आइतबार, ०९ नोभेम्बर २०२५

स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन

News Image
• • •

तारानाथ दाहाल

मुख्य रूपमा, स्वतन्त्रताको बारेमा नेपाली समाजमा बुझाइ अझंै स्पष्ट छैन। धेरैजसो मान्छेले स्वतन्त्रतालाई केवल स्वच्छन्दता वा अराजकता जस्तो बुझ्ने प्रवृत्ति देखाउँछन्। कतिपयले यसलाई नकरात्मक अर्थमा पनि प्रयोग गर्छन–‘ए, यसलाई त स्वतन्त्रता बढी भयो’ भन्ने जस्तो। तर वास्तविकता यो होइन, स्वतन्त्रता जहिले पनि डिग्निटी र स्वाभिमानसँग जोडिएको हुन्छ र यसका केही मूल्य र सीमा हुन्छन्।

नेपालको संविधानले स्वतन्त्रताको हक अन्तर्गत छ वटा आधारभूत विषयलाई संरक्षण गरेको छ। यी आधारभूत स्वतन्त्रताहरूलाई बुझ्न आवश्यक छ, ताकि हामी यसलाई सही रूपमा प्रयोग गर्न सकौँ। स्वतन्त्रता केवल अधिकार मात्र होइन, यसको सिमाभित्र पनि जिम्मेवारी छ। हाम्रो संवैधानिक विकासक्रमको हिसाबले स्वतन्त्रताका मूल्यहरूलाई नेपाली समाजले अंगीकार गरेको छ।

पहिलो, स्वतन्त्रता भनेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हो। यसले मानिसलाई आफ्ना विचार प्रकट गर्ने, लेख्ने, बोल्ने अधिकार दिन्छ। यसका लागि कानूनले पनि सुरक्षा प्रदान गरेको छ। विचार अभिव्यक्त गर्दा कुनैपनि व्यक्ति दमनमा नपर्नुपर्ने कानुनी संरक्षण यसमा समावेश छ।

दोस्रो स्वतन्त्रता भनेको संगठन गर्ने स्वतन्त्रता हो। मानिसले आफूलाई मनपर्ने संघसंस्था, समूह वा समुदायमा आबद्ध हुनसक्ने अधिकार पाउँछ। यसले समाजमा विचार र आवश्यकताहरूको प्रतिनिधित्व सुनिश्चित गर्दछ।

तेस्रो, स्वतन्त्रता भनेको राजनीतिक दल खोल्ने स्वतन्त्रता पनि हो। मानिसहरूले राजनीतिक दलमा आबद्ध भएर शासन सञ्चालनमा सहभागी हुन सक्छन्। यसबाट उनीहरूको राजनीतिक आवाजले कानुनी रूपमा मान्यता पाउँछ र लोकतान्त्रिक प्रक्रिया सुदृढ हुन्छ। चौथो स्वतन्त्रता भनेको पेशा व्यवसाय गर्ने स्वतन्त्रता हो। मानिसलाई आफ्नो रुचि, क्षमता र सिमाभित्र समाजमा पेशा वा व्यवसाय गर्ने अधिकार दिइएको छ। यसले व्यक्तिगत विकास र आर्थिक स्वतन्त्रता सुनिश्चित गर्छ।

पाँचौं, स्वतन्त्रता भनेको घुमफिर गर्ने स्वतन्त्रता हो। नेपाली नागरिकको रूपमा देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने अधिकार यसमा पर्दछ। ताप्लेजुङदेखि दार्चुला, महेन्द्रनगरदेखि झापा, सबै स्थानमा समान अधिकार सुनिश्चित हुन्छ र छैठौं स्वतन्त्रता भनेको भेला हुन र सामूहिक रूपमा अभिव्यक्त हुन पाउने स्वतन्त्रता हो। जसले मानिसलाई प्रदर्शन, सभा, छलफल, र विचार आदानप्रदानको कानुनी अधिकार दिएको हुन्छ।

