
बिएल संवाददाता
-अरुण सरकार
नेपाली कांग्रेस स्थापना २००६ सालदेखिको देशकै सबैभन्दा पुरानो, सबभन्दा व्यापक संरचना भएको, र सबभन्दा लामो ऐतिहासमा संघर्ष गरेर त्यसको धनी राजनीतिक दल हो।
बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको नेतृत्व यात्रा हेर्दा पार्टीले मुलुकको लोकतान्त्रिक भविष्यको निर्धारणमा प्रमुख भूमिका खेलेको स्पष्ट देखिन्छ। तर आज त्यो कांग्रेस हराएको छ। कुर्सीको प्रतिविम्ब बनेको छ र पुरानो ऊचाईमा रहेको काग्रेस त्यही उचाइमा छैन। जनताका हरेक मुद्दाबाट टाढिदै गएको छ।
बीपीको समाजवादको सिद्धान्त अहिले सत्ताका समीकरणमा अल्मलिँदै छ, विचार र दर्शनको सम्बन्ध चिसिएको छ र त्यो हराउँदै गएको छ।
यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।
आजको नेपाली कांग्रेस केवल सरकारमा बस्ने र सकेसम्म कुर्सीमा आफ्नो गुटको मान्छे राख्ने हैसियतको पार्टी मात्र देखिएको छ। यहाँ न जनमत निर्माण गर्ने? न चेतना फैलाउने? न नीति निर्माण गर्ने? मात्र निर्माण गर्ने गठबन्धमा बसेर आफ्नो ‘yes man’ मन्त्री बनाउने पार्टीजस्तो देखिएको छ। यसको मूल कारण हो सत्ता र संस्थाको भिन्नता नबुझ्ने नेतृत्व, अनि पद र पहुँचप्रति बढ्दो आडम्बरी मोह।
नतिजास्वरुप कांग्रेस सत्ताले थलिएर पनि सचेत हुन नसकेको अवस्थामा पुगेको छ। सत्तामा बस्ने दल हुनु कांग्रेसका लागि नौलो होइन। बहुपक्षीय प्रतिस्पर्धाको युगमा दल सत्तामा जान चाहन्छन् यसमा दोष छैन।
तर कांग्रेसले सत्तालाई नीतिगत हस्तक्षेप, नीति निर्माण र कार्यान्वयनको माध्यम होइन, मात्र बाँच्ने माध्यमका रूपमा बुझ्न थालेको छ। यसले गर्दा पार्टीको अस्तित्व समेत धरापमा र सत्ता केन्द्रित हुन पुगेको छ।
०६२/६३ पछि संविधान निर्माणमा निर्णायक भूमिका खेले पनि कांग्रेसले देशको दिशा दिन सक्ने वैचारिक नेतृत्व गर्ने हैसियत बनाउन सकेको छैन। सत्तामा रहँदा काग्रेसले सत्ता प्रयोग गर्छ, तर सत्ताबाट बाहिर हुँदा विपक्षको धर्म पुरा गर्न सक्दैन। आलोचना, मार्गनिर्देशन, वैकल्पिक योजना दिने हैसियत कांग्रेसले बिस्तारै गुमाइरहेको छ। आज नेपाली कांग्रेसमा नीति निर्माणको बहस छैन। केन्द्रीय समितिको बैठक प्रायः पद बाँडफाँट, चुनाव समीकरण, वा गठबन्धनको रणनीतिमा सीमित छ।
पार्टीको आर्थिक नीति के हो? शिक्षा प्रणालीमा सुधारबारे धारणा के हो? संघीयता कस्तो रूपमा कार्यान्वयन हुनुपर्छ? यस्ता गम्भीर विषयमा पार्टी मौन देखिन्छ। यस मौनताको पछाडि गुटगत सौदाबाजी, आन्तरिक सन्तुलन मिलाउने रणनीति, र आगामी सत्तामा कसरी बाँकी रहने भन्ने चासो मात्रै देखिन्छ।
कांग्रेस अब ‘राज्य बनाउने शक्ति’ होइन, ‘सत्ता सन्तुलनको संयन्त्र’ बनाउने जस्तो देखिन थालेको छ। सायद यो चर्तिकला देखेर बीपी कोइरालाले नेपाली समाजलाई समाजवादको नेपाली संस्करण दिने प्रयत्न गरेको थिए आज कस्तोको हातमा पुगेछ भनेर बैकुण्ठमा आँशु बगाउदै होलान्।
बीपीको भनाई ‘हामी जनताको कांग्रेस हौं।’ तर आज त नेपाली कांग्रेस नेताको र गुटको कांग्रेस बनेको छ। कार्यकर्ताले पार्टीसँग आत्मीय व्यवहार हैन पैंचो लिने व्यवहार महसुस गर्दछन्।
चुनावका बेला टिकट वितरणमा कार्यकर्ताको योग्यता होइन, सम्बन्ध, पहुँच, र सिफारिस हेर्ने प्रवृत्तिले पार्टीभित्रै गहिरो निराशा जन्माएको छ। सत्ताको मोहमा पार्टीले आफ्नै विचार बेचेको छ।
एकताका संविधानसभा चुनावमा एमाले र माओवादीसँग गठबन्धन गरियो बिना विचार। पछिल्लो संसदीय चुनावमा स्वतन्त्र विचारको दमन गर्ने शैलीमा गठबन्धन बनाइयो केवल पद जोगाउने उद्देश्यले। यसले पार्टीको विचार, सिद्धान्त, र संगठन तीनै तहमा संकट ल्याएको छ।
देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या युवा छ, तर कांग्रेसको केन्द्रिय नेतृत्वमा ६० वर्षभन्दामाथिका नेताहरूको वर्चस्व छ। युवालाई महाधिवेशनमा मात्र बोलाएर ‘हौसला’ दिने र चुनावमा प्रचार गर्न लगाउने चलन झन् संस्थागत हुँदै गएको छ।
युवाले विचार दिन चाहन्छ, जिम्मेवारी लिन चाहन्छ, नेतृत्व सम्हाल्न चाहन्छ तर सत्तामोहले ग्रसित नेतृत्वलाई लाग्छ, ‘युवालाई अगाडि ल्यायो भने आफ्नै ठाउँ गुम्छ।’ र right man in right place, right time भन्ने सोच राख्न चाहदैन।
यहाँ पद र आत्मीय संबन्धको कुरा गर्न कार्यकर्ता यहाँ घरघरमा जान्छ र यो मानसिकता आफ्नो मानसपटलमा राख्छ। यही मानसिकताले कांग्रेसलाई भविष्यविहीन बनाइरहेको छ। अब काग्रेस युवाले जोगाउनु पर्ने छ।
नेतृत्व गरिरहेका शिथिल र थकित मानसिकता भएका वृद्ध दाईहरूलाई काशीको बाटो देखाउनु पर्ने भएको छ। कांग्रेस गुट र व्यक्तिको हैन जनताको कांग्रेस हो भनेर देखाउनु पर्ने छ। जय नेपाल।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया