मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

आईजीपी खापुङ, ‘नैतिकता’ खै?

News Image
• • •

गृहमन्त्री रमेश लेखकले बानेश्वर नरसंहारमा नैतिक जिम्मेवारी स्वीकार्दै पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीको राजीनामासँगै प्रहरी संगठनकै नेतृत्वकर्ता प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको नैतिकतामाथि पनि प्रश्न उठेको छ।

जम्माजम्मी दुई महिने कार्यकालका लागि पाँचदिनअघि मात्रै आईजीपी नियुक्त भएका खापुङमाथि कलिला युवाहरूमाथि नरसंहारको दाग लागेको छ। गृहमन्त्रीले नैतिकता देखाउँदै राजीनामा दिएपछि आईजीपी खापुङमाथि पनि नैतिक दवाब बढेको छ।

तर, नेपाल प्रहरीको नेतृत्वकर्ता खापुङ भने राजीनामा दिनु त परको कुरा- आन्दोलनमा घुसपैठ भएको भन्दै पन्छिन खोजिरहेका छन्।

जसरी नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कलेज पढ्दै कलेका कलिला युवाहरूमाथि प्रहरीले अन्धान्धुन्ध गोली प्रहार गरी नरसंहार मच्चायो, यो कलंकको दागले प्रहरी संगठनको नेतृत्वकर्तालाई आजीवन पछ्याइरने छ।

यति हुँदासम्म पनि उनी संगठनको नेतृत्वमै रहनु भनेको पीडित परिवारको घाउमा नुनचुक छर्नु हो। त्यसैले उनले तत्काल नैतिकता देखाउनु उचित हुने जानकारहरू बताउँछन्। जेन-जीको प्रश्न छ- ‘गृहमन्त्रीले नैतिकता देखाउँदा प्रहरी प्रमुखको नैतिकता खै?’

बानेश्वरमा मात्र होइन देशभरको जेन-जी आन्दोलनमा प्रहरी दमन भत्सर्ना योग्य छ। कलेज ड्रेसमै रहेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्षाइएको छ। होनहार युवाको भ्रष्टाचारमुक्त देश बनाउने सपना खरानी बनाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत जेन-जी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको भनिसकेको छ। र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएकोले यस्ता कार्य तत्काल बन्द गर्न भनेको अवस्था छ।

घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोगले सरकारलाई निर्देशन नै दिएको छ। आफैंमाथि लागेको आरोपको आफैं कसरी छानबिन गर्लान? एकमात्र विकल्प- मार्गप्रशस्त।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!