यी छ वटा आधारभूत स्वतन्त्रता सँगसँगै राजनीतिक, सांस्कृतिक र व्यक्तिगत स्वतन्त्रता पनि अविभाज्य रूपमा जोडिएको छ। स्वतन्त्रता केवल अधिकार मात्र नभई जिम्मेवारी पनि हो। यसलाई सही उपयोग गरे समाज रुपान्तरण र विकासमा योगदान पु¥याउन सक्छ। स्वतन्त्रताको सही बुझाइ र प्रयोगले मात्र नेपाली समाजमा स्थायित्व, न्याय र समृद्धि सुनिश्चित छ। नागरिकले आफ्नो अधिकारको सदुपयोग गर्दै अरूको स्वतन्त्रता सम्मान गर्नुपर्छ।

यही आधारभूत मूल्य र जिम्मेवारी बुझ्दा मात्रै लोकतन्त्रको वास्तविक अर्थ कायम रहन्छ। मानिसलाई आफ्नो भाषा, धर्म, संस्कृति, भेषभूषा र चालचलनको अंगीकार गर्न पाउने, त्यसलाई प्रवद्र्धन गर्न पाउने अधिकार सांस्कृतिक स्वतन्त्रता अन्तर्गत पर्छ। यसले व्यक्तिलाई आफ्नो पहिचानको संरक्षण र सम्मान गर्ने अवसर दिन्छ। शिक्षा ग्रहण गर्ने स्वतन्त्रता पनि यसकै सन्दर्भमा महत्वपूर्ण छ।

यसको साथसाथै आर्थिक स्वतन्त्रता पनि आवश्यक छ। आर्थिक स्वतन्त्रताले मानिसलाई सम्पत्तिको अधिकार सुनिश्चित गर्दछ। कुनै समाजमा सम्पत्तिको अधिकार सुरक्षित नभएमा त्यहाँ आर्थिक स्वतन्त्रता हुँदैन। मानिसले आफ्नो लगानी, पुँजी परिचालन, व्यवसाय सञ्चालन, घरजग्गा जोड्ने, आर्जन गरेको सम्पत्ति प्रयोग गर्ने अधिकार पाउँछ। यसमा राज्यलाई कर तिर्ने जिम्मेवारी पनि जोडिएको हुन्छ।

आर्थिक स्वतन्त्रता बिना मानिसको वास्तविक स्वतन्त्रता अधुरो हुन्छ। तेस्रो महत्वपूर्ण स्वतन्त्रता भनेको सामाजिक स्वतन्त्रता हो। समाजको सदस्यको रूपमा मानिसले आफूलाई अभिव्यक्त गर्न, समूहमा भाग लिन, र सामूहिक रूपमा सहजीवनमा संलग्न हुन पाउँछ। मुख्य रूपमा आजको नेपाली समाजमा बढी चर्चा हुने स्वतन्त्रता तीनवटा छन्। आर्थिक, राजनीतिक र सांस्कृतिक स्वतन्त्रता। सँगसँगै, समाजका स्वरूपहरू फरक–फरक हुन्छन्।

डिजिटल समाज होस् वा परम्परागत जातीय, भाषिक, धार्मिक समाज होस, प्रत्येक व्यक्तिलाई स्वतन्त्रता अनुभूति गर्न पाउनु आवश्यक छ। अधिनायकवादी वा अथोरिटेरियन देशमा व्यक्तिको सार्वभौम अधिकार र स्वतन्त्रता सीमित हुन्छ। त्यहाँ दल खोल्न, संगठन बनाउने, प्रेस सञ्चालन, लेखन, कला, संगीत, नाटक, फिल्म बनाउने अधिकार सीमित हुन्छ। लोकतान्त्रिक राज्यहरूले भने स्वतन्त्रतालाई अत्यन्त महत्त्वपूर्ण मूल्यको रूपमा जगेर्ना र प्रवर्द्धन गर्छन्। तर स्वतन्त्रता सदैव सीमासहित व्यवस्थित हुन्छ।

