुपतिनाथले नै सम्हालिराखेका छन्। तर भगवानले पनि त्यो देशको रक्षा कहिलेसम्म गर्लान् जहाँ जनता आफ्नै घरमा आगो लगाइरहेका छन्?

‘देवा न प्रीति कुर्वन्ति दुष्कृतं कुर्वतां नृणाम्।’
(जो मानिस दुष्कर्म गर्छ, तिनीहरूबाट देवता पनि विमुख हुन्छन्।)

अब आन्दोलन होइन, आत्मसमीक्षा चाहियो

देशले अब नयाँ आन्दोलन होइन, नयाँ सोच चाहिएको छ।
सडकमा चिच्याएर होइन, समाजमा काम गरेर परिवर्तन सम्भव हुन्छ।
नेता बदल्ने होइन, सोच बदल्ने समय हो।

आन्दोलनले व्यवस्था फेर्छ, तर चेतना फेर्न सक्दैन। चेतना परिवर्तन बिना कुनै आन्दोलन स्थायी हुँदैन।

‘उत्तिष्ठ भारत! कर्मणि प्रवर्तस्व।’
(उठ, आफ्नो कर्तव्यमा लाग।)

नेपालका युवाहरूले अब प्रश्न गर्नुपर्छ—
‘हामी परिवर्तन खोज्दैछौं कि केवल विरोध गर्दैछौं?’
‘हामी देश बनाउँदैछौं कि केवल असन्तुष्टि पोख्दैछौं?’

देश निर्माण नाराबाट होइन, कर्तव्यबोध र उत्तरदायित्वबाट हुन्छ। हामीले राष्ट्रलाई आफैं बनाउने सोच लिएनौं भने, आन्दोलनले मात्र केही गर्दैन।

नेपाललाई अब विरोध होइन, समाधान चाहिएको छ।
जेनजी आन्दोलनले आवाज उठाएको छ, तर अब त्यसलाई अर्थ दिनु युवाहरूको जिम्मेवारी हो। आन्दोलनको अर्थ सडकमा होइन, समाजमा देखिनुपर्छ।

देशले परिवर्तनको थकाइ मानेको छ। अब देशलाई स्थिरता, सोच र सत्यनिष्ठाको आन्दोलन चाहिएको छ।

नेपाल अझै पनि बाँचेको छ भने त्यो पशुपतिनाथको कृपा र नेपालीको सहनशीलता हो। अब त्यो कृपालाई व्यर्थ नठानौँ, बरु आफ्नो कर्मले भगवानको भरोसा जितौँ।

सिमरा घटना जुन पक्षले गरे पनि त्यो राम्रो हैन आन्दोलनको स्वरुप परिवर्तन गर्न पर्छ।

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!