दिपा धिताल
नेपालमा हरेक बर्ष धेरै दिवसहरू मनाईन्छन्। तर दिवसहरू फगत औपचारीकतामा सिमित भएको देखिन्छ। बिभिन्न दिवसहरू र्याली, अन्तर्क्रिया, दिपप्रज्वलन, भाषण जस्ता कार्यक्रम गर्दै सकिन्छन्। देशका सबै जिल्ला र पछिल्लो समय पालिका स्तरमा समेत मनाईने दिवसहरू एक दिन निकै भब्य रुपमा मनाईन्छ। यस्तै दिवसहरूका हुलमा आउने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि एउटा हो।
१६ दिन सम्म बिभिन्न गतिबिधिका साथ सम्पन्न गरिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले सार्थकता पाउनका लागि सबै जिम्मेवार बन्दै लैङ्गिकताका र लैङ्गिक हिंसाका बारेमा सचेततापूर्वक लाग्नुपर्ने देखिन्छ। माटो सुहाउदो कार्यक्रम गर्दै सचेतता अपनाउनु एउटा पाटो छ भने हरेक मोडमा सबैले लैङ्गिक हिंसाका सवालमा गम्भिर र सम्बेदनशिल बन्नु उत्तिकै सान्र्दभिक देखिन्छ।
‘प्रबिधिको सहि प्रयोग गरौः लैङ्गिक हिंसा अत्य गरौ’ भन्ने नाराका साथ मंगलवार २५ नोभेम्बर देखि १६ दिन सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशैभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ। यो अभियान एउटा सांकेतिक अभियान हो जसले आगामी भविष्यमा कहिँ कतै कसैले लैङ्गिकतामा आधारीत हिंसा भोग्नु नपरोस भन्ने सचेतना दिन्छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक विश्वव्यापी महिलावादी आन्दोलन हो, जुन १९९१ मा सुरु भएको थियो। सन् १९६० मा डोमेनिकल गणतन्त्रका त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदी बहिनी (प्रेटिया, मिनर्भा र मारिया) को निर्मम हत्याको बिरोध स्वरुप शुरु गरिएको यो अभियान नोभेम्बर २५ मा सुरु हुन्छ। मिराबल दिदीबहिनीहरूको साहसले विश्वभरका महिलावादी आन्दोलनलाई प्रेरणा दिएको छ।
सुरुवातदेखि नै, १६ दिने अभियान विश्वव्यापी आन्दोलनको रूपमा विकसित भएको छ, जहाँ सामाजिक आन्दोलनहरू, सामुदायिक संघ सस्था तथा समूहहरू, श्रमिकहरू, हिंसा प्रभावितहरू तथा युवाहरू संरचनात्मक परिवर्तनलाई प्रतिबिम्बित गर्न, परिचालन गर्न र माग गर्न एकसाथ आउँछन्।
यी १६ दिनहरू केवल स्मरण मात्र नभई, हिंसाले नयाँ रूप लिँदै जाँदा कुन रणनीतिहरू प्रभावकारी भए र कुन नयाँ रणनीतिहरू आवश्यक छन् भन्ने विश्लेषण गर्ने अवसर पनि हुन्। यो अभियान समानता, न्याय र स्वतन्त्रताको लागि भइरहेको ठूलो संघर्षभित्र लैङ्गिक हिंसा विरुद्धको लडाइँलाई अवस्थित गर्दै, डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा समापन हुन्छ। यी दिनहरूले महिलावादी संस्थाहरूको आन्दोलनलाई अझ थप ऊर्जा दिन्छन्।
नेपालको इतिहासलाई हेर्दा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा संगठित आवाज विसं १९२५ मा नेपालको पूर्वी पहाडको भोजपुरकी योगमाया न्यौपाने हुन्। उनले तत्कालिन नेपाली समाजमा रहेको पित्तृसत्तात्मक सोच, लैङ्गिक विभेद, जातीय शोषण, लगायत सामाजिक सुधारको मुद्धाको उठान गरेकी थिइन्। उनले उठाएका मुद्धाहरू प्रति तात्कालिन सरकारको ध्यान जानु भन्दा पनि त्यसलाई दबाउने प्रवृत्तिको विरोध गर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जल समाधि लिएकी थिइन्।
हाम्रो देशमा गैर सरकारी संघ संस्थाहरूको तर्फबाट १६ दिने अभियानको शुरुवात वि सं २०५४ सालदेखि सुरु गरिएको भए पनि मन्त्री परिषदको निर्णयले २०७५ देखि मात्र यसलाई सरकारी मान्यता दिएको हो। तत्कालिन नेपाल सरकारले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक चेतना सहित सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो।
लैंगिक हिंसा नेपालमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, असमान सामाजिक संरचना र आर्थिक तथा सांस्कृतिक कारकहरूको परिणाम हो। महिला र पुरुषबीचको असमान सक्ति सम्बन्ध, शिक्षाको अभाव, बेरोजगारी, चेतनास्तरमा कमि र गरिबीले यस समस्यालाई थप जटिल बनाईरहेको तथ्य स्पस्ट छ।
ग्रामीण क्षेत्रहरूमा बालविवाह, बहुविवाह अनि तराईमा दाइजो प्रथा जस्ता हानिकारक परम्परागत अभ्यासहरू पनि लैंगिक हिंसाका प्रमुख कारण हुन्। पछिल्लो अवस्थालाई हेर्दा ब्ल्याकमेल, ठगी, प्रविधिमार्फत गलत सामाग्री बनाई दुरुपयोग गर्ने जस्ता नयाँ हिंसाका रूपहरू देखा परेका छन्।