मानवअधिकारको सार्वभौम घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, र नेपालको संविधानले स्वतन्त्रताको सीमा तय गरेका छन्। सीमासहितको स्वतन्त्रताले नै समाजलाई सुव्यवस्थित र अनुशासित राख्न मद्दत गर्छ।

सिमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता हो र त्यसैले स्वतन्त्रता केवल व्यक्तिको अधिकार मात्र नभई उसको आत्मसम्मानसँग जोडिएको विषय पनि हो। स्वतन्त्रता भनेको आफ्नो स्वाभिमानसँगै अर्काको आत्मसम्मानको रक्षा गर्नु पनि हो। मैंले मेरो अधिकार प्रयोग गर्दा अर्काको डिग्निटी र सम्मानमा हस्तक्षेप गर्नु हुँदैन। यसको सुनिश्चितता कानुन, संविधान र सामाजिक मूल्यहरूले गर्छन्।

नेपाली समाजको क्यारेक्टरलाई हेर्दा देखिन्छ कि हाम्रो समाज बहुलवादी र सहजीवनमा आधारित छ। हामी एकअर्कालाई, भाषा, जाति–धर्मलाई सम्मान गर्ने परम्परा राख्छौं। त्यसैगरी, नेपाली समाजमा धार्मिक कट्टरताका कारण स्वतन्त्रताको प्रयोगमा ठूलो बाधा छैन। हिन्दू र बौद्ध परम्परामा आधारित हाम्रो समाज उदारवादी, लिबरल, सहअस्तित्व र सहजीवनको मूल्यलाई आत्मसात गर्दै आएको छ। स्वतन्त्रतासँगै मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्नु आवश्यक छ। स्वतन्त्रताको प्रयोग सापेक्षिक छ।

कुनै कुरा कसैलाई स्वच्छन्द लाग्न सक्छ भने अर्कोलाई अनुशासनहीन देखिनसक्छ। त्यसैले स्वतन्त्रताको अभ्यास गर्दा अरुको हानी, झुटो अफवाह, घृणा वा अपमानजनक व्यवहार नगर्नु जरुरी हुन्छ। अरूको आत्मसम्मानमा चोट पुर्याउने क्रियाकलाप स्वतन्त्रताको दुरुपयोग हो। सारांशमा भन्नुपर्दा, स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्वतन्त्रताको संयोजनले समाजमा स्थायित्व, न्याय र समृद्धि सुनिश्चित गर्छ। नागरिकले आफ्नो अधिकारको सदुपयोग गर्दै अरूको स्वतन्त्रता सम्मान गर्दा मात्र लोकतन्त्रको वास्तविक मूल्य कायम रहन्छ।

नेपालका आठवटा संविधान हेर्दा, स्वतन्त्रताको सीमा र नियमहरू संविधानले नै निर्धारण गरेको देखिन्छ। संविधान बनाएर सुनिश्चित गरिएका नियम र कानुनहरूको पालना नगरेको खण्डमा कार्य दण्डनीय हुन्छ। त्यसका लागि स्वतन्त्र न्यायालयको भूमिका महत्त्वपूर्ण हुन्छ। स्वतन्त्र न्यायालयले सिद्धान्त, नजिर र व्याख्याबाट स्वतन्त्रताको सिमालाई स्पष्ट गर्दै आएको छ। यसैले, स्वतन्त्रता बिना कानुनको अवधारणा पूर्ण हुँदैन। यहाँ माथि उल्लेख गरिएका ६ वटा आधारभूत स्वतन्त्रताहरूको अभ्यास कानुन, नियम र अन्तर्राष्ट्रिय मान्यताहरूको सिमाभित्र हुनुपर्छ। अन्तर्राष्ट्रिय मूल्य मान्यतामा धारा १९ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। तर, त्यहाँ पनि हेट स्पीच, हिंसा उत्पन्न गर्ने अभिव्यक्ति वा अरुको हानि गर्ने क्रियाकलापलाई अनुमति दिइँदैन।

कानुनले यसलाई नियन्त्रण गर्ने साधन हो। यदि नियम र कानुन नहुँदा स्वतन्त्रताको दुरुपयोग हुने खतरा बढ्छ। स्वतन्त्रता सधैं सीमासहित हुन्छ। सीमासहितको स्वतन्त्रता नै समाजमा अनुशासन, सुव्यवस्था र सहजीवनको आधार तयार गर्छ। सीमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता, अराजकता र सामाजिक अस्थिरता हो। स्वतन्त्रता केवल व्यक्तिगत स्वाभिमानको मात्र कुरा होइन, अरुको आत्मसम्मानको रक्षा पनि गर्नु पर्छ। मानव सभ्यता र नेपाली समाजको चरित्रलाई हेर्दा, हाम्रो समाज बहुलवादी, उदारवादी र सहजीवनमा आधारित छ।

हामी एकअर्कालाई, भाषालाई, जाति–धर्मलाई र विविध सांस्कृतिक अभ्यासलाई सम्मान गर्दै आएका छौँ। धार्मिक कट्टरताका कारण स्वतन्त्रताको अभ्यासमा ठूलो बाधा छैन। हिन्दू र बौद्ध परम्परामा आधारित नेपाली समाजमा नागरिक स्वतन्त्रता र मानवअधिकारको मूल्य उच्च छ। स्वतन्त्रताको अभ्यास सापेक्षिक हुन्छ। केही कुरालाई कसैले स्वच्छन्द ठान्छ, कसैले अनुशासनहीन। त्यसैले स्वतन्त्रताको अभ्यास गर्दा अरुको हानि नगर्नु आवश्यक हुन्छ। झूटो अफवाह, घृणा, व्यक्तिगत वा सामुदायिक अपमानजनक क्रियाकलाप स्वतन्त्रताको दुरुपयोग हो। यसै सन्दर्भमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता एकैसाथ महत्त्वपूर्ण हुन्छन्। आर्थिक स्वतन्त्रता भनेको सम्पत्ति हक सुरक्षित हुनु, लगानी, व्यवसाय, आर्जन, कर तिर्ने र उपयोग गर्ने अधिकार हुनु हो।

राजनीतिक स्वतन्त्रता भनेको दल खोल्ने, चुनावमा भाग लिन, राजनीतिक परिवर्तनमा सहभागी हुन पाउनु हो। सामाजिक स्वतन्त्रता भनेको समुदायमा अभिव्यक्ति, सहजीवन र सामूहिक क्रियाकलापमा सहभागिता जनाउन पाउनु हो। सांस्कृतिक स्वतन्त्रता भनेको भाषाको, धर्मको, परम्पराको, कला–सांस्कृतिक अभिव्यक्तिको अधिकार हो। इतिहासले देखाएको छ कि अधिनायकवादी राज्यहरूले स्वतन्त्रतालाई नकारात्मक रूपमा नियन्त्रण गर्छन्। त्यस्तो अवस्थामा प्रेस स्वतन्त्रता, लेखन, कला, संगठन, प्रदर्शन आदि सबै प्रतिबन्धित हुन्छन्।

अन्ततः स्वतन्त्रता मानव सभ्यताको आधार, नागरिक अधिकार, मानव डिग्निटी, न्याय र लोकतन्त्रको मूल संरचना हो। यसको सदुपयोगले समाजमा मेलमिलाप, सहजीवन, सहअस्तित्व र मानव मूल्यको संरक्षण सुनिश्चित गर्छ। यही कारणले स्वतन्त्रता दिवस संसारभरि, र विशेषगरी नयाँ पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्त्व बुझाउन मनाइन्छ।

(वरिष्ठ पत्रकार तारानाथ दाहालसँग कुराकानीमा आधारित)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!