हिंसा न्युनिकरणका लागि बनेका कानुनी प्रणाली र सुरक्षा संयन्त्रहरू प्रभावकारी नभएका कारण पनि पीडितहरूले न्याय पाउन नसक्ने र हिंसाले बढि प्रशय पाएको देखिन्छ। भने महिला तथा किशोरीहरू थप हिंसाको सिकार बनिरहेको अबस्था छ। घर, कार्यस्थल, सार्वजनिक स्थान र अनलाइनमा हुने हिंसा हाम्रो समाजमा निरन्तर मौलाई रहेको छ।
यी प्राविधिक जोखिमहरू सँगै, नेपालको वर्तमान राजनीतिक वातावरण झन् विभाजित हुँदै गइरहेको छ। जसले अविश्वास र अस्थिर अनलाइन बहसलाई निम्त्याएको छ। सामाजिक सञ्जाल राजनीतिक बहसहरू फैलिने प्रमुख ठाउँ बनेको छ। तर यसले गलत सूचना, घृणात्मक अभिव्यक्ति र विशेष गरी महिलाहरूमा लक्षित उत्पीडन र हिंसाका अन्य रूपहरू पनि बढाएको छ।
महिला मानव अधिकार रक्षकहरू, समुदायका महिला अगुवा तथा नेताहरू, महिला पत्रकारहरू र अनलाइन आफ्नो विचार व्यक्त गर्ने साधारण महिलाहरूले पनि सामुहिक आक्रमण, चरित्र हत्या, यौन दुर्व्यवहार र लैंगिकतामा आधारित ट्रोलिङ तथा हिंसाको सामना गर्छन्। जसले गर्दा घरपरिवार, कार्यस्थल र सार्वजनिक स्थानहरूमा उनीहरूले पहिले नै सामना गरिरहेको भेदभावलाई प्रतिबिम्बित बनाउँछ।
सामुदायिक स्तरमा, घरेलु र कृषक महिला कामदारहरू सहित अन्य महिलाहरू अनलाइन ठगी, साइबरबुलिङ, तस्बिरहरूको सहमति बिना साझेदारी, र राजनीतिक रूपमा प्रेरित धम्कीहरूको बढ्दो रूपमा सामना गरिरहेका छन्। यी अनुभवहरूले उनीहरूको मानसिक स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ, नागरिक र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता सीमित गर्छ, र उनीहरूको असुरक्षालाई बढाउछ।
नेपाल सरकारबाट महिला माथि हुने हिंसा अन्त्यका लागि विभिन्न सकारात्मक पहलहरू गरिएका छन्। समग्रमा भन्नु पर्दा हाम्रो सरकारद्वारा चालिएका कदमहरू दक्षिण एसियामा अब्बल रुपमा रहेका छन् भन्न सकिन्छ। तर त्यस्ता पहलहरूले खोजेको परिणाम दिन सकेको छैन र सक्दैन, चालिएका कदमलाई मात्र सफल मान्न सकिन्न। अहिले यस्ता सकारात्मक पहलहरू गरिएको भनिएता पनि महिल माथि हुने हिंसामा कमी आउन सकेको छैन।
महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो। यस्ता विभेदको अन्त्य कानुन बनाएर मात्र सम्भव छैन। राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यतामा परिवर्तन हुन आवश्यक हुन्छ। समाजमा सामाजिक र संस्कृतिक रुपान्तरण आवश्यक हुन्छ। महिलामाथि हुने हिंसा अन्त्यका लागि उठाइने आवाजहरू महिला अधिकारका लागि मात्र होइनन्।
तसर्थ, दैनिक जीवनमा महिलाले भोग्दै आएका विभिन्न स्वरुपमा विभेद र हिंसाको कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक असर भोग्न बाध्य महिलाहरूका लागि पहुँचयोग्य र प्रभावकारी सहयोगी संयन्त्रहरू निर्माण गरी प्रत्येक व्यक्तिले हिंसा रहित वतावारणमा बाँच्न पाउने अधिकार सुनिश्चितताका गर्नु भनेको देशले आफ्नो संविधान अनुसार हरेक व्यक्तिको मानव अधिकार सुनिश्चित हुने वातावरण निर्माण गर्नु हो।
यस्तो वातावरण निर्माणका लागि सरकार, राजनैतिक पार्टीहरू सामुदायिक नेतृत्व तहदेखि परिवारको नेतृत्व गर्ने सबैको सोचमा रुपान्तरण हुन जरुरी छ। महिलाको आफ्नो पहिचान र आफ्नो शरीर माथी आफ्नो अधिकार हुन सक्ने वातावरण बन्न जरुरी छ। महिलाले आफु माथि भएको हिंसा विरुद्ध बोल्दा अलग्गिने अनि बाध्य भएर मुद्दा फिर्ता लिने स्थितिको अन्त्य हुन जरुरी छ।
इतिहासका बिभिन्न कालखण्डमा भएका लैङ्गिक हिंसाहरूले हाम्रो समाजको कालो रुप देखाउने गरेको छ। यस्ता प्रकारका हिंसाको अन्त्य गर्न सबै स्थानिय तह बिभिन्न संघ संस्थाहरूसंगको सहकार्यमा समुदाय स्तरदेखि अन्तराष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भइरहेका प्रयासहरू अझ प्रभाबकारी रुपमा अगाडि बढ्दै जाउन लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको हार्दिक मगंलमय शुभकामना।
लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुमका जिल्ला संयोजक हुन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया